वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ
काठमाडौं । वीरगञ्जका विभिन्न क्यासिनोमा अनधिकृत प्रवेश गरेर शङ्कास्पद गतिविधि गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले यहाँका चार वटा क्यासिनोमा प्रवेश गरी जुवातास खेलिरहेको विशेष सूचनाको आधारमा शनिबार पाँच भारतीय नागरिक र एक जना नेपाली नागरिकलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ पर्नेमा पाँच जना भारतको विहार राज्यका गणेश कुमार, सन्दीप कुमार, सुरज प्रसाद, अल्लाह यादव, ओमप्रकाश यादव र वीरगञ्ज महानगरपालिका-३२ का जमुदिन मियाँ अन्सारी रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको संयुक्त टोलीले किङ्स क्यासिनो, फर्चुन सिटि गेमिङ क्लब र क्यासिनो माजोङबाट उनीहरू नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता बस्नेतले बताए । पक्राउ परेकाहरूका साथबाट केही रकम र दुई वटा मोबाइलसमेत बरामद गरिएको छ ।
आवास बीमाप्रति आकर्षण बढ्दो
जानकी । गत वर्षको भदौमा परेको अविरल वर्षाले नेपालगञ्ज उपमहानगरपालिका–७ निवासी उत्तमसिंह पञ्जावीको घर भत्कियो । वर्षौँ दुःख गरेर बनाएको घर क्षतिग्रस्त भएपछि उनको परिवारलाई निकै तनाव भएको थियो । ‘त्यो रात सम्झिँदा अझै डर लाग्छ । निरन्तरको पानीले घरको केही भाग भत्कियो । परिवारका सबै सदस्यले भागेर ज्यान जोगायौँ,’ पञ्जावीले विगत सम्झिँदै भनिन्, ‘सबैभन्दा ठूलो चिन्ता साना बालबालिकाको थियो । त्यसमाथि फेरि घर बनाउन आर्थिक जोहो कसरी गर्ने भन्ने चिन्ता थियो । धेरै दिनसम्म निद्रा लाग्दैनथ्यो ।’ आर्थिक अवस्था कमजोर भएका कारण तत्काल घर मर्मत गर्ने सम्भावना पनि थिएन, तर नेपालगञ्ज उपमहानगरपालिकाले लागू गरेको आवास बिमा कार्यक्रम उनका लागि वरदान भयो । राष्ट्रिय बिमा कम्पनीमार्फत गरिएको बिमाअन्तर्गत रु दुई लाख ३२ हजार ९०० दाबी भुक्तानी पाएपछि पञ्जावीको घर फेरि ठडिएको छ । नगरप्रमुख प्रशान्त विष्टले पहिलो लाभग्राहीका रूपमा चेक हस्तान्तरण गर्दा आफू भावुक बनेको क्षण सम्झिँदै उनले भनिन्, ‘पहिले घरको बिमा किन गरिरहनुप¥यो र भन्ने लागेको थियो, घर भत्किएपछि पो थाहा पाइयो बिमाको महत्त्व । हाल त्यही बिमाका कारण ओत लाग्ने अवस्था बनेको छ । आवास बिमा कार्यक्रम विपद्को समयमा गरिब तथा न्यून आय भएका परिवारका लागि त ठूलो सहारा हुँदो रहेछ ।’ नेपालगञ्ज उपमहानगरपालिकाले विपद्जन्य जोखिम न्यूनीकरणका लागि वडा नं ३ र ७ मा आवास बिमा कार्यक्रम लागू गरेको छ । जोखिमयुक्त परिवारलाई लक्षित गर्दै सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत हालसम्म एक सय ८४ परिवारमा यसमा आबद्ध भएका छन् । नगरप्रमुख विष्टले विपद् आएपछि राहत वितरण गर्नुभन्दा विपद् आउनुअघि नै सुरक्षाको आधार तयार गर्ने उद्देश्यसहित आवास बिमा कार्यक्रम लागू गरिएकामा हाल प्रभावकारी बन्दै गएको बताए । “विपद् कहिले आउँछ भन्ने निश्चित हुँदैन, तर त्यसको असर कम गर्न पूर्वतयारी गर्न सकिन्छ । सोही सोचअनुसार सुरु गरिएको बिमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ”, उनले भने । नगरप्रमुख विष्टले दुई वडाबाट सुरु गरिएको कार्यक्रम हाल वडा नं ८ र ११ मा पनि विस्तार गरिएको र आगामी दिनमा सबै वडाका जोखिमयुक्त परिवारलाई यसमा समेट्ने योजना रहेको जानकारी दिऐ । नेपालगञ्जले सुरु गरेको यस्तो कार्यक्रमबाट प्रभावित हुँदै नरैनापुर गाउँपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाले यसै आर्थिक वर्षदेखि कार्यान्वयन गर्ने तयारी गरेका छन् । विपद् सम्पर्क व्यक्ति दिपेन्द्र श्रेष्ठले आवास बिमा कार्यक्रमले समुदायमा विपद्बारे सचेतना बढाउनुका साथै क्षतिपछि पुनःस्थापनामा सघाउ पुगेको बताए । “पहिला नागरिकले बिमा भनेपछि झन्झट मान्थे, हाल लाभ पाउन थालेपछि समुदायमा विश्वास बढ्दै गएको छ”, उनले भने,“यसबाट प्रभावित हुँदै अन्य स्थानीय तहले पनि कार्यक्रम लागू गर्ने तयारी गरेका छन् । यो राम्रो पक्ष हो ।” यहाँ बिमाको प्रिमियम रकम उपमहानगरपालिकाले ब्यहोर्ने गरेको छ भने क्षतिको अवस्थाअनुसार बिमितलाई रु १५ लाखसम्म रदिने व्यवस्था गरिएको छ ।स्थानीयवासीका अनुसार पछिल्ला वर्षमा अविरल वर्षा, डुबान र हावाहुरीका घटना बढ्दै गएका छन् । यसबाट कमजोर संरचना बनाएर बस्ने परिवार बढी प्रभावित हुने गरेका छन् । यस्तो अवस्थामा आवास बिमा कार्यक्रमले सहयोग पु¥याउने अपेक्षा गरिएको छ । यसका लागि यहाँ कार्यान्वयनमा रहेको विपद् पूर्वतयारी तथा व्यवस्थापनमा सुपर कार्यक्रमले प्राविधिक सहकार्य गरिरहेको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपीलगायत विभिन्न संस्थाको साझेदारीमा सञ्चालित उक्त कार्यक्रमले नेपालगञ्ज उपमहानगरपालिकासँग समन्वय गर्दै विपद् जोखिम न्यूनीकरणका गतिविधि सञ्चालन गरिरहेको छ ।
चोरी भएका ७३ मोटरसाइकल सवारी धनीलाई बुझाइयो
काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ७३ वटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीले फिर्ता पाएका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतवार एक कार्यक्रम गरी खोजतलासपछि फेला परेका मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो । कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले वैशाख महिनामा चोरी भएका ६५ वटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको बताए । उनका अनुसार उपत्यका ट्राफिक प्रहरी कार्यालयले यसअघि नै ८ वटा मोटरसाइकल समेत सम्बन्धित धनीलाई हस्तान्तरण गरिसकिएको जानकारी दिए । कार्यालयमा प्राप्त निवेदन र अन्य माध्यमबाट प्राप्त सूचनाका आधारमा खोजी गर्दा केही वास्तविक नम्बर प्लेट र केही नक्कली नम्बर प्लेट राखेर चलाइरहेको अवस्थामा पारी फिर्ता गरिएको बताए । उनले भने, ‘वैशाख महिनामा हामीले ८ वटा बाइकहरू पहिले नै सवारी धनीको जिम्मा लगाइसकेका छौं भने बाँकी चोरी गरी अपराधिक कार्यमा प्रयोग भएका ६५ वटा बाइकहरू पनि सवारी धनीलाई जिम्मा लगाएका छौं । बाइकमा जीपीएस जडान गर्यौं, सही ठाउँमा पार्किङ गर्यौं भने चोरी हुन सक्दैन । बाइकका अन्य लकिङ सिस्टमलाई पनि ध्यान दिनुभयो भने चोरी हुँदैन ।’
ऋण तिर्नै ठीक्क : साढे ११ खर्ब खर्च हुँदा विकासको हिस्सा भने निम्छरो
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को १० महिना सकिन लाग्दा सरकारले ११ खर्ब ५३ अर्ब रुपैयाँ बजेट खर्च गरेको छ । सरकारी खर्च आम्दानीको हिसाब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवका लागि ल्याइएको १९ खर्ब ६४ अर्ब बजेट मध्येबाट सरकार ५८.७५ प्रतिशत बजेट खर्च गरेको हो । कुल बजेटमध्ये सरकारले चालु शीर्षकमा ११ खर्ब ८० अर्ब रुपैयाँ छुट्टाइएको बजेटबाट ८ खर्ब ९ अर्ब रुपैयाँ बजेट खर्च भएको छ । यो खर्च उक्त शीर्षकमा विनियोजित बजेटको ६८.०४ प्रतिशत हो । कार्यालयका अनुसार विनियोजित बजेटमध्ये सबैभन्दा बढी चालुतर्फको शीर्षकमा बजेट खर्च भएको छ । चालु खर्च भनेको सरकारको दैनिक सञ्चालन र नियमित कार्यहरूका लागि गरिने खर्च हो । यो खर्चले नयाँ सम्पत्ति सिर्जना गर्दैन वा दीर्घकालीन प्रतिफल दिँदैन । सामान्यतया यो कुल बजेटको ५८–६२ प्रतिशत सम्म पुग्ने गर्छ । त्यस्तै, सरकारले पुँजीगत शीर्षकमा चालु वर्षका लागि ४ खर्ब ७ अर्ब विनियोजन गरेकोमा १ खर्ब ९ अर्ब रुपैँया खर्च गरेको छ । यो खर्च उक्त शीर्षकमा छुटाइएको बजेटको २६.८७ प्रतिशत हो । पुँजीगततर्फ सरकारले धेरै खर्च गर्न सकेको छैन । पुँजीगत खर्च सडक, पुल, विद्यालय भवन, अस्पताल, सिँचाइ, जलविद्युत जस्ता दीर्घकालीन पूर्वाधार निर्माणमा खर्च हुन्छ । यस्तो शीर्षकमा बजेट खर्च हुन सकेको छैन । खासगरी मध्यपूर्वमा देखिएको तनावले निर्माण व्यवसायीले बिटुमीन इन्धनको अभाव झेलिररहेका छन् । जसको असर पुँजीगत खर्चमा देखिएको छ । यस्तै, वित्तीय व्यवस्थातर्फ सरकारले ३ खर्ब ७५ अर्ब रुपैँया बजेट छुट्टाएकोमा २ खर्ब ४० अर्ब खर्च भइसकेको छ । यो खर्च उक्त शीर्षकमा विनियोजित बजेटको ६४.१६ प्रतिशत हो । महालेखा नियन्त्रक कार्यालयका अनुसार सार्वजनिक ऋण व्यवस्थापनका लागि सरकारले यस वर्षका लागि छुट्टाएको बजेट पनि ठूलो मात्रामा भएको छ । यो शीर्षकमा छुट्टाइएको बजेट सरकारले पहिले लिएका ऋणको सावाँ र ब्याज तिर्ने गरेको छ । सरकारको आम्दानी समेत उत्साहजनक देखिँदैन । सरकारले १४ खर्ब ८० अर्ब राजस्व उठाउने लक्ष्य राखेकोमा ९ खर्ब ७० अर्ब संकलन गरेको छ । –न्युज एजेन्सी नेपाल
सगरमाथा आरोहणको क्रममा एक जनाको मृत्यु
काठमाडौं । सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक जनाको मृत्यु भएको छ । सोलुदुधकुण्ड नगरपालिका–७ निवासी विजय घिमिरे विश्वकर्माको लेक लागेर आइतबार (आज) मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईका अनुसार सगरमाथाको क्याम्प–१ क्षेत्रमा पुगेकी आरोही घिमिरे आज बिहान करिब ४ः०० बजेतिर अचानक बिरामी भएका थिए । तत्काल बेस क्याम्पतर्फ फर्काउने क्रममा उनको बाटोमै निधन भएको हो । ट्रेक नेपाल कम्पनीमार्फत आरोहणमा सहभागी घिमिरेको शव हेलिकोप्टरमार्फत लुक्ला हेलिप्याड ल्याइएको र परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । यसअघि पनि सगरमाथाको चुचुरो चुमिससकेका घिमिरे पछिल्लो समय आरोही ‘गाइड’को रूपमा समेत कार्यरत थिए ।
दार्चुलामा भूकम्प
काठमाडौं । दार्चुलाको तपोवन आसपासलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज (आइतबार) बिहान ११ः५५ मा चार दशमलव एक म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको धक्का स्थानीय रुपमा महसुस गरिएको थियो ।
फ्लाई नेपा ट्राभल्सलाई ‘बेस्ट इन ट्राभल मार्केटिङ्’ अवार्ड
काठमाडौं । नेपाली पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्दै आएको फ्लाइ नेपा ट्राभल एन्ड टुर्सले प्रतिष्ठित ‘विङ्स अण्डर फोर्टी’ अवार्ड अन्तर्गत ‘बेस्ट इन ट्राभल मार्केटिङ्’ सम्मान प्राप्त गरेको छ । कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक विनोद अधिकार को नेतृत्वमा नेपालको पर्यटन प्रवद्र्धनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी रूपमा प्रस्तुत गरेको भन्दै उक्त सम्मान प्रदान गरिएको हो । काठमाडौंस्थित होटल लो मुस्ताङमा आयोजित विशेष कार्यक्रममा अवार्ड वितरण गरिएको थियो । कार्यक्रमको आयोजना ग्लोबल एक्रिडेसन काउन्सिलले गरेको थियो भने सहआयोजकका रूपमा यात्रा म्यागजिन थियो । कार्यक्रममा पर्यटन, आतिथ्यता तथा ट्राभल क्षेत्रमा योगदान पु¥याएका ४० वर्षमुनिका युवा उद्यमीहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो। फ्लाई नेपाले आधुनिक डिजिटल मार्केटिङ, अन्तर्राष्ट्रिय प्रवद्र्धन उपकरण र सिर्जनात्मक अभियानमार्फत नेपाललाई विश्व पर्यटन बजारमा प्रभावकारी रूपमा चिनाउन सफल भएको भन्दै कम्पनीलाई ‘बेस्ट इन ट्राभल मार्केटिङ्’ अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ । करिब एक दशकअघि स्थापना भएको फ्लाई नेपा ट्राभल्स एण्ड टुर्सले नेपाल भ्रमण, सांस्कृतिक कार्यक्रम, अन्तर्राष्ट्रिय कन्सर्ट तथा पर्यटन प्रवद्र्धनात्मक गतिविधिमार्फत नेपाललाई विश्वसामु चिनाउँदै आएको छ । विशेषगरी अमेरिका र क्यानडामा आफ्नो उपस्थिति विस्तार गरिसकेको कम्पनीले सन् २०२६ मा दुबईमा समेत कार्यालय स्थापना गर्दै आफ्नो अन्तर्राष्ट्रिय सञ्जाल विस्तार गरेको जनाएको छ । अवार्ड ग्रहणपछि प्रबन्ध निर्देशक विनोद अधिकारीले युवा उद्यमशीलता र पर्यटन क्षेत्रको नवप्रवद्र्धनलाई सम्मान गरिएकोमा आयोजकप्रति आभार व्यक्त गरे । उनले नेपालको पर्यटनलाई विश्व बजारमा अझ सशक्त रूपमा स्थापित गर्ने लक्ष्यसहित आगामी दिनमा थप प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । आधुनिक प्रविधि, अन्तर्राष्ट्रिय पहुँच र नयाँ सोचमार्फत काम गर्दै आएको फ्लाई नेपा ट्राभल्स एण्ड टुर्स नेपाली पर्यटन उद्योगको उदीयमान तथा प्रेरणादायी ब्रान्डका रूपमा स्थापित हुँदै गएको कम्पनीको दाबी छ ।
हिमालयन लाइफ इन्स्योरेन्सको नाफा २६ करोड १४ लाख रुपैयाँ
काठमाडौं । चालु आर्थिक वर्ष २०८२।८३ को ९ महिना (तेस्रो त्रैमास) सम्ममा हिमालयन लाइफले २६ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आवको यही अवधिसम्ममा ४७ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको नाफा ४४.६६ प्रतिशतले घटेको छ । चैत्रसम्ममा कम्पनीले १३ अर्ब २६ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो यही अवधिसम्म कम्पनीले १२ अर्ब ४९ करोड ५५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको कुल बीमा शुल्क ६.१८ प्रतिशतले बढेको छ । कम्पनीले चालु वर्षको चैतसम्म १२ अर्ब ९३ करोड ६२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १२ अर्ब १८ करोड ३० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ६.१८ प्रतिशतले बढेको छ । त्यस्तै चैत्रसम्ममा कम्पनीको महाविपत्ति कोषमा ४६ करोड ६६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ९९ करोड ६३ लाख रुपैयाँ र अन्य इक्विटी १ अर्ब ४२ करोड १८ लाख रूपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोषमा ४६ करोड ५९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ७० करोड २९ लाख रुपैयाँ रहेको थियो भने अन्य इक्विटी पनि १४ करोड ४३ लाख रुपैयाँले ऋणात्मक थियो । शेयरपुँजी ९ अर्ब १४ करोड ३२ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ३.८१ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष ईपीएस ६.८९ रुपैयाँ थियो । कम्पनीको प्रतिशेयर नेटवर्थ १००.४५ रुपैयाँ रहेको छ ।