सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सार्वजनिक गर्यो ‘एसपीआईएल लेन्स’ त्रैमासिक न्यूजलेटर
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीले कम्पनीको त्रैमासिक न्युजलेटर ‘एसपीआईएल लेन्स’ को औपचारिक रूपमा शुभारम्भ गरेका छन् । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा न्युजलेटर शुभारम्भ गर्दै सीईओ क्षेत्रीले बीमा सम्बन्धी ज्ञानवर्धक सूचनाका लागी यो प्रकाशन महत्वपूर्ण हुने बताए । कम्पनीका अनुसार एसपीआईएल लेन्स न्युजलेटरमा कम्पनीको वित्तिय सूचकांक, व्यवस्थापन गतिविधि तथा योजनाहरू सम्बन्धी विस्तृत जानकारी प्रस्तुत गरिने छ । साथै नेपालको बीमा उद्योगको विश्लेषण तथा अन्तर्राष्ट्रिय निर्र्जीवन बीमा बजारका गतिविधि र तिनका प्रभावहरू समेत समेटिनेछ । कार्यक्रममा बोल्दै सीईओ क्षेत्रीले एसपीआईएल लेन्स केवल एक न्यूजलेटर मात्र नभई बीमा उद्योगलाई बुझ्न, अध्ययन गर्न र विश्लेषण गर्न चाहने सबैका लागि मूल्यवान स्रोत बन्ने बताए । उनले कम्पनीले सरोकारवालाहरू सँगको संवादलाई अझ गहिरो बनाउने उद्देश्यका साथ यो प्रकाशन ल्याएको उल्लेख गरे । कम्पनीका अनुसार एसपीआईएल लेन्स हरेक तीन महिनामा नियमित रूपमा प्रकाशित गरिनेछ र डिजिटल माध्यम मार्फत उपलब्ध हुनेछ ।
पाँचौंदेखि एघारौं महाधिवेशनसम्म : एमालेमा विचार, सत्ता र आन्तरिक द्वन्द्व
काठमाडौं । नेकपा एमालेको पाँचौं महाधिवेशनदेखि एघारौं महाधिवेशनसम्मको यात्रा केवल संगठनात्मक निरन्तरता मात्र होइन, नेपालको कम्युनिस्ट आन्दोलन, संसदीय अभ्यास र सत्ता राजनीतिमा आएको रूपान्तरणको प्रतिबिम्ब पनि हो । यी महाधिवेशनहरूमा लिइएका निर्णयहरूले पार्टीको वैचारिक दिशा, नेतृत्व शैली र आन्तरिक लोकतन्त्रको स्वरूपलाई क्रमशः बदल्दै लगेका छन् । २०४९ सालमा सम्पन्न पाँचौं महाधिवेशनलाई एमालेको इतिहासमा सबैभन्दा निर्णायक वैचारिक मोडका रूपमा लिइन्छ। यही महाधिवेशनबाट मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद जबजलाई पार्टीको आधिकारिक मार्गदर्शक सिद्धान्त बनाइयो। यसले एमालेको चरित्रलाई क्रान्तिकारी मात्र होइन, लोकतान्त्रिक र संसदीय कम्युनिस्ट पार्टीका रूपमा स्थापित गर्यो । यसपछि एमाले राजतन्त्रअन्तर्गतको संसदीय प्रतिस्पर्धामा वैधानिक र लोकप्रिय शक्तिका रूपमा उदायो । छैठौँ महाधिवेशन २०५१ सालमा बनेको मनमोहन अधिकारी नेतृत्वको अल्पकालीन कम्युनिस्ट सरकारको अनुभवपछि सम्पन्न भयो । सरकार ढलेको पीडाबीच पनि पार्टीले संसदीय लोकतन्त्र र शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धाबाट नहट्ने स्पष्ट सन्देश दियो । यो महाधिवेशनले संगठन विस्तार, स्थानीय तहमा प्रभाव जमाउने र दीर्घकालीन सत्ता रणनीति निर्माणमा जोड दियो । माधवकुमार नेपालको नेतृत्व यस चरणमा बलियो रूपमा स्थापित भयो । तर ०४७ पुस यता निरन्तर एकता प्रक्रियामा रहेको एमाले यो महाधिवेशन सम्पन्न भएको एक महिनामै बिभजित हुन पुग्यो । एमालेका लागि छैठौं महाधिवेशन बिर्सनुपर्ने अतीत बनेको एमाले नेताहरु बताउँछन् । अत्यन्तै चुनौतीपूर्ण राजनितीक सङ्कटका बेला २०५९ सालको सातौं महाधिवेशन राजा ज्ञानेन्द्रको सक्रियता र माओवादी द्वन्द्व उत्कर्षमा पुगेको समयमा सम्पन्न भयो । देश संविधानिक, राजनीतिक र सुरक्षा संकटमा थियो। एमालेले संवैधानिक राजतन्त्रभित्र लोकतन्त्रको रक्षा गर्ने लाइन लियो र सशस्त्र संघर्षभन्दा संसदीय राजनीतिको विकल्प नै सही ठहर गर्यो । यो महाधिवेशनले एमालेको छवि ‘मध्यपन्थी स्थायित्वको शक्ति’का रूपमा मजबुत बनाएको आम बुझाइ रहेको छ । जनआन्दोलन–२ पछि गणतन्त्र स्थापना भइसकेको परिवेशमा २०६४ सालमा आठौँ महाधिवेशन सम्पन्न भयो । माओवादी पहिलो राजनीतिक शक्ति बनेको अवस्थामा एमालेले आफ्नो भूमिका पुनःपरिभाषित गर्नुपर्ने चुनौती सामना गर्यो । संविधानसभा, संघीयता र समावेशिताको मुद्दामा पार्टीको रणनीति तय गरियो । यही चरणदेखि पार्टीभित्र नेतृत्वबीच वैचारिकभन्दा बढी शक्ति सन्तुलनको बहस सतहमा देखिन थाल्यो । २०७१ सालको नवौँ महाधिवेशनमा केपी शर्मा ओली अध्यक्षमा निर्वाचित भएसँगै पार्टीको नेतृत्व शैली र राजनीतिक भाष्यमा उल्लेखनीय परिवर्तन आयो । राष्ट्रवाद, स्थायित्व र विकासलाई केन्द्रमा राखिएको राजनीतिक लाइन अघि सारियो । यस महाधिवेशनले पार्टीभित्र लामो समयदेखि रहेको सामूहिक नेतृत्वको अभ्यासलाई कमजोर बनाउँदै व्यक्तिकेन्द्रित नेतृत्वतर्फको मोड संकेत गरेको नेताहरुको दाबी छ । २०७९ सालको दशौं महाधिवेशन एमाले विभाजन भई एकीकृत समाजवादी बनेपछि सम्पन्न भयो । यस महाधिवेशनमा ओली नेतृत्व थप सुदृढ बन्यो भने असन्तुष्ट नेताहरू पार्टीबाट बाहिरिए । संगठनात्मक अनुशासन, केन्द्रीकरण र ‘मिसन २०८४’ जस्ता नाराले पार्टीलाई पुनःएकताबद्ध बनाउने प्रयास गरियो । तर आलोचकहरूका अनुसार यसले आन्तरिक लोकतन्त्रको दायरा साँघुरो बनायो । भक्तपुरमा उद्घाटन भएर भृकुटीमण्डपमा चलिरहेको एघारौँ महाधिवेशनमा पार्टीको केन्द्रीय कमिटी संरचना, पदाधिकारी संख्या र कोटा प्रणालीलाई लिएर तीव्र बहस भएको छ । अध्यक्ष र महासचिव केन्द्रित शक्तिमाथि प्रश्न उठाउदै ईश्वर पोखरेल, सुरेन्द्र पाण्डेलगायत नेताहरूले असहमति सार्वजनिक गरेका छन् । यो महाधिवेशन एमालेभित्र संस्थागत अभ्यास जोगाउने र नेतृत्व केन्द्रिकरणबीचको संघर्षको स्पष्ट अभिव्यक्ति बनेको बताइएको छ । पाँचौंदेखि एघारौँ महाधिवेशनसम्म आइपुग्दा एमालेको यात्रा वैचारिक स्पष्टताबाट सत्ता अभ्यास हुँदै शक्ति व्यवस्थापनको राजनीतितर्फ उन्मुख भएको देखिन्छ। जबजजस्तो सिद्धान्तले पार्टीलाई स्थापित गराए पनि पछिल्ला महाधिवेशनहरूमा विधान, संरचना र नेतृत्व शैली नै मुख्य बहसको विषय बनेका छन्। एमाले अब वैचारिक नवीकरण र आन्तरिक लोकतन्त्र सुदृढ गरी दीर्घकालीन स्थायित्व हासिल गर्नुपर्ने कठिन मोडमा उभिएको विश्लेषण हुन थालेको छ ।
नाइमाको पहिलो वार्षिक साधारण सभा सम्पन्न, आगामी मोबिलिटी एक्सपो साउनमा हुने
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले पहिलो वार्षिक साधारण सभा अध्यक्ष रितु सिंह वैद्यको अध्यक्षतामा नाइमाको कार्यालय, कमलपोखरीमा सम्पन्न गरेको छ । साधारण सभाले संस्था स्थापना भएदेखि हालसम्मका प्रमुख उपलब्धि र सिकाइहरूको समीक्षा गर्दै आगामी वर्षका कार्यक्रम, संस्थागत संरचना तथा रणनीतिक योजनाहरू औपचारिक रूपमा पारित गरेको छ । सभालाई सम्बोधन गर्दै अध्यक्ष वैद्यले छोटो अवधिमै नाइमा देशको मोबिलिटी क्षेत्रको एकीकृत र सशक्त आवाजका रूपमा स्थापित हुन सफल भएको बताइन् । उनले विगत नौ महिनामा हासिल गरिएका उपलब्धिहरू प्रस्तुत गर्दै पहिलो ‘नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५’ को सफल आयोजना तथा मोबिलिटी क्षेत्रका सिकाइ सत्रहरूको निरन्तर सञ्चालनले संस्थाको भूमिका अझ व्यापक र विश्वसनीय बनेको उल्लेख गरिन् । कार्यकारी निर्देशक राजकुमार दुलालले आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षण प्रतिवेदन, वार्षिक कार्यक्रम तथा वित्तीय प्रतिवेदन र आगामी वर्षको कार्यक्रम तथा वित्तीय योजना प्रस्तुत गरे । साथै, संस्थाको दीर्घकालीन उद्देश्य हासिल गर्न प्रभावकारी कार्ययोजना र पारदर्शी वित्तीय व्यवस्थापनप्रति कार्यालयको प्रतिबद्धता दोहोर्‍याए । साधारण सभाले आर्थिक वर्ष २०८२/८३ का लागि नियमित मोबिलिटी संवाद, क्षमता अभिवृद्धि तालिम, क्षेत्रगत अध्ययन–अनुसन्धान, नीतिगत बहस तथा पैरवी र ‘नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५’ को आयोजना लगायतका कार्यक्रमहरू पारित गरेको छ । आगामी मोबिलिटी एक्सपो २०८३ साउन २६ गतेदेखि ३१ गतेसम्म भृकुटीमण्डपमा आयोजना गर्ने तयारी नाइमाले गरेको जनाएको छ । संस्थागत सुदृढीकरणअन्तर्गत सदस्य आकाश गोल्छाको नेतृत्वमा रणनीति तथा मेम्बरशिप अफेयर्स समिति गठन गर्ने निर्णय गरिएको छ । साथै, मेगाटेक ग्रुप प्रालिलाई नयाँ सदस्यका रूपमा स्वागत गर्दै कम्पनीका सुरेश लोहनीलाई रिसर्च, मिडिया तथा डेटा समितिमा सदस्यका रूपमा मनोनयन गरिएको छ । समापनमा अध्यक्ष वैद्यले नेपाली मोबिलिटी क्षेत्रको दीर्घकालीन उन्नतिका लागि नाइमाले सक्रिय भूमिका खेलिरहने प्रतिबद्धता व्यक्त गरिन् ।
टियागो ईभी अन्तर–स्कुल चित्रकला प्रतियोगिता 'कार्टनिभल'का आशिम र समय्यालाई पी एस ५ पुरस्कार
काठमाडौं । टियागो ईभी कार्निभल अन्तर–स्कुल चित्रकला कार्यक्रमअन्तर्गत चित्रकला प्रदर्शनी तथा पुरस्कार वितरण कार्यक्रम हालै सम्पन्न भएको छ । सिप्रदीयन सहायता संस्था र बुढानिलकण्ठ स्कुलको सहकार्यमा आयोजित उक्त अन्तर–स्कुल चित्रकला कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो । कार्यक्रममा १० निजी र ६ सामुदायिक गरी १६ विद्यालयका ३७७ भन्दा बढी विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए । कार्यक्रम चित्रकला प्रतियोगिता, उत्कृष्ट कृतिहरूको प्रदर्शनी तथा विशेष पुरस्कार वितरण समारोहसहित सम्पन्न गरिएको थियो । प्रतियोगिताअन्तर्गत कक्षा ५ देखि ८ सम्मको समूहमा त्रियोग हाईस्कुलका आशिम सुन्दास प्रथम भएका छन् भने कक्षा ९ देखि १२ को समूहमा बुढानिलकण्ठ स्कुलकी समया थापा प्रथम हुन सफल भइन् । दुवै समूहका प्रथम विजेतालाई पुरस्कारस्वरूप प्लेस्टेसन–५ (पी एस ५) प्रदान गरिएको थियो । दुई चरणमा सञ्चालन गरिएको यस कार्यक्रमको पहिलो चरणअन्तर्गत गत मङ्सिर १३ गते चित्रकला प्रतियोगिता तथा कार्यशाला आयोजना गरिएको थियो । दोस्रो चरणमा पौष २८ गते उत्कृष्ट कृतिहरूको प्रदर्शनी तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरिएको हो । कक्षा ५ देखि ८ को समूहमा काठमाडौं युरो स्कुलकी ब्रिशा भट्ट द्वितीय, नेशनल ब्लुमिङ फ्लावर एकेडेमीका सामिक कुँवर तृतीय, बुढानिलकण्ठ स्कुलका दक्ष चौधरी चौथो तथा त्रियोग हाईस्कुलकी आश्वी घले पाँचौँ स्थान हासिल गर्न सफल भएका छन् । त्यसैगरी, कक्षा ९ देखि १२ को समूहमा बुढानिलकण्ठ माध्यमिक विद्यालयकी युनिशा श्रेष्ठ द्वितीय र राजन मुखिया तृतीय भएका छन् । उक्त कार्यक्रम बुढानिलकण्ठ स्कुलका प्रिन्सिपल केशर खुलाल, सिप्रदी ट्रेडिङ प्रालिका पेसेन्जर सेग्मेन्ट प्रमुख सावन्त जङ्ग सिजापति, शैक्षिक व्यक्तित्व, अभिभावक, सहभागी विद्यालयका विद्यार्थी तथा कला क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न भएको थियो ।
एमाले महाधिवेशन : ईश्वर पोखरेल प्यानलको महासचिवमा सुरेन्द्र पाण्डेलाई अघि सारिने
काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्यानलबाट महासचिव पदमा सुरेन्द्र पाण्डेलाई अघि सारिने भएको छ । पार्टीभित्रको आन्तरिक छलफलपछि पोखरेल समूहले महासचिवका लागि पाण्डेलाई उम्मेदवार बनाउने तयारी गरेको स्रोतहरूले बताएका छन् । हाल उपाध्यक्ष समेत रहेका पाण्डे पार्टी संगठन, नीति निर्माण र संसदिय अभ्यासमा अनुभवी नेताका रूपमा चिनिन्छन् । पोखरेलपाण्डे प्यानललाई पार्टीभित्र संस्थागत नेतृत्व, सामूहिक निर्णय प्रणाली र विधानअनुसारको संगठन सञ्चालनलाई प्राथमिकता दिने समूहका रूपमा हेरिएको छ । उनीहरूले महाधिवेशनमार्फत पार्टीमा सन्तुलित नेतृत्व, स्पष्ट कार्यविभाजन र नीतिमा आधारित राजनीतिलाई अघि बढाउने प्रतिबद्धता जनाउँदै आएका छन् । यस महाधिवेशनमा अध्यक्ष र महासचिवसहित केन्द्रीय नेतृत्व चयनका लागि प्रतिस्पर्धा हुने निश्चित भएसँगै अध्यक्ष केपी शर्मा ओलि र वरिष्ठ उपाध्यक्ष पोखरेल समूहले आ–आफ्नो प्यानल घोषणा गर्ने क्रम तीव्र बनेको छ । पोखरेल प्यानलबाट अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यका उम्मेदवारबारे अन्तिम टुंगो लगाउने तयारीसमेत भइरहेको बताइएको छ ।
बैंकहरूको औसत ब्याजदर ४.७६ प्रतिशतमा झर्यो, १४ बैंकले घटाउँदा ६ बैंकको स्थिर
काठमाडौं । वाणिज्य बैंकहरूले पुसमा पनि ब्याजदर घटाएका छन् । पुस १ गतेदेखि लागू हुने गरी अधिकांश बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् । पुस महिनाका लागि बैंकहरूको ब्याजदर मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.२७ प्रतिशत घटेर औसत ४.७६ प्रतिशतमा झरेको छ । जबकि मंसिरमा औसत ब्याजदर व्यक्तिगततर्फ ५.०३ प्रतिशत थियो । यस्तै, पुसमा मुद्दती निक्षेपमा ब्याजदर संस्थागततर्फ औसत ०.२१ प्रतिशत घटेर ३.३७ प्रतिशतमा झरेको छ । यसअघि असोजमा संस्थागततर्फ औसत ३.५८ प्रतिशत ब्याजदर थियो । पुस महिनाका लागि १४ बैंकले ब्याजदर घटाएका छन् भने ६ बैंकले ब्याजदर स्थिर राखेका छन् । कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, प्राइम बैंक, प्रभु बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, नबिल बैंक, सानिमा बैंक र राष्ट्रिय वाणिज्य बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् । यस्तै, सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) र एनआईसी एशिया बैंकले भने मुद्दती निक्षेपमा ब्याजदर स्थिर राखेका छन् । पुसमा सबैभन्दा धेरै हिमालयन बैंकले ब्याजदर घटाएको छ । हिमालयनले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ १.५० प्रतिशत घटाएर ४ प्रतिशत र संस्थागततर्फ १.४५ प्रतिशत घटाएर २.८० प्रतिशतमा झारेको छ । यसअघि मंसिरमा व्यक्तिगततर्फ ५.५० प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याजदर तोकेको थियो ।
एमाले महाधिवेशनमा गोकर्ण विष्टले उपाध्यक्षमा उम्मेदवारी दिने
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा वर्तमान सचिव गोकर्ण विष्टले उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । विष्टनिकट स्रोतका अनुसार अध्यक्षका उम्मेदवार ईश्वर पोखरेलको प्यानलबाट उनी उपाध्यक्ष पदका उम्मेदवार रहनेछन् । यसअघि दुई कार्यकाल सचिवको जिम्मेवारी सम्हालेका विष्ट कार्यकर्तामाझ लोकप्रिय नेताका रूपमा परिचित छन् । उनी अनेरास्ववियुको सचिव तथा तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको दुई कार्यकाल अध्यक्षसमेत रहिसकेका छन् । विष्ट गुल्मी क्षेत्र नम्बर २ बाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य हुन् । साथै, उनी ऊर्जा तथा श्रम मन्त्रीको जिम्मेवारी पनि निर्वाह गरिसकेका छन् ।
यस्तो छ सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । यसैगरी युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ५० पैसा र बिक्रीदर १७० रुपैयाँ २० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १९३ रुपैयाँ ८५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ३८ पैसा र बिक्रीदर १८२ रुपैयाँ १३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ०४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ८२ पैसा र बिक्रीदर १०५ रुपैयाँ २६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ७५ पैसा र बिक्रीदर ११२ रुपैयाँ २१ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २६ पैसा र बिक्रीदर नौ रुपैयाँ ३० पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ४६ पैसा र बिक्रीदर २० रुपैयाँ ५५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६३ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७७ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५७ पैसा र बिक्रीदर चार रुपैयाँ ५९ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ २१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३५ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७९ पैसा र बिक्रीदर नौ रुपैयाँ ८३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ५७ पैसा र बिक्रीदर १५ रुपैयाँ ६४ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६९ पैसा र बिक्रीदर २२ रुपैयाँ ७९ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५५ पैसा र बिक्रीदर १८ रुपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४७० रुपैयाँ ६५ पैसा र बिक्रीदर ४७२ रुपैयाँ ६१ पैसा, बहराइन दिनार एकको खरिददर ३८२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ५६ पैसा , ओमनी रियाल एकको खरिददर ३७४ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ५४ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।