जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले जेनजी प्रतिनिधि र प्रधानमन्त्री सुशीला कार्कीबीच भएको सम्झौता बमोजिम जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय गरेको छ । बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताएका हुन् । गत असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले गत भदौ २३ र २४ गतेको घटनाको लागि जाँचबुझ आयोग गठन गरेको थियो । उनका अनुसार सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा कार्यरत नेपाल न्याय सेवा कानुन समूह राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव पुष्कर सापकोटालाई निजामति सेवा ऐन, २०४९ को दफा ९ को उपदफा १ बमोजिम नेपाल न्याय सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा नियुक्ति गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको छ । जेन–जी आन्दोलनका प्रतिनिधि र प्रधानमन्त्री सुशीला कार्कीबीच मंसिर २४ गते भएको सम्झौता अनुमोदन गर्ने निर्णय गरेको छ । साथै अतिरिक्ताङ्क गरी नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको बताए । उक्त सम्झौता सम्वद्ध मन्त्रालयले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय भएको पनि मन्त्री खरेलले जानकारी दिए । सरकारले समाजकल्याण परिषद्को रिक्त सदस्यसचिव पदमा नियुक्त गर्ने निर्णय भएको पनि उनले बताए ।
भिजिट भिसा प्रकरणः सहसचिव भट्टराई र अधिकृत अर्यालसहित ७ विरुद्ध विशेष अदालतमा मुद्दा दायर
काठमाडौं । भिजिट भिसा दुरुपयोग गर्दै भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन कार्यालयका तत्कालीन प्रमुख एवं सहसचिव तीर्थराज भट्टराईसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बिहीवार अख्तियार भिजिट भिसा दुरुपयोग प्रकरणमा सहसचिव भट्टराईसहित ७ जना र दुईवटा कम्पनीलाई समेत प्रतिवादी बनाई विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले ७ चैत २०८१ मा सहसचिव भट्टराईलाई पक्राउ गरेपछि भिजिट भिसा प्रकरण सतहमा आएको थियो । विशेष अदालका उपरजिस्ट्रार तथा प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार सहसचिव भट्टराईसँगै अधिकृत यज्ञराज अर्याल, ग्रिन लाइन होलिडेका अध्यक्ष बालकृष्ण खड्का, फेमिलि होलिडेका सञ्चालक दीपक भण्डारी, ग्रिन लाइन सञ्चालक राम खड्का, सहायक कविता पौडेल, जग्गा कारोबारी खेम सुवेदीलाई प्रतिवादी बनाइएको छ । अभियोगपत्रअनुसार प्रतिवादीहरुले २५७ जनालाई विदेश पठाएबापत बद्नियतपूर्वक सेटिङ गरी रिसवट लिई भ्रष्टाचारजन्य कार्य गरेको अख्तियारको दाबी रहेको उनको भनाइ छ । उनले भने, ‘आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईसहित ७ जना व्यक्ति र दुई वटा कम्पनी समेतलाई प्रतिवादी बनाई घुस, रिसवत तथा सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरेको छ । २५७ जनालाई विदेश पठाएवापत बद्नियतपूर्वक सेटिङ गरी रिसवट लिई भ्रष्टाचारजन्य कार्य गरेको अख्तियारको मुख्य दाबी छ ।’ भिजिट भिसा दुरुपयोगको प्रकृतिअनुसार बिगो माग दाबी गरिएको समेत उनले जानकारी दिए ।
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त राजदूतहरूले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति भवनमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरूले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । नेपालका लागि उज्वेकिस्तानका राजदूत सर्दोर मिर्जायुसुपोभिच रुस्तामबायेभ, रोमानियाकी राजदूत सेना लतिफ, ताजिकिस्तानका राजदूत लुक्मोर बोबोकालोन्जोदा, आइसल्याण्डका राजदूत बेनेडिक्ट हेओस्कुल्द्सन र क्युवाका राजदूत हुवान कार्लोस मार्सान अगुइलेराले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो।
नेरुडे मिर्मिरे लघुवित्तको कामु सीईओमा ऋषी प्रसाद न्यौपाने नियुक्त
काठमाडौं । काभ्रेपलाञ्चोकस्थित नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा सहायक प्रमुख कार्यकारी अधिकृत ऋषी प्रसाद न्यौपाने नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको मंसिर १३ गते बसेको बैठकले न्यौपानेलाई कायम मुकायम सीईओ पदको जिम्मेवारी दिने निर्णय गरेको हो । यस अघि कामु सीईओ भागनागरायण साहुले मंसिर २४ गते स्वैच्छिक अवकाश लिएपछि उक्त जिम्मेवारी न्यौपानेलाई सुम्पिएको हो । न्यौपानेले २०५५ सालमा लघुवित्त क्षेत्रमा सेवा प्रवेश गरी निर्घन उत्थान लघुवित्त वित्तीय संस्थामा फिल्ड सहायक पदबाट करियर सुरु गरेका थिए । २०६१ सालमा नेरुडे लघुवित्तमा अधिकृत पदमा प्रवेश गरेका न्यौपाने यसअघि जनशक्ति व्यवस्थापन विभाग प्रमुख र कम्पनी सचिवको रूपमा पनि कार्यरत रहेकाछन् । मर्जरपछि उनले नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको आन्तरिक लेखापरीक्षण विभागको प्रमुख लगायत कार्यकारिणी तहका जिम्मेवारीहरू सफलतापूर्वक बहन गरिसकेका छन् । करीब अढाई दशक लामो अनुभव भएका न्यौपाने लघुवित्त क्षेत्रका अनुभवी पेशेवर हुन् । सञ्चालक समितिको विश्वास अनुसार, प्रमुख कार्यकारी अधिकृतका रूपमा उनले नियामकीय निर्देशनहरू पालना गर्दै संस्थाले उत्कृष्ट सेवा प्रदान गर्ने, सेयरधनीलाई यथोचित प्रतिफल दिने र कर्मचारी व्यवस्थापनलाई सुदृढ बनाउने काम गर्नेछन् । न्यौपानेले आफ्नो कार्यकालमा लघुवित्तको सन्तुलित व्यापार विस्तार, ग्राहक सेवामा नयाँ र सुरक्षित प्रविधियुक्त बैंकिङ सुविधा उपलब्ध गराउने र लगानीकर्तालाई उचित प्रतिफलसहित बजारमा संस्थाको सम्मानजनक उपस्थिति अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सरकारले अनुमोदन गर्यो जेनजी समूहसँग भएको सम्झौता
काठमाडौं । सरकारले जेनजी समूहसँग भएको सम्झौतालाई अनुमोदन गरेको छ । नेपाल सरकारले जेनजी समूहसँग बुधवार मात्रै सम्झौता गरेको थियो । उक्त सम्झौता राजपत्रमा प्रकाशन गर्ने निर्णय मन्त्रिपरिषदले गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
वेवारिसे अवस्थामा करिब एक टन गाँजा बरामद
विराटनगर । मोरङ प्रहरीले रङ्गेली नगरपालिका–८ स्थितबाट बेवारिसे अवस्थाामा ठूलो परिमाणमा गएराति लागूऔषध गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएका प्रहरी टोली ९२१ किलो ६६ ग्राम २९ वटा बोरामा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरेको प्रहरी उपरीक्षक कवित कटवालले जानकारी दिए । घटनापछि गाँजा ओसारपसारमा लाग्ने व्यक्तिको खोजी भइरहेको उनले बताए ।
ऋतु प्रधान मल्ल एनआइबिएल इक्विटी पार्टनर्सको सह-प्रमुखमा नियुक्त
काठमाडौं । एनआइएमबि एस क्यापिटल लिमिटेडले व्यवस्थापन गर्दै आएको एनआइबिएल इक्विटी पार्टनर्सको सह-प्रमुखमा ऋतु प्रधान मल्ल नियुक्त भएकी छन् । मल्लले अब कम्पनीको प्राइभेट इक्विटी, लगानी व्यवस्थापन र दिगो वित्त लगायतका क्षेत्रमा रणनीतिक नेतृत्व प्रदान गर्नेछिन् । कम्पनीका अनुसार उनले ईएसजी (पर्यावरण, सामाजिक र शासन) एकीकृत लगानी ढाँचाको विस्तार र पोर्टफोलियो निगरानीमा महत्वपूर्ण भूमिका निभाउनेछिन् । क्लाइमेट फाइनान्स, प्राइभेट इक्विटी र उद्यम विकासको क्षेत्रमा १४ वर्षभन्दा बढी अनुभव संगालेकी मल्लले यसअघि बिजनेस अक्सिजन, क्रस बाउन्ड्री एडभाइजरी र यूएसएआईडी अन्तर्गतका परियोजनाहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेकी छन् । उनले हाल घामपावरको स्वतन्त्र सञ्चालक र इम्प्याक्ट हब काठमाडौंको सल्लाहकार बोर्ड सदस्यको रूपमा पनि काम गरिरहेकी छिन् । एनआइएमबि एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवान्त बहादुर पाँडेले मल्लको अनुभवले कम्पनीको लगानी रणनीति र नेपालको वित्तीय क्षेत्रमा दीर्घकालीन मूल्य सिर्जना गर्ने लक्ष्यमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । ऋतु प्रधान मल्लले भनिन्, 'नेपालको पुँजी बजार तीव्र रूपमा विकास हुँदै गर्दा म एनआईबिएल इक्विटी पार्टनर्समा सामेल हुन पाउँदा सम्मानित अनुभव गरिरहेकी छु । कम्पनीमा योगदान पुर्याउन र नेपालको वित्तीय क्षेत्रमा नयाँ अध्यायको विकासमा सहयोग गर्न तत्पर छु ।'
महाधिवेशन प्रतिनिधिले नचाहे अध्यक्षको उम्मेदवार बन्दिनँ : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी नेतृत्व चयनमा सहमतिको वातावरण निर्माण गर्न आफू प्रयासरत रहेको बताएका छन् । बिहीबार पत्रकारसँगको कुराकानीमा उनले भने, ‘दबाब र भेदभाव बिना सहमति खोजिन्छ, नभए लोकतान्त्रिक विधिबाटै नेतृत्व चयन हुनेछ ।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले प्रतिनिधिहरूले नचाहे आफू अध्यक्ष पदबाट हट्न पनि तयार रहेको बताए । तर प्रतिनिधिहरूले निरन्तरता दिन चाहे त्यसका लागि पनि आफू सकारात्मक रहने उनको भनाइ थियो । उनले भने, ‘एमालेमा महाधिवेशन प्रतिनिधिहरू सार्वभौम छन् । सार्वभौम प्रतिनिधिहरूको निर्णय र विवेक नै अन्तिम हुन्छ ।’ ११ औं महाधिवेशनको पूर्वसन्ध्यामा अध्यक्ष पदमा नेता ईश्वर पोखरेलले गरेको घोषणाबारे सम्पादकहरूले जिज्ञासा राख्दा ओलीले भने– मलाई यसबारे जानकारी भएन । ‘बाहिर-बाहिर अध्यक्षमा उम्मेदवारी दिएँ भन्ने कमरेड पोखरेलको भनाइलाई कसरी बुझ्ने ?,’ ओलीले थपे । एमालेको महाधिवेशन नजिकिँदै गर्दा शीर्ष नेताहरूबीचको दौडधूप तीव्र बन्दै गएका बेला ओलीको यस अभिव्यक्तिलाई महत्त्वपूर्ण संकेतका रूपमा हेरिएको छ ।