विकासन्युज

हालसम्म ५ जीवन बीमकले घोषणा गरे नयाँ बोनसदर, कुनले कति दिँदैछन् ?

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को लागि हालसम्म ५ जीवन बीमा कम्पनीले नयाँ बोनसदर घोषणा गरेका छन् । हालसम्म नेपाल लाइफ, मेट लाइफ, आईएमई लाइफ, सानिमा रिलायन्स र सिजिटन्स लाइफले नयाँ बोनस दर घोषणा गरेका हुन्। बीमा कम्पनीहरूले हरेक वर्ष कम्पनीको बीमांकी मूल्यांकन (एक्चुरियल भ्यालुएशन) पछि नयाँ बोनसदर घोषणा गर्ने गरेका छन् । त्यसैको आधारमा बीमितले नयाँ बोनस रकम पाउँछन् । नेपाल लाइफ नेपाल लाइफ इन्स्योरेन्सले बीमितलाई प्रतिहजार न्यूनतम ५५ रुपैयाँदेखि अधिकतममा ८५ रुपैयाँसम्म नयाँ बोनसदर कायम गरेको छ । कम्पनीले सावधिक जीवन बीमालेख (सुरक्षित जीवन, जीवन ज्योति, ग्रामीण सावधिक, सावाधिक लघु, केटाकेटी बाल शिक्षा योजना, जीवन लक्ष्मी, अनमोल जीवन, जीवन उदय एकल) बीमालेखमा न्यूनतम ६० रुपैयाँदेखि ८२ रुपैयाँसम्म निर्धारण गरेको छ । त्यस्तै, सावधिक जीवन बीमालेख (नौलो सुरक्षित, नौलो केटाकेटी जीवन बीमा)मा न्यूनतम ६५ रुपैयाँदेखि ८२ रुपैयाँ, सावाधिक जीवन बीमालेख (जीवन समुनन्त) मा न्यूनतम ५६ रुपैयाँदेखि ७० रुपैयाँसम्म निर्धारण गरेको छ । सावधिक जीवन बीमालेख (सुनौलो भविष्य जीवन बीमा योजना–विकल्प १÷विकल्प २) को लागि न्यूनतम १० वर्षसम्म, ११ देखि १५ वर्ष र १६ देखि १९ वर्ष अवधिका लागि ६० रुपैयाँ, २० देखि २५ वर्ष अवधिका लागि ६२ रुपैयाँ, २६ वर्षदेखि ३० वर्षसम्मका लागि ६५ रुपैयाँ र ३० वर्ष माथि अवधिका लागि प्रतिहजार ६५ रुपैयाँ कायम भएको छ । सावाधिक जीवन बीमालेख (सुनौलो भविष्य जीवन बीमा योजना–विकल्प १, एकल बीमाशुल्क) मा न्यूनतम ५५ रुपैयाँदेखि ६० रुपैयाँ कायम भएको छ । सावधिक जीवन बीमालेख (केटाकेटी सुनौलो भविष्य, जीवन बीमा योजना) मा न्यूनतम प्रतिहजार ६० रुपैयाँदेखि ६२ रुपैयाँसम्म नयाँ बोनसदर तोकेको छ । सावाधिक तथा आजीवन बीमालेख (जीवन साहारा, अनमोल जीवन) बीमालेखमा प्रतिहजार न्यूनतम ७० रुपैयाँदेखि ८२ रुपैयाँसम्म, अग्रिम भुक्तानी सावाधिक बीमालेख (जीवन समृद्धि) बीमा योजनामा न्यूनतम ५६ रुपैयाँसम्म बोनस दर कायम गरेको छ ।  अग्रिम भुक्तानी सावधिक (धन वर्षा–१५, धन वर्षा–२०, नौलो जीवन समृद्धि, जीवन उन्नति, नौलो धन वर्षा, जीवन शान्ति, छोराछोरी र सदाबहार जीवन) योजना र अग्रिम भुक्तानी सावधिक बीमालेख (नौलो जीवन सम्बृद्धि) मा न्यूनतम ५६ रुपैयाँ कायम गरेको छ । अन्य (जीवन सारथी) बीमालेखमा न्यूनतम ६२ रुपैयाँदेखि ८५ रुपैयाँ कायम गरेको छ ।  सानिमा रिलायन्स लाइफ सानिमा रिलायन्स लाइफले आव २०८१/८२ को लागि न्यूनतम १९ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीले सावधिक जीवन बीमा योजना (रेगुलर) बीमालेखमा न्यूनतम प्रतिहजार ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ बोनसदर निर्धारण गरेको छ । सावधिक जीवन बीमा योजना (एकल) योजनाअन्तर्गत न्यूनतम ३५ रुपैयाँदेखि ६५ रुपैयाँसम्म, त्रिपल सावधिक बीमालेखमा न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँसम्म निर्धारण गरेको छ । त्यसैगरी कम्पनीले नयाँ दम्पती सावधिक बीमा योजनामा न्यूनतम २० रुपैयाँदेखि ३० रुपैयाँ, सावधिक तथा आजीवन योजनाअन्तर्गत न्यूनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म नयाँ बोनस दर कायम गरेको छ । अग्रिम भुक्तानी योजनामा न्यूनतम ३२ रुपैयाँदेखि ४२ रुपैयाँ, वार्षिक अग्रिम भुक्तानी योजनाअन्तर्गत न्यूनतम १९ रुपैयाँदेखि २१ रुपैयाँ, मुद्दति सुरक्षण बीमा योजना (नियमित शुल्क र एकल शुल्क) मा न्यूनतम २४ रुपैयाँदेखि ५४ रुपैयाँसम्म नयाँ बोनस दर कायम गरेको छ । त्यसैगरी १५ वर्षे अग्रिम भुक्तानी योजनाअन्तर्गत  न्यूनतम ४१ रुपैयाँदेखि अधिकतम ४५ रुपैयाँ, रुपान्तरित वार्षिक अग्रिम भुक्तानी योजनाअन्तर्गत ३० रुपैयाँ, सामूहिक सावधिक बीमालेखको लागि २० रुपैयाँ, सावधिक तथा आजीवनमा न्यूनतम ३० रुपैयाँदेखि  ६० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ ।  सावधिक योजनाअन्तर्गत न्यूनतम ३० रुपैयाँदेखि ७५ रुपैयाँ, सीमित भुक्तानी सावधिकअन्तर्गत न्यूनतम ४२ रुपैयाँदेखि ६५ रुपैयाँबाल सावधिक (मेरो मुटु आई) योजनामा न्यूनतम २२ रुपैयाँदेखि ४५ रुपैयाँ, बाल सावधिक (मेरो मुटु ई) अन्तर्गत न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३४ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । आइएमई लाइफ कम्पनीले विभिन्न बीमालेखको लागि न्यूनतम २२ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसमा सावधिक सीमित अवधि भुक्तानी सावधिक तथा बाल सावधिक बीमालेखमा न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । सामूहिक सावधिक बीमालेखमा न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म सावधिक तथा आजीवनमा न्यूनतम ३२ रुपैयाँदेखि ८० रुपैयाँसम्म, अग्रिम भुक्तानी तथा आजीवन (कल्पधन) मा न्यूनतम ३८ रुपैयाँदेखि ६३ रुपैयाँ बोनसदर कायम गरेको छ । बाल अग्रिम भुक्तानी सावधिक (बाल उमंग) बीमालेखको लागि न्यूनतम ३० रुपैयाँदखि अधिकतम ६५ रुपैयाँसम्म कायम गरेको छ । वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख (धन सरिता र धन सरिता प्लस) बीमालेख सम्पूर्ण बीमा अवधिका लागि एउटै प्रतिहजार २२ रुपैयाँ बोनस निर्धारण गरिएको छ । वार्षिक बाल अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख (बाल किरण) बीमालेखमा न्यूनतम ३० रुपैयाँदेखि ६० रुपैयाँसम्म कायम गरेको छ । मेट लाइफ मेट लाइफले विभिन्न बीमालेखमा न्यूनतम प्रतिहजार ४० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म नयाँ बोनसदर घोषणा गरेका छन् ।कम्पनीले अग्रिम भुक्तानी (थ्री पेमेन्ट प्लान) बीमालेखमा न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । अन्तर्गत सावधिक जीवन बीमा योजनामा न्यूनतम ५० रुपैयाँ र अधिकतम ७० रुपैयाँ बोनसदर कायम गरेको छ । शिक्षा संरक्षण बीमालेखमा न्यूनतम ५० रुपैयाँ र अधिकतम ७० रुपैयाँ बोनसदर कायम गरेको छ । माई चाइल्ड एजुकेसन प्रोटेक्सन बीमालेखमा न्यूनतम ४० रुपैयाँ र अधिकतम ५० रुपैयाँ बोनसदर कायम गरेकोे छ । सिटिजन लाइफ सिटिजन्स लाइफले विभिन्न बीमालेखमा प्रतिहजार न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा न्यूनतम ४४ रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँ बोनसदर तोकेको छ । वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा न्यूनतम २५ रुपैयाँदेखि अधिकतम २८ रुपैयाँ बोनसदर कायम गरेको छ । सिजिजन शुभारम्भ योजना (सावधि बीमालेख) मा न्यूनतम ३९ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । त्यस्तै सावधिक जीवन बीमालेखमा न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँसम्म कामय गरेको छ ।  सिटिजन बाल भविष्य योजना (सावाधिक बीमालेख) अन्तर्गत न्यूनतम ४० रुपैयाँदेखि अधिकतम  ६७ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । सिटिजन जीवन सारथी योजना (सावधिक तथा आजीवन बीमालेख) न्यूनतम ३८ रुपैयाँदेखि ६५ रुपैयाँ नयाँ बोनसदर निर्धारण भएको छ । 

हितेन्द्रदेवले पुन: सम्हाले प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी, यस्तो छ पहिलो निर्णय

काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट पुनर्बहाली भएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आज (बुधबार) आफ्नो पदभार ग्रहण गरेका छन् । करिब अढाई महिनापछि कार्यालय फर्किएका शाक्यलाई कर्मचारीहरूले फूलमाला र खादाले स्वागत गरे । पदभार ग्रहण गरेलगत्तै उनले आफ्नो पहिलो निर्णयका रूपमा राष्ट्रिय प्रसारण प्रणालीको मेरुदण्ड मानिने ढल्केबर सबस्टेसनका लागि अत्यावश्यक स्पेयर पार्ट्स खरिद गर्न समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । प्राधिकरणको प्रधान कार्यालय रत्नपार्कमा आइपुगेका शाक्यले हाजिरी मेसिनमा औंठाछाप लगाएर र हाजिरी खातामा हस्ताक्षर गरेर औपचारिक रूपमा काम सुरु गरे । उनलाई स्वागत गर्न उपस्थित कर्मचारीहरूले पदभारका लागि बधाई भन्दै शुभकामना दिएका थिए ।  शाक्यले आफ्नो पहिलो प्राथमिकता ढल्केबर सबस्टेसनको मर्मत र सुरक्षा रहेको बताए । ‘यो हाम्रो सबैभन्दा क्रिटिकल सबस्टेसन हो । एउटा सानो स्पेयर पार्ट नहुँदा पनि प्रणाली नै प्यारालाइज हुने अवस्था आउन सक्छ,’ उनले भने, ‘त्यसैले स्पेयर पार्ट्सको कमी हुन नदिन खरिद प्रक्रिया अघि बढाउन समिति गठन गर्ने निर्णय गरेको हुँ ।’ करिब अढाई महिनाको ग्यापलाई व्यक्तिगत दुःखद घटना र त्यसबाट सिर्जित मानसिक तनावको समय भन्दै उनले अदालतले न्याय दिएकोमा खुसी व्यक्त गरे । ‘विद्युत प्राधिकरणको एमडी भएकै नाताले मैले त्यो दुर्घटना बेहोर्नुप¥यो,’ उनले भने, ‘अब पहिलेभन्दा अझ बढी जोस र लगनशीलताका साथ काम गर्नेछु ।’ उनले नेपाल सरकारको नीति–निर्देशनअनुसार प्राधिकरणको हकहितलाई सर्वोपरि राखेर काम गर्ने प्रतिबद्धता जनाए । शाक्यले कार्यकारी निर्देशक भएकै कारण आफूलाई प्राधिकरणबाट हटाइएको आरोप लगाए । उनले अब आफ्ना कार्यक्रमलाई पहिलाभन्दा पनि अझ बढी जोश र लगनशीलतासहित अघि बढाउने प्रतिवद्धता जनाए ।  सरकारको नीति निर्देशन बमोजिम प्राधिकरणको आफ्नो हक हितलाई सर्वोपरि ठानेर अघि बढ्ने शाक्यले बताए । अबको साढे तीन वर्ष एउटा निश्चित गोल पूरा गर्नेगरी लाग्ने उनको भनाइ छ । ऊर्जामन्त्री र आफूले राम्रोसँग विद्युतको क्षेत्र बुझेकाले मिलेर काम गर्नुपर्ने उनले बताए ।  उनले भने, ‘नेपाल सरकारको नीति निर्देशन बमोजिम प्राधिकरणको आफ्नो हक हितलाई सर्वोपरि ठानेर अघि बढ्नेछु । पहिला केही कमजोरी भएका रहेछन् भने पनि त्यो हुन दिँदैन । अबको साढे ३ वर्ष एउटा निश्चित गोल पूरा गर्नेगरी काम गर्छु  । ऊर्जामन्त्रीज्यु र म दुवै प्राधिकरणका क्याडर हो । हामीलाई यो क्षेत्रमा राम्रै ज्ञान छ । हामीले चिलिमेदेखि यहाँसम्मका अनुभवहरू भोगेर आएका छौं ।’ उक्त निर्णयलाई सर्वोच्च अदालतले गैरकानुनी ठहर गर्दै उनलाई प्राधिकरणको पदमा पुन:स्थापित गर्ने आदेश गरेको थियो ।  सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले सोमवार जारी गरेको आदेशमा मन्त्री घिसिङको प्रश्तावलाई पूर्वाग्रही र प्रतिशोधपूर्ण भन्दै अस्वीकार गरेको हो ।  अदालतले शाक्यलाई तत्काल प्राधिकरणको कार्यकारी निर्देशक पदमा फिर्ता पठाउने र सरुवा प्रक्रिया उल्टाउने आदेश दिएको थियो ।  सरकारले कुलमान घिसिङलाई ऊर्जामन्त्रीमा नियुक्त गरेपछि शाक्यलाई ऊर्जा आयोगमा पठाइएको थियो । उक्त निर्णयविरुद्ध अदालत गएका शाक्यलाई सर्वोच्च अदालतले पुनर्बहाली गर्न आदेश दिएको हो ।

भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो

वीरगञ्ज । भन्सार ‘एजेन्ट’को आन्दोलनले भन्सार जाँचपास प्रभावित भएको छ । यही मङ्सिर २० गतेदेखि लागू भएको भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन, २०८२ को प्रावधानप्रति विमति जनाउँदै भन्सार ‘एजेन्ट’ आन्दोलित भएका हुन् । मङ्गलबार पेट्रोलियम पदार्थको भन्सार जाँचपासबाहेक सबै काम ठप्प रह्यो । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले भन्सार ऐन, २०८२  बाट सिर्जित समस्या समाधान हुनुपर्नेमा जोड दिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख विष्णुप्रसाद ज्ञवालीले समस्या समाधानको प्रयास भइरहेको र आजदेखि जाँचपासको प्रक्रिया नरोकिनेमा  आफू आशावादी रहेको बताए । 

१५ औं महाधिवेशनको सभापति पदमा चन्द्र भण्डारी पनि प्रतिष्पर्धी

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै सभापति पदप्रति आफ्नो आकांक्षा रहेको बताएका छन् ।  सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले पार्टी, लोकतन्त्र र जनहितलाई प्राथमिकता दिएर आफू आवश्यकताअनुसार शून्यदेखि सयसम्म अघि बढ्न तयार रहेको उल्लेख गरेका छन् । भण्डारीले लेखेका छन्, ‘नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि निर्धारित छ । देश, जनता, प्रजातन्त्रको हित र संगठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार आवश्यक रूपमै अघि बढ्न तयार छु ।’ साथीभाइको सुझाव, समयको माग र राजनीतिक परिस्थितिलाई सम्मान गर्दै निर्णय अघि बढ्न आफू तयार रहेको पनि भण्डारीले उल्लेख गरेका छन् । । १५ औं महाधिवेशन नजिकिँदै जाँदा कांग्रेसभित्र नेतृत्व चयनका विषयमा चहलपहल बढ्दै गएको छ । भण्डारीको यो अभिव्यक्तिलाई सभापति पदमा सम्भावित दाबेदारका रूपमा खुलेर प्रस्तुत भएको संकेतका रूपमा हेरिएको छ ।  भण्डारीको स्टाटस गुल्मीका धेरै कांग्रेस नेताहरूले सेयरसमेत गरेका छन् । भण्डारीका स्वकिय सचिव समेत रहेका बोधराज कँडेलले पनि भण्डारी आगामी १५ औँ महाधिवेशनमा सभापतिको उमेदवार बन्ने तयारी गरेको जानकारी दिए ।

विश्वकै सबैभन्दा ठूलो आईपीओ ल्याउँदै एलन मस्क

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्क नयाँ इतिहास बनाउन लागेका छन् । उनको कम्पनी स्पेसएक्सले आउँदो वर्ष २०२६ मा विश्वकै सबैभन्दा ठूलो आईपीओ ल्याउने तयारी गरिरहेको छ ।  स्रोतका अनुसार कम्पनीले यो आईपीओबाट ३० अर्ब डलरभन्दा बढी रकम जुटाउन सक्छ । यसपछि कम्पनीको मूल्यांकन करिब १.५ ट्रिलियन डलर पुग्ने अपेक्षा गरिएको छ । हाल भइरहेको सेकेन्डरी अफरिङमा स्पेसएक्सको सेयर मूल्य करिब ४२० डलर तोकिएको छ । यसले कम्पनीको मूल्यांकन ८०० अर्ब डलरभन्दा माथि पुगेको छ । यदि स्पेसएक्सले यो मूल्यांकनमा कम्पनीको ५ प्रतिशत हिस्सा बिक्री गर्छ भने उसले ४० अर्ब डलर बराबरका सेयर बेच्नु पर्ने हुन्छ । यसले यसलाई इतिहासकै सबैभन्दा ठूलो आईपीओ बनाइदिनेछ । स्पेसएक्स अहिले विश्वको सबैभन्दा मूल्यवान स्टार्टअप कम्पनी मानिन्छ । स्पेसएक्सको म्यानेजमेन्ट र सल्लाहकारहरू २०२६ को मध्यदेखि अन्त्यसम्म आईपीओ ल्याउने प्रयासमा छन् । तर बजार परिस्थितिसहितका केही अन्य कारणहरूले यो मिति सरेर २०२७ सम्म पनि जान सक्ने बताइन्छ । स्पेसएक्सले यसबारे तत्काल कुनै टिप्पणी गरेको छैन ।  अहिलेसम्मको सबैभन्दा ठूलो आईपीओ साउदी अरबको सरकारी तेल कम्पनी साउदी अरामकोको हो, जसले २०१९ मा आईपीओमार्फत २९ अर्ब डलर जुटाएको थियो । कम्पनीले त्यतिबेला केवल १.५ प्रतिशत मात्र हिस्सेदारी बेचेको थियो । स्रोतका अनुसार मस्क र कम्पनीको बोर्ड अफ डायरेक्टरले पछिल्लो समय आईपीओ तथा फन्ड जुटाउने योजनाहरूलाई तीव्रता दिएका छन् । स्पेसएक्सको आईपीओको मार्ग छिटो बन्नुको मुख्य कारण यसको तीव्र गतिमा विस्तार भइरहेको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा हो । यसमा डायरेक्ट–टु–मोबाइल व्यवसायको सम्भावना पनि समावेश छ । साथै चन्द्रमा र मंगल ग्रहका लागि स्टारशिप रकेट विकास पनि अर्को महत्त्वपूर्ण कारण हो । एक स्रोतका अनुसार २०२५ मा कम्पनीको रेभिन्यू करिब १५ अर्ब डलर रहने अनुमान छ । २०२६ मा यो बढेर २२ देखि २४ अर्ब डलरको बीच पुग्न सक्छ, जसको ठूलो हिस्सा स्टारलिंक सेवाबाट आउनेछ ।  स्पेसएक्सले आईपीओबाट जुटाएको केही रकम अन्तरिक्ष आधारित डेटा सेन्टर विकास गर्न प्रयोग गर्नेछ । यसका लागि आवश्यक चिप्स खरिद पनि त्यसमै समावेश हुनेछ । स्पेसएक्स अमेरिकी निजी अन्तरिक्ष कम्पनी हो जसलाई मस्कले सन् २००२ मा स्थापना गरेका हुन् । यसको मुख्य उद्देश्य अन्तरिक्ष यात्रालाई सस्तो, सुरक्षित र दीर्घकालीन रूपमा सम्भव बनाउनु र भविष्यमा मानिसलाई मंगल ग्रहमा बसोबास गर्न सक्षम बनाउनु हो । स्पेसएक्सले विकसित गरेको फाल्कोन ९ र फाल्कोन हेभी जस्ता पुनःप्रयोगयोग्य रकेटहरू अहिले विश्वका सबैभन्दा भरोसायोग्य लन्च भेहिकल मानिन्छन् । रकेटलाई अवतरण गराएर पुनः प्रयोग गर्ने प्रविधि सुरु गरेको पहिलो निजी कम्पनी यही हो, जसले अन्तरिक्ष मिशनको लागत धेरै घटाएको छ । यसैबीच, कम्पनीको क्रू ड्रेगन स्पेसक्राफ्टले नासाका अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनसम्म पुर्‍याउँदै इतिहास रच्यो । निजी क्षेत्रबाट मानव अन्तरिक्ष उडान सफल बनाउने स्पेसएक्स पहिलो कम्पनी बनेको थियो । इलेक्ट्रोनिक संचारको क्षेत्रमा पनि स्पेसएक्सले स्टारलिंक परियोजनामार्फत नयाँ क्रान्ति ल्याइरहेको छ । हजारौं उपग्रहमार्फत विश्वका दुर्गम क्षेत्रसम्म तीव्र र स्थिर इन्टरनेट सेवा पुर्‍याउने यो परियोजनाले धेरै देशमा सेवा विस्तार गरिसकेको छ । कम्पनीको सबैभन्दा महत्त्वाकांक्षी योजना भनेको स्टारशीप हो जुन मानवलाई चन्द्र र मंगलसम्म लैजाने लक्ष्यसहित विकास भइरहेको विश्वकै सबैभन्दा शक्तिशाली रकेट मानिन्छ । 

रुपन्देही–३ : कांग्रेसबाट खाणसहित ६ जना सिफारिस

देवदह । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही– ३ बाट पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित छ जनाको नाम सिफारिस गरेको छ ।  क्षेत्रीय कार्य समितिको मङ्गलबारको बैठकले प्रत्यक्षतर्फ खाणसहित सुशील गुरुङ, रमेश खनाल, रामचन्द्र ढकाल, विमल ढकाल र गोविन्दबहादुर खत्रीको नाम सिफारिस गरेको क्षेत्रीय सचिव लेखनाथ भट्टराईले जानकारी दिए । यसैगरी, समानुपातिकतर्फ जन्नतुननिशा धुनिया, पुष्पाथरुनी र माधवी शर्मालाई सिफारिस गरिएको उनले बताए ।    

२० प्रतिशत लाभांश वितरण गर्ने सिटिजन लाइफ इन्स्योरेन्सको घोषणा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नगद लाभांश घोषणा गरेको छ । मंसिर २४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले २० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।  इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजी ५ अर्ब रुपैयाँको २० प्रतिशत (करसहित) नगद लाभांश सेयरधनीलाई दिने घोषणा गरेको हो ।  इन्स्योरेन्सका अनुसार नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।  

नेपालको ड्रोन प्रविधिमा अन्तर्राष्ट्रिय फड्को, चिनियाँ विज्ञसहितको उच्चस्तरीय कार्यशाला हुँदै

काठमाडौं । नेपालको उड्डयन तथा ड्रोन प्रविधि क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा उकास्ने र ज्ञान आदान–प्रदानलाई सुदृढ गर्ने उद्देश्यले नेपाल र चीनका प्रतिष्ठित संस्थाहरुबीच ऐतिहासिक सहकार्य हुने भएको छ । ड्रोन हब नेपाल र चीनको ग्वाङ्झाओ सिभिल एभिएसन कलेजको संयुक्त आयोजनामा धुलिखेलस्थित हाइडअवे ग्ल्याम्पिङुमा एकदिने ‘उन्नत ड्रोन प्रविधि कार्यशाला आयोजना हुने भएको हो ।  आगामी बिहीबारदेखि आयोजना हुने यो कार्यशाला नेपालको ड्रोन इकोसिस्टम सुदृढ गर्न र युवा पुस्तालाई उड्डयन प्रविधिमा आकर्षित गर्न कोसेढुङ्गा साबित हुने अपेक्षा गरिएको छ । कार्यशालामा चीनको उड्डयन क्षेत्रका दिग्गज व्यक्तित्वहरूको उपस्थिति रहनेछ । जिसीएसीका तर्फबाट डिन टियान जुको नेतृत्वमा उप–डिन हे यानबिन, निर्देशक बाइ जियानकुन, उप–निर्देशक यान झीयुआन, प्रशिक्षक नी वेइगुओ र विदेशी मामिला संयोजक लिन वेइच्याङ नेपाल आउँदैछन् । त्यस्तै, नेपालको तर्फबाट नेपाल मानव रहित विमान (ड्रोन) संघका अध्यक्ष राजभाई सुवाल सहित सम्पूर्ण टिमको विशेष सहभागिता रहनेछ । अन्तर्राष्ट्रिय विज्ञ र नेपाली सरोकारवालाहरूको यो भेटले नेपालमा ड्रोन प्रविधिको विकासमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ । के–के हुनेछ कार्यशालामा ? कार्यक्रमको सुरुवात विद्यार्थीहरूको नवप्रवर्तन क्षमता प्रदर्शन गर्दै आरसी (रिमोट कन्ट्रोल) विमानको रोमाञ्चक प्रदर्शनीबाट हुनेछ, जसले एयरोमोडेलिङ सीपलाई उजागर गर्नेछ । त्यसपश्चात्,  जिसीएसीका विज्ञहरूले उन्नत मानवरहित हवाई सवारी साधन प्रणाली, अन्तर्राष्ट्रिय तालिम मापदण्ड र नियामक अभ्यासहरू, ड्रोनको औद्योगिक उपयोग र भविष्यका सम्भावनाहरू जस्ता विषयमा विस्तृत प्रस्तुति दिनेछन्  । ड्रोन हब नेपालका प्रबन्ध निर्देशक प्रबिन भट्टराईको नेतृत्वमा आयोजना हुन लागेको यस कार्यक्रमको प्राविधिक तथा समन्वय पाटो अफताब आलमले सम्हालेका छन् । सञ्चार र सहभागी व्यवस्थापनमा सचिन सिंह र ओम साह तथा लजिस्टिक्समा रसिदव राज खटिएका छन् ।  कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न 'हाइडअवे ग्ल्याम्पिङ' का सञ्चालक निरज श्रेष्ठ र सुजन खतिवडाले विशेष व्यवस्थापकीय भूमिका निर्वाह गरेका छन् । कार्यशाला बाहेक, चिनियाँ टोलीले आफ्नो नेपाल बसाईका क्रममा काठमाडौं र भक्तपुरका अग्नि नियन्त्रक केन्द्रहरूको स्थलगत अवलोकन पनि गर्नेछ । यसक्रममा विपद् व्यवस्थापन, खोज तथा उद्धार र आगलागी नियन्त्रणमा ड्रोनको प्रयोग कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा अनुभव आदान–प्रदान गरिनेछ । ड्रोन हब नेपालका अनुसार यो कार्यक्रम केवल एक कार्यशाला मात्र नभई नेपालको उड्डयन प्रविधिमा युवा इन्जिनियरहरूलाई प्रेरित गर्ने अभियान हो । विपद् व्यवस्थापन, पूर्वाधार निरीक्षण र विकास परियोजनाहरूमा ड्रोनको जिम्मेवारपूर्ण प्रयोगलाई बढावा दिनु नै यसको मुख्य उद्देश्य हो ।