विकासन्युज

‍क्यानका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई बुधबार (आज) पक्राउ गरेको हो ।  

सोशल मिडिया प्रतिबन्धले बालबालिकालाई जोखिममा पार्ने युट्युबको चेतावनी

काठमाडौं । युट्युबले बुधबार अस्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकाका लागि लाग्ने सामाजिक सञ्जाल प्रतिबन्धको कडा आलोचना गर्दै यसलाई ‘छिटो निर्णय गरिएको’ र बालबालिकालाई अनलाइनमा कम सुरक्षित बनाउने बताएको छ । अस्ट्रेलियाले १० डिसेम्बरदेखि फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्युब जस्ता लोकप्रिय सामाजिक सञ्जालमा १६ वर्ष मुनिका प्रयोगकर्ताहरूलाई प्रतिबन्ध लगाउने योजना बनाएको छ । युट्युबका सार्वजनिक नीतिका प्रमुख रेचेल लर्डले भने, 'यो कानूनले बालबालिकालाई अनलाइन सुरक्षित बनाउने वाचा पूरा गर्ने छैन । बरु, अस्ट्रेलियाली बालबालिकालाई युट्युबमा कम सुरक्षित बनाउने सम्भावना छ । हामीले अभिभावक र शिक्षकहरूबाट यस्ता चिन्ताहरू सुनेका छौं ।' युट्युबका अनुसार १० डिसेम्बरदेखि १६ वर्ष मुनिका सबै अस्ट्रेलियाली प्रयोगकर्ताहरू स्वचालित रूपमा साइन आउट हुनेछन् । यी प्रयोगकर्ताहरू खाता बिना वेबसाइट हेर्न सक्ने भए पनि धेरै सुविधा जस्तै ‘सुरक्षा फिल्टर’ जस्ता सेटिङहरू गुमाउनेछन् ।  लर्डले भने, 'हामी डिजिटल संसारमा सुरक्षित राख्ने विश्वास गर्छौं ।' युट्युबले खाताहरू सुरक्षित राख्ने र प्रयोगकर्ता १६ वर्ष पुगेपछि पुनः सक्रिय गर्न सक्ने व्यवस्था गरेको छ । यसले पहिलेका डाटा हटाउने छैन ।  अस्ट्रेलियाली सञ्चार मन्त्री अनिका वेल्सले युट्युबको आलोचना ‘असामान्य’ भएको बताउँदै भने, 'यदि युट्युबले हामीलाई आफ्नो वेबसाइट पूर्ण रूपमा सुरक्षित नभएको र केही सामग्री बालबालिकाको लागि अनुपयुक्त भएको सम्झाइरहेको छ भने, यो समस्या युट्युबले समाधान गर्नुपर्छ ।' विश्वभर सामाजिक सञ्जालका सम्भावित जोखिमहरूसँग जुझ्दै नियामकहरूले यस किसिमको प्रतिबन्ध काम गर्न सक्छ कि सक्दैन भन्ने विषयमा चासो राखिरहेका छन् ।  अस्ट्रेलियन सरकारले सुरुवातमा प्रतिबन्ध पूर्ण रूपमा प्रभावकारी नहुन सक्ने र केही उमेर मुनिका प्रयोगकर्ताहरू नियमको घेरेबाट बाहिर पर्न सक्ने स्वीकार गरेको छ । तर यदि प्लेटफर्महरूले ‘उचित कदम’ नचालेको खण्डमा तिनीहरूलाई ४९.५ लाख अस्ट्रेलियन डलर (३२ लाख अमेरिकी डलर) जरिवाना लाग्नेछ । मेटाले उमेरको आधारमा केही खाता निष्क्रिय गर्न सुरु गरिसकेको छ । डिजिटल अधिकार समूह ‘डिजिटल फ्रिडम प्रोजेक्ट’ ले गत हप्ता उच्च अदालतमा मुद्दा दायर गर्दै यसलाई अभिव्यक्ति स्वतन्त्रतामा ‘अन्यायपूर्ण हमला’ भएको दाबी गरेको छ । रासस

जापानको ३१.७६ अर्ब ऋणमा कोटेश्वर फ्लाइओभर बन्ने, ब्याजदर ०.२ प्रतिशत

काठमाडौं । नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाको लागि ऋण सम्झौता भएको छ ।  बुधबार अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा ऋण सम्झौता भएको हो । सम्झौतामा अर्थ सचिव डा. घनश्याम उपाध्याय र जापानी राजदूत मायदा तोरुले हस्ताक्षर गरे । त्यस्तै, ऋण सम्झौतामा अर्थमन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख सह–सचिव डा. धनीराम शर्मा र जाइका नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी माजुकीले हस्ताक्षर गरे । जापानले उक्त आयोजनाका लागि ३४.५९ अर्ब जापानी येन (करिब ३१.७६ अर्ब) बराबरको ऋण सहायता उपलब्ध गराएको हो । जाइकामार्फत प्राप्त हुने उक्त ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र वार्षिक ०.२ प्रतिशत ब्याजदर रहने अर्थमन्त्रालयले जनाएको छ । यस आयोजनाअन्तर्गत कोटेश्वर तथा जडीबुटी खण्डमा अन्डरपास तथा फ्लाइओभर निर्माण गरिनेछ । उक्त अन्डरपास तथा फ्लाइओभरले काठमाडौं, ललितपुर, भक्तपुर तथा बीपी राजमार्ग हुँदै चल्ने सवारीसाधनको आवागमन सहज बनाउन तथा ट्राफिक जाम न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा अर्थमन्त्रालयको छ ।  मन्त्रालयका अनुसार आयोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागमार्फत कार्यान्वयन गरिनेछ । जापानी राजदूत तोरुले जापानको सहुलियतपूर्ण ऋण सहयोगमा कार्यान्वयन हुने कोटेश्वर चोक सुधार आयोजना कार्यान्वयनबाट उपत्यकाको यातायात व्यवस्थामा उल्लेख्य सुधार हुने विश्वास व्यक्त गर्नुका साथै नेपाल र जापानबीचको दशकौं पूरानो मित्रतापूर्ण सम्बन्धको स्मरण गरेका थिए । अर्थमन्त्री खनालले आफ्नो सम्बोधनमा नेपाल-जापान सहकार्यअन्तर्गत काठमाडौं उपत्यकाको महत्वपूर्ण जामयुक्त स्थानको सुधारमा प्रगति ल्याउने उद्देश्यले अघि बढाइएको यो परियोजनाले राजधानीको यातायात व्यवस्थापनमा दीर्घकालीन परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । कार्यक्रममा अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, जापानी दूतावास तथा जाइका नेपालका अधिकारीहरूको उपस्थिति रहेको थियो ।

भाँसिएको चार महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु

दमौली । मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भाँसिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ । दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार लेनको बनाइएको थियो । चारमध्ये अस्थायी दुई लेन खण्ड सवारी चापका कारण चर्किएर गत साउन अन्तिम साता भाँसिएको थियो ।       भाँसिएको सडकखण्ड आजदेखि मर्मत गर्न थालिएको मुग्लिन पोखरा सडक आयोजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेले बताए । उनका अनुसार करिब एक सय मिटर सडक भाँसिएपछि सो क्षेत्रमा सवारी आवागमन बन्द गरी एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ । सडक भाँसिएको ठाउँमा कालोपत्र उप्काएर मर्मत गर्न थालिएको उनले जानकारी दिए ।      मुग्लिन–पोखरा सडकको पूर्वी खण्डअन्तर्गत जामुनेबाट आँबुखैरेनीसम्मको ४१ दशमलव पाँच किलोमिटर खण्डमा चार लेनमा कालोपत्र सम्पन्न भइसकेको छ । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ ।  विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सडक चार लेनको बनाइएको हो । पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा लागेको छ ।  

नबिल म्युचुअल फन्डको ‘एन आई ३१’ को कारोबार सुरु

काठमाडौं । नबिल म्युचुअल फन्ड अन्तर्गतको खुलामुखी योजना ‘एन आई ३१’ का इकाइहरूको कारोबार सुरु भएको छ । कोष प्रवर्द्धक नबिल बैंक र व्यवस्थापन नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेकाे नबिल म्युचुअल फन्ड अन्तर्गतको दोस्रो खुलामुखी योजनाकाे कारोबार मंसिर १५ गतेदेखि सुरू भएकाे हो । कम्पनीका अनुसार योजना अन्तर्गतका इकाइहरू नक्सालस्थित नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालयबाट कारोबार गर्न सकिनेछ । साथै योजना व्यवस्थापकको आधिकारिक वेबसाइटमार्फत पनि इकाइहरूको खरीद-बिक्री गर्न सकिने व्यवस्था मिलाइएको कम्पनीले जनाएकाे छ । इच्छुक लगानीकर्ताहरू सिस्टेमेटिक इन्भेस्टमेन्ट प्लान (एसआईपी) मार्फत योजनामा सहभागी हुन सक्नेछन् । एसआईपी अन्तर्गत लगानीकर्ताले मासिक, त्रैमासिक, अर्ध वार्षिक वा वार्षिक कुनै पनि अवधि छानेर न्यूनतम् १ हजार रुपैयाँबाट नियमित रूपमा लगानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

गुण एयरलाइन्सका सञ्चालक शाक्य पक्राउ

काठमाडौं । गुण समूहका अध्यक्ष राजेन्द्र शाक्य पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधबार (आज) उनलाई पक्राउ गरेको हो । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनबारे अनुसन्धान गरिरहेको प्रहरीले उनलाई सोही अनुसन्धानका सिलसिलामा पक्राउ गरेको हो ।  उनलाई आज ललितपुरको जावलाखेल मनिमण्डलबाट पक्राउ गरिको हो । प्रभु बैंक लिमिटेडलाई हानी नोक्सानी पुर्‍याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौं कर्जा प्रवाह गरी दुरुपयोग गरेको आरोप शाक्यमाथि छ । यसअघि सीआईबीले प्रभु बैंककै सिइओ अशोक शेरचनसहित तीन जनालाई पक्राउ गरिसकेको थियो । उनीहरूमाथि सीआईबीले बैंकिङ कसुर ऐन अनुसार म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।

अन्नपूर्ण पदमार्ग विश्वका शीर्ष १० ट्रेकमा, पर्यटक आगमन झन् बढ्दै

गण्डकी । गण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तर्राष्ट्रिय रूपमा चर्चा कमाइरहेको छ । विश्वमा हिमाल आरोहणको इतिहास रच्ने अन्नपूर्ण प्रथमदेखि गण्डकी प्रदेशका थुप्रै प्राकृतिक पर्यटकीय पूर्वाधारले स्वदेशी एवं विदेशी पर्यटकको मन लोभ्याएको छ । यस्तै प्राकृतिक पर्यटकीय पूर्वाधारमध्येको अन्नपूर्ण संरक्षण क्षेत्र यहाँको महत्त्वपूर्ण पर्यटकीय आकर्षक गन्तव्य हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत समेटिएको यस क्षेत्रको प्राकृतिक, संस्कृतिक सम्पदा र वातावरण जोगाउन, पर्यटकको सेवासुरक्षामा स्थानीय जनतासँग सहकार्य र समन्वय गर्दै एक्यापले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । एक्यापका प्रमुख रविन कडरियाका अनुसार यो संरक्षण क्षेत्र कास्कीको उत्तरी क्षेत्र, म्याग्दीको उत्तरपूर्वी क्षेत्र, मुस्ताङ, मनाङ र लमजुङ जिल्लाको उत्तरी क्षेत्र गरी कूल ७ हजार ६२९ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ।      अन्नपूर्ण संरक्षण क्षेत्र स्वदेशी एवं विदेशी पर्यटकको लागि आकर्षक र रमणीय हुनुका साथै यहाँको प्राकृतिक सुन्दरता, भौगोलिक बनावट, मानव बस्ती, जैविक र सांस्कृतिक विविधताको प्रमुख भूमिका रहेको उनको भनाइ छ । यी सबैको सङ्गमका कारण अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने अन्नपूर्ण पदयात्रा मार्ग विश्वको दश उत्कृष्ट पदमार्गमा पर्न सफल भएको उनले उल्लेख गरे ।  यस क्षेत्रमा पर्ने अग्ला र सुन्दर हिमाल, विशेषतः अन्नपूर्ण प्रथम, दोस्रो, तेस्रो, चौथो, अन्नपूर्ण दक्षित, माछापुच्छ्रे हिमाल, लमजुङ हिमालका साथै अधिकांश झरना तथा छहरा, हिमनदीलगायत प्राकृतिक सम्पदाले विश्वको ध्यान खिचिरहेको छ ।  एक्याप क्षेत्रमा पाइने विभिन्न प्रजातिका लालीगुराँसको जङ्गल, माथिल्लो मुस्ताङका सीमावर्ती हिमालय क्षेत्रका साथै विचित्रको भूबनोटले यसको आकर्षण बढ्दै गएको एक्यापका प्रमुख कडरियाले बताए । उनका अनुसार पछिल्ला तीन वर्षको तथ्याङ्कले यहाँको पर्यटकीय आकर्षण झनझन बढ्दै गएको पुष्टि हुन्छ ।  प्रमुख कडरियाका अनुसार सन् २०२२ मा यस क्षेत्रमा एक लाख २९ हजार ७१८ विदेशी पर्यटक आएका थिए । सन् २०२३ मा एक लाख ९१ हजार ६६६, सन् २०२४ मा दुई लाख ४४ हजार ४५ जना पर्यटक आएका उनले जानकारी दिए । उनका अनुसार यस वर्षको जनवरीदेखि नोभेम्बरसम्म दुई लाख ७३ हजार ६४६ जना पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरिसकेका छन् । सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेसँगै अन्नपूर्ण क्षेत्रले विश्वव्यापी चर्चा पाएको थियो । समुद्री सतहबाट आठ हजार ९१ मिटर उचाइमा अवस्थित अन्नपूर्ण प्रथम आरोहणको सफलतापछि सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए । अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले चार हजार १३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै अन्नपूर्ण क्षेत्र क्रमिक रूपमा पदयात्राका लागि पनि आकर्षक गन्तव्य बन्दै गएको एक्यापका प्रमुख कडरियाले बताए । पछिल्ला समयमा अन्नपूर्ण संरक्षण क्षेत्रमा पदयात्रीको आगमन बढे पनि पदमार्ग क्षेत्रमा जथाभावी खनिएका बाटाका कारण पर्यटकको बसाइँ अवधि भने छोटिएको उनको बुझाइ छ ।      अन्नपूर्ण पदयात्रा क्षेत्रमा राउन्ड अन्नपूर्ण पदयात्रा डुम्रे, बेँसीसहर, मनाङ, मुुक्तिनाथ, तातोपानी हुँदै पोखरासम्मका लागि २१ दिन लाग्ने पदयात्रा सडक विस्तार भएसँगै १२–१३ दिनमा छोटिएको ट्रेकिङ एजेन्सिज एसोसिएसन ९टान० गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए । ‘बाटो विस्तार भएसँगै २१ दिनको यात्रा १२–१३ दिनमा छोटिएको छ । ती जथाभावी खनिएका बाटोलाई व्यवस्थित गर्नु, पूर्वाधार विस्तार गर्नुपर्ने छ । यात्रा अवधि घटेसँगै पर्यटकलाई ‘हाइ अल्टिच्युड’को समस्या कम भएको छ । छोटो अवधिमा अन्नपूर्ण पदमार्गमा यात्रा गर्न पाउँदा समयको बचत पनि भएको छ,’ उनले भने । लामो पदयात्रा गर्न चाहने पदयात्रीको पदयात्रा अवधि लम्ब्याउने गरी शीघ्र अन्य वैकल्पिक मार्गको खोजी गर्नुपर्नेमा जोड दिँदै टानका अध्यक्ष आचार्यले सोको व्यवस्था नगरिएको अवस्थामा यहाँ आउने पर्यटक अन्यत्र मोडिन सक्ने सम्भावनालाई बेलैमा ख्याल राख्नु जरुरी रहेको बताए । पछिल्लो तथ्याङ्कका आधारमा सबैभन्दा बढी भारतीय पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका जानकारी दिँदै उनले गत साउन १ गतेदेखि हालसम्म ४५ हजार ७३६ जना भारतीय पर्यटकले यस क्षेत्रको भ्रमण गरेका उल्लेख गरे । त्यसपछि बढी भ्रमण गर्ने विदेशीमा क्रमशः बेलायत, फ्रान्स, अमेरिका, जर्मनी, इजरायल, चीन, अष्ट्रेलिया, साउथ कोरिया र मलेसियाका पर्यटक रहेको बताए । पछिल्लो समय यस संरक्षण क्षेत्रका लोमान्थाङ, विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल, अन्नपूर्ण आधार शिविर, मर्दी हिमाललगायत पदयात्रा क्षेत्रमा बढी सङ्ख्यामा पर्यटक आउने गरेका छन् । अन्नपूर्णं संरक्षण क्षेत्रको पदयात्रा एवं भ्रमणका लागि भारतीय पर्यटकले रु एक हजार प्रवेश शुल्क बुझाउनुपर्छ भने अन्य विदेशी पर्यटकले रु तीन हजार शुल्क बुझाउनुपर्छ । यस क्षेत्रमा पर्ने कास्कीको मादी गाउँपालिकास्थित नेपालकै कम उचाइमा रहेको कपुचे हिमताल पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बनेको मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए । उनका अनुसार पछिल्ला समयमा म्याग्दीतर्फको अन्नपूर्ण नर्थ बेस क्याम्प पनि स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य बनेको छ ।   

तनहुँको एउटै गाउँबाट यो वर्ष दुई करोडभन्दा बढीको सुन्तला बिक्री

तनहुँ । तनहुँको व्यास नगरपालिका–१३ स्थित बेनीकोट गाउँका किसानले यस वर्ष दुई करोड रुपैयाँ बराबरको सुन्तला बिक्री गरेका छन् । सदरमुकाम दमौलीबाट सात किलोमिटर दुरीमा अवस्थित बेनीकोटका किसानलाई यतिबेला बारीमा फलेका सुन्तला टिप्ने र सुन्तला मिलाउने काममा भ्याइनभ्याइ छ । बेनीकोटका किसान फलबहादुर थापाले आफूले यस वर्ष १६ लाख ५० हजार रुपैयाँको सुन्तला बिक्री गरे । सिद्धबेनी माध्यमिक विद्यालयका पूर्वशिक्षक उनी सुन्तला खेतीबाट मनग्य आम्दानी हुँदै आएको उल्लेख गर्दै गाउँबाट यस वर्ष रु दुई करोड मूल्य बराबरको सुन्तला बिक्री भएको जानकारी दिए । कालबहादुर रानाले आफूले रु चार लाखको सुन्तला बिक्री गरेको बताए । उत्पादन भएका सुन्तला बिक्रीका लागि कुनै समस्या नरहेको उनको भनाइ छ । उनले भने, 'ठेकेदार नै गाउँसम्म आउँछन्, सुन्तला बगानको मोलमोलाइ गरेपछि बोट किन्ने, टिप्ने, ढुवानी गर्ने सम्बन्धित ठेकदारले नै गर्छन् ।' स्थानीय मनसिंह थापाले अन्य खेतीभन्दा सुन्तलाखेती गर्न सहज र मनग्य आम्दानी हुने बताए । उनले भने, 'प्रत्येक वर्ष मङ्सिर महिनाभर बेनीकोट गाउँका किसानलाई सुन्तला बेच्न भ्याइनभ्याइ हुन्छ ।' थापाले यस वर्ष  दुई लाख १० हजार रुपैयाँको सुन्तला बिक्री गरे । भिरालो सडक रहेको र सडकको स्तरोन्नति नहुँदा सदरमुकामबाट नजिकै भए पनि सुन्तला ढुवानीमा समस्या भोग्नुपरेको व्यवसायी लेखबहादुर थापाले बताए । उनले भने, 'अहिले दैनिक पाँच वटासम्म गाडीमा सुन्तला बजार पुर्‍याउने गरिएको छ । जोखिमपूर्ण बाटो भएकाले असहज भने छ ।' बेनीकोटमा एउटा किसानले न्यूनतम २० देखि ८०० सम्म वटासम्म सुन्तलाका बोट लगाएका छन् । यहाँको सुन्तला काठमाडौं, चितवन, पोखरासम्म पुग्ने गरेको छ । मङ्सिर महिनामा धान भित्र्याउने समय भए पनि यहाँका किसानको मुख्य आम्दानीको स्रोत सुन्तला भएकाले किसान यतिबेला सुन्तला टिप्न र बिक्री गर्न व्यस्त छन् । रासस