कोरियाबाट फर्किएका युवालाई व्यवसाय सुरु गर्न ५ वर्ष ब्याज अनुदानसहित ‘५० लाखसम्म ऋण’
काठमाडौं । कोरिया इन्टरनेशनल कोअपरेसन एजेन्सी (कोइका) र कृषि विकास बैंक लिमिटेड (एडीबीएल) बीच ‘कोरिया फर्केका नेपाली श्रमिकहरूको लागि वित्तीय पहुँच विस्तार’ कार्यक्रम कार्यान्वयन गर्ने सम्बन्धमा सहमति भएको छ । यो योजना २०२२ सेप्टेम्बर २३ मा कोरियाली सरकार र नेपाली सरकारबीच ‘कोरिया फर्केका श्रमिकको स्थायी पुनःएकीकरणका लागि चरणगत सहयोग प्रणाली सुदृढीकरण’ परियोजनाका लागि गरिएको सम्झौताअनुसार अगाडि बढाइएको हो । सम्झौतामा कोइकाका देश निर्देशक मूहोन कंग र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले हस्ताक्षर गरे । अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखाका सहसचिव धनीराम शर्मा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव कृष्णप्रसाद सापकोटाले साक्षीका रूपमा हस्ताक्षर गरे । यस कार्यक्रमको मुख्य उद्देश्य कोरिया फर्केका नेपाली श्रमिकहरूलाई व्यवसाय तथा उद्यमशीलता विकासका लागि आवश्यक वित्तीय पहुँच सहज बनाइ स्थिर वातावरण तयार गर्नु हो । यस अन्तर्गत योग्य लाभग्राहीले कृषि विकास बैंकबाट अनुदानसहितको ऋण पाउनेछन् । उक्त ऋण पाँच वर्षसम्म ब्याज अनुदानसहित उपलब्ध हुनेछ । कोइकाले कार्यक्रमका लागि २५ लाख अमेरिकी डलर (लगभग ३२ करोड रुपैयाँ) उपलब्ध गराउनेछ । यो रकम पूर्णतः ब्याज अनुदानका लागि मात्र प्रयोग हुनेछ । एडीबीएलले कार्यक्रमका लागि करिब १.२ अर्ब रुपैयाँ ऋण पूँजी उपलब्ध गराउनेछ । कार्यक्रममार्फत करिब २०० देखि २५० जना कोरिया फर्केकालाई सहयोग पुग्ने अनुमान गरिएको छ, जसअन्तर्गत औसत ५० लाख रुपैयाँसम्मको ऋण प्रदान गरिनेछ। कार्यक्रम २०२६ देखि २०२८ सम्म सञ्चालन हुनेछ । व्याज अनुदान पाँच वर्षसम्म उपलब्ध रहन्छ । यस कार्यक्रममार्फत कोरिया फर्केकाहरूले आफ्नो सीप प्रयोग गरी सफल उद्यम स्थापना गर्न सक्ने जनाइएको छ।
टिम भेञ्चर्सले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल
काठमाडौं । टिम भेञ्चर्स लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ । यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ । कम्पनीले सर्वसाधारणका लागि कुल २५ लाख १८ हजार कित्ता सेयर सार्वजनिक गर्ने तयारी गरेको हो । आईपीओ निष्काशनसम्बन्धी सम्झौता सोमबार काठमाडौंको नक्सालस्थित सिद्धार्थ क्यापिटलको कार्यालयमा सम्पन्न भयो । सम्झौतापत्रमा टिम भेञ्चर्स लिमिटेडका अध्यक्ष केसाङ श्रेष्ठ र सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्दीप कार्कीले हस्ताक्षर गरेका हुन् । विसं २०७३ सालमा स्थापना भएको टिम भेञ्चर्स लिमिटेडको कार्यालय काठमाडौंको सिनामंगलमा रहेको छ । कम्पनीको हाल चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको छ । टिम भेञ्चर्सले हाल ऊर्जा (हाइड्रोपावर, सोलार), उत्पादन (माछा दाना, टीएमटी, प्रि–इन्जिनियर्ड बिल्डिङ, स्टिल), कृषि–पूर्वाधार तथा प्रविधि क्षेत्रमा लगानी गरिरहेको छ । आगामी वर्षहरूमा लगानीका नयाँ अवसरहरू पहिचान गर्दै थप क्षेत्र विस्तार गर्ने कम्पनीको योजना रहेको छ । कम्पनीका अन्य संचालकहरूमा लोप्साङ श्रेष्ठ, दोर्जे ग्याल्छेन लामा, साङ्गे दिकी शेर्पा र विजय बहादुर श्रेष्ठ रहेका छन् । यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृतका रूपमा तेन्जिङ सोनाम गोन्सार कार्यरत छन् ।
वरिष्ठताको पहिलो नम्बरमा रहेका अर्याल बने मुख्यसचिव
काठमाडौं । सरकारले मुख्यसचिवमा सुमनराज अर्याललाई नियुक्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो । वरिष्ठताका आधारमा रक्षा सचिव भएर काम गरिरहेका अर्याल मुख्य सचिव बनेका हुन् । वरिष्ठताको सूचीमा उनी पहिलो नम्बरमा थिए । यदि सुमनराज अर्याल मुख्यसचिव बने भने प्रशासन सेवातर्फ सचिवका दुई पद रिक्त हुनेछन् । ५८ वर्षे उमेरहदका कारण मुख्यसचिव एकनारायण अर्याल मंसिर १० गते अनिवार्य अवकाशमा जाँदैछन् । त्यसअघि आज बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई नियुक्त गरेको हो । अर्याल २०७७ साल माघ १९ मा सचिवमा बढुवा भएका थिए । सचिवको रूपमा उनको पहिलो नियुक्ति राष्ट्रिय योजना आयोगमा भएको थियो । हाल उनी रक्षा मन्त्रालयको सचिव हुन् ।
११ औँ राष्ट्रिय महाधिवेशन जनपरिचालन समितिको पहिलो बैठक सम्पन्न
काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन जनपरिचालन समितिको पहिलो बैठक आज सम्पन्न भएको छ । बैठकले आगामी मङ्सिर २७ गते हुने उद्घाटन समारोहलाई ऐतिहासिक र लोकतन्त्रको संरक्षणका लागि प्रभावकारी जनप्रदर्शनका रूपमा परिणत गर्ने लक्ष्य लिएको छ । उपमहासचिव प्रदीप ज्ञवालिले महाधिवेशनलाई संगठन सुदृढीकरण, जनसहभागिता विस्तार र लोकतान्त्रिक मूल्य–मान्यताको पुनः अभिव्यक्तिका रूपमा उपयोग गर्नुपर्ने धारणा राखेका छन् । जनपरिचालन समितिले उद्घाटन समारोहलाई देशभरका कार्यकर्ता र समर्थकहरूको उत्साह तथा ऐक्यबद्धताको शक्तिशाली प्रदर्शनका रूपमा आयोजना गर्ने तयारी थालिसकेको जानकारी ज्ञवालीले दिएका छन् । मङ्सिर २७ गतेको उद्घाटनलाई ‘लोकतन्त्रको रक्षा र पार्टीको भविष्य दिशानिर्देशनको महत्वपूर्ण अवसर’का रूपमा व्याख्या गर्दै नेता तथा कार्यकर्ताहरूले व्यापक तयारी थालिएको बताएका छन् । जनपरिचालन समितिले महाधिवेशनमार्फत राजनीतिक स्पष्टता र जनअपेक्षालाई सम्बोधन गर्ने वातावरण तयार पारिने अपेक्षा राखेको उपमहासचिव ज्ञवालीले जानकारी दिए ।
भारतसँग गरिएको विद्युत खरिद सम्झौताबाट १ अर्ब २० करोड फाइदा भयो : मन्त्री घिसिङ
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री कुलमान घिसिङले भारतको पिटिसी कम्पनीसँग विद्युत खरिद सम्झौता गरेर सरकारले एक अर्ब २० करोड रुपैयाँ बराबर मुनाफा गरेको दाबी गरेका छन् । सोमबार संघीय संसद् राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले विद्युत खरिद सम्झौता गरेर सरकारले गैरकानूनी ढंगले ४३ करोड गुमाएको र यसमा ठूलै आर्थिक चलखेल भएको भन्ने आरोप सत्य नभएको जिकिरसमेत गरे । पिइसीको ८ रुपैयाँ १० पैसाको रेटभन्दा अहिलेको ६ रुपैयाँ ९५ पैसाको रेटले करिब १ अर्ब २० करोड मुनाफा दिएको उल्लेख गर्दै उनले त्यसलाई क्षतिको रुपमा लिन नसकिनेसमेत बताए । सरकारले तत्काल सम्झौता गरेर विद्युत खरिद नगरेको भए मुलुकमा लोडसेडिङ गर्नुपर्ने अवस्था आउने मन्त्री घिसिङको भनाइ थियो । मन्त्री घिसिङले सरकारले आवश्यकअनुसार भारतसँग डे टु डे पनि विद्युत खरिद सम्झौता गर्ने गरेको बताए । तत्कालको आवश्यकता पूर्ति गर्न सरकारले सो नीति लिने गरेको उनले स्पष्ट पारे ।
बलिउड अभिनेता धर्मेन्द्रको निधन, पहिलो फिल्ममा काम गर्दा पारिश्रमिक मात्र ८० रुपैयाँ
काठमाडौं । बलिउडका ‘हीम्यान’ भनेर चिनिने दिग्गज अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको छ । उनले नोभेम्बर २४ मा अन्तिम श्वास लिए । केही दिनअघि मात्र उनी उपचारपछि मुम्बईको ब्रीच क्यान्डी अस्पतालबाट घर फर्किएका थिए । त्यसपछि घरमै उनको उपचार भइरहेको थियो । धर्मेन्द्र पछिल्ला दिनदेखि श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित थिए । उनी आफ्नो पछाडिबाट करोडौं भारु बराबरको सम्पत्ति छोडेर गएका छन् । लामो करिअरमा उनले धेरै धन कमाए र बलिउडका सबैभन्दा धनी अभिनेतामध्ये एक भए । मिडिया रिपोर्टअनुसार धर्मेन्द्रको नेटवर्थ करिब ४५० करोड भारु रहेको छ । उनले १९६०, ७० र ८० को दशकमा लिड एक्टरका रूपमा फिल्म खेल्दै यो धन कमाएका हुन् । रिपोर्टहरूका अनुसार आफ्नो डेब्यू फिल्म ‘दिल भी तेरा हम भी तेरे’ का लागि उनलाई मात्र ५१ रुपैयाँ पारिश्रमिक दिइएको थियो । उनका सम्पत्तिको ठूलो हिस्सा रियल इस्टेटमा रहेको छ । रिपोर्टअनुसार महाराष्ट्रमा धर्मेन्द्रका घरहरूको कूल मूल्य १७ करोड रुपैयाँभन्दा बढी छ । उनले खेतीयोग्य र गैरखेतीयोग्य जमिनसमेत किनेका छन्, जसको कूल मूल्य करिब १.४ करोड भारु पर्दछ । उनी लोनावालास्थित आफ्नो फार्महाउस नजिकै ३० कुटेज भएको एक लक्जरी रिसोर्ट निर्माण गर्ने योजनामा पनि थिए । धर्मेन्द्र महँगा गाडीहरूको निकै शौखिन थिए । उनीसँग १९६० मा किनेको फिएटदेखि लिएर भिन्टेज फिएट र मर्सिडिज–बेन्जसम्मका कार रहेको बताइन्छ । कुनै गाडी लाखौंको छ भने कुनै करोडौँको मूल्यको छ । उनले प्रोडक्सन हाउसमा पनि लगानी गरेका थिए र ‘यमला पगला दीवाना’ जस्ता फिल्महरू निर्माण गरेका थिए । सन् २०२२ मा उनले ‘गरम धरम ढाबा’ नामबाट होटल व्यवसायमा हात हालेका थिए । त्यसपछि करनाल हाईवेमा ‘ही–म्यान’ नामको अर्को रेस्टुरेन्ट पनि सञ्चालनमा ल्याए । हालै धर्मेन्द्र करण जोहरको फिल्म ‘रकी और रानी की प्रेम कहानी’ मा देखिएका थिए । यस फिल्मका लागि उनले ५ करोड रुपैयाँ लिएका थिए । २३ जुलाई २०२३ मा रिलिज भएको उक्त फिल्मले बक्स अफिसमा राम्रो व्यापार समेत गरेको थियो ।
५० अंकले बढ्यो नेप्से, ५ कम्पनीमा सकारात्मक सर्किट
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५० अंकले बढेर २६५० बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार २१५ कम्पनीको सेयर मूल्य बढ्दा ३७ कम्पनीको मूल्य घटेको छ । ६ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३३० कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल लाइफ रिइन्स्योरेन्सको भएको छ । नेपाल लाइफको २४ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, नेपाल रिइन्स्योरेन्सको २४ करोड ४३ लाख, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको २० करोड, हिमालयन रिइन्स्योरेन्सको २० करोड र एनआरएन इन्फ्राइस्ट्रक्चरको २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । झापा इनर्जी, सागर डिस्टीलरी, बन्दिपुर केबलकार, स्वस्तीक लघुवित्त र श्रीनगर एग्रीटेकको सेयर मूल्य १० प्रतिशतले बढेका छन् । सोमबारको कारोबारमा सबै समूहका सूचक बढेका छन् । जीवन बीमा सबैभन्दा धेरै ४.९४ प्रतिशतले बढेको छ ।निर्जीवन बीमा २.९९ प्रतिशत बढ्यो । बैंकिङ १.४०, विकास बैंक १.२१, फाइनान्स १.४२, होटल तथा पर्यटन २.२४, हाइड्रोपावर ०.८०, लगानी १.८३, उत्पादन तथा प्रशोधन १.६४, माइक्रोफाइनान्स १.९३, अन्य १.६८ तथा व्यापार ०.७६ प्रतिशतले बढेका छन् ।
कांग्रेसमा विशेष महाधिवेशनतर्फ ध्यान केन्द्रित, महामन्त्री भन्छन् - देउवाको हस्ताक्षरमा चुनावमा जान सकिँदैन
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र चर्किएको महाधिवेशन विवादकाबीच एक महत्वपूर्ण टिप्पणी गरेका छन् । उनले आगामी निर्वाचनमा सभापति शेरबहादुर देउवाको हस्ताक्षर लिएर नजाने दाबी गर्दै अब विशेष महाधिवेशन अपरिहार्य भएको बताएका छन् । थापाका अनुसार वर्तमान नेतृत्वले तोकिएको समयभित्र महाधिवेशनका तयारी अघि बढाउन नसकेकाले अब विधानले व्यवस्था गरेको ‘विशेष महाधिवेशन’बाट मात्रै नयाँ बाटो खुल्नेछ । उनले भने, 'विधानबमोजिम समयमै विशेष महाधिवेशन हुन्छ, त्यसपछि नयाँ सभापतिको हस्ताक्षरका साथ मात्रै निर्वाचन प्रक्रिया अघि बढ्छ ।' कांग्रेसभित्र पछिल्ला केही महिनादेखि महाधिवेशनको समय, तयारी र नेतृत्वको जिम्मेवारीबारे तीव्र विवाद चलिरहेको छ । क्रियाशील सदस्यता नवीकरणदेखि नयाँ सदस्यता वितरणमा आएको ढिलाइ, कार्यसम्पादन समितिबीचको मतभेद र नेतृत्वको सक्रियताबारे उठेका प्रश्नले आन्तरिक असन्तुष्टिलाई थप बढाएको छ । त्यही सन्दर्भमा महामन्त्री थापाको ताजा अभिव्यक्तिलाई नेतृत्व परिवर्तनको संकेतका रूपमा पनि हेरिएको छ । थापाले देउवाका हस्ताक्षरमा निर्वाचन नजाने भन्ने टिप्पणीलाई देउवा पक्षले भने अस्वीकार गर्ने सम्भावना देखिएको छ । उनीहरूका अनुसार महाधिवेशन प्रक्रियामा सभापतिको भूमिकासम्बन्धी विषय पार्टीको आधिकारिक निर्णयले मात्र निर्धारण गर्छ । तर थापाले भने विधानले व्यवस्था गरिएका समयसीमा र प्रक्रियालाई नै अन्तिम मान्नुपर्ने बताउँदै आएका छन् । विशेष महाधिवेशन बोलाउने विषय पार्टीभित्रै छलफलमा परिरहँदा यसले कांग्रेसभित्रको आन्तरिक राजनीति थप चपेटामा परेको छ । अब महाधिवेशन कहिले र कसरी भन्ने विषय कांग्रेस नेतृत्वले तत्काल टुंग्याउनुपर्ने दबाब झनै बढ्नुका साथै थापाको नयाँ अभिव्यक्तिले पार्टीभित्रको शक्ति–सन्तुलनमा नयाँ बहस सुरु भएको छ ।