एनआईसी एशिया बैंक एनपीएस नेसनल कार्ड स्वीच तथा नेपालपे कार्डमा आवद्ध
काठमाडौं । एनआईसी एशिया बैंक र नेशनल क्लीयरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम 'नेपालपे कार्ड' को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । एनसीएचएलले हालै एनपीएस–एनसीएस पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपालपे कार्डको इस्यूइङ्ग र अक्वायरिङ्गका लागि आफ्नो स्विच इंटिग्रेट गर्न आग्रह गरेको थियो । यसका लागि एनआईसी एशिया बैंक समेत एनपीएस–एनसीएस र नेपालपे कार्डमा आबद्ध भएको छ । नेपालपे पूर्वाधारको कमर्शियल रोलआउट पश्चात् बैंकले आफ्ना ग्राहकहरूका लागि नेपालपे कार्ड इस्यू तथा अक्वायर गर्न सक्षम हुनेछन् । एनपीएस–एनसीएस प्रणाली विभिन्न कार्ड स्विचहरूबीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारको राउटिङ्ग र सेटलमेन्टका लागि सेन्ट्रल कार्ड स्विचको रूपमा स्थापना भइरहेको छ । प्रणालीको पूर्ण कार्यान्वयनसँगै डोमेस्टिक कार्ड कारोबारमा लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणको विकास तथा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ ।
निजी क्षेत्रको सुरक्षा प्रत्याभूति सरकारले गर्छ : अर्थमन्त्री खनाल
काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निजी क्षेत्रको सुरक्षासहित सुरक्षा भावनालाई मजबुत बनाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय कर दिवस–२०८२ का अवसरमा आन्तरिक राजस्व विभागले सोमबार आयोजना गरेको कार्यक्रममा उनले ‘जेनजी आन्दोलन’ ले निजी क्षेत्रलाई त्रसित बनाएको अवस्थाप्रति चिन्ता व्यक्त गरे । अर्थमन्त्री खनालका अनुसार जेनजी आन्दोलनले देखाएको असन्तुष्टि केवल सरकार वा राजनीतिक दलप्रति मात्र नभई समग्र समाज र निजी क्षेत्रप्रति आक्रोशका रूपमा समेत प्रकट भएको हो । 'विकासमा समावेशिता नहुँदा र बेरोजगारीका कारण युवाहरूमा जमेको पीडा आन्दोलनमा प्रतिबिम्बित भएर आएको हो', उनले भने । अर्थमन्त्री खनालले निजी क्षेत्रको सुरक्षा सुनिश्चित गर्ने दायित्व सरकारको पहिलो प्राथमिकता रहेको बताउँदै भने, 'सरकारले सुरक्षाको पूर्ण प्रत्याभूति गर्छ । सुशासन, भ्रष्टाचार नियन्त्रण र नागरिकलाई सम्मानपूर्वक बाँच्ने वातावरण सिर्जना गर्नु आफैँमा सुरक्षा हो ।' उनका अनुसार हालैको आन्दोलनले करिब ७८ अर्ब रूपैयाँ बराबरको भौतिक संरचना क्षति भएका प्रारम्भिक विवरण आएको छ । देशभरका ५५ जिल्लामा करिब दुई हजार ९०० भवनहरू क्षतिग्रस्त भएको सरकारी तथ्याङ्कमा उल्लेख छ । जेनजी आन्दोलनका क्रममा भएका क्षतिको पुनर्निर्माणका लागि सरकारले चालु आर्थिक वर्षको बजेटबाट एक खर्ब २० अर्ब रुपैयाँबराबरको स्रोत जुटाएको जनाउँदै अर्थमन्त्री खनालले उक्त रकम पुनर्निर्माणका लागि पर्याप्त हुने विश्वास व्यक्त गरे । उनले तत्काल पुनःस्थापना कार्य अघि बढाइने धारणा राखे । अर्थमन्त्री खनालले इमानदार व्यवसायीलाई अनावश्यक झमेला हुने पूर्ण लेखापरीक्षण (फुल अडिट) अब नहुने बताउँदै कर प्रणाली सुधार गर्नुपर्ने आवश्यकता औँल्याए । 'अर्थतन्त्र ठूलो बन्ने हो भने कराधार स्वाभाविक रूपमा बढ्छ । त्यसका लागि व्यावसायिक गतिविधि विस्तार गर्न आवश्यक छ', उनले भने । उनले पुँजी बजारमा रहेका केही संरचनागत समस्याहरू समाधान गर्न सके बजार थप चलायमान बन्ने विश्वास व्यक्त गरे । निजी क्षेत्र र सरकारका बीच प्रभावकारी समन्वय आवश्यक रहेकामा उनले जोड दिए । अहिले संसद् सञ्चालनमा नरहेकाले केही आवश्यक कानुन ल्याउन नसकिएको बताउँदै अध्यादेशमार्फत दीर्घकालीन प्रकृतिका कानुन ल्याउन पनि कठिनाइ भइरहेको खनालले उल्लेख गरे ।
क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह
काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट खेलमैदान आसपास क्षेत्रमा अनावश्यक भीडभाड नगर्न आग्रह गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार एक सूचना जारी गर्दै आजदेखि नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणका खेल सुरु भएकाले खेलमैदान बाहिर भीडभाड नगर्न आग्रह गरेको हो । प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले आजको खेलका सम्पूर्ण टिकटहरू बिक्री भइसकेको जानकारी सम्बन्धित निकायबाट प्राप्त भएकाले खेलमैदानबाहिर गएर अनावश्यक भीडभाड नगर्न आग्रह गरेका हुन् । प्रहरीले खेलप्रेमीलाई आफ्नो अनुकूल स्थानमा रहेर हेर्न, खेलस्थलको बाहिर भीड नगरिदिन र सुरक्षा व्यवस्थापन गर्ने कार्यमा प्रहरीलाई सहयोग गरी नागरिक दायित्व निर्वाह गर्नसमेत अनुरोध गरेको छ ।
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघकाअनुसार सुन तोलामा ५ सय रुपैयाँले घटेको छ । आइतबार प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार प्रतितोला २ लाख ४३ हजार ३ सय रुपैयाँमा आएको महासंघले जनाएको छ । महसंघकाअनुसार चाँदी प्रतितोला २० रुपैयाँले बढेको छ । आइतबार ३ हजार १ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर ३ हजार १५५ रुपैयाँ पुगेको छ ।
लगानी आकर्षित गर्न आयकर कम गर्नुपर्छ : अध्यक्ष अग्रवाल
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले कर नीति समय सापेक्ष बनाउन माग गरेका छन् । सोमबार कर दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले विश्वको कर नीतिमै व्यापक परिवर्तन भएको र उपभोक्ताहरूको क्रय शक्ति बढाउन र उद्यमी व्यवसायीहरूको लगानी क्षमता बढाउन विश्वका धेरै देशहरूले करका दरहरु घटाउँदै गइरहेको बताए । कतिपय देशहरूले लगानी आकर्षित गर्न आयकर कम गर्ने नीति अवलम्वन गरिरहेको भन्दै नेपालले पनि यसबारे सोच्न जरुरी रहेको बताए । प्रतिस्पर्धी बजार निर्माणको वातावरण सिर्जना गर्नुपर्ने अहिलेको आवश्यकता भएको जिकिर गरे । भन्सार दरलाई अधिकतम २५ प्रतिशत र मूल्य अभिवृद्धि करलाई कमसेकम दुई दरको कायम गर्न अति नै आवश्यक भएको पनि बताए । नेपालमा उत्पादित हुने सबै वस्तुहरुमा अन्तःशुल्क घटाउनुपर्ने आजको टड्कारो आवश्यकता रहेको जानकारी दिए । उनले भने, ‘अहिले विश्वको कर नीतिमै व्यापक परिवर्तन भएको छ । उपभोक्ताहरुको क्रय शक्ति बढाउन र उद्यमी व्यवसायीहरुको लगानी क्षमता बढाउन विश्वका धेरै देशहरुले करका दरहरु घटाउँदै गइरहेका छन् । युएईमा त आयकर अत्यन्त कम गरिएको छ, लगानी आकर्षण गर्नको लागि । समयसापेक्ष गर्न अर्थमन्त्रीज्युलाई अनुरोध गर्दछु । प्रतिस्पर्धी बजार निर्माणको वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता रहेको छ ।’ अध्यक्ष अग्रवालले आयकर ऐनको पुनः लेखन गर्नुपर्ने माग गरे । डिजिटल बिजनेसको अन्योलता हटाउन जरुरी रहेको बताए । संघ र स्थानीय तहको आफ्नो आफ्नो कानूनी व्याख्याका कारण घर बहाल करमा दाहोरो मार परेको बताए । राजस्वको लक्ष्य पुर्याउने दबाबमा भएका कर निर्धारण आदेशहरुले आन्तरिक राजश्व विभागमा ठूलो वक्यौता रकम देखिएको र अर्कोतर्फ उद्यमी व्यवसायीहरु अनावश्यक कानूनी झन्झटमा परेको बताए ।
आन्दोलनमा घुसपैठ गर्नेलाई कारबाही नभए व्यवसायीसँगै आम नागरिकको मनोबल खस्किनेछ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले असल नियतका साथ जेनजी आन्दोलन भएपनि आन्दोलनमा घुसपैठ भएको भन्दै गल्ती गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । राष्ट्रिय कर दिवसका आयोजित कार्यक्रममा ढकालले यस्तो माग गरेका हुन् । उनले सुशासन, भ्रष्टाचारको, ट्रान्सपरेन्सीको कुरा निजी क्षेत्रको छाता संगठन उद्योग वाणिज्य महासंघले गत साधारण सभामा पनि पारित गरेको स्मरण गराउँदै आन्दोलनमा घुसपैठ गर्नेहरुमाथि सरकारले कारबाही नगर्ने हो भने व्यवसायीसँगै आम नागरिकको मनोबल खस्किँदै जाने बताए । सरकारले निजी क्षेत्रको सम्पत्तिको सुरक्षण गर्न नसक्ने हो भने मुलुकमा थप लगानी हुन नसक्ने र लगानीकर्ता भड्कने स्थिति आउने उनको भनाइ छ । महासंघ अध्यक्ष ढकालले भने–‘जेनजीको जुन यो आन्दोलन एउटा असल नियतबाट भएको थियो । सुशासन, भ्रष्टाचारको, ट्रान्सपरेन्सीको कुरा निजी क्षेत्रको छाता संगठन उद्योग वाणिज्य महासंघले गत साधारण सभामा पनि पारितै गरेको अवस्था थयो । यस्तो पवित्र उद्देश्यबाट भएको आन्दोलनमा जुन हिसावबाट गलत घुसपैठ भयो । चोरी, आगजनी, लुटपाट, तोडफोडहरु भयो । वास्तवमा यसको यो गलत तत्वहरुको जुन घुसपैठ भएको छ ।’ अध्यक्ष ढकालले अर्थमन्त्रालयले फेसलेस हिसावले आफ्ना निकायहरुबाट अनलाइनबाट भन्सार मूल्यांकनदेखि करदाता प्रमाणपत्रको सुविधा ल्याएकोमा उनले प्रशंसा समेत गरे । ढकालले बैंकमा ११ खर्ब बढी रकम त्यत्तिकै थ्रुपेको भन्दै लगानीको वातावरण तयार गर्न माग गरे । उनकाअनुसार ११ खर्ब भन्दा बढी बैंकमा लगानीयोग्य रकम जम्मा भएको छ । अहिले बैंकमा प्रशस्त रकम भएको अवस्थामा कतिपय आयोजनाहरुमा लगानी नभएर बेबारिसे छन् । उनीहरुको लागत बढेको छ । धितोपत्र बोर्डले लामोसमय जलविद्युत आयोजनाहरुलाई आईपीओ जारी गर्न नदिएकोप्रति असन्तुष्टी समेत जनाए । धितोपत्र बोडमा देखिएको समस्यालाई तत्काल हटाउन समेत अर्थमन्त्रीलाई आग्रह गरे ।
राजस्व संकलनमा चुक्दै सरकार, कार्त्तिकसम्म लक्ष्यको ७७.४९ प्रतिशत मात्र
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ मा सरकार राजस्व सङ्कलनमा अगाडि बढे पनि लक्ष्यप्रति भने प्रगति सुस्त देखिएको छ । राजस्व विभागका अनुसार कात्तिक ३० गतेसम्म कूल ३ खर्ब २९ अर्ब ५१ करोड राजस्व सङ्कलन भएको छ, जुन कार्त्तिकसम्मको ४ खर्ब २५ अर्ब २३ करोड लक्ष्यको ७७.४९ प्रतिशत मात्र हो । कार्त्तिक महिनामा मात्रै १ खर्ब ३ अर्ब ७० करोड लक्ष्य राखिए पनि प्राप्ति ७८ अर्ब ३३ करोडमा सीमित रह्यो । यो महिनाको प्राप्ति ७५.४९ प्रतिशत मात्रै रहेको विभागले जनाएको छ । कार्त्तिक ३० गते एक दिनमै ३ अर्ब ६८ करोड राजस्व उठेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा कार्त्तिकसम्म ३ खर्ब २९ अर्ब २ करोड राजस्व सङ्कलन भएको थियो । यस वर्ष उही अवधिमा सङ्कलन ३ खर्ब २९ अर्ब ५१ करोड पुगेको छ, जसले झिनो वृद्धि भएको देखाएको छ । त्यस वर्षको कात्तिक महिनामा ७६ अर्ब राजस्व उठेको थियो, जुन चालु वर्षको ७८ अर्ब ३३ करोडभन्दा केही बढी हो ।
हामी गम्भीर भएनौँ भने अर्को आन्दोलन हुन्छ, न भाटभटेनी रहन्छ न कसैको लगानी : व्यवसायी गुरुङ
काठमाडौं । व्यवसायी मीनबहादुर गुरुङले सबै जिम्मेवार भएर अघि बढ्न जरुरी रहेको बताएका छन् । सोमबार कर दिवसको अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट करदाताको तर्फबाट आफ्ना धारणा राख्दै उनले यस्तो बताएका हुन् । उनले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आफ्ना १२ वटा भाटभटेनी पूर्ण रुपमा नष्ट भएको र अन्य धेरै भाटभटेनीमा ठूलो क्षति पुगेको बताए । अझै पनि आफूले हिम्मत नहारेको र अझै अघि बढ्ने अठोट व्यक्त गरे । दशैँ, तिहार र छठका लागि स्टक गरिएका धेरै सामानहरू भाटभटेनीबाट आन्दोलनका क्रममा लुट्ने र जलाउने काम भएको बताए । आफूमाथि धेरै युवाहरूको जिम्मेवारी, बैंकहरुको लगानी रहेकाले व्यवसायबाटै अघि बढ्ने निचोड आफूले निकालेको बताए । नेपालमा विपन्नताकै कारण आन्दोलन भइरहेको भन्दै जिम्मेवार नहुनु पनि आन्दोलनको कारण रहेको बताए । भाटभटेनिमाथि कुनै एउटा पार्टीको भवन बनाइदिने कुराले भएको भन्दै राज्यलाई कर बुझाइसकेपछि कसलाई सहयोग गर्ने भन्ने कुरा आफ्नो इच्छाको कुरा भएको बताए । आफूले डा. भगवान कोइरालाको नेतृत्वमा बनेको बाल अस्पताल बनाइदिएको, विपन्न र जेहनदार विद्यार्थीलाई एमबिबिएस पढाएको जानकारी दिए । उनले भने, ‘गत भाद्र २३ र २४ गते जेनजी ठूलो आन्दोलन भयो । पहिला पहिला १५ देखि २० वर्ष लाग्थ्यो । अहिले जेनजीले २ दिनमै सत्ता उलटपलट गरिदिए । यसमा हामी सबै अलि गम्भीर हुनुपर्छ । हामी गम्भीर भएनौँ भने अर्को आन्दोलन हुन्छ, अर्को आन्दोलन भए न मेरो भाटभटेनी रहन्छ, न कसैको लगानी बाँकी रहन्छ । यो आन्दोलनमा घुसपैठ भएर होला, धेरै ठूलो क्षति भयो ।’ उनले व्यवसायीहरूले सानो मन गर्न नहुने बताए । आफूले खोटाङबाट आएर हजारौँलाई रोजगारी दिन सकेको बताउँदै अरूले पनि त्यसैगरी दिन सक्ने बताए । नेपालमा धेरै कुराको अवसर रहेको जानकारी दिए ।