विकासन्युज

राष्ट्र बैंकको सम्पत्ति २६.२३ खर्ब रुपैयाँ पुग्यो, सरकारलाई ४२ अर्ब रुपैयाँ दिने

काठमाडौं । नेपाल राष्ट्र बैंकको सम्पत्ति तथा दायित्व २६ खर्ब २३ करोड ९५ लाख ४० हजार रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन अनुसार, २०८२ असार मसान्तको वित्तीय स्थितिमा २९.२३ प्रतिशतले वृद्धि भएको हाे । केन्द्रीय बैंकका अनुसार, विभिन्न कोषमा आवश्यक रकम विनियोजन गरी बाँकी ४२ अर्ब रुपैयाँ नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ । वार्षिक प्रतिवेदनअनुसार आव २०८१/८२ को विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनः मूल्याङ्कन लाभ हानी समायोजन अघिको खुद आय अघिल्लो वर्षको तुलनामा ९.११ प्रतिशतले वृद्धि भई ८० अर्ब ४८ करोड २६ लाख ५० हजार रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९१ मा बैङ्कले वासलात, आय, व्यय र सोसँग सम्बन्धित विवरण वार्षिक प्रतिवेदन तयार गर्नुपर्ने र आर्थिक वर्ष समाप्त भएको मितिले चार महिनाभित्र नेपाल सरकार समक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।

बजारको तह र वस्तुको मापदण्ड निर्धारणका वाणिज्य विभागले माग्यो सुझाव

काठमाडौं । वाणिज्य विभागले बजारको तह र वस्तु तथा सेवाको मापदण्ड निर्धारणका लागि आवश्यक सुझाव उपलब्ध गराउन आग्रह गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १३ अनुसार, बजारको तह तथा वस्तु र सेवाको मूल्यको मापदण्ड निर्धारण गर्नका लागि अध्ययन प्रतिवेदन पेस गर्न विभागका महानिर्देशकको संयोजकत्वमा समिति गठन गरिएको विभागले स्मरण गराएको छ । नागरिक तथा उपभोक्तासमेतबाट बजारको तह र मूल्य निर्धारणसम्बन्धी मापदण्डको मस्यौदा तयार गर्नका लागि सुझाव लिने निर्णय भएको विभागले उल्लेख गरेको छ । वस्तु तथा सेवाको मूल्य निर्धारणमा एकरूपता, पारदर्शिता र नियमनको आवश्यकता, मूल्य नियन्त्रण, उपभोक्ता संरक्षण तथा बजार सन्तुलनका साथै बजारको नियम समेतलाई मध्यनजर गर्दै हाल चलनमा रहेका बजार संरचनाको स्पष्ट परिभाषा भएको विभागले स्पष्ट पारेको छ ।  मूल्य निर्धारण मापदण्डका लागि स्पष्ट आधार तथा औचित्य समेतलाई विचार गरी १५ दिनभित्र सुझाव दिन सम्बद्ध सबैलाई विभागले आग्रह गरेको छ । 

टियु क्रिकेट ग्राउण्डमा ठडिए एक अर्ब लगानीका फ्लड लाइट र आकर्षक प्याराफिट, दोस्रो चरणको काम गर्न १० अर्ब बजेट

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालाको फ्लडलाइटको उद्घाटन र १० हजार सिट क्षमताको प्यारापेटसहितको पहिलो चरणको निर्माण कार्य सम्पन्न भई नेपाल क्रिकेट संघ (क्यान) लाई हस्तान्तरण गरिएको छ।  नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको पूर्वसन्ध्यामा सम्पन्न यस कार्यले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुऱ्याउने अपेक्षा गरिएको छ । सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय नियमन तथा व्यवस्थापन कार्यालयले राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेट संघलाई रंगशाला हस्तान्तरण गरेको हो । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री  कुलमान घिसिङले फ्लडलाइटको उद्घाटन गरे । कीर्तिपुर मैदान नेपालको क्रिकेट इतिहासको साक्षी रहँदै आएको छ । डिभिजन ५, ४, ३ को विश्व च्याम्पियनसिपदेखि २०१४ मा टी-२० विश्वकपमा नेपालको सहभागिता, २०१५ मा डिभिजन २ बाट डिभिजन १ मा उक्लिने क्रम र २०१८ मा ओडीआई प्लेइङ नेशन बन्दासम्म यस मैदानको महत्त्वपूर्ण भूमिका रहेको छ । सहरी विकास मन्त्रालयका अनुसार पहिलो चरणमा १० हजार सिट क्षमताको प्यारापेट निर्माण र छ वटा हाई मास्ट फ्लडलाइट जडान गरिएको छ ।  यसको लागि प्यारापेटमा ४९ करोड २५ लाख र फ्लडलाइटमा ४७ करोड ३७ लाख रुपैयाँ लगानी भएको छ ।  यी पूर्वाधारहरू अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि आवश्यक लक्स (चम्किलोपन) पुरा हुने गरी निर्माण गरिएका छन्, जसमा डिएमएक्स प्रविधि समेत जडान गरिएको छ । मन्त्री घिसिङले दोस्रो चरणको कामको लागि सरकारले करिब १० अर्बको गुरुयोजना स्वीकृत गरिसकेको र आगामी २ देखि ३ वर्षभित्र सबै काम सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिए ।  उनले यो सम्पन्न भएपछि कीर्तिपुर मैदान पूर्ण पूर्वाधारले सम्पन्न अन्तर्राष्ट्रियस्तरको रंगशाला बन्ने बताए । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले यो दिनलाई निकै ठूलो ऐतिहासिक दिन बताउँदै नेपाली क्रिकेटप्रेमीहरूको डे-नाइट क्रिकेट हेर्ने सपना पूरा भएकोमा खुशी व्यक्त गरे ।  उनले यस कार्यका लागि पूर्ववर्ती र वर्तमान सरकारलाई धन्यवाद दिँदै हरेक प्रदेशमा फ्लडलाइटसहितको रंगशाला बनाउनुपर्नेमा जोड दिए। यस्तै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले पोलहरू मात्रै ठडिएको होइन, नेपाली खेलप्रेमीहरूको सपना ठडिएको छ भन्दै यो पहिलो आफ्नै लगानीमा फ्लडलाइटसहितको रंगशाला बनेकोमा गर्व व्यक्त गरे ।  यस्तै, कार्यक्रममा कीर्तिपुर नगरपालिकाका नगर प्रमुखले कीर्तिपुरको प्रांगणमा अन्तर्राष्ट्रिय स्तरको खेल हुँदा आफूलाई गौरवान्वित महसुस भएको बताउँदै यसले कीर्तिपुरको पहिचान अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने आशा व्यक्त गरे । पहिलो चरणको निर्माण कार्यमा संलग्न परामर्शदाता र निर्माण व्यवसायीहरूलाई कार्यक्रममा सम्मान गरिएको थियो । दोसो संस्करणको एनपीएलको उद्धघाटन कार्यक्रम सोमबार प्रधानमन्त्री सुशिला कार्कीले गर्ने छिन् । 

८९औँ वर्षमा नेपाल बैंक, साढे ३ खर्ब निक्षेप, २.२३ खर्ब लगानी

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक, आज (२०८२ कात्तिक ३० गते)देखि ८९औँ वर्षमा प्रवेश गरेको छ । नेपालमा बचत सँस्कृतिको विकास सँगसँगै औद्योगिक एवं व्यापार व्यवसायको विकास एवं विस्तारमा नेपाल बैंकको महत्वपूर्ण योगदान छ । देशको पहिलो बैंकको रुपमा राष्ट्रिय वित्तीय संरचनालाई दिशा दिँदै नेपाल राष्ट्र बैंक स्थापना हुनुभन्दा अगाडि केन्द्रीय बैंकको समेत जिम्मेवारी बहन गरेको नेपाल बैंकले ८८ वर्षको लामो यात्रा पार गरिसकेको छ ।  यति लामो यात्रामा ग्राहकको विश्वास तथा भरोसा, कर्मचारीको अथक परिश्रम र सेयरधनीहरूको दृढ आत्मविश्वासले मात्रै सम्भव भएको बैंकका चीफ अप्रेटिङ अफिसर होम बहादुर खड्का बताउँछन् । समयसँगै परिवर्तन अथवा समयको मागलाई आत्मसात गर्दै आएको उनको भनाइ छ ।  आजभन्दा ८८ वर्ष अगाडि अर्थात् बिक्रम संवत् १९९४ साल कात्तिक ३० गते सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा १० जना लगानीकर्ताहरूले ८ लाख ४२ हजार रुपैयाँ चुक्ता पुँजीमा नेपाल बैंक स्थापना गरेका थिए । अहिले बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ छ । करिब ९ दशक पहिला थोरै मान्छेले मात्रै बैंक शब्द सुनेका बेलामा केही लगानीकर्ताबाट नेपाल बैंक स्थापना भएको हो । र, २० वर्ष केन्द्रीय बैंकको भूमिका समेत यस बैंकले निर्वाह गरेको छ । वि.सं २००२ सालमा नेपाल सरकारले पहिलोपटक नोट निष्काशन गर्दा नेपाल बैंकले भूमिका निर्वाह गरेको थियो । स्थापना कालदेखि हालसम्म अनवरत सेवा प्रवाह गर्दै आएको नेपाल बैंक, बैंकिङकै पर्यायका रूपमा रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तिलक राज पाण्डेय बताउँछन् । बैंकिङ क्षेत्रको जननी बैंकका रूपमा स्थापित यस बैंकले देशको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ छ ।  सबै पिँढीको साथीका रूपमा युवादेखि ज्येष्ठ नागरिकसम्म २७ लाख ग्राहकले बैंकको सेवा उपभोग गरिरहेको उनले बताए । सरकारी बैंकिङ कारोबार समेत गर्ने जिम्मेवारी पाएको नेपाल बैंंकले मुनाफा सँगसँगै सामाजिक सेवालाई समेत उच्च प्राथमिकतामा राखेको उनको भनाइ छ ।  सीईओ पाण्डेयका अनुसार जनताको निक्षेपको सुरक्षा गर्दै अत्यन्त सावधानी पूर्वक निक्षेपलाई परिचालन गर्दै आइरहेको छ । लगानी विविधिकृत गरिएकै कारण बैंकको कर्जा जोखिमको समस्यालाई न्यूनीकरण गर्न सफल भएको उनले बताए । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा बैंकले ३ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी २ खर्ब २३ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्न बैंक सफल भएको छ । बैंकको जगेडा कोषमा २३.९३ अर्ब रुपैयाँ रहेको छ भने ३८ अर्बभन्दा बढी नेटवर्थ रहेको छ ।  पछिल्लो तथ्याङ्क अनुसार बैंकको पर्याप्तता अनुपात १३.०२ प्रतिशत, निष्क्रिय कर्जा अनुपात ५.४९ प्रतिशत, कर्जा निक्षेप अनुपात, ७६९.४२ प्रतिशत रहेको छ । यस्तै, बैंकले २३१ शाखा, ६१ वटा एक्सटेन्सन काउण्टर, २३७ वटा एटीएम मार्फत २७ लाख ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । बैंकका अनुसार १० लाख मोबाइल बैंकिङ ग्राहक रहेका छन् । सीईओ पाण्डेयका अनुसार आधुनिक डिजिटल प्रविधिसँगै साक्षात्कार गर्ने युवा पुस्ताको बाहुल्य रहेको बैंकमा आउटसोर्सिङ सहित करिब ३ हजार ६०० को सङ्ख्यामा कर्मचारी कार्यरत छन् ।  ‘नेपालको अर्थतन्त्रको नेपाल बैंक एउटा प्लेयर हो । २० वटा वाणिज्य बैंकसङ्ग तुलना गरेर नेपाल बैंकलाई हेर्नुपर्छ । रुस युक्रेन, इजरायल-हमास लगायत क्षेत्रीय युद्धको कारण बैंकको व्यवसायमा प्रभाव परेको छ,’ बैंकको ८९औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले भने, ‘५० करोड भन्दा बढी कर्जा लिएका ३/४ वटा उद्योगको प्रोभिजन गर्दा बैंकको नाफामा असर गरेको छ । मंसिरसम्ममा सबै व्यवस्थापन गर्ने कोसिस गरिरहेका छौं ।’  उनका अनुसार जेनजी आन्दोलन पछि कर्जाको माग हुन सकिरहेको छैन, उद्योगी व्यवसायी पर्ख र हेरको अवस्थामा छन् । विगतमा चाकरी गरेर निक्षेपका लागि दौडधूप गर्नुपर्ने बाध्यता अहिले नरहेको र बजारमा पैसा कहाँ राखौँ भन्ने अवस्था रहेको उनले सुनाए । नेपाल बैंकका अध्यक्ष प्रा.डा. डिल्लीराज शर्मा बैंकिङ क्षेत्रको तरलता व्यवस्थापनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बेला आएको बताउँछन् । बाह्य र आन्तरिक कारणले अर्थतन्त्र चुनौतीको घेरामा रहेकाले सबै मिलेर काम गर्नुपर्ने उनको भनाइ छ ।  ‘हाम्रो मात्रै समस्या होइन, बाह्य परिवेशबाट उत्पन्न भएको समस्याका कारणले पनि अर्थतन्त्रमा कठिनाइ छ । जसले गर्दा दैनिक क्रियाकलाप र वित्तीय गतिविधि प्रभावित भइरहेको छ । साथै देशभित्रका विभिन्न क्रियाकलापले समेत बैंकिङ व्यवसायलाई प्रभावित गर्ने गरेको छ,’ उनले भने, ‘हामी राम्रै छौं, हामी भन्दा अरु नराम्रो भएका कारणले पनि हामी राम्रा भएका हौला । तर, हामीभित्र नियालेर हेर्दा चुनौती दिइरहेको छ । कर्मचारीको अथक मिहिनेतले बैंक यहाँसम्म पुगेको हो । बैंक बनाउने चिन्ता सबैभन्दा धेरै कर्मचारीलाई नै छ ।’

एनसेलले यसपटक पनि एनपीएलका हरेक चौकावापत ४ वटा शैक्षिक सामग्री वितरण गर्ने

काठमाडौं । एनसेल फाउन्डेसनले यस वर्ष पनि नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का खेलहरूमा हानिने प्रत्येक चौकावापत ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूलाई ४ वटा शैक्षिक सामग्री प्रदान घोषणा गरेको छ ।  गत वर्ष एनपीएलसँगको साझेदारी अन्तर्गत २ हजार ६१२ विद्यार्थी लाभान्वित भएकाले यस वर्ष पनि एनसेल फाउन्डेसनले यो साझेदारीलाई निरन्तरता दिएको हो ।  गत वर्ष एनपीएलका खेलहरूमा कुल ६५३ चौका हानिएका थिए । क्रिकेटको रोमाञ्चकता शिक्षासँग जोडिएको यो कार्यक्रमका २ हजार ६१२ सहित एनसेलले देशभरका ९ हजारभन्दा बढी विद्याथीहरूलाई शैक्षिक सामग्री वितरण गरिसकेको छ ।  क्रिकेटदेखि कक्षाकोठासम्मको यस नवीन पहलले विद्यार्थीहरूको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने र शिक्षालाई प्रवर्द्धन गर्दै उज्ज्वल भविष्यका लागि अवसरहरूको ढोका खोल्न मद्दत पुर्‍याउने विश्वास लिएको छ ।  विद्यार्थीहरूले प्राप्त गर्ने प्रत्येक शैक्षिक सामग्रीमा आवश्यक शैक्षिक सामग्रीहरू जस्तै स्कुल ब्याग, कापी, सिसाकलम, इरेजर, कटरलगायतका स्टेसनरी सामान समावेश हुन्छन् । यसले स्रोतको अभाव घटाउन सहयोग गर्नेछ र विद्यार्थीहरूको पठनपाठनमा योगदान गर्नेछ । एनसेलका अनुसार फाउन्डेसनले प्रदान गर्ने शैक्षिक सामग्री नेपाल क्रिकेट संघ (क्यान), स्थानीय निकाय र कार्यन्वयन साझेदारलगायतको सहकार्यमा प्रदान गरिनेछ । यो पहलले क्रिकेट मैदानको उत्साह र खेलाडीका उत्कृष्ट प्रदर्शनमार्फत विद्यालयका कक्षाकोठासम्म पुगी पठनपाठनमा सुधार ल्याउन योगदान पुर्याउने विश्वास लिइएको छ  ।

खेल पर्यटन प्रबर्द्धन गर्न पर्यटन बोर्ड र क्यानबीच समझदारी

काठमाडौं । नेपालको खेल पर्यटन प्रबर्द्धनका लागि नेपाल पर्यटन बोर्ड (एनटीबी) ले नेपाल प्रिमियर लिग सिजन–२ प्रबर्द्धनका लागि क्रिकेट संघ नेपाल (क्यान) सँग समझदारी गरेको छ ।  यस साझेदारीमार्फत एनपीएल–२ लाई नेपालको क्रिकेट तथा खेलकुद पर्यटन अगाडि बढाउने प्रमुख प्लाटफर्मका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ । सम्झौताअनुसार बोर्डले एनपीएल–२ को ब्रान्डिङ, प्रचार तथा अन्तर्राष्ट्रिय पहुँच वृद्धिमा सक्रिय भूमिका खेल्नेछ ।  छोटो समयमैअन्तर्राष्ट्रिय स्तरमा विश्वासिलो फ्रेन्चाइज क्रिकेट लिगका रूपमा स्थापित भएको एनपीएल–२ लाई नेपालमा क्रिकेट प्रशंसक, विदेशी खेलाडी, टिप्पणीकार तथा खेलकुदमा रुचि राख्ने पर्यटक आकर्षित गर्ने महत्त्वपूर्ण माध्यमका रूपमा हेरिएको छ ।  बोर्डका अधिकारीहरूका अनुसार नेपालमा क्रिकेटलाई नेपालमा अन्तर्राष्ट्रियस्तरका इभेन्ट आयोजना गर्नसक्ने प्रमुख खेलका रूपमा लिइएको छ । एनपीएल–२ को सफलताले नेपालमा खेलकुद पर्यटन विकासमा क्रिकेटलाई केन्द्रीय आधार बनाउने अपेक्षा गरिएको छ । एनपीएल- २ को प्रत्यक्ष प्रसारण स्टार स्पोर्टस्‌बाट गरिने भएको छ । जसले गर्दा विश्वभरका करोडौँ दर्शकसम्म नेपालको क्रिकेट, खेल पर्यटन र नेपालका पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा थप टेवा पुग्‍ने बोर्डको विश्‍वास छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले देशभर बढ्दो खेलकुद गतिविधि विशेषगरी एनपीएल–२ ले–खेलकुद पर्यटनको नयाँ आयाम खुला गरेको बताए । अन्तर्राष्ट्रिय खेलाडीहरूको उपस्थिति, विश्वस्तरका कमेन्टेटर, तथा उच्च गुणस्तरको प्रसारणसहित एनपीएल–२ ले नेपालले विश्व–स्तरीय खेलकुद कार्यक्रम आयोजना गर्न सक्ने क्षमता स्पष्ट रूपमा प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाका अनुसार यस लिगले फ्रेन्चाइज खेलकुदमार्फत नेपालमा पर्यटनका अवसरहरू विस्तार गर्न, विविधता थप्न र नेपाललाई आकर्षक ‘स्पोर्ट्स टुरिजम डेस्टिनेशन’का रूपमा स्थापित गर्न मद्दत गर्नेछ । एनपीएल–२ को सफलतामा नेपालले आफ्नो क्रिकेट क्षमता मात्रै होइन, आफ्ना मनमोहक गन्तव्य, साहसिक अनुभवहरू र सांस्कृतिक समृद्धिलाई समेत विश्वसामु प्रस्तुत गर्दै दक्षिण एसियाको उदयीमान खेल पर्यटन हबका रूपमा आफ्नो पहिचान मजबुत बनाउँदै लैजाने लक्ष्य राखेको छ ।

कामना सेवा विकास बैंकका ग्राहक र कर्मचारीलाई होटल सब्रिनामा छुट

काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौं, बुढानीलकण्ठस्थित होटल सब्रिनासँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ । सम्झौतामा बैंकका तर्फबाट मार्केटिङ प्रमुख पर्मा ढुङ्गेल र होटलका सञ्चालन प्रबन्धक समिर थापाले हस्ताक्षर गरे । यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरूले अकोमोडेसन, फुड र बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।  बैंकको ग्राहकले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । यस सम्झौताबाट बैंकसँग आबद्ध ग्राहक र कर्मचारीले लाभ लिने बैंकले विश्वास लिएको छ।

राजस्व अनुसन्धान विभाग आवश्यक छैन : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले राजस्व अनुसन्धान विभाग आवश्यक नरहेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।  मन्त्री खनालले अमेरिकालगायतका मुलुकहरुको दृष्टान्त दिँदै राजस्व सम्बन्धि केही समस्या भए त्यसलाई समाधान गर्न सोही सम्बन्धि विभागले नै काम गर्ने व्यवस्था गर्न उपयुक्त हुने स्पष्ट पारे । उनले वर्तमान सरकारसँग काम गर्ने समय करिव साढे ३ महिना मात्रै भएको उल्लेख गर्दै त्यस बीचमा आफूले अर्थतन्त्र सुधारका लागि आवश्यक प्रणालीको विकासमा आफू केन्द्रित हुने समेत बताए ।  अर्थमन्त्री खनालले भने,‘मेरो कार्यकाल अव साढे ३ महिना मात्रै बाँकि छ । फागुन २१ गते निर्वाचन भईसकेपछि त म मन्त्री पदमा रहन्न । त्यो भन्दा एक महिना अघिनै निर्वाचन आचार संहिता लागू होला । त्यो बेला पनि आर्थिक सुधारका कामहरु गर्न पाइन्न । सरकारी, निजी क्षेत्र वा समुदायमा पनि गलत कारोबार गर्ने केही अवश्य पनि हुन्छन । त्यसलाई कारबाही गर्ने निकाय सम्बन्धित निकायमा नै हुनुपर्छ । केही मुलुकहरुमा भन्सार सम्बन्धि काम त्यस अन्तर्गतकै निकायले हेर्छन् ।’ अर्थमन्त्री खनालले आपसी विश्वासमा आधारित प्रणालीको विकास गरेर मात्रै मुलुकको अर्थतन्त्रलाई सवल बनाउन सकिने बताए । सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गरेर अघि बढ्ने नीति लिएको पनि दोहोर्याए ।