विकासन्युज

झण्डै ३० खर्ब पुग्यो विदेशी विनिमयको सञ्चिति, जीडीपीको आधा हिस्सा

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमयको सञ्चिति धमाधम बढ्दै गएको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आइतबार देशको वर्तमान आर्थिक स्थिति सार्वजनिक गर्दै विदेशी विनिमय सञ्चिति बढ्दै गएको देखाएको हो ।  २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ११.३ प्रतिशतले वृद्धि भई २०८२ असोज मसान्तमा २९ खर्ब ७९ अर्ब ८१ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ असोज मसान्तमा ८.७ प्रतिशतले वृद्धि भई २१ अर्ब २१ करोड पुगेको छ ।  कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ असोज मसान्तमा १०.५ प्रतिशतले वृद्धि भई २६ खर्ब ६७ अर्ब ७० करोड पुगेको छ ।  बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८२ असोज मसान्तमा १८.७ प्रतिशतले वृद्धि भई ३ खर्ब १२ अर्ब १० करोड कायम भएको छ । २०८२ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८२/८३ को तेस्रो महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १९.९ महिनाको वस्तु आयात र १६.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८२ असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४८.८ प्रतिशत, १३६.६ प्रतिशत र ३६.८ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।  

मेक्सिकोमा सरकारविरुद्ध हजारौं मानिसहरूको प्रदर्शन, झडपमा १२० घाइते

काठमाडौं । मेक्सिको सिटीमा सरकार विरोधी प्रदर्शनका क्रममा भएका झडपमा कम्तीमा १२० मानिस घाइते भएका छन् । घाइतेमध्ये १०० जना प्रहरीसमेत रहेको मेक्सिको प्रहरीले जनाएको छ । शनिबार प्रदर्शनकारीहरू मेक्सिकोको राजधानीमा बढ्दो हिंसात्मक अपराध र राष्ट्रपति क्लाउडिया शिनबामको सरकारविरुद्ध मार्च गर्न सडकमा उत्रिएका थिए । यस्ता प्रदर्शन अन्य सहरहरूमा पनि भएका छन् । प्रदर्शनकारीहरूले राष्ट्रपति शिनबाम बस्ने नेशनल प्यालेसको सुरक्षा बार (ब्यारिकेड) को एक भाग तोडे । परिसरको सुरक्षा गरिरहेका प्रहरीले भीड नियन्त्रणका लागि अश्रुग्यास प्रयोग गर्यो । मेक्सिको सिटीका सुरक्षा प्रमुख पाब्लो भास्केजले पत्रकारहरूलाई बताएअनुसार अधिकारीहरूले लुटपाट र आक्रमणसहितका विभिन्न अपराधमा २० जनालाई पक्राउ गरेका छन् । राष्ट्रपति शिनबामले भनेका छन् कि यो मार्च दक्षिणपन्थी नेताहरूले फन्ड गरेको हो, जसले उनको सरकारको विरोध गर्छन् । यो ‍र्याली ‘जेन जेड’ युवाहरूले आयोजना गरेका थिए र यसलाई उच्च–प्रोफाइल हत्याहरूविरुद्ध आवाज उठाउनेहरूबाट समर्थन प्राप्त भएको थियो । यिनै घटनामा उरुआपानका मेयर कार्लोस मान्जोको हत्या पनि पर्छ। मान्जोलाई नोभेम्बर १ का दिन ‘डे अफ द डेड’ पर्वका क्रममा गोली हानिएको थियो ।

३ महिनामा भित्रियो साढे ५ खर्ब रुपैयाँ रेमिट्यान्स, असोजमा मात्रै २ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ३ महिनामा साढे ५ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आवको असोजसम्ममा विप्रेषण आप्रवाह ३५.४ प्रतिशत बढेर ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ भित्रिएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.९ प्रतिशतले बढेको थियो ।  असोज महिनामा मात्रै २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । जबकि गत वर्षको असोजमा १ खर्ब ४४ अर्ब १७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । राष्ट्र बैंकका अनुसार ३ महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.२ प्रतिशतले वृद्धि भई ३ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ६ खर्ब १० अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४ खर्ब ४३ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो ।  चालु आवको असोजसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या १ लाख २३ हजार ४५९ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ७७ हजार २५७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः १ लाख १० हजार ६५४ र ५९ हजार ९३९ रहेको थियो ।  

मच्छिमको तामाखानी उत्खननका लागि अध्ययन सुरु

म्याग्दी ।  धवलागिरि गाउँपालिका–७ मच्छिममा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएको छ । खानी तथा भूगर्भ विभागबाट अनुमति पाएको कम्पनी ‘एमएस दोङयी मिनरल्स’ प्रालिले तामाखानीको खोजतलास तथा उत्खननका लागि अध्ययन थालेको हो । मच्छिम गाउँदेखि नजिकै रहेको पाखोमा छ ठाउँमा रहेका तामाखानी पाँच दशकदेखि बन्द अवस्थामा छन् । धवलागिरि–७ का वडाध्यक्ष अशोक खत्रीले भूगर्भविद्हरुको टोली खानीमा तामाको मात्रा पहिचानका लागि अध्ययनका लागि आएको बताए । 'गतहप्ता आएको टोलीले पहिलो चरणमा तामाखानी भएको ठाउँको निरीक्षण गरेको थियो', उनले भने 'टोलीले खानी भएको ठाउँसम्म जाने पहुँचमार्ग निर्माणका लागि पनि छलफल गरेको छ ।' खानीको खोजतलास र सम्भाव्यता अध्ययन गरेपछि अर्को चरणमा उत्खननको प्रक्रिया अघि बढाइने वडाध्यक्ष खत्रीले बताए । स्थानीयले खानी उत्खननका लागि अध्ययन थालिएकामा खुसी व्यक्त गरेका छन् । वातावरणीय र विपद्जन्य घटना हुन नदिन सतर्कता अपनाउन तथा रोजगारीमा प्रभावितलाई प्राथमिकता दिनुपर्ने मच्छिमका बासिन्दा कुलबहादुर छन्त्यालले बताए । उनका अनुसार मच्छिमको खानीबाट विसं २०२८ सम्म स्थानीय प्रविधिको प्रयोग गरेर तामा निकाल्ने गरिन्थ्यो । प्रविधिको अभाव र आम्दानीभन्दा बढी राज्यलाई कर तिर्नुपर्ने अवस्था आएपछि त्यसबेला तामाखानी बन्द भएको छन्त्यालले बताए । तामाखानी उत्खननका लागि आएका छन्त्याल समुदायले मच्छिममा बस्ती बसाएको इतिहास छ । छन्त्याल समुदायको पुर्ख्यौली पेसा खानी खन्ने हो । त्यहाँ अझैसम्म पनि तामाका धाउ देख्न सकिन्छ । तामाखानीका सुरुङ छन् । स्थानीयहरुले त्यही सुरुङबाट भित्र छिरेर घन, छिनोको प्रयोग गरेर तामा निकाल्ने गरेका थिए । उक्त कम्पनीले मालिका गाउँपालिकाको ओखरबोट तामाखानीमा पनि सम्भाव्यता अध्ययन गरिरहेको छ । खानी तथा भूगर्भ विभागका अनुसार म्याग्दीमा तामा, फलाम, क्वार्ज, कप्रक, चुनढुङ्गा, खरिढुङ्गा, स्लेटढुङ्गा, मार्बल र तातोपानीका मुहान (हटस्पिङ) पाइन्छन् । जिल्लामा बढी पाइने खनिज पदार्थमा तामा प्रमुख हो । रासस

महँगी ह्वात्तै घटेको राष्ट्र बैंकको विश्लेषण, ४.८२ प्रतिशतबाट १.४७ प्रतिशतमा झर्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले महँगी घटेको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आइतबार असोजसम्मको देशको आर्थिक स्थिति सार्वजनिक गर्दै २०८२ असोज महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १.४७ प्रतिशत रहेको उल्लेख गरेको हो ।  अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.८२ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५४ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ७.२० प्रतिशत र ३.४९ प्रतिशत रहेको थियो ।  आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रयमासको औसत मुद्रास्फीति १.६७ प्रतिशत रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.२६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप-समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ७.७५ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थको ३.७१ प्रतिशत र माछा तथा मासुको ३.१५ प्रतिशतले बढेको छ ।  तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १५.६३ प्रतिशत, मरमसलाको ७.८२ प्रतिशत र दाल तथा गेडागुडीको ४.४१ प्रतिशतले घटेको छ । गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १५.५१ प्रतिशत, शिक्षाको ७.६७ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.२९ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.८४ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको४.५५ प्रतिशतले बढेको छ ।  बीमा तथा वित्तीय सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ०.२३ प्रतिशतले घटेको छ । समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.२९ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.५३ प्रतिशतले बढेको छ ।  प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.३३ प्रतिशत, मधेश प्रदेशको १.२० प्रतिशत, बागमती प्रदेशको १.१३ प्रतिशत, गण्डकी प्रदेशको १.१६ प्रतिशत, लुम्बिनी प्रदेशको १.८९ प्रतिशत, कर्णाली प्रदेशको १.९१ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ०.६९ प्रतिशत रहेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १.४३ प्रतिशत, तराईको १.२९ प्रतिशत, पहाडको १.५० प्रतिशत र हिमालको २.३३ प्रतिशत रहेको छ ।

कामदारलाई सबैभन्दा बढी तलब गण्डकीमा, देशभरको सूचकाङ्क ४.४८ प्रतिशत बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रयमासमा वार्षिक बिन्दुगत तलब तथा ज्याला सूचकाङ्क ४.४८ प्रतिशतले वृृद्धि भएको बताएको छ । राष्ट्र बैंकले आइतबार चालु आर्थिक वर्षको तीन महिनासम्मको देशको वर्तमान आर्थिक स्थिति सार्वजनिक गर्दै तलब तथा ज्याला सूचकाङ्क ४.४८ प्रतिशतले वृृद्धि भएको बताएको हो ।  राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही त्रैमासमा यस्तो सूचकाङ्क ३.३१ प्रतिशतले बढेको थियो ।  प्रदेशगत रुपमा समीक्षा अवधिमा कोशी प्रदेशको वार्षिक बिन्दुगत तलब तथा ज्याला सूचकाङ्कको बृद्धिदर १.१२ प्रतिशत, मधेश प्रदेशको ३.६२ प्रतिशत, बागमती प्रदेशको ४.१६ प्रतिशत, गण्डकी प्रदेशको ९.४२ प्रतिशत, लुम्बिनी प्रदेशको ६.६८ प्रतिशत, कर्णाली प्रदेशको १.३६ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ५.६२ प्रतिशत रहेको छ ।  

अप्टिमिस्ट इन्टरनेसनलले मनायो अन्तर्राष्ट्रिय सहिष्णुता दिवस

काठमाडौं । अप्टिमिष्ट इन्टरनेसनल एसिया डिस्ट्रिकले अन्तराष्ट्रिय सहिष्णुता दिवसको अवसरमा कार्यक्रम गरेको छ । यो दिवस युनेस्कोले सन् १९९५ मा घोषणा गरेको हो, जसको उद्देश्य असहिष्णुताका खतराहरूको बारेमा जनचेतना जगाउनु रहेको छ । यो दिवस हरेक वर्ष नोमेम्बर १६ मा अन्तराष्ट्रिय दिवस मनाउने गरिन्छ । दिवसको पूर्वसन्ध्यामा गरिएको कार्यक्रममा घरपरिवारदेखि विश्वसमुदायसम्म सहिष्णुताको महत्वबारे चर्चा गरिएको थियो । एकले अर्कोलाई नस्वीकार्ने, एकले अर्कोप्रति गलत भावना राख्ने जस्ता गतिविधिले घरदेखि विश्वमासम्म अशान्ति फैलने भएकाले अन्तराष्ट्रिय सहिष्णुता दिवसको महत्व बढ्दै गएको सहभागिहरूको भनाई थियो । अप्टिमिस्ट इन्टरनेसनल विश्वभर ८० हजारभन्दा धेरै सदस्य सङ्ख्या छ । अप्टिमिस्ट इन्टरनेसनल एसियामा पहिलो पटक नेपालमा सन् २०१७ मा स्थापना भएको संस्थापक गर्भनर उदय निरौलाले जानकारी दिए । कार्यक्रममा मनोविद गृष्मा पनेरुले सहिष्णुता वा सहनशिलता मानसिको मनोविज्ञानले पनि प्रभाव पर्ने बताइन् । उनले भनिन्, 'मानसिक स्वास्थ्य पनि कतै न कतै सहिष्णुतामा जोडिएको जस्तो लाग्छ ।' कार्यक्रममा प्रा.डा. मेदनीप्रसाद भण्डारीले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले सहिष्णुताको सान्दर्भिकता हरेक दिन बढ्दै गएको भन्दै यो थप बहसको विषय बन्नुपर्नेमा जोड दिएका थिए । संस्थाका गर्भनर प्रतापबहादुर थापाले अप्टिमिष्ट इन्टरनेसनल एसियामा नेपालमा पहिलोपटक स्थापना गर्न पाउँदा खुशी लागेको बताए । उनले संस्थापक सदस्यहरूलाई धन्यवाद दिँदै यस संस्थालाई थप प्रभावकारी बनाउने बताए ।

पहिलो त्रैमासमा सानिमा रिलायन्सको नाफा १४ करोड ९६ लाख, जीवन बीमा कोषमा २० अर्ब ८७ करोड

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार पहिलो त्रैमासमा कम्पनीले १४ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले अघिल्लो आवको यही अवधिमा १३ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको नाफा १२.५३ प्रतिशतले बढेको छ । तीन महिनाको अवधिमा कम्पनीको जीवन बीमा कोषमा २० अर्ब ८७ करोड ७१ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा जीवन बीमा कोषमा १५ अर्ब ५६ करोड ६४ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ३४.१२ प्रतिशतले बढेको छ । त्यस्तै पहिलो त्रैमासमा कम्पनीको महाविपत्ति कोषमा १४ करोड ९२ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको महाविपत्ति कोषमा १५ करोड ७४ लाख रुपैयाँ थियो ।  यो अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा ४० करोड ६९ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा ३४ करोड २६ लाख रुपैयाँ थियो ।  कम्पनीको अन्य इक्विटी २ करोड ६२ लाख रुपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको अन्य इक्विटीमा ८ करोड ९ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीले १ अर्ब ८४ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।  अघिल्लो आवको यही अवधिसम्म कम्पनीले १ अर्ब ५६ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमा शुल्क आर्जन १७.९९ प्रतिशतले बढेको छ।  यो अवधिमा कम्पनीले १ अर्ब ७८ करोड २१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ५० करोड ३७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन १८.५२ प्रतिशतले बढेको छ ।  कुल ५ अर्ब १ करोड ४९ लाख रुपैयाँ सेयर पुँजी रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ११.९३ रुपैयाँ रहेको छ । त्यस्तै, मूल्य आम्दानी अनुपात ४९.१२ गुणा, प्रतिसेयर नेटवर्थ ११०.५७ रुपैयनन् रहेको छ ।