कार्बन साझेदारी कोषबाट मुलुकलाई एक अर्ब १९ करोड प्राप्त
काठमाडौं । तराई आर्क क्षेत्रअन्तर्गतको ‘आरइडिडीप्लस’ उत्सर्जन कटौती कार्यक्रममार्फत करिब १८ लाख ८८ हजार टन कार्बन डाइअक्साइड उत्सर्जन घटाउन सफल भएपछि मुलुकले विश्वव्यापी वन कार्बन साझेदारी कोषबाट एक अर्ब १९ करोड रुपैयाँ प्राप्त प्राप्त गरेको छ । यो रकम कोषअन्तर्गतको इमिसन रिडक्सन पेमेन्ट एग्रिमेन्ट (इआरपिए)अनुसार नेपालले पाएको यो पहिलो भुक्तानी हो । यसले वन विनाश रोक्ने, समावेशी तथा दिगो वन व्यवस्थापन प्रवद्र्धन गर्ने नेपालका प्रयास मुखरित भएको विश्व बैंकले आइतबार एक विज्ञप्ति निकालेर जनाएको छ । बैंकले यो उपलब्धिबाट नेपालले वन विनाश रोक्न, जैविक विविधता संरक्षण बढाउन र स्थानीय समुदायका लागि दिगो जीविकोपार्जनका अवसर विस्तार बल पुग्ने विश्वास व्यक्त गरेको छ । वन तथा वातावरण मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले प्राप्त रकमले वनमा निर्भर समुदाय, आदिवासी जनजाति तथा सरकारको संयुक्त प्रतिबद्धतालाई प्रमाणित गरेको बताए ।
बाल्यकालको संघर्षबाट विश्वप्रसिद्ध परफ्यूम उद्यमी बनेकी जो मेलोनको यात्रा
काठमाडौं । ब्रिटिश उद्यमी तथा चर्चित परफ्यूमर जो मेलोन (सीबीई) ले आफ्ना कठोर बाल्यकाल र ११ वर्षकै उमेरमा परिवारको मुख्य आम्दानीकर्ता बनेको अनुभवले कसरी उद्यमशीलता बीउ रोप्यो भन्नेबारे खुलाएकी छन्। जो मेलोन लन्डन र जो लभ्स जस्ता सफल पर्फ्यूम ब्रान्डकी संस्थापक मेलोन हालै सीएनबीसीको पोडकास्टमा स्टीभ सेजविकसँग सहभागी भएकी थिइन् । सो एपिसोड मंगलबार सार्वजनिक गरिएको थियो । जो मेलोन लन्डन ब्रान्ड सन् १९९९ मा इस्ती लाउडर कम्पनीजले खरिद गरेको थियो, जसबाट मेलोनले करोडौं पाउन्ड बराबरको रकम पाएकी थिइन्, यद्यपि कति पाएकी थिइन् भन्ने सार्वजनिक गरिएको छैन । तर करोडपति बन्नुभन्दा धेरै पहिले मेलोनले बेलायतको केन्टस्थित एक काउन्सिल इस्टेटमा बिताएको बाल्यकाल सम्झिइन्—उनकी आमाले ब्युटी क्षेत्रमा काम गर्थिन् भने उनका बुबा कलाकार मात्र नभई जुवाडे र पोकर खेलाडी पनि थिए । उनले भनिन्, ‘११ वर्षको उमेरदेखि नै म नै घरको ठूलीजस्तै भइसकेकी थिएँ । ‘बिजुली–ग्यासको मीटर रिचार्ज गर्न पैसा छ कि छैन?’ भनेर हेर्ने काम म गर्थेँ । किनकि यदि उहाँ (बुबा) ले सबै पैसा जुवामा हारे हामीसँग खानेकुरा पनि हुँदैनथ्यो।’ मेलोन किशोरावस्थामा पुग्नुअघि नै उनकी आमा मानसिक रूपमा निकै कमजोर भइन् । त्यसका कारण उनले लगभग एक वर्ष स्कुल जानै सकिनन् र आमाबुबा तथा कान्छी बहिनीका लागि घर चलाउने उपाय खोजिरहेकी थिइन् । चतुर मेलोनले आमाले सिकाएका कला प्रयोग गर्दै आमाले बेच्ने फेस क्रिमको नक्कल बनाइन् जसलाई उनले ट्रेन चढेर लन्डन लगेर ४.५० यूरोमा बेच्थिन् । ‘यस्तै गर्थें जसले हाम्रो परिवार एकैसाथ टिकाइरह्यो । बुबा कहिल्यै घरमा हुनुहुँदैनथियो, जहिल्यै हराउनुहुन्थ्यो,’ उनले भनिन् । ‘त्यस्तै कठिन क्षणहरूले नै मलाई बनाएको हो । जे आए पनि म बाँच्ने बाटो फेला पार्थें– कहिले सुरुङ, कहिले सिँढी तर अर्को २० यूरो कसरी कमाउने भनेर सोच्थें,’ उनले थपिन् । शनिबारका दिन उनी बुबाका चित्रहरू बेच्थिन् किनकि घरमा खानेकुरा किन्न पैसा चाहिन्थ्यो र बुबाले सबै पैसा खर्च गर्थे । आइतबार उनी बुबासँग पोकर खेल हेर्न जान्थिन् । आज मेलोन सफल उद्यमीका रूपमा स्थापित छिन् र ती कठिन बाल्यकालका अनुभवलाई उनले आफूलाई कडा, दृढ र उद्यमशील बनाएको समयका रूपमा सम्झिन्छिन् । सुरुवातमा मात्र बाँच्ने संघर्ष ‘म सधैं भन्थेँ— म ठूलो भएपछि यस्तै जीवन जीउँदिनँ, यस्तो परिवार बनाउँदिनँ,’ एक दिनको सम्झना सुनाउँदै उनले भनिन्, ‘मेरो कोठामा कुनै हिटर थिएन । निकै जाडो थियो, झ्यालमा बरफ जमेको थियो । मैले औंलाले त्यो बरफ छेरेर बाहिर हेरिरहेँ र सोचेँ– ‘म आफ्नो भाग्य बदल्नैपर्छ ।’ किशोरी हुँदा उनी साथीहरू जस्तै खेलकुद वा रमाइलो गर्न पाउँदिनथिन् । उनी घरमै कपडा धुने, खाना पकाउने, बहिनीलाई स्कुलबाट ल्याउने काम गर्थिन् । धेरै पछि मात्र उनले बुझिन्—उही आत्मनिर्भरता नै उद्यमशील भावना बन्न पुगेको रहेछ । ‘सुरुमा यो बाँच्नकै लागि थियो,’ उनले भनिन् । फुलबारीमा काम गर्नु, रेस्टुरेन्टमा भाँडा माझ्नु, कुकुर हिँडाउनुजस्ता कामबाट उनको यात्रा सुरु भएको थियो । ‘म कहिल्यै लजाइनँ । जुनसुकै काम गर्नुपरे पनि तयार थिएँ । तर जब मैले पहिलो स्किनकेयर व्यवसाय सुरु गरेँ—त्यही बेला थाहा पाएँ कि ‘अब मेरो जीवन ममै छ,’ र यही नै उद्यमशीलताको जन्म क्षण थियो,’ उनले भनिन् । मेलोन हाल दुबईमा बस्छिन् र यसै वर्ष उनले जो भोड्का नामको लक्जरी स्पिरिट ब्रान्ड सुरु गरेकी छन् । साथै उनी जो लभ्स नामक सुगन्ध व्यवसाय पनि सञ्चालन गर्छिन् । घरेलु बजारमा दबाब बढेपछि बीवाईडीको नजर विदेशी बजारमा, २०२६ मा १६ लाख सवारी बिक्री लक्ष्य
सार्वजनिक सुरक्षाको सुनिश्चितताका लागि गृहमन्त्री अर्यालले गरे केन्द्रीय सुरक्षा समितिको बैठक आह्वान
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी प्रतिनिधिसभा निर्वाचन र देशभरि भइरहेका सुरक्षा चुनौतीहरूको परिप्रेक्ष्यमा केन्द्रीय सुरक्षा समितिको बैठक आह्वान गरेका छन् । यो बैठक आइतबार दिउँसो ३ बजे गृह मन्त्रालयको सिंहदरबारस्थित कार्यालयमा हुनेछ । गृह मन्त्रालयका प्रवक्ता तथा सुरक्षा समन्वय महाशाखाका प्रमुख सहसचिव आनन्द काफ्लेका अनुसार बैठकमा शान्ति सुरक्षाको व्यवस्था र आगामी फागुन २१ गतेको प्रतिनिधि सभा चुनावका सुरक्षा उपायहरूमा चर्चा हुनेछ । यससँगै दुर्गा प्रसाईंको आन्दोलनको प्रभाव र त्यससँग सम्बद्ध सुरक्षा चुनौतीहरूको बारेमा पनि विचार गरिनेछ । बैठकमा गृह मन्त्रालयका सचिव, नेपाली सेनाका बलाधिकृत रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र शान्ति सुरक्षा महाशाखाका उच्च अधिकारीहरू सहभागी हुने जनाइएको छ। यो बैठकले आगामी निर्वाचनमा शान्ति र सुरक्षा सुनिश्चित गर्न सरकारको रणनीति बनाउन महत्वपूर्ण भूमिका निभाउनेछ ।
अन्तरराष्ट्रिय उतारचढावको असर नेपालमा, तोलामा ६९ सयले घट्यो सुनको मूल्य
काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा आइतबार दुवै धातुको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुनको मूल्यको मूल्यमा ६ हजार ९०० रुपैयाँले गिरावट आएको छ । आइतबार एक तोला सुनको मोल दुई लाख ४२ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । शुक्रबार एक तोला सुन दुई लाख ४९ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो । त्यसैगरी, चाँदीको मूल्य पनि १५० रुपैयाँले घटेको छ । आइतबार चाँदी प्रतितोला तीन हजार १३५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार त्यति नै परिमाणको चाँदी तीन हजार २८५ रुपैयाँमा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
सांग्रिला डेभलपमेन्ट बैंक, नेपाल हाइड्रो डेभलपर र आशा लघुवित्तको लाभांश घोषणा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक, नेपाल हाइड्रो डेभलपर लिमिटेड र आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले हाल कायम चुक्ता पूँजीको १०.३५८३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र ५.३५८३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव गरेको हो । कात्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले सो प्रस्ताव पारित गरेको हो । यस लाभांश दरलाई नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेपछि र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ । नेपाल हाइड्रो डेभलपर लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि ९.४७ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले चालू चुक्ता पूँजीको आधारमा ९ प्रतिशत बोनस सेयर तथा ०.४७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव गरेको हो । जसअनुसार बोनसतर्फ ३ करोड ४९ लाख ३७ हजार ६९९.६७ रूपैयाँ बराबरका सेयर र नगदतर्फ १८ लाख ३८ हजार ८२६.३० रुपैयाँ वितरण हुने कम्पनीले जनाएको छ । प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीलाई हस्तान्तरण गरिनेछ । त्यस्तै, आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । संस्थाले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कात्तिक २८ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय पारित गरेको संस्थाले जनाएको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।
मेटलाइफको पहिलो त्रैमासमा १ अर्ब ६६ करोड बीमाशुल्क आर्जन, नाफा ९ करोड ७० लाख
काठमाडौं । मेटलाइफ नेपालले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक रिपोर्टअनुसार कम्पनीले यस अवधिमा १ अर्ब ६६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको सोही त्रैमासिकको तुलनामा मेटलाइफको व्यवसायमा सुधार देखिएको छ । यस त्रैमासमा कुल बीमाशुल्कमा १५ प्रतिशत वृद्धि भएको छ । त्यस्तै प्रथम तथा एकल बीमाशुल्क १७ प्रतिशतले बढेको छ भने नवीकरण बीमाशुल्क पनि १५ प्रतिशतले बढेको छ । रिपोर्टअनुसार सोही अवधिमा कम्पनीले ७७ करोड ९० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ९.५ प्रतिशत वृद्धि हो । मेटलाइफको जीवन बीमा कोष ३०.६० अर्ब रुपैयाँमा पुगेको छ भने पहिलो त्रैमासमा कम्पनीले ९ करोड ७० लाख नाफा आर्जन गर्न सफल भएको छ । त्यस्तै, कम्पनीको जगेडा तथा कोष ४.४६ अर्ब रूपैयाँ रहेको छ ।
डोंगफेङ नामीको नयाँ अत्याधुनिक शोरूम बिर्तामोडमा सञ्चालनमा
काठमाडौं । डोंगफेङ नामीका अधिकृत आयातकर्ता एमएडब्लू वृद्धि मोटर्स प्रालिले बिर्तामोडमा नयाँ अत्याधुनिक शोरूम सञ्चालनमा ल्याएको छ । नेपालभर सञ्जाल विस्तार गर्ने र ग्राहकहरूको आवश्यकता र सुविधालाई थप प्रभावकारी बनाउने कम्पनीकाे अपेक्षा छ । उद्घाटन समारोहमा झापा उद्योग वाणिज्य संघका संस्थापक सदस्य बलराम थापाले प्रमुख अतिथिको भूमिका निर्वाह गरे भने एमएडब्लू वृद्धि मोटर्सका सीईओ प्रशन्न पन्त, सञ्चारकर्मी, ग्राहक, स्थानीय व्यवसायी तथा उद्योग–वाणिज्य क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । बिर्तामोडको केन्द्रमा अवस्थित यो शोरूममा डोंगफेङ र सेरेसका अत्याधुनिक ईभी मोडेलहरूको अवलोकन, अनुभव तथा परीक्षण सवारी गर्ने सुविधा रहनेछ । ग्राहक अनुभवलाई प्राथमिकता दिँदै शोरूममा प्रशिक्षित कर्मचारीहरूको टोलीले व्यक्तिगत परामर्श, विस्तृत जानकारी तथा टेस्ट ड्राइभ सेवा उपलब्ध गराउनेछ, जसले कम्पनीको पूर्वी क्षेत्रमा उपस्थितिलाई अझ सबल बनाउने विश्वास गरिएको छ । शोरूम उद्घाटनको अवसरमा एमएडब्लू वृद्धिले कार्तिक २९ देखि १ मंसिरसम्म बिर्तामोड–चारपानेस्थित डोंगफेङ नामी शोरूममा तीन दिने टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प आयोजना गर्ने भएको छ । क्याम्प अवधिमा ग्राहकहरूले नामी ०१, नामी भिगो तथा सेरेस ईभी मोडेलहरू खरिद वा एक्सचेन्ज गर्ने सुविधा पाउनेछन् । यस समयमा नामी ०१ विशेष उत्सव मूल्यमा, नामी भिगो नाडा मूल्यमा तथा सेरेस ३ मा अधिकतम ६ लाख रुपैयाँसम्मको फाइदा प्राप्त गर्न सकिनेछ । साथै ग्राहकहरूले एक्सचेन्जमा उत्कृष्ट मूल्याङ्कन र बोनस पाउने छन् भने प्रत्येक टेस्ट ड्राइभमा आकर्षक उपहारसमेत प्रदान गरिने कम्पनीले जनाएको छ ।
मंसिरमा ११ बैंकले घटाए ब्याजदर, कुन बैंकको कति ?
काठमाडौं । वाणिज्य बैंकहरूले मंसिरमा पनि ब्याजदर घटाएका छन् । मंसिर १ गतेदेखि लागू हुने गरी अधिकांश बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् । मंसिर महिनाका लागि बैंकहरूको ब्याजदर मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.१७ प्रतिशत घटेर औसत ५.०३ प्रतिशतमा झरेको छ । जबकि असोजमा औसत ब्याजदर व्यक्तिगततर्फ ५.२० प्रतिशत थियो । यस्तै, मंसिरमा मुद्दती निक्षेपमा ब्याजदर संस्थागततर्फ औसत ०.१० प्रतिशत घटेर ३.५८ प्रतिशतमा झरेको छ । यसअघि असोजमा संस्थागततर्फ औसत ३.६८ प्रतिशत ब्याजदर थियो । मंसिर महिनाका लागि ११ बैंकले ब्याजदर घटाएका छन् भने ९ बैंकले ब्याजदर स्थिर राखेका छन् । कृषि विकास बैंक, कुमारी बैंक, नेपाल एसबिआई बैंक, प्राइम बैंक, सिटिजन्स बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, नबिल बैंक, सानिमा बैंक र एनआईसी एशिया बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् । यस्तै, एभरेष्ट बैंक, नेपाल बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)ले भने मुद्दती निक्षेपमा ब्याजदर स्थिर राखेका छन् । जसमध्ये एनआईएमबिले संस्थागततर्फ भने ब्याजदर घटाएको छ ।