विकासन्युज

मेलम्ची खानेपानीको मुहान क्षेत्र जाने सडक स्तरोन्नति गर्न टेण्डर आह्वान

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र (हेडवर्क्स) जाने सडक स्तरोन्नति गर्न बुधबार टेण्डर आह्वान गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङको उपस्थितिमा मंगलबार खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजनाका सरोकार समितिहरूबीच भएको समझदारी कार्यान्वयनका क्रममा सडक डिभिजन कार्यालय, चरिकोटले उक्त टेण्डर आह्वान गरेको हो । मेलम्ची–अम्बाथान–मेलम्चीघ्याङ सडक खण्डको करिब १७ किलोमिटर सडक स्तरोन्नति गर्न तीनवटा प्याकेजमा विभाजन गरी टेण्डर गरिएको छ । सडक निर्माण तथा स्तरोन्नति सम्बन्धी समझदारी भएपछि गत कात्तिक २० गतेदेखि मेलम्ची खोलाको पानी सुरुङमार्फत काठमाडौं उपत्यकामा ल्याउने विषयमा स्थानीय पक्ष सहमत भएका थिए ।  

लुम्बिनी प्रादेशिक अस्पतालमा १२ करोडको एमआरआई मेसिन

लुम्बिनी । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा १२ करोड खर्चेर १२८ स्लाइसको एमआरआई मेसिन ल्याइएको छ । मेसिन आपूर्तिकर्ता कम्पनीले अस्पतालमा मेसिन जडान पनि थालेको छ । आगामी दुई महिनाभित्रमा सेवा सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. इन्द्र ढकालले जानकारी दिए । लुम्बिनी प्रदेश सरकारको लगानीमा जडान जारी रहेको एमआरआई मेसिन सञ्चालनपछि चर्को शुल्क तिरेर निजी अस्पतालमा एमआरआई गराउनुपर्ने बाध्यताबाट सेवाग्राही मुक्त हुने उनले बताए । लुम्बिनी प्रदेशको सुविधासम्पन्न यो अस्पतालमा थप उपकरण जडान तथा सेवा विस्तारमा अस्पताल विकास समितिले प्रयास गरिरहेको समितिका अध्यक्ष अजयमान श्रेष्ठले बताए । सिटीस्क्यान मेसिन खरिदको पनि प्रारम्भ गरिएको छ । हाल अस्पतालमा सात वर्ष पुरानो १६ स्लाइसको मेसिनबाट सेवा प्रवाह भइरहेको छ ।

पोर्शेमा आएको संकटले शीर्ष सेयरधनीको नाफा धराशायी

काठमाडौं । लक्जरी कार निर्माता पोर्शे एजीमा आएको संकटका कारण यसको शीर्ष सेयरधनी पोर्शे एसईको आम्दानी यस वर्षको पहिलो नौ महिनामा घटेको छ । होल्डिङ कम्पनीले मंगलबार जनाएअनुसार करपछिको समायोजित नाफा एक तिहाइभन्दा बढीले घटेको छ । पोर्शे र पीएच परिवारको नियन्त्रणमा रहेको पोर्शे एसईले पोर्शे एजीको १२.५ प्रतिशत स्वामित्व राखेको छ भने बाँकी सेयरहरूको ठूलो हिस्सा फक्सवागन समूहको स्वामित्वमा छ । पोर्शे एसई फक्सवागन समूहको पनि प्रमुख लगानीकर्ता हो, जसको ३१.९ प्रतिशत सेयर र ५३.३ प्रतिशत मतदान अधिकार छ । जनवरीदेखि सेप्टेम्बरसम्मको अवधिमा पोर्शे एसईले करपछिको समायोजित आम्दानी १.६ अर्ब युरो (अर्थात् करिब १.८७ अर्ब डलर) भएको जनाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३६ प्रतिशत कम हो । कम्पनीले बताएअनुसार यो परिणाम फक्सवागन र पोर्शे एजीमा देखिएका समस्याले ‘महत्त्वपूर्ण रूपमा प्रभाव पारेको’ हो । यी दुबै कम्पनीहरूले चीनमा घट्दो माग रोक्ने प्रयास गर्दै इलेक्ट्रिक सवारीसाधनको उत्पादन ढिलो गर्दा यस वर्ष अर्बौं युरोको लागत बेहोर्नु परेको छ । तर, पोर्शे एसईका वित्त प्रमुख योहान्स लाटवाइनले भने कम्पनीले आफ्नो वित्तीय संरचना सुधार गरेको र ‘अटोमोबाइल उद्योगको चुनौतीपूर्ण वातावरणमा पनि सुदृढ’ रहेको बताए । समूहको शुद्ध ऋण नौ महिनाको अवधिमा ३ प्रतिशतले घट्दै ५ अर्ब युरोमा पुगेको छ । सेप्टेम्बरमा रणनीतिक पुनरावलोकनका कारण मुनाफा चेतावनी जारी गरे पनि पोर्शे एसईले पूरा वर्षको मार्गनिर्देशन यथावत राखेको छ । समूहले आफ्नो लगानी विविधीकरण गर्न रक्षा क्षेत्रमा लगानी गर्ने सम्भावना खोजिरहेको जनाएको छ, जसले उक्त क्षेत्रमा सरकारी खर्च बढेसँगै अवसर सिर्जना गर्न सक्ने अपेक्षा गरिएको छ । जहाँ राइनमेटलजस्ता रक्षा कम्पनीहरूले अर्डर बुक भरिरहेका छन्, त्यहीँ जर्मनीको अटो उद्योग भने महँगो ईभी रूपान्तरण, चीनसँगको तीव्र प्रतिस्पर्धा, ट्यारिफ र आपूर्ति श्रृंखला अवरोधका कारण संघर्षरत रहेको छ । दक्षिणपूर्वी एसियामा होन्डाको वर्चस्व धरापमा, ठूलो चुनौती चीनका ईभी निर्माता सुनको खेल अझै बाँकी ! मूल्य घट्ने कि फेरि इतिहास दोहोरिने ?  

सरकार र दुर्गा प्रसाईंको समूहबीच गृह मन्त्रालयमा छलफल शुरु

काठमाडौं । सरकार र नागरिक बचाउ अभियानका संयोजक एवं व्यवसायी दुर्गा प्रसाईंको समूहबीच सिंहदरबारमा वार्ता शुरु भएको छ । बुधबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा प्रसाईंको समूहसँग सरकारले छलफल गरेको हो ।  वार्तामा प्रसाईं भने सहभागी छैनन् । प्रसाईंको समूहबाट संगठन विभाग प्रमुख तिजेन्द्रप्रसाद रायमझी, अभियानका प्रवक्ता माधवप्रसाद खतिवडा र देवीप्रसाद संग्रौला लगायतका सदस्यहरु सहभागी रहेको छ । प्रसाईंले मंसिर ७ गतेबाट देशभर आन्दोलन गर्ने घोषणा गरेका छन् ।  यसपटक आन्दोलन गर्न प्रसाईंले नेपाली काँग्रेस विपीसँग सहकार्य गरेका छन् ।   

सुनको मूल्य तोलामा २१ सयले घट्यो, चाँदीको ५ रुपैयाँले बढ्यो

काठमाडौं । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा २१ सय रुपैयाँले घटेको छ भने चाँदी तोलामा ५ रुपैयाँले बढेको छ ।      नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार एक तोला सुनको मूल्य दुई लाख ४४ हजार ३०० रुपैयाँ कायम भएको छ भने त्यति नै परिमाणको चाँदी तीन हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार एक तोला सुन दुई लाख ४६ हजार ४०० रुपैयाँ र चाँदी तीन हजार १७० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

चाबहिल नजिकै गोपीकृष्ण पुलमुनि एक पुरुषको शव भेटियो

काठमाडौं । काठमाडौंको चावहिल नजिकै गोपीकृष्ण पुलमुनि एक पुरुषको शव भेटिएको छ । बुधबार भेटिएको उक्त शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ । अहिलेसम्म पोस्टमार्टम रिपोर्ट आइनसकेको प्रहरी वृत्त, गौशालाका प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले बताए । उनका अनुसार उक्त शव पुलमुनि थियो । शवको नाम र ठेगाना सबै पहिचान भएपनि पुस्ट्याइँको काम भइरहेको उनको भनाइ छ । ‘पोस्टमार्टमका लागि टिचिङ पठाएका छौं । प्रारम्भिक अनुसन्धानबाट उनी मापसे गरेर हिँड्ने मान्छे हुन् । शङ्कास्पद केही देखिँदैन । मापसे गरेर हिँडिरहेको अवस्थामा खोलामा ढलेको हुन सक्ने अनुमान छ,’ उनले भने ।  उनको उमेर अन्दाजी ६०/६२ वर्ष रहेको उनले बताए । 

गुल्मीमा सुरु भयो चुनावी सरगर्मी, पाण्डेले गरे उम्मेदवारी घोषणा

काठमाडौं । गुल्मीमा फागुन २१ गते सम्पन्न हुने आमनिर्वाचनको सरगर्मी सुरु भएको छ । राजनितिक दलहरू आन्तरिक तयारीमा रहिरहेको बेला एक स्वतन्त्र उमेदवारले सम्पर्क कार्यालयसमेत स्थापना गरी निर्वाचन प्रचारको कार्य सुरु गरेका छन् । गुल्मीको निर्वाचन क्षेत्र नम्बर २ का सुरेन्द्र पाण्डेले उक्त क्षेत्रको केन्द्र धनार्जीमा सम्पर्क कार्यालय स्थापना गरी प्रचारको काम सुरु गरेको जानकारी दिएका छन् ।  विद्यालय शिक्षकबाट केही समय पहिले स्वेच्छिक अवकाश लिएका पाण्डे पछिल्लो समय स्थानीय राजनीतिमा सक्रिय रहँदै आएका थिए । लामो समय नेपाली कांग्रेसमा सक्रिय रहेका पाण्डे पछिल्ला वर्षहरूमा उक्त पार्टीबाट टाढिएका थिए । पाण्डे जिल्लाको धुर्कोट गाउँपालिका– ५ बस्तुका स्थानीयवासी हुन् ।

‘विकास नायक २०८२’ को खोजी

विकास मिडियाद्वारा प्रकाशित Bikashnews.com र देशविकास पत्रिकाले विगतमा झैं यस वर्ष पनि विकास नायकको खोजी गर्ने, उनीहरूले गरेको कार्यहरूको रिपोर्ट बनाउने, विकासन्युज (डिजिटल पत्रिका) र देशविकास म्यागेजिनमा प्रकाशन गर्ने तयारीमा रहेका छौं । यस वर्षदेखि विकास नायकहरुलाई सम्मानसमेत गर्ने तयारी भइरहेको छ ।  विकास नायक मनोनयन फारम भर्न यहाँ क्लिक गर्नुहोस् । देशविकासका लागि बहुआयामिक सूचकाङ्क हुन्छन् । पर्याप्त अवसरसहित उच्चस्तरकोे आम्दानी र गुणस्तरीय जीवनशैली आधुनिक विकासको प्रमुख सूचक हुन् । त्यसको लागि लगानी वृद्धि र उच्चदरको आर्थिक वृद्धि पहिलो आधार हो । प्रभावकारी नीति निर्माण, प्रशासनिक सुधार, विश्वासिलो सुरक्षा तथा न्याय प्रणालीको विकास राज्यस्तरबाट अनिवार्य हुनैपर्छ । आधुनिक शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवा हरेक मानिसको लागि गाँस, बास र कपास जत्तिकै आधारभूत आवश्यकता हुन् । नवीन प्रविधिको विकास र प्रयोगले सबै मानिसको जीवनशैली सरल बन्दै गएको छ । अवसरहरू सिर्जना गर्नका लागि पूर्वाधार निर्माण, उद्योग, व्यापार, कृषि, पर्यटन, यातायात तथा विविध सेवा क्षेत्रमा लगानी वृद्धि हुनैपर्छ । बैंकिङ, बीमा, पुँजीबजार लगायत वित्तीय सेवाको क्षेत्रले अर्थतन्त्रमा रक्तसञ्चारको काम गरिरहेको छ । खेलकुद, कला, संस्कृति र समाजसेवाका कार्यले समाजलाई सुन्दर र सन्तुष्ट बनाउन मद्दत गर्छ ।   हरेक क्षेत्रमा उल्लेखनीय र दीर्घकालीन विकासमा उल्लेख्य योगदान गर्ने व्यक्ति (प्राकृतिक व्यक्ति तथा संस्था) नै विकास नायक हुन् । विकास नायकहरूले नै हो देश समृद्ध बनाउने । देश विकासको कार्य निरन्तर चलिरहन्छ । समाजमा विकास नायकको जन्म पनि भइरहन्छ । यही मान्यतामा आधारित रहेर विकास मिडियाले हरेक वर्ष १० विकास नायकको खोजी गर्ने र उनीहरूले गरेका अनुकरणीय कार्य रिपोर्टिङि गर्ने, देशविकास पत्रिका र विकासन्युज अनलाइनमा प्रकाशित गर्ने कार्य गर्दै आएको छ । हामी यस वर्षदेखि विकास नायकहरूलाई सम्मान कार्यक्रमको समेत तयारीमा रहेका छौं ।  जसले देश विकासमा साहसिक काम गरेको छ, उदाहरणीय काम गरेको छ र अरुलाई उत्प्रेरित गरेको छ–उसको खोजी गर्नु र कुनै एक स्थानमा भएको अनुकरणीय कार्यको सन्देश समाजका अन्य स्थानका समूदायसम्म पुर्याउनु, सफलताका कार्याअनुभव अरूलाई पनि सुनाउनु र मानिसहरूमा सकारात्मक सन्देशसहित उत्प्रेरणा जगाउनु यस अभियानको लक्ष्य हो ।  तपाईंको सिफारिस, तपाईंले दिएको सूचना, सम्बद्ध स्रोतहरूबाट प्राप्त सूचनाहरू, हाम्रा सहकर्मीहरूले संकलन गरेको सूचनाहरूको आधारमा हामी सम्भावित पात्रहरूको सूची बनाउँछौं । उनीहरूले गरेको कार्यले अर्थतन्त्र र समाजमा परेको प्रभाव, त्यसमा अपनाइएको नवप्रवर्तन, सहभागिता, समावेशीता, पारदर्शिता, नैतिकता, त्यस कार्यको स्थायित्व र त्यसले दिने प्रेरणादायी सन्देशलगायत मानकका आधारमा छनौट समितिले लिएको निर्णयका आधारमा हामी आन्तरिक रूपमा फरक–फरक विधाबाट १० विकास नायक सूची बनाउँछौं । उनीहरूको काम र प्रभावबारे रिपोर्ट बनाउँछौं, प्रकाशित गर्छौं । प्रबुद्ध वर्गको उपस्थितिमा विकास नायक घोषणा गर्छौ र सम्मान गर्दछौं ।  विकास नायक घोषणा र सम्मान विकास मिडियाको वार्षिक उत्सवका दिन अर्थात् जनवरी पहिलो आइतबार अर्थात् २०८२ पुस २० गते गरिनेछ । आउनूहोस्, विकास नायक छनौटमा सहभागी हुनूहोस् । मनोनयन फारम २०८२ मंसिर १८ गतेसम्म भरिसक्नुपर्नेछ । (मंसिर ८ गते अपडेट गरिएको-सम्पादक) यो पनि पढ्नुहोस् ‘विकास नायक’ मनोनयन समय थप्ने निर्णायक समितिको निर्णय सिधा सम्पर्क: [email protected], whatsapp 9801130454 विकास नायक श्रृङ्खला