विकासन्युज

कुमारी बैंकको नयाँ निक्षेप योजना सार्वजनिक, हरेक खातामा एउटा रुख रोपिने

काठमाडौं । कुमारी बैंकले ग्रिन सेभिङ्स डिपोजिट अकाउन्ट नामक निक्षेप योजना ल्याएको छ ।  ‘एक खाता एक रुख’ सिद्धान्तमा आधारित यो योजना अन्तर्गत खोलिने हरेक खाता बापत एक रुख बैंकका तर्फबाट रोपिने बैंकले जनाएको छ । बैंकका अनुसार प्रत्येक निक्षेपकर्ताहरूको पर्यावरण संरक्षण तथा प्रवर्द्धनमा अप्रत्यक्ष रूपमा सहभागिता रहनेछ। ग्रिन सेभिङ्स डिपोजिट अकाउन्ट खोल्दा साधारण बचत खाताको भन्दा ०.२५ प्रतिशत अधिक ब्याजदर, एक लाखसम्मको बीमा सुविधा, दुई वर्षसम्म निःशुल्क मोबाइल बैंकिङ सेवा, दुई लाखसम्मको फोनलोन सुविधा (योग्यताअनुसार) पाइने बैंकका दिगो बैकिङ विभागका प्रमुख अर्पण पौडेलले जानकारी दिए । यस योजनाबाट संकलन हुने निक्षेपलाई दिगो विकास प्रवद्र्धन गर्ने, पर्यावरणलाई सकरात्मक प्रभाव सृजना गर्ने क्षेत्रमा कर्जा प्रवाह गर्ने तथा प्रत्येक खाताबापत एक रुख रोप्ने भएकोले यस अभ्यासबाट वातावरण संरक्षणमा दोहोरो प्रभाव सृजना हुने उनले बताए ।  सबै शाखाहरूमा यो योजना उपलब्ध गराएको बैंकले जनाएको छ ।  इच्छुक ग्राहकहरूले बैंकको वेबसाइट वा नजिकको शाखामा सम्पर्क गरी विस्तृत जानकारी लिन सक्ने जनाइएको छ । विगत २४ वर्षदेखि बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्नो ३०२ शाखा सञ्जाल, ३१७ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ ईकाईहरूमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

नेपालका मन्त्रीहरू भटाभट भारत भ्रमणमा

काठमाडौं । खर्च कटौतीको नाउँमा विकास आयोजनाका बजेटसमेत कटौती गरेको अन्तरिम सरकारका मन्त्रीहरू धमाधम विदेश भ्रमण गर्न थालेका छन् ।  खर्च कटौतीका लागि विकासे मन्त्रालयका १३ सय आयोजना कटौती गरेको सरकारले मन्त्रालयका सहसचिवहरूको उपस्थिति भए हुने भ्रमणमा मन्त्रीहरूको भ्रमण धमाधम स्वीकृत गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ कार्त्तिक १० गते भारत गएका थिए ।  सौर्य गठबन्धनको आठौं सभामा सहभागी भएर उनी फर्किसकेका छन् । ऊर्जा तथा जलस्रोत मन्त्रालयका एकजना सहसचिवका अनुसार उक्त बैठकमा पहिले सहसचिव जाने तयारी थियो । पछि मन्त्री जाने भएपछि सहसचिवहरूको च्याप्टर क्लोज भएको छ । अब लगत्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा भारत जान लागेका छन् ।  उनी कात्तिक २८ र २९ गते विशाखापटनम्मा हुने ३०औं पार्टनरशिप समिटमा सहभागी हुन भारत जान लागेका हुन् ।  मन्त्रिपरिषद्ले उनको भ्रमण पहिल्यै स्वीकृत गरिसकेको छ ।

बीमा कम्पनीहरूमा जेनजी आन्दोलनको दाबी रकम बढ्यो, ३ अर्ब ६८ करोडमात्रै भुक्तानी

काठमाडौं । गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा देशभर भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकम बढेको छ । बीमा प्राधिकरणका अनुसार हालसम्म बीमा कम्पनीहरूमा २३ अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको दाबी परेको छ। बीमा प्राधिकरणका अनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा कुल ३ हजार २४६ वटा बीमा दाबीको २३ अर्ब ४६ करोड ९१ लाख रुपैयाँको दाबी परेको हो ।  दाबीअनुसार बीमा कम्पनीहरूले भुक्तानी गर्ने रकम भने न्यून देखिन्छ । प्राधिकरणका अनुसार हालसम्म बीमा कम्पनीहरूले ३ अर्ब ६८ करोड ४१ लाख रुपैयाँ बराबरको दाबीबापतको रकम भुक्तानी गरेका छन् । बीमा कमपनीहरूले इञ्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ २०९ वटा दाबीको ५४ करोड ७५ लाख दाबी रकममध्ये ६ करोड २३ लाख रुपैयाँ भुक्तानी गरेका छन्।  त्यस्तै, परिवहन बीमातर्फ १२ वटा दाबीको १ करोड ६८ लाख दाबी रकममध्ये करिब ७ लाख र अन्य बीमातर्फ ४२ वटा दाबीको  ३९ करोड ३० लाख दाबी रकममध्ये २३ लाख अग्रिम भुक्तानीसमेत गरी दाबी रकम भुक्तानी गरेको जनाएको छ । सबैभन्दा धेरै दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा देखिएको छ । उक्त कम्पनीले ४०१ वटा दाबीको ५ अर्ब ५१ करोड ३७ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ । कम्पनीले हालसम्म १ अर्ब ५७ करोड ५१ लाख रुपैयाँ भुक्तानी गरेको छ ।   दोस्रो धेरै क्षतिको दाबी ओरिएन्टल इन्स्योरेन्समा ५ अर्ब ४४ करोड ३५ लाख रुपैयाँ बराबरको १०१ वटा दाबी परेको छ । जसमध्ये हालसम्म कम्पनीले ४ करोड १९ लाख रुपैयाँमात्रै भुक्तानी गरेको छ । तेस्रोमा आईजीआई प्रिडेन्सियल इन्स्योरेन्सले २१६ वटा दाबीको २ अर्ब ७९ करोड ९१  लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ । जसमध्ये हालसम्म कम्पनीले ५५ करोड ४४ लाख रुपैयाँ भुक्तानी गरेको छ ।  प्राधिकरणका अनुसार शिखर इन्स्यारेन्समा २ अर्ब ४२ करोड १ लाख रुपैयाँ बराबरको ४४५ वटा, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा १ अर्ब ५७ करोड २६ लाख रुपैयाँको ४४५ वटा, नेको इन्स्योरेन्समा १ अर्ब १६ करोड ६८ लाख रुपैयाँको २७२ वटा, हिमालयन एभरेष्ट इन्स्योरेन्समा ९७ करोड १६ लाख रुपैयाँको २७१ वटा, सानिमा जिआइसी इन्स्योरेन्समा ९२ करोड १ लाख रुपैयाँको १७८ वटा दाबी परेको छ । हालसम्म शिखरले ६६ करोड २६ लाख रुपैयाँ, सगरमाथा लुम्बिनीले ८ करोड ७४ लाख रुपैयाँ, नेकोले १९ करोड ३९ लाख रुपैयाँ, हिमालयन एभरेष्टले २७ करोड ४३ लाख, सानिमा जिआइसीले ७ करोड ६४ लाख रुपैयाँ भुक्तानी गरिसकेका छन् । त्यस्तै, यसैगरी युनाइटेड अजोड इन्स्योरेन्सले २३८ वटा दाबीको ६३ करोड ९४ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २१६ वटा दाबीको ६३ करोड ८१ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले २४७ वटा दाबीको ५८ करोड ६९ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १११ वटा दाबीको ४६ करोड २९ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सले १११ वटा दाबीको ४६ करोड ९५ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ ।  हालसम्म युनाइटेडले २ करोड ३८ लाख रुपैयाँ, एनएलजीले ६ करोड ५९ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ११ करोड ५७ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सले ३१ लाख रुपैयाँ भुक्तानी गरेका छन् । पुनर्बीमा कम्पनीबाट २ अर्ब ४८ करोड १० लाख अग्रिम भुक्तानी जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई हालसम्म २ अर्ब ४८ करोड १० लाख रुपैयाँ अग्रिम भुक्तानी (पेश्की) उपलब्ध गराएको छ ।  नेपाल पुनर्बीमा कम्पनीमा परेका कुल २ हजार ८५७ वटा पुनर्बीमा दाबीको दाबी १५ अर्ब ८२ करोड ७० लाख रहेको छ ।

तालिका थप भएपछि भोजपुर–काठमाडौं अब चार उडान

टक्सार । पहाडी जिल्ला भोजपुरमा नेपाल वायुसेवा निगमले उडान थप गरेको छ । विगतमा हप्तामा दुई उडान मात्र भोजपुर–काठमाडौं हुँदै आएकामा अब चार उडान हुनेछन् ।     प्राविधिक कारणले केही समयका लागि कटौती गरिएको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको काठमाडौं–भोजपुर–काठमाडौं उडान तालिका थप भएको निगमका भोजपुर स्टेसन प्रमुख प्रकाश खड्काले जानकारी दिए । उनका अनुसार यही कात्तिक २६ गतेदेखि लागू हुनेगरी अब  मंगलबार, बुधबार, बिहीबार र शनिबार नियमित उडान सञ्चालन गरिनेछ । यसभन्दा अगाडि बिहीबार र शनिबार मात्र उडान हुँदै आइरहेको थियो ।     मर्मतमा रहेको अर्को जहाज पनि सञ्चालनमा आएसँगै भोजपुरमा पनि उडान थप गरिएको छ । निगमले यात्रुहरूलाई आफ्नो यात्रा सुनिश्चित गर्नका लागि आधिकारिक ‘वेबसाइट’मार्फत ‘अनलाइन टिकट’ खरिद गर्न सकिने व्यवस्थासमेत गर्दै आइरहेको छ ।     यहाँ यातायातका साधन सञ्चालनमा आएसँगै भोजपुर–विराटनगरको उडान भने बन्द भएको छ । विसं २०३५ मा घाँसेमैदानबाट सुरु भएको उडान अहिले विमानस्थल कालोपत्र भए पनि निगमको जहाजले मात्र उडान गर्दै आइरहेको छ । उडान कम हुँदा भोजपुरबाट काठमाडौं जाने र आउने यात्रु मारमा पर्दै आइरहेका छन् ।   

बीमा सूचना केन्द्र स्थापना तथा सञ्चालनसम्बन्धी प्राधिकरणमा छलफल

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा मंगलबार (आज) प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा बीमा सूचना केन्द्र स्थापना तथा सञ्चालनसम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ । बीमा ऐन, २०७९ मा व्यवस्था भए बमोजिम बीमा सूचना केन्द्र स्थापना तथा संचालनका सम्बन्धमा बीमा कम्पनी, लघुबीमा कम्पनी तथा पुनर्बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूसँग छलफल गरी राय सुझावहरू लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनकराज शर्माले बीमा क्षेत्र व्यापक रूपमा विस्तार हुँदै गएको सन्दर्भमा बीमा सम्बन्धी छरिएर रहेका सूचनाहरूलाई एकीकृत गर्न र गलत क्रियाकलापलाई पहिचान गरी नियन्त्रण गर्न केन्द्र आवश्यक भएको बताए । बीमा सूचना केन्द्रको स्थापनाबाट बीमक, बीमित लगायत सबैको हित हुने उल्लेख गर्दै उनले बीमा क्षेत्रलाई बढी सुरक्षित तथा विश्वसनीय बनाउनका लागि सम्बद्ध सबैका सुझावहरू समेतका आधारमा कानुन बमोजिम बीमा सूचना केन्द्र स्थापनाको कार्य छिट्टै अगाडि बढाउने जानकारी दिए । अध्यक्ष शर्माले बीमा सूचना केन्द्र स्थापना गर्दा केन्द्रको संरचना, मोडालिटि र संचालन आयाम कस्तो हुने भन्ने सम्बन्धमा व्यावहारिक राय सुझावहरू दिन बीमकहरूसँग आग्रह गरे । कार्यक्रममा नेपाल सरकारका पूर्वमुख्य सचिव डा. बैकुण्ठ अर्यालले विज्ञका रूपमा बीमा सूचना केन्द्र स्थापना, संचालन र व्यवस्थापन सम्बन्धी प्रारम्भिक मस्यौदा प्रस्तुत गर्दै बीमा क्षेत्रसँग सम्बन्धित यथार्थ सूचना, जानकारी र विश्लेषण उपलब्ध गराउन बीमा सूचना केन्द्रको स्थापना आवश्यक रहेको बताए । कार्यक्रममा नेपाल बीमक संघका अध्यक्ष वीरेन्द्र बैदवार र नेपाल जीवन बीमक संघका अध्यक्ष प्रवीण रमण पराजुलीले बीमा सूचना केन्द्र स्थापनाका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा बीमा सूचना केन्द्र स्थापना गर्न सहभागीहरूबीच सहमति समेत भएको छ। साथै छलफलका क्रममा आएका राय सुझावहरू समेटी प्रारम्भिक मस्यौदालाई परिमार्जन गरी बीमा सूचना केन्द्र स्थापना गर्ने कार्यलाई अगाडि बढाउने जानकारी पनि गराइएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक ध्रुव तिमिल्सिना, उपनिर्देशक राजेन्द्र महर्जन तथा उपनिर्देशक रविन्द्र श्रेष्ठ र नबिल बैंकका होलसेल लायबिलिटी प्रमुख लक्ष्मी लामिछाने ढकाल लगायतको उपस्थिति रहेको थियो ।

मुख्यमन्त्री सरोज यादवलाई दीर्घकालीन प्रभाव पर्ने निर्णय नगर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई प्रदेश सरकारका तर्फबाट दीर्घकालीन प्रभाव पार्ने कुनै पनि नीतिगत वा कार्यकारी निर्णय नगर्न आदेश दिएको छ । न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले मंगलबार यो आदेश जारी गरेको हो।  अदालतले अन्तरिम आदेश दिँदै मुख्यमन्त्री यादवले आफ्नो पदमा रहँदा नीति, कार्यक्रम, बजेट, नियुक्ति वा अन्य दीर्घकालीन असर पार्ने निर्णयहरू तत्काल नगर्न निर्देशन दिएको हो । सर्वोच्च अदालतले यसअघि मधेश प्रदेश सरकारको वैधानिकता र मुख्यमन्त्री नियुक्तिसम्बन्धी विवादमा दायर रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो ।  अदालतले विवादको अन्तिम टुंगो नलागेसम्म स्थायित्वमा असर पार्ने निर्णयहरू रोक्न आवश्यक ठानेको बताइएको छ । यसअघि मुख्यमन्त्री यादवको नियुक्ति र विश्वासको मत प्रक्रियासम्बन्धी विषयमा कानुनी विवाद उत्पन्न भएपछि विपक्षी दलका सांसदहरूले सर्वोच्चमा रिट दायर गरेका थिए ।

समृद्धि फाइनान्सले मनायो २४औँ वार्षिकोत्सव, समृद्धि र पोखरा फाइनान्स एकआपसमा गाभिने

काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले २४औँ वार्षिकोत्सव मनाएको छ । कात्तिक २५ गते आयोजित समारोहमा संस्थाका व्यवस्थापन सदस्य, कर्मचारी तथा ग्राहकहरूको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रमका क्रममा समृद्धि फाइनान्सका सबै शाखाहरूमा कर्मचारी र बचतकर्ताको उपस्थितिमा केक काटी वार्षिकोत्सव मनाइयो । सो अवसरमा संस्थाले २४ वर्षदेखि ग्राहक सेवा, समुदाय विकास र सरोकारवालाहरूको आर्थिक तथा व्यक्तिगत हितका लागि गरेको योगदानलाई स्मरण गरिएको थियो । हाल समृद्धि फाइनान्सले देशभरका तेह्र शाखामार्फत नगद कारोबार, तत्काल भुक्तानी प्रणाली (आरटीजिएस), अन्तरबैंक भुक्तानी प्रणाली (आइपीएस), कनेक्ट आइपीएस, रेमिट्यान्स, क्लियरिङ लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ । साथै, मोवाइल बैंकिङ, डेबिट कार्ड र क्यूआर कोड जस्ता डिजिटल सेवाहरू निःशुल्क उपलब्ध गराइरहेको फाइनान्सले जनाएको छ । यसैबीच, समृद्धि फाइनान्स र पोखरा फाइनान्स एकआपसमा गाभिने प्रक्रियामा रहेको जानकारी पनि संस्थाले सार्वजनिक गरेको छ।

आइएमई लिमिटेडको २५औँ वार्षिक साधारण सभा सम्पन्न, वार्षिक प्रतिवेदन पारित

काठमाडौं । आइएमई लिमिटेडले मंगलबार काठमाडौंमा २५औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीका संस्थापक तथा अध्यक्ष हेमराज ढकालको अध्यक्षतामा सम्पन्न सभाले अध्यक्ष ढकालद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ । सभामा अध्यक्ष ढकालले रेमिट्यान्स सेवा क्षेत्रमा अग्रणी कम्पनीको रूपमा आइएमई लिमिटेड सर्वाधिक लोकप्रिय ब्रान्डका रूपमा स्थापित भएकोमा सम्बद्ध सबैमा धन्यवाद व्यक्त गरे । उनले कम्पनीले २५ वर्षको यात्रामा व्यावसायिक दायरा विस्तार गर्दै नयाँ प्रविधि र रणनीतिका साथ आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । ढकालका अनुसार आइएमईले प्रविधिको अधिकतम उपयोग गर्दै रेमिट्यान्स सेवाको विस्तार र विविधीकरणमार्फत कम्पनीलाई ‘पूर्ण वित्तीय समाधान प्रदायक संस्था’को रूपमा विकास गर्ने नीति लिएको छ । त्यस्तै, आइएमईका संस्थापक अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आइएमई लिमिटेडले २५ वर्षमा परिपक्वता हासिल गर्दै नागरिकको जीवनस्तर सुधार र उद्यमशीलता विकासमा उल्लेखनीय योगदान दिएको बताए । उनले आइएमई आज देशकै सर्वाधिक विश्वसनीय ब्रान्डका रूपमा स्थापित हुनु गौरवको विषय भएको टिप्पणी गरे । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले वित्तीय प्रविधिको अधिकतम उपयोग गर्दै रेमिट्यान्स सेवा अझ सरल, सहज र सुरक्षित बनाउने योजना रहेको जानकारी दिए । साथै, उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा आइएमईको पहिचानलाई अझ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे ।