बागलुङमा मानव सेवा आश्रमको उद्घाटन गर्दै ढकालले भने- सबैभन्दा ठूलो धर्म मानव सेवा
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबैभन्दा ठूलो धर्म मानव सेवा हो भन्दै धर्मसँग मानवीय सेवालाई जोडेर हेर्नुपर्ने बताएका छन्। मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि शुक्रबारदेखि बागुलङमा आयोजित श्रीमद भागवत ज्ञान महायज्ञको शुक्रबार उद्घाटन गर्दै उनले भने, ‘सबैभन्दा ठूलो धर्म भनेको मानव सेवा हो, यसलाई मानव धर्म पनि भनिन्छ । त्यसैले मानवीय भावनालाई धर्मसँग जोडेर हेर्नुपर्छ ।’ अध्यक्ष ढकालले वैदिक सनातन धर्मका हिसाबले महत्त्वपूर्ण रहेको गण्डक क्षेत्रमा पछिल्लो समय धार्मिक गतिविधि बढेको र यसलाई थप तीब्रता दिई बागलुङ जिल्ला सहित यस क्षेत्रको प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘बागलुङ धार्मिक पवित्र भूमि हो, यही स्वरुपमा यसलाई चिनाउन आवश्यक छ । मुक्तिनाथ र दामोदरकुण्डको काखमा रहेको पवित्र कालीगण्डकी तटमा मानवताको मन्दिर निर्माण हुन लागेकोमा खुसी लागेको छ । मेरो जन्मस्थानमा निर्माण हुन लागेको यस आश्रमको भवनका लागि व्यक्तिगत र संस्थागत रुपमा सहभागी हुनेछु ।’ विश्वका हिन्दु धर्मावलम्बीहरूका आस्थाका धरोहर मुक्तिनाथ क्षेत्र दामोदर कुण्डदेखि गलेश्वर हुँदै बागलुङ कालिका, मोदीवेणी धाम, जैमिनी ऋषिले तपस्या गरेको जैमिनीघाट पनि हाम्रा सुप्रसिद्ध तीर्थस्थल र यिनको महत्वको प्रचार गर्न आफूहरू पर्यटन पूर्वाधारमा लाग्ने बताउँदै उनले यसका लागि सबै जिल्लाबासी लाग्नुपर्नेमा जोड दिए । अध्यक्ष ढकालले मानव जातीको सेवाका लागि मानव सेवा आश्रमले सातै प्रदेशमा चलाएको सडक मानव मुक्त अभियानको प्रशंसा गर्दै पवित्र कालीगण्डकी तटमा मानवताको मन्दिर निर्माण थालिएकोमा धन्यवाद पनि दिए । उनले मानव सेवा आश्रममा लाग्नुभएका मानव जीवनका प्रेरणाका स्रोत तथा मानव सेवाका अभियन्तालाई यसैगरी मानवीय भावनामा लाग्ने प्रेरणा जागोस भन्ने चाहेको पनि बताए ।
प्रोटोन इमासको शोरुम अब नारायणघाटमा पनि
चितवन । प्रोटोन इमासले शुक्रबार नारायणघाटमा नयाँ ३ एस शोरुम (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) औपचारिक रूपमा उद्घाटन गरेको छ । जगदम्बा मोटर्स प्रालिअन्तर्गत सञ्चालन हुने नेपालकै प्रिमियम इलेक्ट्रिक सवारीसाधन ब्रान्डले यसमार्फत आधुनिक र दिगो यातायात समाधान प्रवर्द्धन गर्ने प्रतिबद्धतालाई अझ सुदृढ बनाएको छ । उद्घाटन समारोहका प्रमुख अतिथि चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमन कुमार श्रेष्ठ, विशेष अतिथि सीएनआई चितवनका अध्यक्ष मदन घिमिरे तथा उद्योगपति र समाजसेवी बल गोपाल चुके उपस्थित थिए । समारोहमा प्रोटोन इमास ७ को प्रदर्शन र ग्राहकसँग अन्तरक्रियात्मक सत्रसमेत आयोजना गरिएको थियो । नयाँ शोरूमले ग्राहकहरूलाई विक्री, सेवा र स्पेयर पार्ट्स एकै स्थानमा उपलब्ध गराउँदै पूर्ण इलेक्ट्रिक वाहन अनुभव प्रदान गर्ने कम्पनीको उद्देश्यलाई स्पष्ट पारेको छ । नारायणघाट शाखाको उद्घाटनसँगै प्रोटोन ईमासले नवप्रवर्तन, विश्वसनीयता र दिगो यातायातका मूलमन्त्रलाई अघि बढाउँदै नेपालभर आफ्नो सञ्जाल अझ सुदृढ बनाएको जगदम्बा मोटर्सले जनाएको छ ।
सूर्यज्योतिको मुगु र खजुरामा शाखा विस्तारसँगै सेवा सुभारम्भ
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले बाँके जिल्लाको खजुरा र हिमाली क्षेत्र मुगु जिल्लाको गमगढीमा आफ्नो शाखा विस्तार गरेको छ । थप यी दुई शाखाहरूको विधिवत समुद्घाटन कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत फर्सुराम मरासिनीले गरेका हुन् । हाल सूर्यज्योतिले देशभरिका १७५ शाखा कार्यालयहरूमार्फत आफ्ना बीमितहरूलाई सेवा प्रदान गरिरहेको छ । जीवन बीमा क्षेत्रमा नेपालकै पहिलो आईएसओ ९००१-२०१५ सर्टिफाइड एकमात्र जीवन बीमा कम्पनी सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बीमा क्षेत्रमै सर्वाधिक ३५ घातक रोगहरू विरुद्ध रु ५० लाख सम्मको उपचार खर्चको सुविधा प्रदान गर्दै आइरहेको छ ।
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड एनपीएस–नेशनल कार्ड स्वीच तथा नेपालपे कार्डमा आवद्ध
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच एनपीएस–एनसीएस तथा नेपालपे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता सम्पन्न भएको छ । गत मंगलबार सम्पन्न उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश पौडेल र नेपाल क्लियरिङ हाउस लिमिटेडका तर्फबाट सीईओ निलेशमान सिंह प्रधानले हस्ताक्षर गरे । एनसीएचएलले हालै एनपीएस–एनसीएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपालपे कार्ड इस्यूइङ्ग र अक्वायरिङ्गका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले ग्राहकहरुका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछन् । एनपीएस–एनसीएसलाई विभिन्न कार्ड स्विचहरु बीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना गरिँदैछ । उक्त प्रणालीको पूर्ण कार्यान्वयन पश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरुको विकास तथा प्रवर्द्धन हुने अपेक्षा गरिएको छ। एनसीएचएलले ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पीएसओ, पीएसपी, र १०० भन्दा बढी गैर–बैंकिङ्ग सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ । एनपीएस–एनसीएस र नेपालपे कार्डकोे कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाइँमा पुर्याउने अपेक्षा गरिएको छ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले देशभरि रहेका ८८ शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा १८ एटीएम टर्मिनलमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
हराएको १ शताब्दी पुरानो ब्रह्मा मन्दिर काठमाडौंमा पुनःस्थापना
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले आज ब्रह्माको मन्दिर समुद्घाटन गरेका छन् । उपप्रमुख सुनिता डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नम्बर ८ का अध्यक्ष आशामान संगतसहित प्रमुख शाहले महानगरपालिकाको वडा नम्बर ८ जयवागेश्वरी, गायत्री मार्गमा रहेको मन्दिरको शिलालेख अनावरण गर्दै समुद्घाटन गरेका हुन् । मन्दिर समुद्घाटनपछि बोल्दै उपप्रमुख डंगोलले प्राचीन स्मारकको जीवनका रूपमा रहेका आकृति, मूर्ति तथा कलाकृति पुनरुत्थानबाट सांस्कृतिक सहरको पहिचान पुनःस्थापता गर्न लागिरहेको बताइन् । यो मन्दिर हराएकै १ सय वर्षभन्दा धेरै भएको थियो । वडाध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक संगतका अनुसार १९९० साल अघि नै मन्दिर भग्नावशेष भएको थियो । यसपछि झाडी मात्र थियो । पुरातत्व विभागको सहयोगमा मन्दिर भएको ठाउँमा उत्खनन गरेपछि यसको प्राचीनताको अध्ययन गरिएको थियो। संगत भन्छन्, ‘अध्ययनबाट मन्दिर छैटौँ शताव्दी देखि सातौँ शताव्दीको विचमा निर्माण भएको अनुमान गरिएको छ । मन्दिरको बनावट र प्रकृति सम्बन्धी दस्तावेज नपाइए पछि जगको आकृति, प्रयोग भएको निर्माण सामग्रीका आधारमा पुरातत्वविदहरूबाट मन्दिरको रेखाङ्कन गराएर पुनर्निर्माण गरिएको हो ।’ मन्दिरको मूर्ति गौशाला प्रहरी वृत्तमा राखिएको थियो । चतुर्मुख व्रह्माको यो मूर्तिलाई पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतअनुसार कार्तिक १७ गतेको साइतमा प्रहरी परिसरबाट रथारोहण गरी मन्दिरमा लगेर पुनःस्थापना गराइएको हो । करिब २०३६ सालतिर यो मूर्ति चोरिएको थियो । चोरेर लैजाने क्रममा टाढा पुर्याउन नसकेपछि चोरले छोडेर भोगेका थिए । त्यसपछि प्रहरीले मूर्तिलाई संरक्षणमा राखेको थियो । पशुपति क्षेत्र विकास कोषका पुरातत्व अधिकृत सुशीलकुमार गौतमले यस मूर्तिको विशेषताका बारेमा जानकारी दिए । उनले भने, ‘मूर्तिमा ४ वटा टाउका छन् । छातीतर्फको टाउकोले पश्चिम हेरेको छ । एउटा हातमा कमण्डलु र अर्को हातमा रुद्राक्षको माला बोकेको छ । २ वटा टाउका काँध माथि छन् भने एउटा टाउको पछाडिपट्टि छ । यसकारण यो मूर्ति ब्रह्माको हो।’ पछिल्लो समयमा यो मूर्ति कसको हो भन्ने विषयमा सामाजिक सञ्जालमा चलेको चर्चाका विषयमा कुरा गर्दै गौत्तम भन्छन्, ‘मूर्ति ललितासनमा छ । यो व्रह्माको आसन हो । नेपालमा ब्रह्माका २ वटा मूर्ति छन् । एउटा यही हो । अर्को चापागाउँमा छ । यहाँका विषयमा अभिलेख प्राप्त हुन सकेको छैन । चापागाउँमा रहेको मूर्तिसँग कुवेर गुप्त र आनिक गूप्तले निर्माण गराएको उल्लेख छ ।’ मन्दिरका आर्किटेक्ट डिजाइनर विनिता मगैयाका अनुसार जगबाट ३०० × २०० मिलिमिटरका ७२ वटा इटाको उचाइमा मूर्तिको आसन छ । एउटा इटाजत्ति मूर्तिको जग छ । १० वटा इटाको उचाइ बराबरको मूर्ति छ । झाडी र फोहर थुपारिएको ठाउँमा मन्दिरको प्रारुप खोज्ने बेलामा लम्बाइ चौडाई साढे ८ भएको संरचना भेटिएको थियो । मगैयाका अनुसार अहिले मन्दिरको पेटी २६ × २६ को र मन्दिर १६ × १६ को क्षेत्रफलमा बनाइएको छ । आर्किटेक्ट गौरव श्रेष्ठका अनुसार सार्वजनिक खरिद प्रक्रियाबाट छानिएको निर्माण पक्षबाट १ करोड १२ लाख ४५ हजार रुपियाँ लागतमा मन्दिर पुननिर्माण भएको हो । सडकबाट ५ फिट उचाइमा पेटी उठाएर मन्दिर निर्माण गरिएको छ । माटो, इटा र काठको प्रयोगबाट पुनःनिर्माण भएको मन्दिर २३।५ फिट उचाइको दुई तले प्यागोडा शैलीको छ । मन्दिरमा शिरमा ३ फिटको गजुर राखिएको छ । संस्कृतिविद मुकुन्दराज वैद्यका अनुसार व्रह्मा मन्दिरको पुनरुत्थानले ग्वलःदे क्षेत्रको प्राचीनतालाई पुनस्थापना गराउन मद्दत गरेको । ग्वल देः को विशेषता भनेको तान्त्रिक विधि र प्राचीनतामा ९ अङ्कको प्रयोग हो । ग्वलः क्षेत्रमा ९ वटा पोखरी, ९ वटा ढुङ्गेधारा, ९ वटा इनार, ९ वटा ढोका, ९ वटा शक्तिपीठ, ९ वटा पाटीपौवा, ९ वटा डवली, ९ वटा टोल र ९ थरी जात छन् । मन्दिरको उत्खनन गर्दा जगमा ९ वटा कुण्ड भेटिएका थिए । यो कुण्ड ‘ग्वलः देँ’ (ग्वलः देश) निर्माणको प्राचीनता, धार्मिक आस्था र तान्त्रिक विधिसँग सम्बन्धित विशेषतासँग जोडिएको छ । २०८१ सालमा शिलान्यास र जगपूजा गरिएको थियो ।
एनआईसी एशिया लघुवित्तको सञ्चालकमा दिवाकर भट्टराई नियुक्त
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा दिवाकर भट्टराई नियुक्त भएका छन् । भट्टराईलाई संस्थापक समूहको प्रतिनिधि सञ्चालकका रूपमा नियुक्त गरिएको हो । यो निर्णय एनआईसी एशिया बैंकको सञ्चालक समितिको सिफारिसअनुसार भएको हो। नवनियुक्त सञ्चालक भट्टराईले संस्थाका अध्यक्ष प्रकाशराज शर्मासमक्ष शपथ ग्रहण गरी आफ्नो पद बहाल गरेका छन् । कार्त्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले भट्टराईलाई आगामी वार्षिक साधारण सभासम्मको लागि उक्त पदमा नियुक्त गरेको जनाएको छ । यसअघि यो पदमा सुमन थपलिया संस्थापक समूहको तर्फबाट प्रतिनिधित्व गर्दै आएका थिए। बैंकिङ क्षेत्रमा १६ वर्षको अनुभव रहेका भट्टराई हाल एनआईसी एशिया बैंकमा कृषि तथा संस्थागत कर्जा प्रमुख पदमा कार्यरत छन् । सञ्चालकमा उनको नियुक्तिले संस्थाको नेतृत्व र वित्तीय दृष्टिकोणमा नयाँ ऊर्जाको थप अपेक्षा गरिएको छ ।
पदमार्ग मापदण्डसम्बन्धि दिग्दर्शन जारी, के–के छ व्यवस्था ?
काठमाडौं । सरकारले पदमार्ग मापदण्डसम्बन्धि दिग्दर्शन–२०८२ जारी गरेको छ । पदमार्ग निर्माण तथा व्यवस्थापनमा अन्तर सरकार समन्वय र सहकार्य अभिवृद्धि गर्दै पदमार्ग निर्माण तथा विकासमा एकरूपता कायम गर्ने हिसाबले दिग्दर्शन जारी गरिएको हो । खासगरी पदयात्रीको सुरक्षा र सेवामा गुणस्तर कायम गर्न, दिगो, सुरक्षित, पहुँचयोग्य र पर्यावरणमैत्री पदमार्ग निर्माण गरी पदयात्रामा आकर्षण अभिवृद्धि गर्न, तीनै तहबाट निर्माण गरिने पदमार्गको व्यवस्थापनलाई सहजीकरण गर्न सुशासन (व्यवस्थापन तथा संचालन) ऐन, २०६४ को दफा ४५ बमोजिम दिग्दर्शन बनाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बताएको छ । दिग्दर्शनमा पदमार्गको वर्गीकरण रेखांकन, मापदण्डदेखि पालना गर्नुपर्ने नियमहरूसम्म उल्लेख गरिएको छ । पदमार्गको वर्गीकरणमा हाइकिङ पहिलो नम्बरमा राखिएको छ । एक दिन भित्र यात्रा गरिने न्यूनतम पाँच किमि दुरीको मार्गलाई हाइकिङका रुपमा परिभाषित गरिएको छ भने दोस्रो नम्बरमा सहज पदमार्ग राखिएको छ । एक दिन भन्दा बढी समय यात्रा गरिने अधिकतम तीन हजार मिटर उचाइसम्मको मार्गलाई सहज पदमार्ग राखिएको छ । त्यस्तै, तेस्रो नम्बरमा साहसिक पदमार्ग राखिएको छ । एक दिनभन्दा बढी समय यात्रा गरिने तीन हजार मिटर भन्दा माथिको उचाईको मार्गलाई सहासिक पदमार्गका रुपमा परिभाषित गर्न खोजिएको छ । पदमार्गको रेखाङ्कनसम्बन्धि मापदण्ड पनि दिग्दर्शनमा स्पष्ट पारिएको छ । पदमार्गले प्राकृतिक, जैविक, सांस्कृतिक एवम् ऐतिहासिक महत्वका स्थानलाई जोड्नुपर्ने, पदमार्ग मोटरबाटोसँग नजोडिने गरी रेखाङ्कन गर्नुपर्ने, स्थानीय सम्पदाहरुको संरक्षण हुने गरी रेखाङ्कन हुनुपर्ने उल्लेख गरिएको छ । मन्त्रीस्तरीय निर्णयबाट जारी गरिएको पदमार्ग मापदण्डसम्बन्धि दिग्दर्शनमा पदमार्गको मापदण्ड तोकिएको छ । जसमा पदमार्गको न्युनतम लम्बाई पाँच कि.मी हुनुपर्ने, पदमार्गको न्युनतम चौडाई, हाइकिङ पदमार्गको हकमा २ मिटर, सहज पदमार्गको हकमा २ मीटर र साहसिक पदमार्गको हकमा १.५ मीटर उल्लेख गरिएको छ। पदमार्गमा सिँढी निर्माण गर्नुपर्ने भएमा सिँढीको उचाइ पनि तोकिएको छ । हाइकिङ पदमार्ग १८ देखि २० सेन्टिमिटर, सहज पदमार्ग १६ देखि १८ सेन्टिमिटर, साहसिक पदमार्ग १४ देखि १६ सेन्टिमिटर उचाइ तोकिएको छ । पदमार्गमा सिँढी निर्माण गर्दा अपाङ्गमैत्री संरचनासमेत बनाउनुपर्ने उल्लेख छ । पदमार्गको निर्माण कसले गर्ने भन्ने पनि उल्लेख गरिएको छ । हाइकिङ पदमार्ग निर्माण स्थानीय तहले गर्नुपर्ने,सहज पदमार्ग निर्माण प्रदेश सरकारले गर्नुपर्ने, साहसिक पदमार्ग निर्माण नेपाल सरकारले गर्नुपर्ने, पदमार्ग निर्माण गर्दा स्थानीय निर्माण सामग्री, जैविक प्रविधि, परम्परागत सीप र श्रमको प्रयोग गर्नुपर्नेछ तर, भाैगोलिक दृष्टिले जटिल रहे प्रविधिको प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । पदमार्ग निर्माण गर्दा पदयात्रीको लागि आवश्यक पर्ने विश्राम स्थल, शौचालय, फोहोर संकलन तथा व्यवस्थापन पूर्वाधार जस्ता आधारभुत सेवाको सुनिश्चितता हुने व्यवस्था गर्नुपर्ने, राष्ट्रिय निकुञ्ज र आरक्षभित्र पदमार्गको निर्माण गर्दा वन तथा वातावरण मन्त्रालयको पूर्व सहमति लिएर र संरक्षण क्षेत्र तथा मध्यवर्ती क्षेत्रको हकमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट पूर्वसहमति लिई पदमार्ग निर्माण गर्नुपर्ने उल्लेख छ । पदमार्ग मापदण्डसम्बन्धि दिग्दर्शनमा पदमार्गमा उपलब्ध हुनुपर्ने सेवा समेत तोकिएको छ । तीनै तहका सरकारले पदयात्रीलाई लक्षित गरी पदमार्गमा खानेपानी, शौचालय, आधारभूत सूचना तथा सञ्चार/पर्यटन सूचना केन्द्र,विश्राम स्थल, आधारभूत स्वास्थ्य उपचार, सुरक्षा तथा आपतकालीन उद्दार, स–साना पुलपुलेसा, दृष्यावलोकन स्थल (भ्यू प्वाइन्ट) को व्यवस्था गर्नुपर्ने उल्लेख छ । आवास तथा खानपिनको व्यवस्थाका बारेमा समेत पदमार्ग मापदण्डसम्बन्धि दिग्दर्शनले तीनै तहका सरकारले पदमार्गमा स्थानीय समुदाय तथा निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपने उल्लेख गरेको छ ।
विकास बैंकको नाफा साढे ७८ करोड, कुनको कति ?
काठमाडौं । राष्ट्रिय स्तरका ८ विकास बैंकहरूले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार पहिलो त्रैमासमा नाफा प्रभावित देखिएको छ । चालु आवको पहिलो त्रैमासमा राष्ट्रियस्तरका ८ विकास बैंकहरूले ७८ करोड ३४ लाख ५४ हजार रुपैयाँ बराबरको नाफा आर्जन गरेका छन् । जुन गत आवको सोही अवधिको तुलनामा ४५.२० प्रतिशतले कमी हो । गत आवको पहिलो त्रैमासमा विकास बैंकहरुले १ अर्ब ४२ करोड ९५ लाख रुपैयाँको नाफा आर्जन गरेको थियो । यस अवधिमा सबैभन्दा धेरै नाफा गरिमा विकास बैंकले गरेको छ । गरिमाले असोजसम्ममा २५ करोड ५ लाख ७५ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको यही अवधिमा कम्पनीले २२ करोड ५७ लाख ४३ हजार रुपैयाँको नाफा कमाएको थियो । गत आवको तुलनामा चालु आवको पहिलो त्रैमासमा गरिमाको नाफा ११ प्रतिशतले बढेको छ । दोस्रो धेरै नाफा कमाउने विकास बैंक मुक्तिनाथको गत आवको तुलनामा नाफा घटेको छ । मुक्तिनाथले गत आवको पहिलो त्रैमासमा २८ करोड १८ लाख १९ हजार रुपैयाँ नाफा कमाएकोमा चालु आवको पहिलो त्रैमासमा २०.२४ प्रतिशतले घटेर २२ करोड ४७ लाख ७४ हजार रुपैयाँ रहेको छ । पहिलो त्रैमाससम्ममा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा १५.१७ प्रतिशतले घटेर २० करोड ३० लाख रुपैयाँ पुगेको छ । गत आवको यही अवधिमा बैंकले २३ करोड ९३ लाख रुपैयाँ आर्जन गरेको थियो । त्यस्तै, असोजसम्ममा कामना सेवा विकास बैंकले १९ करोड ७५ लाख ८४ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको तुलनामा १२.९२ प्रतिशतले बढी हो । गत आवको यही अवधिमा बैंकले १७ करोड ४९ लाख ७९ हजार रुपैयाँ नाफा कमाएको थियो । महालक्ष्मी विकास बैंकको नाफा ३.४२ प्रतिशतले बढेर ९ करोड ७५ लाख १२ हजार रुपैयाँ पुगेको छ । गत आवको यही अवधिमा बैंकले ९ अर्ब ४२ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको थियो । गत आवको पहिलो त्रैमासमा ६ करोड १ लाख रुपैयाँ नाफा कमाएको सांग्रिला विकास बैंकले चालु आवको यही अवधिमा ४६.५८ प्रतिशतले बढाएर ८ करोड ८२ लाख ११ हजार रुपैयाँ नाफा पुर्याएको छ । ज्योति विकास बैंकको नाफा ५३.४८ प्रतिशतले घटेर ७ करोड ३ लाख ३४ हजार रहेको छ । गत आवको यही अवधिमा बैंकले १५ करोड १९ लाख ९० हजार रुपैयाँ नाफा कमाएको थियो । पहिलो त्रैमासमा लुम्बिनी विकास बैंकको नाफा ३४ करोड ८५ लाख ७७ हजार रुपैयाँ रहेको छ । गत आवको यही अवधिमा बैंकले २० करोड १९ लाख ८५ हजार रुपैयाँ नाफा कमाएको थियो ।