मेलम्चीको पानी पूर्ण रूपमा रोकियो
काठमाडौं । आफ्ना माग पुरा नभएको भन्दै भेण्डर, मेलम्ची बाढी पीडितलगायतका समितिहरूको समूहले मेलम्ची खानेपानी काठमाडौं पथान्तरण बन्द गरेका छन् । मेलम्ची खानेपानी आयोजना अन्तर्गतको मुहान क्षेत्रमा बिहीबार स्थानीयवासीले काठमाडौं पथान्तरण गरिने पानी बन्द गरेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले जानकारी दिए । उनले भने, ‘गतवर्ष तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवसँग भएको सम्झौता कार्यान्वयनको माग गर्दै स्थानीयले आज मुहान बन्द गर्नु भएको छ । मुहान बन्द गरिएपछि बिहीबार दिउँसोदेखि काठमाडौंमा आउने मेलम्चीको पानी पूर्ण रूपमा रोकिएको छ ।’ विसं २०७८ सालको बाढीपहिरो पीडितलगायतका अन्य पीडितहरुका माग पूरा नभएको भन्दै स्थानीयवासीले पानी बन्द गरेका हुन् । वर्षा सुरु भएपछि गएको असारमा बन्द गरिएको मेलम्चीको पानी आपूर्ति गत असोज २६ गतेदेखि सुरु गरिएको थियो । मेलम्चीको पानी काठमाडौंमा आपूर्तिका लागि आन्दोलनरत पक्षसँग कुरा गरी निकास निकालिने कार्यकारी निर्देशक दासले बताए । सिन्धुपाल्चोक र काभ्रेका चार वटा सरोकार समितिले एक हप्ता अघि काठमाडौँको पानीपोखरीस्थित मेलम्ची खानेपानी कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।
२ अर्ब ७१ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने राष्ट्र बैंकको तयारी
काठमाडौं । नेपाल राष्ट्र बैंकले २ अर्ब ७१ करोड लगानी गर्ने भएको छ । विभिन्न बैंकहरूमा राष्ट्र बैंकले मुद्दति निक्षेपमार्फत लगानी गर्ने तयारी गरेको हो । राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको २ अर्ब ७१ करोड ८५ लाख रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने जनाएको हो । केन्द्रीय बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा उक्त परिमाण बराबर रकम मुद्दति निक्षेपमा लगानी गरिने छ । वाणिज्य बैंकमा २ अर्ब १७ करोड ४९ लाख रुपैयाँ, विकास बैंकमा ४० करोड ७७ लाख रुपैँया र वित्त कम्पनीमा १३ करोड ५९ लाख रुपैँया मुद्दती निक्षेपमा लगानी गरिने छ । २३ नोभेम्बर २०२५ देखि २३ नोभेम्बर २०२६ सम्म ३ सय ६६ दिनको मुद्दति निक्षेपमा उक्त रकम लगानी गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, राष्ट्र बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष कायम गरेको हुनुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति केन्द्रीय बैंकले तोकेको न्यूनतम सीमा कायम गरेको हुनुपर्ने, कर्जा÷निक्षेप अनुपात समय–सयममा निर्धारण गरिएको सीमाभित्र रहेको हुनुपर्ने र निकटतम अघिल्लो आर्थिक वर्षमा खुद मुनाफामा रहेको हुनुपने सर्त राष्ट्र बैंकको छ । त्यसैगरी, निक्षेप लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई राष्ट्र बैंकले जरिबाना गरेको अवस्थामा त्यस्तो जरिबाना गरिएका सञ्चालक वा सीईओ उक्त संस्थामा कायम नरहेको हुनुपर्ने र यदि कायम रहेको भए जरिवाना भुक्तान गरेको मितिले ६ महिना अवधि पूरा भएको हुनुपर्ने, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने पनि सर्त छ । त्यस्तै, राष्ट्र बैंकको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको हुनुपर्ने भएको भए फुकेवा भएको ६ महिना अवधि पूरा भएको हुनुपर्ने तथा सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने सर्त केन्द्रीय बैंकको छ । उक्त मुद्दति राख्न चाहने बैंक वित्त संस्थाले कात्तिक २३ गते भित्रै राष्ट्र बैंकमा ब्याजदर प्रश्ताव पठाउन भनिएको छ ।
सुनको मूल्य फेरि उकालिन थाल्यो
काठमाडौं । सुनको मूल्य उकालो लाग्न थालेको छ । अघिल्लो दिन बिहीवार ६०० रुपैयाँले बढेको सुन आज पनि सोही मूल्यले वृद्धि भएको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ६ सय रुपैयाँले बढेर एक तोलाको २ लाख ३८ हजार ४ सय कायम भएको छ । बिहीबार प्रतितोला सुनको मूल्य २ लाख ३७ हजार ८ सय पुगेको थियो । सुनको मूल्यसँगै चाँदीको पनि मूल्य बढेको छ । महासंघका अनुसार १० रुपैयाँले बढेर एक तोलाको ३ हजार २० रुपैयाँ पुगेको हो । दशैं–तिहार अघिसम्म सुनको भाउ निरन्तर बढे पनि बीचमा सुनको भाउ घट्न थालेको थियो तर फेरि दुई साता अघिबाट भाउ बढ्न थालेको छ ।
९ पालिकाको प्रमुख प्रशासकीय अधिकृत सरुवा
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ९ जना नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सरुवा गरिएको छ । मन्त्रालयले बिहीबार नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरिएको हो । मन्त्रालयका अनुसार दैलेखको दुल्लु नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पदम बहादुर बुढा, बर्दियाको ठाकुरबाबा नगरपालिकामा मंगलबहादुर शाही, लमजुङको राइनस नगरपालिकामा राजेन्द्रप्रसाद पन्थीलाई सरुवा जिम्मेवारी दिइएको छ । त्यस्तै, रौतहटको देवाहीगोनाही नगरपालिकामा महमद शेरे मुस्ताफा, रौतहटकै राजदेवी नगरपालिकामा विकाउकुमार यादव, निजगढ नगरपालिकामा सूर्यप्रसाद गौतम, धनुषाको हंशपुर नगरपालिकामा ओमप्रकाश महतो, गलकोट नगरपालिकामा डम्बरबहादुर जिसी र दमक नगरपालिकामा सुनिल निरौलालाई सरुवा गरिएको छ ।
माउन्टेन इनर्जीको लाभांश घोषणा
काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको कात्र्तिक २० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले आव २०८१/८२ को मुनाफाबाट सेयरधनीहरूलाई कम्पनीको हालको चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । मङ्सिर २९ गते बस्ने साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ । कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। मङ्सिर १६ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
इतिहासकै ठूलो तलब योजना पारित, मस्कले टेस्लाबाट ‘१ ट्रिलियन डलर’ तलब प्याकेज पाउने
काठमाडौं । टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले बिहीबार कम्पनीको इतिहासकै सबैभन्दा ठूलो तलब प्याकेजको स्वीकृति प्राप्त गरेका छन् । सेयरधनीहरूले टेस्लालाई बिजुली सवारीसाधन (ईभी) निर्माता मात्र नभई कृत्रिम बौद्धिकता (एआई) र रोबोटिक्सको विशाल कम्पनीमा रूपान्तरण गर्ने योजनालाई समर्थन जनाएका हुन् । यो प्रस्ताव ७५ प्रतिशतभन्दा बढी समर्थनसहित पारित भयो । त्यसपछि मस्क टेक्सासको अष्टिनस्थित टेस्लाको कारखानामा आयोजित वार्षिक साधारण सभामा नाच्ने रोबोटहरूको साथ स्टेजमा पुगे । पहिल्यै नै विश्वका सबैभन्दा धनी व्यक्ति बनेका मस्कले आगामी दशकमा अधिकतम एक ट्रिलियन डलरसम्मको सेयर प्राप्त गर्न सक्छन्, यद्यपि आवश्यक भुक्तानीहरू पछि गर्दा यसको वास्तविक मूल्य झरेर करिब ८७८ अर्ब डलरसम्म पुग्नेछ । यो मतदान टेस्लाको भविष्यका लागि अत्यन्तै महत्त्वपूर्ण मानिएको छ, किनभने कम्पनीको मूल्याङ्कन मस्कको दृष्टिकोणमा आधारित छ— स्वचालित सवारीसाधन विकास, अमेरिकाभर रोबोट्याक्सी नेटवर्क विस्तार र मानव–जस्तै रोबोट बिक्री गर्ने योजनामा । यद्यपि उनको दक्षिणपन्थी राजनीतिक वक्तृत्वले यस वर्ष टेस्लाको ब्रान्ड छविमा असर पारेको छ । कम्पनीको सञ्चालक समितिले चेतावनी दिएको थियो कि यदि मस्कले यो तलब प्याकेज नपाए भने उनी टेस्ला छोड्न सक्छन् । केही लगानीकर्ताले यो अत्यधिक महँगो र अनावश्यक भनेका थिए, तर धेरैले यसलाई मस्कलाई टेस्लामा राख्ने उपायका रूपमा देखे र प्याकेजमा तोकिएका लक्ष्य पूरा भएमा सेयरधनीहरूलाई पनि प्रतिफल मिल्ने विश्वास गरे । मस्कले उत्साहित सेयरधनीहरूलाई भने, ‘हामी अहिले टेस्लाको भविष्यको नयाँ अध्यायमा मात्र होइन, नयाँ पुस्तककै सुरुवात गर्न लागेका छौं ।’ उनी स्टेजमा पुगेपछि उनले धेरै वाचा गरे—एप्रिलदेखि दुई सिट भएको स्टियरिङविहीन ‘साइबरक्याब’ नामक रोबोट्याक्सी उत्पादन सुरु गर्ने, नयाँ पुस्ताको रोडस्टर इलेक्ट्रिक स्पोट्र्स कार सार्वजनिक गर्ने, र एआई चिप निर्माणका लागि ‘विशाल चिप फ्याक्ट्री’ आवश्यक पर्ने भन्दै इन्टेलसँग सहकार्य गर्ने सम्भावना पनि व्यक्त गरे । सेयरधनीहरूले टेस्लाको सञ्चालक समितिमा रहेका तीन जना सदस्यलाई पुनःनिर्वाचन पनि गरे, सबै सदस्यका लागि वार्षिक निर्वाचनको समर्थन गरे र अदालतमा अड्किएको मस्कको अघिल्लो तलब प्याकेजको सट्टा नयाँ योजना स्वीकृत गरे । सेयरधनीहरूले मस्कको एआई कम्पनी एक्सएआईमा टेस्लाको लगानीको समर्थन पनि गरे, यद्यपि धेरैले मतदान नगरी तटस्थ रहन रोजे । यसले ठूला लगानीकर्ताहरूको संकोच झल्काउँछ कि सञ्चालक समितिले अझ बलियो अनुगमन बिना यस्तो सम्बन्ध अनुमोदन गर्नु उचित नठानेको हो । रणनीतिक सल्लाहकार कम्पनी लङ्गेकर स्क्वायरकी पार्टनर जेसिका म्याकडुगलका अनुसार धेरै लगानीकर्ताहरू ‘सञ्चालक समितिबाट स्पष्ट आश्वासन चाहन्छन् कि दुबै व्यवसायबीच अत्यधिक मिश्रण नहोस् भन्ने ग्यारेन्टी सुनिश्चित गरिएको छ ।’ मस्कले करिब १५ प्रतिशत सेयर आफैको स्वामित्वमा राखेकाले मतदानमा भाग लिन पाएका थिए, जसका कारण उनको जित अपेक्षित थियो । यद्यपि मस्कको प्रभाव हटाएर हेर्दा समर्थनको बहुमत सामान्य कम्पनीमा सीईओको तलब पुनरावलोकन गर्न पर्याप्त सानो थियो । केही ठूला लगानीकर्ताहरू— जस्तै नर्वेको सार्वभौम कोष र प्रोक्सी सल्लाहकार कम्पनीहरू ग्लास लुइस र इन्स्टिट्युसनल सेयरहोल्डर सर्भिसेजले यो योजना विरोध गरेका थिए । यो मतदानले लगानीकर्ताहरूको त्यो चिन्ता हटाएको छ कि मस्कले आफ्नो ध्यान स्पेसएक्स र एक्सएआई जस्ता अन्य कम्पनीतर्फ मोड्नेछन् । सञ्चालक समिति र मस्कका समर्थक लगानीकर्ताहरूले भने यो रेकर्ड तोड्ने तलब प्याकेजले दीर्घकालमा सेयरधनीहरूलाई लाभ र्पुयाउने बताएका छन् किनभने मस्कले तलब पाउनका लागि टेस्लाले धेरै लक्ष्य हासिल गर्नैपर्छ । ‘यदि यी सेयरका ट्रान्चहरू पूरा भए भने टेस्लाको आम्दानी वृद्धिमा बलियो सुधार आउनेछ,’ जाक्स इन्भेस्टमेन्ट म्यानेजमेन्टका वरिष्ठ पोर्टफोलियो प्रबन्धक ब्रायन मुलबरीले भने । ‘यो वृद्धिले सेयर पतनका चिन्ताहरू कम गर्नेछ त वा यो केवल एलनलाई एआईको भविष्य नियन्त्रण गर्न पर्याप्त प्रभाव दिने इच्छा पूरा गर्ने माध्यम हो ? त्यो त पछि मात्र थाहा हुनेछ,’ उनले थपे । आगामी दशकमा मस्कका लागि तोकिएका लक्ष्यहरूमा टेस्लाबाट २ करोड सवारीसाधन उत्पादन, १० लाख रोबोट्याक्सी सञ्चालनमा ल्याउने, १० लाख रोबोट बिक्री गर्ने र ४०० अर्ब डलरसम्मको कोर नाफा कमाउने योजना समावेश छन् । तर यी सबैका लागि टेस्लाको बजार मूल्य पनि बढ्नुपर्नेछ— हालको १.५ ट्रिलियन डलरबाट सुरु गर्दै पहिलो चरणमा २ ट्रिलियन र अन्ततः ८.५ ट्रिलियन डलरसम्म । हरेक चरण (सञ्चालन लक्ष्य र मूल्याङ्कन माइलस्टोन) पूरा हुँदा मस्कलाई कम्पनीको १ प्रतिशत सेयर प्राप्त हुनेछ । त्यसैले सबै लक्ष्य हासिल नभए पनि उनले अरबौँ डलरको सेयर पाउन सक्छन् । यदि सबै लक्ष्य पूरा भए भने मस्कलाई कम्पनीको १२ प्रतिशत सेयर—अर्थात् करिब १ ट्रिलियन डलर बराब मिल्नेछ । तर त्यसको शुद्ध मूल्य करिब ८७८ अर्ब डलर हुनेछ, किनभने प्याकेजको गणना सेप्टेम्बरको सुरुवातमा सञ्चालक समितिले प्रस्ताव पारित गरेको दिनको सेयर मूल्यबाट गणना गरिएको हो । मस्कले चाहँदा त्यो रकम नगदमा तिर्न सक्छन् वा सो मूल्यको हिसाबले कम सेयर लिन सक्छन् । यो प्याकेजको मूल्य सधैं परिवर्तनशील रहनेछ किनभने सेयर मूल्यमा हुने उतारचढावसँगै यसको गणना बदलिरहन्छ । मस्कका अनुसार उनले यो प्याकेजमा रुचि तलबका कारण नभई टेस्लामा आफ्नो मताधिकार बढाउने उद्देश्यले देखाएका हुन् ।
कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व असुली
मुस्ताङ । कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा ३ अर्ब २ करोड ७३ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार प्रमुख रमेश खड्काका अनुसार बितेका तीन महिनामा एक हजार ४९८ वटा विद्युतीय सवारीसाधनका साथै ६७१ वटा मालबाहक कन्टेनरबाट सामान आयात भएको छ । यो नाकाबाट २८ वटा मालबाहक सवारीसाधनले स्वदेशी उत्पादन चीनको स्वशासित क्षेत्र सिजाङ पुर्याएका छन्। बाढी-पहिरोले तातोपानी र रसुवागढी नाका अवरुद्ध भएपछि कोरला नाकाबाट चीनसँगको मुलुकको आयात/निर्यात जारी छ ।
आन्दोलनको असर बैंकको नाफामा, १८.८२ प्रतिशत गिरावट आउँदा ५ बैंकको मात्रै बढ्यो
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ३ महिनामा वाणिज्य बैंकहरुको नाफामा व्यापक गिरावट आएको छ । सार्वजनिक वित्तीय विवरण अनुसार २० वटा वाणिज्य बैंकको खुद नाफामा १८.८२ प्रतिशत अर्थात् ३ अर्ब ४ करोड ७६ लाखले रुपैयाँ गिरावट आएको हो । चालु आवको असोज मसान्तसम्ममा बैंकहरुले १३ अर्ब १४ करोड ८ लाख रुपैयाँ खुद नाफा गरेका छन् । जबकि गत वर्षको असोजसम्ममा बैंकहरुले १६ अर्ब १८ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । बैंकहरुको सञ्चालन लागत, कर्जाको गुणस्तर र तरलता व्यवस्थापनका कारण बैंकहरुको नाफामा ठूलो असर परेको बैंकरहरु बताउँछन् । देशको पछिल्लो अवस्थाबाट सिर्जना भएको असामान्य परिस्थितीबाट समग्र अर्थतन्त्रमा देखिएको संरचनागत शिथिलताका कारण पनि बैंकमा असर परेको बैंकरहरुको भनाइ छ । साथै, केही नीतिगत कारणबाट आर्थिक क्रियाकलापमा देखिएको सुस्तताका कारण देशको व्यवसायिक वातावरण सकारात्मक बन्न नसकेको कारण व्यवसायीहरूको मनोबल न्यून रही कर्जाको माग तथा विस्तार उल्लेख्य रूपमा बढ्न नसकेको बैंकरहरु बताउँछन् । साथै, बाढी पहिरो, जेनजी आन्दोलन लगायत कारण पनि बैंकको ब्याज तथा कर्जाको साँवा असुलीलाई समेत नकारात्मक असर पर्न गएको छ । समीक्षा अवधिमा विभिन्न ५ बैंकको मात्रै नाफा बढेको छ भने अन्य सबै बैंकको नाफामा गिरावट आएको छ । चालु आवको असोजसम्ममा राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा सबैभन्दा धेरै बढेको छ । बैंकको नाफा २८९.७७ प्रतिशत बढेर ५८ करोड ९७ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको असोजमा बैंकले १५ करोड १३ लाख रुपैयाँ नाफा गरेको थियो । यस्तै, ग्लोबल आइएमई बैंकको २२.९१ प्रतिशत बढेर १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ, सानिमा बैंकको १३.८६ प्रतिशत बढेर ४५ करोड ४९ लाख रुपैयाँ, एनआइसी एशिया बैंकको १०.५२ प्रतिशत बढेर १२ करोड २१ लाख रुपैयाँ र एभरेष्ट बैंकको ४.५६ प्रतिशत बढेर १ अर्ब १७ करोड ९२ लाख रुपैयाँ नाफा गरेका छन् । यी बैंकको नाफा घट्यो चालु आवको ३ महिनामा विभिन्न १५ वाणिज्य बैंकको नाफा घटेको छ । जसमध्ये सिटिजन्स बैंकले २२ करोड ४ लाख रुपैयाँ नोक्सानी बेहोरेको छ । जबकि सो बैंकले गत वर्षको असोजमा १९ करोड ८२ लाख रुपैयाँ नाफा गरेको थियो । यस्तै, कृषि विकास बैंकको ९६.९९ प्रतिशत घटेर ५७ लाख ३८ हजार रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमिब)को ९६.९२ प्रतिशत घटेर ४ करोड ५० लाख ५० हजार रुपैयाँ, प्रभु बैंकको ४६.३३ प्रतिशत घटेर ५५ करोड ८४ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यस्तै, नेपाल एसबीआई बैंकको ३८.४३ प्रतिशत घटेर ५० करोड १५ लाख ६५ हजार रुपैयाँ, लक्ष्मी सनराइज बैंकको ३८ प्रतिशत घटेर ३३ करोड २३ लाख ३१ हजार रुपैयाँ, एनएमबि बैंकको २० प्रतिशत घटेर ९१ करोड ५९ लाख ८३ हजार रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १९.६२ प्रतिशत घटेर ६९ करोड २१ लाख ६९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । सार्वजनिक तथ्याङ्क अनुसार माछापुच्छे बैंकको १६.९५ प्रतिशत घटेर ४१ करोड ७९ लाख ५६ हजार रुपैयाँ, सिद्धार्थ बैंकको १५.१७ प्रतिशत घटेर ३२ करोड ४० लाख ९१ हजार रुपैयाँ, नबिल बैंकको १४.५६ प्रतिशत घटेर १ अर्ब ७५ करोड ६९ लाख ९१ हजार रुपैयाँ नाफा गरेका छन् । यस्तै, हिमालयन बैंकको ३.२४ प्रतिशत घटेर ७० करोड २८ लाख ९४ हजार रुपैयाँ, नेपाल बैंकको २.३१ प्रतिशत घटेर ५८ करोड ८२ लाख ८७ हजार रुपैयाँ, प्राइम बैंकको २.२० प्रतिशत घटेर १ अर्ब २५ करोड ८४ लाख ३० हजार रुपैयाँ, कुमारी बैंकको २ प्रतिशत बढेर १ अर्ब ५ करोड ६५ लाख ३१ हजार रुपैयाँ नाफा गरेको तथ्याङ्कले देखाएको छ ।