नर्सको सेवा सुविधा तोक्न गठित कार्यदललाई थप एक महिना समय
काठमाडौं । नर्सलाई सरकारी सेवा सरह सुविधा तोक्नका लागि गठित कार्यदललाई थप एक महिना समयावधि थप गरिएको छ । सरकार र आन्दोलनरत समूहबीच भएको सहमतिअनुसार सो कार्यदललाई थप एक महिना समय दिइएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । सहमतिअनुसार कार्यदलले नर्ससहित अन्य विषयको विस्तृत अध्ययन गरी समाधानका लागि ठोस कार्ययोजना तयार गर्न केही समय लाग्ने भएकाले मङ्सिर १५ गतेसम्म म्याद थप्ने निर्णय भएको उनले बताए । 'अहिले कार्यदलले सहमतिअनुसार नर्सको सेवा सुविधा दिनका लागि आफ्नो काम अगाडि बढाएको छ,' उनले भने, 'कार्यदलले प्रतिवेदन बुझाएपछि नर्सको सेवा सुविधा लागू हुने छ ।' नर्सको सेवा सुविधाबारे सरकारले मन्त्रालयका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले अस्पतालको वर्गीकरण गरेर नर्सको सेवा सुविधा तोकि प्रतिवेदन बुझाउने जनाएको छ । कार्यदलका संयोजक श्रेष्ठले तत्काल गर्न सक्ने कामलाई चाँडै प्रतिवेदनमा समेट्ने जानकारी दिए । 'मन्त्रीज्यूले कानुनले बन्देज गरेका कुरालाई विधेयक ल्याएर भएपनि नर्सका सेवा सुविधा टुङग्याउने भन्नुभएको छ,' उनले भने, 'हामीले पनि सहमतिअनुसारका सेवा सुविधा तत्कालीन र दीर्घकालीन रूपमा लागू गरिने कुरालाई केलाएर प्रतिवेदन तयार पारिरहेका छौँ ।' सहमतिअनुसार ठूला अस्पताल र नीजि मेडिकल कलेजले कात्तिकदेखि पाँचौँ तह सरह तलब दिने छन् । अन्य निजी तथा सामुदायिक अस्पतालले भने पाँचौँ तह सरहको ८० प्रतिशत सेवा सुविधा उपलब्ध गराउने सहमति भएको छ ।
एकीकृत समाजवादी विघटनपछि किसान श्रेष्ठ एमालेसँग छलफलमा
काठमाडौं । एकीकृत समाजवादी पार्टी विघटन भएसँगै नेपाली कम्युनिस्ट पार्टीमा नगएका नेता किसान श्रेष्ठले नेकपा (एमाले) का महासचिव शंकर पोखरेलसँग छलफल गरेका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै श्रेष्ठले सातै प्रदेशमा अभियान चलाएर नेताकार्यकर्तालाई एमालेमा फर्कने आह्वान गर्ने योजना रहेको बताएका थिए । उनले आफूले पसिना बगाएको र जीवन अर्पण गरेको पार्टी एमाले नै भएको उल्लेख गर्दै पुनः त्यही पार्टीमा फर्कनेबारे वार्ता र संवाद चलिरहेको जानकारी दिए । श्रेष्ठका अनुसार, एमालेमै आफ्नो राजनीतिक यात्रा सुरु भएकाले अब पुनः संगठन सुदृढीकरणका लागि योगदान गर्न तयार रहेको स्पष्ट पारे ।
सुधन गुरुङले मागे गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा
काठमाडौं । ‘हामी नेपाल’का संस्थापक सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा माग गरेका छन् । हत्यारा र भ्रष्टाचारीहरूलाई कारबाही नगरी जेनजी कार्यकर्ताहरूलाई कारबाही गरेको आरोप लगाउँदै उनले गृहमन्त्रीप्रति असन्तुष्टि जनाएका हुन् । गुरुङले सामाजिक सञ्जालमार्फत अलोकप्रिय गृहमन्त्रीको लागि सन्देश शीर्षकमा पोस्ट गर्दै अर्यालले अब पद त्याग गर्नुपर्ने बताएका हुन् । उनले लेखेका छन्, ‘सहिदको रगत सम्झनुहोस् नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस्, काम गर्न नसके पद छोड्ने गर्नुभएको वाचा सम्झनुहोस् ।’ ‘कामले नै देखाउँछ र बोल्छ भन्ने सोचेको थिएँ, तर अब तपाईंबाट आशा मरिसकेको छ,’ उनले थपेका छन् । त्यस्तै, गुरुङले भदौ २३ र २४ गते भएको आन्दोलन २०८४ सालको निर्वाचन २०८२ मा सार्नका लागि नभएको स्पष्ट पारेका छन्। उनले चेतावनी दिँदै भनेका छन्, ‘यदि नेपाली जनता र जेनजीको माग सम्बोधन हुँदैन भने यसपालिको चुनाव पनि हुन दिने छैनौं । गृहमन्त्री अर्यालले यस विषयमा हालसम्म कुनै प्रतिक्रिया भने दिएका छैनन्।
कृषि विकास बैंकले किसानलाई ६.४९ प्रतिशत ब्याजदरमा ऋण दिने
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले किसान तथा कृषि उद्यमीहरूलाई लक्षित गर्दै कृषि कर्जामा नयाँ ब्याजदर लागू गरेको छ । बैंकका अनुसार अब कृषकहरूले कृषि कर्जामा ६.४९ प्रतिशत ब्याजदरमा ऋण पाउनेछन् । बैंकले तोकेको आधारदर ५.४९ प्रतिशतमा अतिरिक्त १ प्रतिशत प्रिमियम जोडेर नयाँ ब्याजदर निर्धारण गरिएको हो । 'स्वर्णिम अवसर' अभियान अन्तर्गत ल्याइएको यस योजनामार्फत दुग्ध उत्पादन, फलफूल, तरकारी, खाद्यान्न बाली तथा अन्य कृषि उद्यममा संलग्न किसानहरूले सहज र न्यून ब्याजदरमा ऋण लिन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ । बैंकले यो योजना किसानलाई आत्मनिर्भर, व्यवसायमुखी र उत्पादक बनाउन सहयोगी हुने विश्वास व्यक्त गरेको छ । साथै, कृषिलाई आधुनिक र व्यावसायिक बनाउन बैंक निरन्तर प्रतिबद्ध रहेको जनाएको छ ।
गृहमन्त्री अर्याल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता, के भयो कुराकानी ?
काठमाडौं । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । बिहीवार बिहान भंगालस्थित तोडफोड र आगजनी भएको भण्डारीको निवासमा पुगेर निरीक्षणका साथै भेटवार्ता गरेका हुन् । गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा जेनजी आन्दोलनकारीले भण्डारीको निवासमा आगजनी र तोडफोड गरेका थिए । सोही निवासको गृहमन्त्री अर्यालले बिहीवार बिहान निरीक्षण गरे । साथै उनले भण्डारीसँग भेटवार्ता पनि गरेका छन् । भेटमा पछिल्लो राजनीतिक, समसामयिक विषयहरू र आगामी निर्वाचनबारे छलफल भएको छ । यसअघि गृहमन्त्री अर्यालले पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग पनि भेटवार्ता गरेका थिए ।
जेनजी प्रदर्शनको प्रभाव : स्तनपान कक्षमै इजलास सञ्चालन
काठमाडौं । जेनजी प्रदर्शनमा लागेको आगलागीपछि मोरङ जिल्ला अदालतले इजलास अभावमा स्तनपान कक्षमै इजलास सञ्चालन गरेको छ । अदालतका दुई भवनमा ११ वटा इजलास सञ्चालनमा रहेका मध्ये आगलागीपछि दुईवटा इजलासलाई स्थान अभाव भएको हो । अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार ९ वटा इजलास रहेको मुख्य भवनमा रहेका ४ नम्बर र १ नम्बर इजलासलाई स्थान अभाव भएको छ । इजलासका लागि स्थान अभाव भएपछि पुरानो स्तनपान कक्षलाई इजलासको रूपमा विकास गरिएको बुढाथोकीले जानकारी गराए । तर त्यहाँ पनि मुद्दाको सुनुवाइ हुन सक्ने अवस्था छैन । उनका अनुसार सानो ठाउँमा दुईवटा इजलास राखिएकोले सुनुवाइ गर्न नसकिएको हो । 'स्थान अभावले मुद्दाको सुनुवाइ त रोकिएको छ नै, चालु मुद्दाका १ हजार ४१ वटा मिसिल जलेका कारण मुद्दाको निरन्तरतामा पनि समस्या आएको छ,' बुढाथोकीले भने । फैसला लेखिँदै गरेका ९० वटा मिसिल नष्ट भएकाले फैसला भएर पनि पक्षहरूले न्याय पाउन नसकेको जानकारी उनले दिए । बुढाथोकीका अनुसार फौजदारी अभियोगका १० वटा मिसिल दैनिक रूपमा रिकभर भइरहेका छन् । दुनियाबादी मुद्दाका फाइलहरू मुद्दाका पक्ष र वकिलहरूसँग सहयोग मागेर मिसिल बनाउने काम भइरहेको छ । अदालतमा २००१ सालदेखिका १ लाख ४९ हजार मिसिल जेनजी आन्दोलनको दोस्रो दिन २४ भदौमा जलाइएको पाइिएको छ ।
छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार
मुस्ताङ । मुस्ताङ र डोल्पाको सिमाना छार्का भेरोलको हिउँमा फसेका दुई जना नेपाली पर्यटकको बिहीबार बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा इन्द्रबक्स गणको नेपाली सेनाको सहयोगमा एयर डाइनोष्टिक हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको हो । पर्वतका मनिष जिसी र म्याग्दीका सन्तोष कुँवर भारी हिमपातका कारण मुस्ताङ र डोल्पाको सिमानामा फसेका जानकारी पाएपछि सेनासँगको समन्वयमा सकुशल उद्धार गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए । यही कात्तिक ९ गते उपल्लो डोल्पाको भ्रमणमा निस्किएका दुवै जना पहिलो दिन मुस्ताङ वारागुङ मुक्तिक्षेत्र–५ साङ्ता गाउँमा बास बसेका थिए । त्यसपछि त्यहाँको साङ्ता गाउँ हुँदै उपल्लो डोल्पाको भ्रमणका लागि उपल्लो डोल्पाको छार्का पुगेका थिए । प्रतिकूल मौसम र भारी हिमपातका कारण उपल्लो डोल्पाको छार्कामा रोकिएका जिसी र कुँवर छ दिनसम्म छार्कामा रोकिएका उनले बताए । हिमपात रोकिएर मुस्ताङ फर्किने पर्खाइमा रहेका जिसी र कुँवर कात्तिक १६ गते हिमापात रोकिएपछि त्यहाँबाट स्थानीय निर्माण व्यवसायी विकास रोकायासँगै छार्का हुँदै मुस्ताङ प्रस्थान गरेका थिए । दुई जना पर्यटकसँगै आएका रोकाया छार्का ब्यारेलबाट छुट्टिएका थिए । रोकाया स्थानीय नागरिक भएकाले मुस्ताङको साङ्ता गाउँ पुगेपनि पर्यटकद्वय समुद्री सतहको पाँच हजार मिटर उचाइमा पर्ने छार्का ब्यारेलबाट पदमार्ग पहिचान गर्न नसक्दा चार दिनसम्म अलपत्र परेका प्रजिअ भुसालले उल्लेख गरे । उनका अनुसार रोकायाले सेटलाइट फोनमार्फत छार्का ब्यारेलमा दुई पर्यटक अलपत्र परेका स्थानीय प्रशासनलाई जानकारी गराएका थिए । मुस्ताङका प्रमुख जिल्ला अधिकारी भुसालले नेपाली सेनाको इन्द्रबक्स गणबाट दुई जना सेनाको टोली पुगेर हिमपातमा फसेका पर्यटकको हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको जानकारी दिए । पर्यटक जिसीले उपल्लो डोल्पामा भारी हिमपात भएकाले आफूहरू चार दिनसम्म मुस्ताङ र डोल्पाको सिमानामा अलपत्र परेको बताए । उनका अनुसार रोकायाले दिएको जानकारी पश्चात् स्थानीय प्रशासन र सेनाले उद्धार गरेको हो । रासस
ममदानीले सुरुदेखि गलत बाटो रोजेको ट्रम्पको दावी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नवनिर्वाचित न्यूयोर्क सिटीका मेयर जोहरान ममदानीको विजयोत्तर भाषणलाई ‘धेरै रिसाएको’ बताएका छन् । ट्रम्पको भनाइअनुसार ममदानी सुरुदेखि नै गलत दिशातर्फ अघि बढिरहेका छन् र यदि उनले वाशिंगटनप्रति सम्मान देखाएनन् भने सफल हुने सम्भावना न्यून छ । फक्सन्युजसँग कुरा गर्दै ट्रम्पले भने, ‘मलाई लाग्छ उनको भाषण निकै आक्रोशपूर्ण थियो, विशेषगरी मेरो विरुद्ध।’ ‘उनीहरूले मेरो साथ राम्रो व्यवहार गर्नुपर्छ किनभने धेरै कुरा स्वीकृत गर्ने अधिकार मेरो हातमा छ । उनी एक खराब सुरुवाततर्फ जाँदैछन्,’ उनले थपे । न्यूयोर्कको मेयर चुनाव जितेपछि जोहरान ममदानीले ट्रम्पतर्फ इङ्गित गर्दै भनेका थिए, ‘जसले उनलाई सफल बनाउन सक्छ, त्यहीले उनलाई हराउन पनि सक्छ ।’ जोहरान ममदानी पहिलो पटक मुस्लिम मूलको उम्मेदवारका रूपमा न्यूयोर्क सिटीको मेयरमा निर्वाचित भएका हुन् । जुन अमेरिकी राजनीतिक परिदृश्यमा एक नवीन घटना हो किनभने इतिहासमा सधैं प्रबुद्ध श्वेतहरूले प्रमुख सहरी पदमा विजय पाउँथे। ममदानीले आफ्नो अभियानमा सामाजिक समानता, सार्वजनिक सुरक्षा सुधार, र स्थानीय समुदायसँग संवाद बढाउने विषयलाई प्राथमिकता दिएका छन् । ट्रम्पले बारम्बार ममदानीको सम्भावित मेयर पदलाई चुनौतीपूर्ण ठहराएका थिए र कोषीय समर्थनमा कठिनाइ आउन सक्ने चेतावनी दिएका थिए । ममदानीको जीतले न्यूयोर्कको बहुसांस्कृतिक राजनीति र अमेरिकी राजनीतिक परिदृश्यमा नयाँ बहसको सुरुवात गरेको छ ।