विकासन्युज

नेप्सेमा दरमखोला हाइड्रो इनर्जीको आईपीओ सूचीकृत

काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडका साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएका छन् । नेप्से र दरमखोला हाइड्रोबीच बुधबार १ करोड ३ लाख ५ हजार कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।  १०० रुपैयाँ अंकित मूल्यका यी सेयरमध्ये ३९ लाख ५० हजार कित्ता (३८.३३ प्रतिशत) सर्वसाधारण लगानीकर्तालाई बिक्री गरिएको र बाँकी ६३ लाख ५५ हजार कित्ता (६१.६७ प्रतिशत) कम्पनीका संस्थापक लगानीकर्ताहरूको स्वामित्वमा रहेको नेप्सेले जनाएको छ । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले उक्त कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा काम गरेको थियो । नेप्सेले कार्तिक १६ गतेको निर्णयअनुसार सूचीकरण प्रक्रिया सम्पन्न गरी  कार्तिक १९ गते औपचारिक रूपमा सूचना प्रकाशित गरेको हो ।  दरमखोला हाइड्रोका सेयरहरू दोस्रो बजारमा आगामी कार्तिक २० गते बाट कारोबार हुन सुरु गर्नेछन् । कम्पनीको प्रधान कार्यालय बागलुङको गाल्कोटमा रहेको छ भने सेयरधनी अभिलेख सेवा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड, नयाँ बानेश्वर, काठमाडौंले प्रदान गर्नेछ ।  

नयाँ दलको नाम नेपाली कम्युनिस्ट पार्टी खनाललाई तेस्रो वरियता, केही नेता अलग्गिए

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन भृकुटीमण्डपमा जारी छ । जहाँ माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलबीचको एकता प्रक्रिया निर्णायक मोडमा पुगेको छ । बुधबार घोषणा हुँदै गरेको नयाँ नेपाली कम्युनिस्ट पार्टीमा झलनाथ खनाललाई तेस्रो वरियता दिने सहमति भएको छ । उक्त पार्टीमा पहिलो वरीयतामा पुष्पकमल दाहाल र दोश्रो वरीयतामा माधव कुमार नेपाल रहेका छन् । एकता अभियानको सबैभन्दा ठुलो दल माओवादी केन्द्रबाट जनार्दन शर्मा र राम कार्की लगायतका नेताहरू अलग्गिएका छन् भने एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल अन्तिम समयमा सम्मेलनमा सहभागी भएका छन् । यद्यपि, एकीकृत समाजवादीका नेता घनश्याम भूसाल र रामकुमारी झाँक्री भने माओवादीसँगको एकता प्रक्रियाबाट बाहिरिएका छन्। 

१४९ कम्पनीको सेयर मूल्य बढ्यो, माबिलुङ इनर्जीमा सकारात्मक सर्किट

काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२ अंकले बढेर २६०७ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार १४९ कम्पनीको सेयर मूल्य बढ्दा ९० कम्पनीको मूल्य घटेको छ । १२ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बुधबार ३१२ कम्पनीको ९२ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार युनियन हाइड्रोपावरको भएको छ । युनियनको ३८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै हिमालयन डिस्टीलरीको ३२ करोड, राधी विद्युत कम्पनीको ३१ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको १६ करोड र शिवम् सिमेन्टको १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज माबिलुङ इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । बुधबार अधिकांश समूहका सूचक बढेका छन् । फाइनान्स सबैभन्दा धेरै ३.४१ प्रतिशतले बढेको छ । बैंकिङ ०.५६, विकास बैंक ०.०८, हाइड्रोपावर ०.३९, लगानी ०.६६, जीवन बीमा ०.४०, उत्पादन तथा प्रशोधन ०.६३, माइक्रोफाइनान्स ०.२२, निर्जीवन बीमा ०.२१, अन्य ०.४४ तथा व्यापार ०.४२ प्रतिशतले बढेका छन् । होटल तथा पर्यटन समूह ०.४५ प्रतिशत घटेको छ ।

पोखरा सहकारीको ८९ करोड रकम हिनामिना गरेको आरोपमा ७ जना पक्राउ

गण्डकी । कास्कीस्थित पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत रकम हिनामिना गरेको आरोपमा प्रहरीले सहकारी सञ्चालक समितिका अध्यक्ष सुरेन्द्रबहादुर गोदारसहित सात जनालाई बुधबार नियन्त्रणमा लिएको छ ।      अध्यक्ष गोदार, सचिव दिलबहादुर केसी, कोषाध्यक्ष हिरामणी दाहाल, सदस्य दोर्जे तामाङ, व्यवस्थापक भीष्मप्रसाद गुरुङ, बजार प्रमुख वेदीप्रसाद सुवेदी र पूर्वसचिव एवं वर्तमान सदस्य इन्द्रप्रसाद दुवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादर बस्नेतले जानकारी दिए ।      प्रदेश सहकारी रजिष्ट्रार कार्यालयले दिएको सहकारीको रकम हिनामिनासम्बन्धी छानबिन प्रतिवेदनका आधारमा निजहरूलाई पक्राउ गरिएको उनले बताए । उनका अनुसार वित्तिय विश्लेषक निर्मल गौतमको समितिले गरेको अध्ययन अनुसार सहकारीको करिब ८९ करोड रुपैयाँ हिनामिना भएको देखिएको छ ।      संस्थाका पदाधिकारी, व्यवस्थापक र कर्मचारीको मिलेमतोमा सहकारीको बचत रकम अपचलन गरिएको प्रतिवेदनले औँल्याएको छ । पक्राउ परेका व्यक्तिलाई अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।   

नेपाल राष्ट्र बैंकको प्रवक्ता बने पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकले कार्यकारी निर्देशक गुरु पौडेललाई प्रवक्ताको जिम्मेवारी दिएको छ । राष्ट्र बैंकले किरण पण्डितलाई जिम्मेवारीबाट हटाएर पौडेललाई थप जिम्मेवारी दिएको हो ।  २०५९ सालमा राष्ट्र बैंकमा प्रवेश गरेका पौडेल बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, बैंक सुपरीवेक्षण विभाग लगायतको नेतृत्व गरेको अनुभव छ ।  हाल उनी मानव संशाधन व्यवस्थापन विभागमा कार्यरत छन् ।   

ग्लोबल आइएमई बैंक र नास–आईटी अन्तरक्रिया : डिजिटल बैंकिङ, कर्जा, र व्यवसाय विस्तार

काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपाल एशोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) का सदस्यहरुसँग बैंकको कर्जा दायरा विस्तार, नवीन बैंकिङ सेवा तथा व्यवसाय वृद्धिसम्बन्धी विषयहरुमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बैंकले कर्जाका प्रकार, प्रक्रिया र आवश्यकता, आईटी क्षेत्रको लागि बैंकको कर्जा योजनाहरु, बैंकिङ सेवा, डिजिटल/नविनतम बैंकिङ सेवाहरु, बैंकिङ विवरण सुरक्षित राख्ने उपायहरु लगायत विभिन्न विषयमा छलफल गरेको थियो । कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले विभिन्न पेसा तथा व्यवसायसँग आबद्ध समूह लक्षित गरी आफ्नो व्यवसाय विस्तारका लागि यस्ता अन्तरकृयात्मक कार्यक्रमहरु संचालन गरिरहेको जानकारी दिए । साथै, बैंकले आम नागरिकमा वित्तीय साक्षरता बढाउन मुलुकभर वित्तीय साक्षरताका कार्यक्रमहरु समेत संचालन गरिरहेको जानकारी दिए । बैंक र नास–आईटीबिचको पारस्परिक सम्बन्धलाई मध्यनजर गरी दुवै संस्थामा आवद्ध कर्मचारीहरुको ज्ञान, सीप र अनुभव विकास गर्ने कार्यक्रमहरु संचालन गर्ने योजना रहेको छ । ग्लोबल आइएमई बैंक नास–आईटीको नवस्थापित दिगो कोषलाई सहयोग गर्ने पहिलो दिगो साझेदार बनेको छ । ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ ।

कोइकाले बर्दियामा ८ मिलियन डलरको परियोजना सुरु गर्दै

काठमाडौं ।  कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका)ले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सहकार्य गर्दै बर्दिया जिल्लामा परियाेजनाकाे सुरूवात गरेकाे छ । काेइकाले समावेशी ग्रामीण विकास परियोजनाको सुरूवात गरेकाे हाे ।  कुल ८ मिलियन अमेरिकी डलर बजेटको परियाेजना पाँच वर्षसम्म सञ्चालन हुनेछ । याे परियाेजना २०२९ सम्म सञ्चालन हुने बताइएकाे छ ।  साे परियाेजनाका लागि बैठक पनि बसेकाे छ। बैठकको अध्यक्षता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सहसचिव निता पोखरेल आर्यालले गरेकी छन् । कोइका नेपाल प्रमुख कंग मुहोनले सह-अध्यक्षता गरेका थिए । बर्दियाका सबै आठ नगरपालिका (बरबर्दिया, बाँसगढी, बढैयाताल, गेरुवा, गुलरिया, मधुवन, राजापुर र ठाकुरबाबा) का नगरप्रमुखहरू, बर्दिया राष्ट्रिय निकुञ्जका प्रतिनिधि तथा कोरिया इन्स्टिच्युट फर डेभलपमेन्ट स्ट्राटेजीका परियोजना व्यवस्थापन परामर्शकर्ता टोलीका सदस्यहरूको उपस्थिति रहेको थियो । परियोजना व्यवस्थापन परामर्शदाता टोलीले परियोजनाको उद्देश्य, संचालन रणनीति तथा स्थानीय क्षमता अभिवृद्धिका लागि अभिकल्पित कोरियन आमन्त्रण प्रशिक्षण कार्यक्रमबारे जानकारी गराएको थियो । सहभागी नगरपालिकाका प्रतिनिधिहरूले आफ्ना स्थानीय पहल परियोजना प्रस्तुत गर्दै सहकार्यमा आधारित कार्यान्वयन प्रतिवद्धता जनाए । बर्दिया राष्ट्रिय निकुञ्जले सामुदायिक जीविकोपार्जन र संरक्षणलाई जोड दिँदै इको-टुरिज्म प्रवर्द्धन योजनाहरू पनि प्रस्तुत गरिएकाे छ ।  कोइका नेपाल प्रमुख कंग मुहोनले नेपालको ग्रामीण जनजीवन सुधारका लागि कोइका र नेपाल सरकारबीचको साझेदारी तथा निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै परियोजना समावेशी र दिगो विकासप्रति साझा प्रतिबद्धताको प्रतीक रहेको बताए । दुग्ध उत्पादन, कृषि यान्त्रीकरण, बाली खेती, कम्पोस्ट उत्पादन तथा माछा प्रशोधनजस्ता कार्यक्रममार्फत साना किसान, महिला र सीमान्तकृत समुदायलाई उत्पादकत्व र रोजगारीमार्फत सशक्त बनाउन कोइका प्रतिबद्ध रहेको उनले उल्लेख गरे । बैठकमा सहसचिव आर्यालले नेपाल र कोरियाबीचको दशकौँदेखि रहँदै आएको मित्रता र विकास सहकार्यलाई प्रशंसनीय बताउँदै स्वास्थ्य, शिक्षा, कृषि, क्षमता विकास, ग्रामीण विकास आदिमा कोइकाको योगदानप्रति धन्यवाद ज्ञापन गरिन् । उनले ग्रामीण क्षेत्रमा दिगो, समावेशी र प्रतिरोधात्मक विकासका लागि सरकार निरन्तर सहकार्य गर्न तयार रहेको पनि बताइन् । सदस्य सचिव तथा मन्त्रालयका उपसचिव प्रलाद कार्कीले कोरियाको दीर्घकालीन सहयोगले नेपालको सामाजिक-आर्थिक उन्नतिमा टेवा पुर्‍याइरहेको उल्लेख गरे । सहभागी नगरप्रमुखहरूले पनि परियोजना प्रभावकारी कार्यान्वयनका लागि पूर्ण समर्थन र सहकार्य रहने प्रतिवद्धता जनाए । औपचारिक बैठकअघि प्रतिनिधि टोलीले बर्दियाकै स्थानीय सहकारी संस्थाहरू बाँसगढीस्थित केदारेश्वर डेरी सहकारी र बढैयातालस्थित कल्पवृक्ष माछा प्रशोधन सहकारीको अवलोकन गरेको थियो । जसले सामुदायिक नेतृत्वमा आधारित आर्थिक रुपान्तरणका सम्भावना प्रदर्शन गरेका थिए । कोइकाले नेपालमा तीन दशकभन्दा बढी विकास सहकार्य पुर्‍याउँदै आएको छ । स्वास्थ्य, शिक्षा, कृषि, पेशागत प्रशिक्षण, ग्रामीण विकास, सूचना प्रविधि तथा पर्यटन क्षेत्रमा कोइकाले १९९१ देखि निरन्तर सहकार्य गर्दै आएको छ । अहिलेसम्म नेपालमा २ हजार ९२१ भन्दा धेरै कोइका स्वयंसेवकहरूले सेवा दिएका छन् भने २ हजार २३० भन्दा बढी नेपाली अधिकृतहरूले कोइकाको फेलोशिप कार्यक्रममार्फत सीप अभिवृद्धि गरेका छन् । सन् २०२५ सम्म कोइकाको विकास सहयोग २०० मिलियन अमेरिकी डलर नाघेको छ, र नेपाल–कोरिया साझेदारी अझ सुदृढ हुँदै गएको छ ।

पुँजीगत खर्चमा भारी गिरावट, चालु शिर्षकमा बढ्यो

काठमाडौं । पुँजीगत खर्चमा भारी गिरावट देखिन थालको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आवको हालसम्ममा सरकारले गरिरहेको पुँजीगत खर्च घटेको हो । सरकारी खर्चको हिसाब राख्ने महालेखा नियन्त्रक कार्यालयकाअनुसार चालु असोज १८ गते (मंगलबार) सम्म पुँजीगत शिर्षकमा छुट्टाइएको  ४ खर्ब ७ अर्ब बजेट विनियोजन गरिएको मध्ये  २२ अर्ब खर्च भएको छ । अघिल्लो आर्थिक वर्षको यही अवधीमा ३२ अर्ब ५६ करोड खर्च भइसकेको थियो । सरकारले पुँजीगत बजेट दीर्घकालीन योजनामा लगानी गर्छ ।  सडक, पुल, विद्यालय, अस्पताल, सिंचाई, ऊर्जा परियोजना निर्माण वा विस्तारका लागि खर्च गरिने बजेट हो । यस किसिमको खर्चले देशको उत्पादन क्षमता र दीर्घकालीन आर्थिक वृद्धि बढाउँछ । पुँजीगत खर्च विकासको गति जनाउने सूचक पनि हो । हाल साही शिर्षकमा छुट्टाइएको बजेट खर्च अघिल्लो वर्षको तुलनामा कम हुनुले विकासको गति सुस्त बन्दै गएको तथ्यबाटै प्रष्ट देखिएको हो ।    जेनजी आन्दोलनपछि बढ्दो अनिश्चिता र असुरक्षाको कारणले निर्माण व्यवसायीहरुले विकासका कामहरुमा तिव्रता दिएका छैनन् । अर्थतन्त्र बुझेको अर्थमन्त्री रहँदा पनि विकास खर्चमा देखिएको समस्याहरु हटाउन उनले चासो नदेखाउँदा विकासको गति सुस्त बनेको आकलन गर्न थालिएको छ ।  यता, चालु खर्च भने बढेको सरकारी तथ्यले देखाउँछ । महालेखा नियन्त्रक कार्यालयकाअनुसार असोज १८ गते (मंगलवार) सम्म २ खर्ब ८२ अर्ब खर्च भएको छ । अघिल्लो आवको यो अवधिमा चालु शिर्षकमा यो वर्ष छुट्टाइएको ११ खर्ब ४० अर्ब बजेटमध्ये २ खर्ब ६४ अर्ब खर्च गरेको थियो । अघिल्लो वर्षको यो अवधीमा केही खर्च चालु शिर्षकमा खर्च बढेको देखिएको छ । चालु खर्च भनेको नियमित सञ्चालन खर्च हो । सरकारले कर्मचारी तलब भत्ता, कार्यालय खर्च, प्रशासनिक सेवा लगायतमा खर्च गर्ने गरेको छ ।