पाइलट बन्ने सपना, विदेशको सुविधा त्यागेर स्वदेशमा सेवा
काठमाडौं । अस्पतालका करिडोरदेखि एयरपोर्टका गेटसम्म ‘ब्रेन ड्रेन’को चर्चा अहिले सामान्य बनेको छ । तर यही प्रवृत्तिको ठीक उल्टो बाटो हिँड्ने केही पात्र पनि हाम्रो समाजमा छन् । जसले सुविधा भएको देश छाडेर चुनौतीपूर्ण नेपाल रोजेका छन् । त्यस्तैमध्येको एक नाम हो, डा. अविनाश चन्द्र । करिब १० वर्षअघि अमेरिका छाडेर नेपाल फर्किएका डा. अविनाश नसासम्बन्धी रोगका विशेषज्ञ (न्यूरोलोजिष्ट) हुन् । चीनबाट एमबीबीएस र एमडी पूरा गरेका उनले सिंगापुर, अमेरिका र भारतलगायत विभिन्न देशमा काम गरेका छन् । उनी न्यूरोलोजी क्षेत्रमा विभिन्न अध्ययन र अनुसन्धानमा समेत सक्रिय छन् । हाल उनी वीर अस्पतालमा न्यूरोलोजिष्ट रूपमा कार्यरत छन् । विदेशमा सुरक्षित भविष्य छाडेर स्वदेश फर्किने निर्णय सजिलो थिएन । कतिपयले उनको निर्णयलाई पागलपन नै भने । साथीभाइ मात्र होइन, उनलाई पढाउने प्राध्यापकहरूले समेत ‘यति राम्रो अवसर किन गुमाउने’ भन्दै रोक्न खोजे । तर डा. अविनाशको मनले त्यो बाटो स्वीकारेन । ‘मलाई आफ्नै देशमा चुनौतीसँग जुध्दै काम गर्न मन थियो,’ उनी भन्छन्, ‘यो सोच कहिले र कसरी आयो थाहा छैन, तर परिवारसँगै बसेर आफ्नै ठाउँमा काम गर्नुपर्छ भन्ने मनसाय मेरो थियो अनि म स्वदेश फर्किएँ ।’ अन्नपूर्ण अस्पतालबाट नेपालमा चिकित्सा सेवा सुरु गरेका अविनाश अहिले सरकारी सेवामा प्रवेश गरेका छन् । घडीसँग नबाँधिने चिकित्सा क्षेत्र वीर अस्पताल जहाँ बिरामीको सबैभन्दा बढी भीड हुन्छ । अहिले पनि दिनहुँ सयौं बिरामी उपचारका लागि पुग्छन् । चिकित्सकको काम घडीसँग बाँधिदैन । बिरामीको अवस्था हेरेर बिहान, दिउँसो वा मध्यरात जुनसुकै समयमा पनि अस्पताल पुग्नुपर्छ । विशेषगरी नसासम्बन्धी रोगका बिरामी बढ्दै गएका बेला न्यूरोलोजिष्टको जिम्मेवारी झन् संवेदनशील र चुनौतीपूर्ण हुन्छ । अविनाशको पनि काम गर्ने समय निश्चित छैन । अस्पतालमा बिरामीको चाप बढेसँगै उनको खटाइ पनि उत्तिकै बढ्छ । डा. अविनाश चन्द्र दिनभरि गम्भीर बिरामी, चिन्तित परिवार र कठिन निर्णयसँग जुधेपछि साँझ उनी घर फर्किन्छन् । त्यतिबेला अस्पतालको तनाव ढोकामै छुट्छ । ‘घर पुगेर आमाबुवा, श्रीमती र छोरीलाई देख्दा दिनभरको पीर आफै हराउँछ,’ उनी भन्छन्, ‘परिवारबाट टाढा रहेर पाएको खुसी मेरो लागि होइन । परिवारसँगै हुँदा जस्तोसुकै चुनौती पनि सहज लाग्छ ।’ नसासम्बन्धी रोगका बिरामीको संख्या बढ्दो छ । वार्डमा कुन बिरामीको अवस्था कस्तो छ, कसलाई नयाँ समस्या देखिएको छ, औषधी समयमै खाएको नखाएको विवरण राख्नु यी सबै हरेक स्वास्थ्यकर्मीको दैनिकी हुन् । यही दैनिकीभित्र डा. अविनाशले आफ्नो पेशागत जिम्मेवारी मात्र होइन, देशमै केही गर्न सकिन्छ भन्ने विश्वास पनि जोगाइरहेका छन् । पाइलट बन्ने रहर बाल्यकालमा अविनाशका आँखा आकाशतिर हुन्थे । ककपिटभित्र बसेर जहाज उडाउनु उनको सपना थियो, तर समयले उनलाई आकाश होइन, मान्छेको मष्तिस्कभित्रको जटिल संसारतिर डोर्यायो । पाइलट बन्ने सपना बोकेका उनी आज वीर अस्पतालमा नसासम्बन्धी रोगको उपचार गरिरहेका छन् । अविनाशको घर धनुषाको जनकपुर हो । कक्षा एकदेखि १२ सम्म उनले जनकपुरमै पढे । उनको घर नजिकै विमानस्थल थियो । जहाज अवतरण गर्दा होस् या उड्दा उनी भ्याएसम्म हेर्न जान्थे । उनका आँखा जहाजबाट झर्ने यात्रुमा भन्दा क्याप्टेन र कर्मचारीतिर हुन्थे । हेर्दै आकर्षक लाग्ने पोसाक, त्यसैमाथि टोपी । सबैले सलुट हान्ने आहा । उनको मानसपटलमा त्यही चित्र घुम्न थाल्यो । पाइलट कसरी भइन्छ त ? उनको मनभित्र अनेकौं जिज्ञासा उठ्न थाले । उनले आफ्ना दाइलाई सोध्थे, पाइलट बन्न के गर्नुपर्छ ? दाइ भन्थे, यसका लागि त राम्रोसँग पढ्नुपर्छ ।’ उनलाई अझ पढाइमा मिहिनेत गर्न मन लाग्थ्यो । सिंगापुर एयरलाइन्सलाई चिठी मनभित्र पाइलट बन्ने रहर पलाएपछि अविनाश चुप लागेर बस्न सकेनन् । आकाशमा उड्ने सपना मनभित्र यति बलियो थियो कि त्यसले उनलाई दिन–रात बेचैन बनाइरह्यो । तर कसैलाई भन्न सकेका थिएनन् । भाइको छटपटी बुझ्ने उनका दाइमात्र थिए, हाल उनी केमिकल इन्जिनियर छन् । एकदिन दाइले अनौठो तर साहसी सल्लाह दिए ‘एयरलाइन्सलाई चिठी लेख्न’ त्यो बेला सिंगापुर एयरलाइन्सको चर्चा धेरै थियो । अविनाशले एउटा म्यागजिनमा काठमाडौं र सिंगापुर दुवैको ठेगाना भेटे । यही ठेगानामा उनले चिठी लेखेर हुलाकमार्फत पठाए । चिठीमा उनले लेखेका थिए, ‘म धनुषामा पढिरहेको एक विद्यार्थी हुँ । मलाई पाइलट बन्न मन छ । यसका लागि के गर्नुपर्छ ?’ ‘९ कक्षामा पढ्दै गरेको केटो, जसले पाइलट देखेको मात्रै थियो, बन्न के गर्नुपर्छ थाहा थिएन,’ उनी हाँस्दै सम्झिन्छन्, ‘त्यो चिठीमा के–के लेखेको थिएँ आफैलाई थाहा छैन, मनमा लागेका सबै कुरा लेखेको थिएँ होला ।’ हुलाकमा चिठी पठाउँदा १० रुपैयाँको टिकट टाँसेर पठाउनुपर्थ्यो । उनले ३५ रुपैयाँ तिरेर ‘द्रुत’ सेवामार्फत पठाए । पैसा दाइले नै दिन्थे । दुई दिदी र एक दाइपछि कान्छो छोरा थिए अविनाश । दाइभाइ मिलेर यस्तो ‘उपद्रो’ गरिरहेको घरका अरू सदस्यलाई थाहा थिएन । तीन–चार महिनापछि हुलाकबाट जवाफ आयो । त्यो चिठी अविनाशका लागि सपना जिउँदो भएको प्रमाणजस्तै थियो । चिठीमा पाइलट बन्ने प्रक्रियाबारे जानकारी, सम्पर्क गर्ने ठेगाना र आवश्यक गाइडलाइनहरू उल्लेख थिए। त्यसपछि उनले फिलिपिन्सको अर्को ठेगानामा पनि चिठी पठाए । सपनाले झन् उचाइ लियो । उनी सपनामा समेत प्लेन उडाउन थाले, तर त्यो चिठीको जवाफ भने एक वर्षसम्म आएन । एसएलसी पास गरेपछि अविनाशले आफ्नो चाहना परिवारलाई सुनाए । बुबा तयार थिए । तर आमाको मन्जुरी भएन त्यसपछि उनको जीवनको दिशा बदलियो । उनको पाइलट बन्ने सपना अधुरै रह्यो । त्यो अधुरो सपना नै उनलाई अर्को यात्रातिर डोर्याउने बीउ बन्यो । अनि बने चिकित्सक पाइलट बन्ने सपना अधुरै रहेपछि अविनाशले इन्जिनियर पढ्ने योजना बनाए । त्यसका लागि तयारी गरे । तर पछि आमाले डाक्टरी पढ्न सल्लाह दिएपछि उनी चिकित्सा क्षेत्रमा लागे । डा. अविनाशले चीन गएर एमबीबीएस र एमडी गरे । त्यसपछि पढाइ र कामका सिलसिलामा विभिन्न देश पुगेपछि अन्ततः चिकित्सकको रूपमा काम गर्न नेपालमै फर्किए । उनकी श्रीमती पनि चिकित्सक हुन् । अन्नपूर्ण अस्पतालमा काम गर्दा दुवैबीच चिनजान भएको थियो । जनकपुरका अविनाशले बर्दियाकी केटीसँग प्रेम गरेर उनैसँग बिहे गरे । अहिले उनकी दुई वर्षको छोरी छिन् । स्वदेश र विदेशमा कामको अनुभव फरक अविनाशका अनुसार नेपाल र विदेशका स्वास्थ्य सेवा दिने तरिका फरक छ । काउन्सिलिङकै पाटोमा पनि धेरै फरक रहेको उनी बताउँछन् । नेपालमा एकजना बिरामी हुँदा पुरै गाउँका नागरिकलाई काउन्सिलिङ गर्नुपर्ने अवस्था आउँछ भने विदेशमा यस्तो हुँदैन । त्यहाँ उपचारको एउटा मापदण्ड हुन्छ, त्यो मापदण्डभन्दा बाहिर जान पाइँदैन । नेपालमा काम गर्दा लाग्ने सबैभन्दा राम्रो भनेको कम लागतमा बढी नतिजा दिन सकिन्छ । उनी नेपालमा सबै कुरा गर्न सम्भव रहेको बताउँछन् । ‘गर्न सक्नु पर्यो यहाँ ठाउँ धेरै छ, यहाँ कम लागतमा बढी नतिजा दिन सकिन्छ,’ उनले भने । नसाका समस्याहरू नसासम्बन्धी रोगहरू शरीरमा सबैभन्दा अन्तिम अवस्थामा देखिन्छन् । संक्रमण कुनै अंगमा पुग्छ भने पहिले छाती, पेट वा रगतमा असर गर्छ अनि मात्र नसामा पुग्छ । त्यसैले नसासम्बन्धी समस्या प्रायः ढिला देखिन्छन् । शरीरका विभिन्न अंग पेट, छाती, मुटुको अध्ययन पहिले सुरु भएको थियो, तर न्यूरोलोजीको क्षेत्रमा अनुसन्धान पछि मात्र सुरु भयो । नेपालमा भने यो क्षेत्र अझ ढिलोगरी चिनिन थालेको हो । तर अध्ययनको हिसाबले हेर्दा अन्य अंगको तुलनामा नसासम्बन्धी अध्ययन धेरै सक्रिय रहेको पाइन्छ । आज पनि न्यूरोलोजीका विशेषज्ञहरू बिरामीको जटिल समस्या बुझ्न, उपचार र अनुसन्धानमा निरन्तर प्रयासरत छन् । लक्षण कस्तो देखिन्छ ? नसाको समस्याले हुने रोग भनेको पक्षघात, स्ट्रोक, मस्तिष्कघात लगायत हुन् । यी रोगको संक्रमण हुँदा व्यक्तिको शरीरलाई थाहा हुन्छ । तपाईंको एक्कासि ब्यालेन्स बिग्रन थाल्यो, उठ्दा रिंगटा लाग्छ, आँखाले हेर्दा एउटै कुरा दुईवटा जस्तो देखिन्छ, धमिलो हुन्छ, अनुहार बाङ्गिन्छ, हातखुट्टाको एकभाग कमजोर हुन्छ, बोली पनि लडबडाउँछ भने सिधै अस्पताल जानुपर्छ । सबै नसाको रोगको उपचार सक्दोचाँडो अस्पताल पुग्यो त्यति नै चाँडो उपचार सम्भव हुन्छ । ढिला भयो भने समस्या हुन्छ । बिरामीहरू ढिला गरी अस्पताल पुग्छन् जसले गर्दा उपचारमा समस्या हुन्छ । यो विषयमा धेरै नागरिकलाई थाहा नै हुँदैन । लक्षण देखा पर्दाबित्तिकै अस्पताल पुग्नुपर्ने अविनाश बताउँछन् । कुनैपनि रोग लाग्नै नदिनु राम्रो हुन्छ । स्वस्थ जीवनशैली कायम राख्नुपर्छ । यसका लागि सबैभन्दा पहिला मानसिक स्वास्थ्य ठीक राख्नुपर्छ । मानसिक स्वास्थ्य ठीक राख्न तनाव निकै कम गर्नुपर्छ । अविनाशका अनुसार मान्छे अहिले फास्टट्र्याकको जिन्दगीे जिउन थालेका छन् । आत्मशुद्धि पनि अहिले निकै आवश्यक छ । उनी भन्छन्, ‘म भनेको म हो, मान्छे कार, जीप होइन कि सबै एकै किसिमको एकै मोडेलको हुनुपर्छ । हाम्रो मोडल त फरक छ । यति कुरामा ध्यान दियौं भने धेरै रोगबाट हामी बच्न सक्छौं ।’ अहिले तनाव बढी अहिले खानपानमात्र होइन, मान्छेको हुकाई बढाइमा पनि फरक पर्दै गएको छ । जसरी पहिलेका बालबालिका विना तनाब लडिबुडी गर्दै हुर्किन्थे तर अहिलेको बच्चाहरूमा त्यस्तो छैन । बच्चा बेलादेखि नै तनाव बढ्दै गएको छ । यसले पनि हाम्रो स्वास्थ्य कतातिर जाँदैछ भन्ने कुरा देखाइरहेको छ । मानसिक स्वास्थ्यले पनि यस्ता रोगलाई बढावा दिइरहेको अविनाश बताउँछन् । पहिले उपचारमा मानसिक स्वास्थ्यका कुरा आउँदैनथियो तर अहिले शारीरिक उपचारसँगै मानसिक उपचारको पनि कुरा आउन थालेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पनि शारीरिक स्वास्थ्य जाँच गर्दा मानसिक स्वास्थ्यको कुरा गर्न भनेको छ । अहिले डब्ल्यूएचओले स्ट्याण्डर्ड डेफिनेसन नै परिवर्तन गरिसकेको छ । पहिले स्वास्थ्यको परिभाषामा मानसिक स्वास्थ्य थिएन । अहिले मानसिक स्वास्थ्य पनि स्वस्थ हुनुपर्छ भन्ने कुरा आइसकेको छ । शारीरिक स्वास्थ्य बिग्रनासाथ मानसिक स्वास्थ्यमा असर पर्छ । चिकित्सक भगवान होइनन् नेपालमा सबैभन्दा बढी सुनिने, सेवाग्राहीले भोग्ने समस्या भनेको चिकित्सक तथा स्वास्थ्यकर्मीले गर्ने व्यवहार हो । उनीहरू झर्केर बोल्ने, कुरा बुझाइदिएन भन्ने गुनासो आउँछ । अविनाशका अनुसार चिकित्सकले बिरामीलाई सामान्य तरिकाले बुझाउँदा बिरामीले नबुझ्न सक्छन् । किनभने अस्पतालमा आइसकेपछि बिरामीले धेरै सोंच्न थाल्छन्, उनीहरू अस्पताल आउनासाथ धेरै तनाव लिन्छन् । यसैगरी, अर्को कारण हो, सामाजिक सम्बन्ध, जुन निकै गाढा हुँदा पनि यस्तो समस्या आउँछ । कुनै बेला बिरामीले अनावश्यक ढिपी गर्दा डाक्टर तथा नर्सहरूले बोलेको कुरालाई झर्केर बोलेको भन्ने गुनासो पनि हुन्छ । अविनाश चिकित्सकलाई भगवान मान्ने मान्यताले पनि यो समस्या आएको बताउँछन् । भन्छन्,‘ चिकित्सक भगवान होइनन् भन्ने विषयमा बहस गर्नु आवश्यक छ ।’ चिकित्सकले अध्ययनअनुसार सकेजतिको मिहिनेतले उपचार गर्छन् । बिरामीको ज्यान जोगाउन हदैसम्म प्रयास गर्छन् तर संधै सफल भइँदैन । भगवानको सोचमा आउनेबित्तिकै नसक्ने कुरा पनि पनि सक्छन् भन्ने मान्यता गलत भएको उनको भनाइ छ । चिकित्सक पनि आम मानिस नै भएको र उसलाई भगवानको नजरले हेर्न छाडिदिनुपर्नेमा अविनाश जोड दिन्छन्।
जागिरसँगै विश्वविद्यालयको पढाइ, एमएमा बने गोल्ड मेडलिस्ट
काठमाडौं । पढ्ने भनेकै पैसा कमाउन हो अर्थात् जागिर खानकै लागि पढ्नुपर्छ, अधिकांशको विचार यस्तै हुन्छ । तर सबैको हकमा जागिरमात्रै पढाइको उद्देश्य हुँदैन । तीमध्येका एक हुन्– कमल पौडेल । जसले सरकारी जागिरबाट समय निकाली पढे अनि गोल्ड मेडलिस्ट भए । पाल्पाको तानसेनका कमलले एमए अर्थशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट उत्कृष्ट नम्बर ल्याउँदै गोल्ड मेडलिस्ट बनेका हुन् । बुटवल बहुमुखी क्याम्पसबाट ३.७७ जीपीए ल्याएका उनले त्रिविको ५१ औं दीक्षान्त समारोहमा तीनवटा पदक तथा पुरस्कार पाए । जसमा तारापद चौधरी स्वर्णपदक, खगेन्द्रमानसिंह प्रधान पदक र चन्द्रराज ढुङ्गेल स्मृति पुरस्कार रहेका छन् । धेरै विद्यार्थीमा राम्रो नम्बर नआउँदा एउटा न एउटा बहाना बनाउँछन् । कसैले पढ्ने समय नै हुँदैन भन्छन् त कसैले के । तर पढाइको भोक भएकाहरूलाई कुनै बहानाले रोक्न सक्दैन । बिहान १० बजेदेखि पाँच बजेसम्म सरकारी जागिर गरेर पढेका कमल कसैको दबाब र करले भन्दा आफ्नै इच्छा र स्वरुचिले पढ्दा त्यसको परिणाम अझ राम्रो आउने बताउँछन् । पौडेल पेसाले एक मेकानिकल इन्जिनियर हुन् । उनी यातायात व्यवस्था विभाग अन्तर्गतको सवारी परीक्षण कार्यालय, बुटवलमा कार्यरत छन् । २०७३ सालमा निजामती सेवामा प्रवेश गरेका उनले कामसँगै पढाइलाई कसरी निरन्तर दिने र कसरी अध्ययन गर्दा गोल्ड मेडलिस्ट हुन सकिन्छ भन्ने विकासन्युजको प्रश्नमा भन्छन्, ‘पढाइ होस् या काम कुनै पनि सुरु गरिसकेपछि निरन्तरता हुनुपर्छ, अर्को कुरा रुचि पनि हुनुपर्छ जसको परिणाम राम्रै निस्कन्छ।’ कमल पाैडेल कमललाई म टपर हुनुपर्छ, भन्ने कहिल्यै लागेन । तर पढिसकेपछि राम्रै नम्बर ल्याउनुपर्छ भन्ने लागिरहन्थ्यो । ‘प्लस टु, ब्याचलर्स पढ्दा राम्रो गर्नुपर्छ, सकेसम्म धेरै नम्बर ल्याउनुपर्छ भन्ने सोच हुन्थ्यो तर स्नातकोत्तर गर्दा त्यो सोच पनि थिएन,’ कमलले भने । ‘पहिले पढाइ भनेपछि सफल हुनुपर्छ, पास हुनुपर्छ भन्ने दबाब हुन्थ्यो, त्यो दबाब महसुस स्नातकोत्तर गर्दा कहिल्यै भएन । पास हुनुपर्छ , डिग्री हातमा लिनुपर्छ भन्ने ध्येय मात्र अध्ययन गरेको हुँ, यसले गर्दा पनि सफलता हात परेको हुनसक्छ,’ उनले थपे । २०७१ सालमा स्नातक तह सकेका पौडेल ०७८ सालमा स्नातकोत्तरमा भर्ना भएका थिए । जागिरसँगै पढाइ कमललाई जागिर गरेको कही समयपछि मास्टर डिग्रीको आवश्यकता महसुस भयो । त्यसपछि उनले पढ्ने योजना बनाए । उनको कामसँगै मेल खाने विषय अर्थशास्त्र थियो । त्यसपछि उनले अर्थशास्त्र विषय लिएर पढ्ने योजना बनाए । ‘सरकारी क्षेत्रमा लामो समय काम गर्नु छ भनेपछि काम गर्ने क्षेत्रसँग पनि सम्बन्धित हुने, केही न केही नयाँ ज्ञान प्राप्त पनि हुने र आफ्नो कार्यसम्पादन क्षेत्रमा पनि सहयोग गर्छ भन्ने सोंचेर अर्थशास्त्र विषय पढ्न सुरु गरेको हुँ,’ उनले भने । कमलले तानसेनकै पदम पब्लिक नमुना सामुदायिक विद्यालयबाट एसएलसी पास गरे । कक्षा १२ सम्म विज्ञान विषय लिएर तानसेनमै पढेका उनी स्नातक तहमा इन्जिनियरिङ पढ्न काठमाडौं आए । काठमाडौंको पुल्चोक इन्जिनियरिङ कलेजमा अध्ययन गरे । उनी पढाइमा सानैदेखि राम्रो थिए । स्नातक तहको पढाइ सक्ने बित्तिकै लोकसेवामा नाम निकालेर सरकारी जागिर सुरु गरे । प्राविधिक विषयबाट स्नातक गरेको व्यक्तिले किन स्नातकोत्तरमा अप्राविधिक विषय रोजाइमा पर्यो भन्ने प्रश्नमा पौडेल भन्छन्, ‘मैले जुन विषय पढें, जे विषय पढेर अहिले काम गरिरहेको छु, यही विषय अध्ययनका लागि म काठमाडौंमै हुनुपथ्र्यो, जुन सम्भव थिएन । अर्थशास्त्र पढ्न मलाई राजधानी जानु पर्दैनथ्यो । दिनभरि कार्यालयको काम गरेर साँझ कलेज गएर पढ्न सकिन्थ्यो । अर्को कुरा अप्राविधिक ज्ञान हासिल गर्ने पनि रहर थियो ।’ सरकारी सेवा प्रवेश गरिसकेपछि कहीँ न कहीँ प्राविधिक तथा अप्राविधिक ज्ञानको पनि खाँचो पर्दो रहेछ । उनलाई पनि यो अनुभव भयो । आफ्नो सेवालाई नै काम लाग्ने विषय के हुनसक्छ भनेर हेर्दा अर्थशास्त्र सान्दर्भिक देखिएकाले पनि यो विषय रोजेको उनी बताउँछन्। बुवासँग कमल पाैडेल प्राविधिक अप्राविधिक विषयमा फरक कार्यालयको कार्य सञ्चालनमा प्राविधिक ज्ञानसँग अप्राविधिक ज्ञानको पनि आवश्यकता पर्छ । फरक विषय रोज्नुलाई अवसरको रूपमा लिन्छन् कलम । उनका लागि अर्थशास्त्र नौलो विषय थियो । कसरी पढ्ने होला भन्ने एक किसिमको चुनौती पनि थियो । त्यही चुनौतीले पढ्न थप प्रेरित गरेको उनको अनुभव छ । ‘अर्थशास्त्रका धेरै विषय म्याथम्याटिक्स बेस हुन्छन्, यसो हुँदा आफूलाई सहज बनाउनसक्ने ठाउँ पाएँ,’ उनी भन्छन्, ‘पहिलेको गणितको ज्ञान जुन थियो त्यसले पनि यतापट्टिको पढाइमा धेरै सहयोग गर्यो ।’ ‘एक्कासि नयाँ विषय पढ्दा गाह्रो पक्कै हुन्छ तर त्यो चुनौती मैले पहिलो सेमेष्टर पढिसक्दासम्म सामना गरिसकेको थिएँ, त्यसपछि सहज भयो,’ उनले थपे । कसरी पढ्ने ? पढ्ने हरेक व्यक्तिको आ–आफ्नै तरिका हुन्छ । कमल पढाइ सुरु गर्नुभन्दा अगाडि पाठ्यक्रममा के छ, त्यसमा पढ्ने पर्ने विषय के हो र शिक्षकले कसरी पढाइरहेका छन् भन्ने कुरालाई हेरेर आफ्नो अध्ययन गरेको बताउँछन् । ‘छुटेका केही कुरा युट्युबबाट पनि हेर्थें । धेरै कुरा अहिले युट्यबमै पाइन्छ तर त्यसलाई कसरी पढ्ने र त्यस्ता कुरालाई कसरी ग्रहण गर्ने भन्ने व्यक्तिमा भर पर्छ ,’ उनी भन्छन्, ‘नोट बनाएर हुन्छ कि पटकपटक पढेर हुन्छ कि पढेका कुरालाई दैनिक जीवनसँग लागू गरेर हुन्छ, यो विद्यार्थी आफूले बुझ्नुपर्ने हुन्छ ।’ अर्थशास्त्रको कुरा गर्दा कर प्रणालीको बारेमा पढ्नुपर्छ । यो के रहेछ भनेर हेर्दा अहिलेको कर प्रणाली के छ, कसरी प्रयोग भइरहेको छ भन्ने हेरेर बुझ्न पनि सकिन्छ । कमल आफू पढ्दा किताब, इन्टरनेटलगायतका विभिन्न माध्यमबाट विभिन्न सामग्री तयार पार्थे । सजिलै बुझ्नेगरी टिपोट गरेर अध्ययन गर्थे । उनी विद्यार्थीले सबैभन्दा पहिले आफ्नो बुझ्ने तरिका के हो पत्ता लगाउनुपर्ने बताउँछन् । पढाइको लागि सबैभन्दा राम्रो तरिका व्यवहारिक ज्ञानसँग प्रयोग गरेर हेर्नुपर्ने उनको बुझाइ छ । धेरै कुरा स्वअध्ययन गर्ने र शिक्षकले गरेको गाइडलाइनबाटै पनि धेरै कुराहरू सिक्न सकिने उनको अनुभव छ । भन्छन्, ‘पढाइका सिद्धान्त धेरै छन् । कुन सिद्धान्त अपनाउँदा विद्यार्थीले आफूलाई बुझेको अनुभव गर्छन् भन्ने कुरा आफै थाहा पाउनुपर्ने हुन्छ ।’ कमल आफ्नो हकमा किताबमा भएको सिद्धान्तको प्रयोग कहाँ र कसरी भइरहेको छ भनी खोजी गर्ने गर्दछन् जसले पढेको कुरा याद गर्न पनि सहज हुन्छ । ‘मैले ल्याएको डिग्रीबाट म सन्तुष्ट हुनैपर्छ, यति नम्बर मैले ल्याउनैपर्छ भन्ने चाहिँ विद्यार्थीमा हुनैपर्छ,’ उनी भन्छन्, ‘डिग्री लिनको लागि मात्र पढेको जस्तो नहोस् भोलि कपाल फुलेर आफ्नो डिग्री हेर्दै गर्दा उबेला यतिको चाहिँ गरिएको थियो भन्ने सन्तुष्टि पनि मिलोस् भन्ने लाग्थ्यो ।’ तीन घण्टा परीक्षा प्रणालीको विरोध वर्षभरि पढेर विद्यार्थीको मूल्यांकन तीन घण्टाको परीक्षाले गरिने प्रणालीको कमल विरोध गर्छन् । उनलाई तीन घण्टाको लागि मात्र अध्ययन गरेर सफलता देखाइरहेकाले यो वास्तविकता होइन भन्ने लाग्छ । ‘जस्तै म्याथको कुरा गरौं– परीक्षा लिँदैगर्दा विद्यार्थीलाई जुन प्रश्न सोधिन्छ, त्यसमा प्रयोग हुने फर्मुला उसको अगाडि उपलब्ध गराइदिनुपर्छ भन्ने हो । उसँग ज्ञान छ, फर्मुला घोकेर जाँदा मिलाउन सकेन भने उसको मूल्याकंन गर्दा यसले जानेन भन्न मिल्दैन,’ उनी भन्छन् । कुनै प्रश्नमा कुनकुन चिजलाई आधार मानेर यसको हल गर्न सकिन्छ भन्ने प्रश्नपत्रमै उपलब्ध गराउन सक्यो भने साँच्चै ज्ञान प्रयोग गर्न जानेको छ छैन भनेर हेर्न सकिने उनी बताउँछन् । रटान परीक्षा प्रणालीको पौडेल खुलेर विरोध गर्छन् । यसले शिक्षा प्रणाली उँगो लाग्न नसक्ने उनको जिकिर छ । उनी तल्लो तहमा नभए पनि माथिल्लो तहको परीक्षा प्रणालीमा सुधारको आवश्यकता रहेको बताउँछन् । नेपालका लगानी गर्ने वातावरण भएन नेपालमा अर्थतन्त्रका सुचकहरू हेर्ने हो भने सबै सकारात्मक छन् । बैंकहरूसँग तरलता पनि थुपै्र छ, मौद्रिक नीतिले ल्याएको व्यवस्था पनि लगानीलाई फाइदा गर्ने खालकै छन् । यति हुँदाहुँदै पनि आर्थतन्त्र चलायमान हुन नसकेको अवस्था छ । यसबाट कसरी बाहिर निस्कने भन्ने विषय अहिले चुनौतीकै रूपमा रहेको छ । कतिपय अर्थशास्त्रीले यस्तो बेलामा सरकारले खर्च गरेर डिमाण्ड बढाउनुपर्छ भनेका छन् । पौडेल यस्तै सिद्धान्त प्रयोग गर्न सकिने अवस्था आएको हो कि भन्ने राय व्यक्त गर्छन् । उनका अनुसार लगानीकर्ताले लगानी गरेर यति प्रतिफल पाउँछु भन्ने अवस्था छैन । लगानीकर्तामा यो विश्वास भएन भने अर्थतन्त्र चल्नै सक्दैन । अर्थतन्त्र चल्ने भनेको सेभिङ र इन्भेष्टमेन्टले हो । ‘हामीसँग सेभिङ भयो तर यसलाई लगानी गरेर भोलि प्रतिफल पाउने आशा कसैमा देखिएन । त्यसैले पनि यस्तो अवस्था आएको हुनसक्छ,’ उनी भन्छन् । ‘जब लगानी हुँदैन तब रोजगारी सिर्जना हुँदैन । रोजगारी सिर्जना नभए आय हुँदैन, आए नभए डिमाण्ड आउँदैन, यो अर्थशास्त्रको चेन हो,’ उनी भन्छन्, ‘नयाँ क्षेत्रमा वा भइरहेको क्षत्रमा लगानी गरेर प्रतिफल पाउनसक्छु भन्ने आशा नै लगानीकर्ताको मरिसकेको हो कि भन्ने पनि लाग्छ ।’ देखासिखीले पनि विदेश जानेक्रम बढ्यो विद्यार्थी विदेश जाने निकै बढेको छ । पहिले विदेश पढ्न जानेहरू नेपालमा अवसर नदेखेर भन्दा पनि विदेशमा नयाँ कुरा सिक्न जानेहरू बढी थिए । अहिले नेपालमा केही पनि छैन, अवसर नै छैन भन्ने हेतुले विद्यार्थी बाहिर गएको देखिन्छ । पौडेल देखासिखीले पनि विदेश जानेक्रम बढेको बताउँछन् । ‘कतिपय संस्कृत हाम्रोभन्दा विदेशीको राम्रो हुन पनि सक्छ । पढेर राम्रो गरे भने धेरै मौका आउँछन् भन्ने हुन्थ्यो । अहिले बिना सीप बिना मिहिनेत कुनै आम्दानीको स्रोत आवोस् भन्ने आशा गर्ने बानी पस्दा पनि यस्तो अवस्था आएको हो कि जस्तो लाग्छ,’ उनले भने । उनी नेपालमा समस्या थुप्रै भए पनि केही आशाहरू भने रहेको बताउँछन् । कमलले अहिले तत्काल योभन्दा माथिको शिक्षाका लागि सोचेका छैनन् । भन्छन्, ‘अहिले म पूर्ण रूपमा पारिवारिक जिम्मेवारीमा छु, केही समय यसैमा रमाउँछु । चार–पाँच वर्षपछि फेरि केही सोच्नुपर्ला ।’
युके डिग्रीको सपना देख्दा दुबईमा दुःख, ब्रिटिश कलेजविरुद्ध विद्यार्थीको उजुरी
काठमाडौं । नेपालमा सञ्चालित विदेशी विश्वविद्यालयबाट मान्यताप्राप्त कलेजलाई लिएर बेलाबेला प्रश्न उठ्ने गरेको छ । कहिले महँगो शुल्क लिएको, कहिले नेपाली विद्यार्थीलाई विदेश पठाउन केन्द्रित गरेको त कहिल्यै विद्यार्थीहरूलाई विदेश पठाउने भन्दै ठगेका घटनाहरू बाहिरिने गरेका छन् । हालैमात्र थापाथलीमा रहेको द ब्रिटिश कलेजले विद्यार्थीलाई विदेशमा पढ्न पठाउने भन्दै ठगी गरेको उजुरी शिक्षा मन्त्रालयमा परेको छ । केही दिन अगाडि विद्यार्थी र अभिभावकले कलेजले शैक्षिक ठगी गरेको भन्दै कलेजमै गएर आन्दोलन गरेका थिए । उनीहरूले छोराछोरीलाई युकेको डिग्री दिने नाममा विदेश लिएर सहमतिअनुसारको सुविधा नदिएको आरोप लगाएका छन् । कलेजमा अध्ययनरत एक छात्रा ब्याचलर्स पढ्न २०२३ सालमा कलेजमा भर्ना भइन् । तीन वर्षे स्नातक तहको अध्ययनमा एक वर्ष नेपालमा पढाउने र दुई वर्ष दुबईमा पढाउने कुराले उनलाई ब्रिटिश कलेज मन पर्यो । अभिभावकसँगको सहमतिमा उनी कलेज भर्ना भइन् । एक वर्ष थापाथलीमै अध्ययन गरिन् । कलेजले खानेबस्ने होस्टेलको व्यवस्थासहित दुबईमा राम्रो वातावरणमा दुई वर्ष पढेपछि युके डिग्री पाइने भनेको थियो । सोही सहमतिअनुसार उनी २०२४ सेप्टेम्बरमा दुबई गइन् । यसरी दुबई पढ्न जाने विद्यार्थीमा उनको ब्याच पहिलो थियो । दुबई पढ्न जान पाउँदा उनी खुसी थिइन् । तर जस्तो उत्साह भरेर गएकी थिइन्, दुबई पुग्दा त्यस्तो भएन । त्यहाँ बस्न न कुनै होस्टेल थियो न राम्रो बस्ने ठाउँ नै । बरु विभिन्न देशका विद्यार्थी त्यसमा पनि छात्रा र छात्र एउट भवनमा बस्नुपर्ने बाध्यता थियो । ‘यतिसम्म थियो कि एउटा रुम बाथरुम जति ठूलो पनि थिएन, एउटा बेडमुनि अर्को बेड थियो । सामान राख्ने ठाउँसमेत थिएन,’ विकासन्युजसँगको कुराकानीमा उनले भनिन्, ‘मलाई त्यस्तो ठाउँमा बस्दा सुरक्षित महसुस भएन । पढ्न आएको मान्छेलाई गाईबाख्रा राख्ने गोठजस्तोमा बसेको महसुस हुन थाल्यो । त्यसपछि म नेपाल फर्कें ।’ उनले दुबईको अवस्थाका विषयमा घरमा अभिभावकलाई जानकारी गराएपछि उनीहरूले दुबई कलेजका प्रिन्सिपलसँग इमेलमा गुनासो गरे । एक सातापछि प्रिन्सिपलले उनलाई बोलायो । नेपालमा कलेजसँग भएको सम्झौता र आफूले दुबईमा भोग्नुपरेको बसाइँ फरक भएकाले समाधानका लागि उनले आग्रह गरिन् । जवाफमा प्रिन्सिपलले समस्या समाधान गर्ने बताए । ‘मसँग प्रिन्सिपलसँगको कुराकानी पनि रेकर्ड छ, हामीले समस्या सुनाए पनि समाधानका लागि पहल चालिएन, त्यस्तो अवस्थामा बसेर पढ्न सकिनँ र नेपाल फर्कें,’ उनले भनिन् । उनीसँगसँगै केही विद्यार्थी नेपाल फर्केपनि धेरैजसो विद्यार्थी भने यही अवस्थामा बसेर दुबईमा अध्ययन गरिरहेको उनले बताइन् । पैसा पनि तिरिसकेको र नपढ्दा समयसमेत बर्बाद हुने डरले धेरै विद्यार्थीहरू कुनै प्रतिक्रिया नदिइ बसिरहेको उनी बताउँछिन् । ‘मैले विद्यार्थीलाई गरिने व्यवहार, त्यहाँ बस्नेखानेको अवस्था नभएपछि सबै विद्यार्थीको प्रतिनिधित्व गर्दै आवाज उठाउँछु भनेर नेपाल फर्किएकी हुँ, सबै विद्यार्थीको प्रतिनिधित्व गर्दै न्याय मागिरहेकी छु,’ उनले भनिन् । उनका अनुसार नेपाल आएर न्यायको लागि आवाज उठाउन सहज छैन । भन्छिन्, ‘कलेजले के भन्यो कुन्नि, दुवईका साथीहरू पनि बोल्न मानिरहेका छैनन्, यहाँ साथीहरू पनि बोल्न तयार हुनुहुन्न । विद्यार्थीलाई आफ्नो समय बर्बाद हुने डरले सहर बसेका छन् ।’ ती छात्राका अनुसार धेरै विद्यार्थी पीडित छन् तर बोल्न सकिरहेका छैनन् । उनले आफूलाई सहयोग गर्ने एकजना साथीलाई पनि कलेजले निकालेको बताइन् । साढे ९ लाख कलेजको शुल्क गरी सबै खर्च १६ लाख लागेको उनको भनाइ छ । खानेबस्ने प्रबन्ध गरिदिएको कलेजले दावी गरे पनि आफ्नो खर्च आफै तिर्नुपर्ने अवस्था आएपछि उनी ५ महिनामै नेपाल फर्किएकी हुन् । बिट्रिस कलेजका तीन विद्यार्थीको उजुरी शिक्षा मन्त्रालयका अनुसार तीन जना विद्यार्थीले ब्रिटिश कलेजले ठगी गरेको भन्दै उजुरी दिएका छन् । शिक्षा मन्त्रालय अन्तर्गतको उच्चशिक्षा शाखाका उपसचिव परशुराम तिवारीले दुबईमा पढ्न गएका धेरै विद्यार्थी ठगिएको भन्दै आउने गरेको बताउँछन् । ‘कतिपय विद्यार्थी शैक्षिक कन्सल्टेन्सीले ठग्यो भन्दै उजुरी दिन पुग्छन्, कतिपय विद्यार्थी कलेजले नै ठग्यो भन्दै गुनासो गर्न आउँछन्,’ उनी भन्छन्, ‘केही दिन अगाडिमात्रै पनि ब्रिटिश कलेजका तीन जना विद्यार्थी आफू ठगीमा परेको भन्दै गुनासो लिएर पुग्नुभएको थियो।’ उनले विद्यार्थीको गुनासो अनुसार शिक्षा मन्त्रालय यो विषयमा अनुसन्धान बढाइसकेको बताए। मन्त्रालयले छानविन समिति नै बनाएर यो विषयमा अनुसन्धान गरिरहेकाले दोषी भेटिए कलेजलाई कारवाही गर्ने तिवारीले बताए । उनी उच्च शिक्षा अध्ययनका लागि विदेश जाँदा विद्यार्थी र अभिभावक पनि सचेत हुनुपर्ने सुझाव दिन्छन् । ‘एकातिर पैसाको नास, अर्कोतिर समय पनि नष्ट हुँदा पढ्न जाने विद्यार्थी र पठाउने अभिभावक नै सचेत हुनुपर्ने देखिन्छ,’ तिवारीले भने । शिक्षामन्त्री महावीर पुनले पनि विदेशी कलेजहरूसँग सम्बन्धन लिएर नेपालमा पढाउने केही कलेजहरूले विद्यार्थीलाई ठगी गरिरहेको उजुरीहरू बढ्दै गएको उल्लेख गरेका छन् । यस्ता विद्यार्थी ठग्ने कलेजको विषयमा शिक्षा मन्त्रालयले छानबिन कार्य अगाडि बढाइसकेको उनी बताउँछन् । पुनले विदेश पठाउन अघि वा नेपालकै विदेशी कलेजमा छोराछोरी भर्ना गर्नु अगाडि कलेजबारेमा बुझ्नसमेत आग्रह गरेका छन् । के भन्छ कलेज ? ब्रिटिश कलेजले होटल म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीलाई नेपालसँगै विदेशमा पढ्न पठाउने अवसर दिँदै आएको छ । एक वर्ष नेपालमा र दुई वर्ष दुबईमा पढिसकेपछि फाइनल परीक्षा अस्ट्रेलिया, युके वा नेपालमै जहाँबाट सहज हुन्छ त्यहीबाट दिन पाइन्छ । यसका लागि कलेजले विभिन्न देशमा रहेका कलेजसँग समझदारी गरेको छ । यही कार्यक्रमअन्तर्गत गत सेप्टेम्बर ८ मा २० जना विद्यार्थी दुवई गएका थिए । जसमध्ये केही विद्यार्थी आफ्नो व्यक्तिगत कारण नेपाल फर्केका छन् । यता ब्रिटिश कलेजले भने यो आरोपलाई निराधार भनेको छ । कलेजले विज्ञप्ति जारी गर्दै कलेजमाथि लगाएको आरोप झुटो भएको र कलेजको बदनाम गर्न केही व्यक्ति र समूह सक्रिय भएको बताएको छ । कलेजले विज्ञप्तिमा भनेको छ, ‘हामी शैक्षिक गुणस्तर, विद्यार्थी कल्याण तथा जिम्मेवार संस्थागत आचरणप्रति दृढरूपमा प्रतिबद्ध छौं । साथै अहिले बाहिर आएको गलत हल्ला र सूचनाको पछि नलाग्न पनि सबैलाई अपिल गर्दछौं ।’ ब्रिटिश कलेजका मार्केटिङ प्रमुख अमरदीप मण्डलले केही व्यक्तिले कलेजलाई बदनाम गर्ने काम भइरहेको बताए । ‘हाम्रा बच्चाहरू दुबईमा राम्रो वातावरणमा पढिरहेका छन्, केही विद्यार्थी भाइबहिनीहरू आफ्नो व्यक्तिगत कारणले नेपाल फर्किँदा केही अदृश्य शक्तिले चलाइरहेको महसुस भएको छ,’ विकासन्युजसँग कुरा गर्दै मण्डलले भने । मण्डलका अनुसार दुबईमा असहज भएको भन्दै ८ जना विद्यार्थी केही समयअघि नेपाल फर्केका थिए । नेपाल फर्केका विद्यार्थीका अभिभावकसँग छलफल भएर सहमति भइसकेको उनले जानकारी दिए । बाँकी विद्यार्थीलाई पनि छलफलमा आउन आग्रह गर्दा पनि छलफलमा नआई सामाजिक सञ्जालमार्फत संस्थाको बदनाम गर्ने काम भइरहेको भन्दै मण्डलले आपत्ति जनाए । उनले विषय प्रसंग नबुझी विद्यार्थी संगठनको नाममा आएका विद्यार्थीले कलेजमा तोडफोड प्रयास गरेको भन्दै मण्डलले कलेजले कुनैपनि विद्यार्थीमाथि शैक्षिक ठगी नगरेको दाबी गरे । उनले आफूहरू विद्यार्थीका समस्या र गुनासा सुन्न कलेज तयार रहेकोसमेत दावी गरे ।
अपाङ्गमैत्री छैनन् विश्वविद्यालयका पाठ्यक्रम
काठमाडौं । नेपालका विश्वविद्यालयमा अपाङ्गताका विषय पाठ्यक्रममा अझै समेटिएका छैनन् । हाल सञ्चालनमा रहेका १४ वटा विश्वविद्यालयमध्ये सबैभन्दा धेरै विद्यार्थी रहेको त्रिभुवन विश्वविद्यालय (टीयू) र काठमाडौं विश्वविद्यालयल (केयू) का प्राध्यापकहरू पाठ्यक्रममा अपाङ्गताका विषय समेट्न नसकेको स्वीकार्छन् । उनीहरूका अनुसार पहिलाभन्दा केही कुरा समावेश गरिए पनि जति विषय समावेश गर्न आवश्यक हुन्छ त्यति पाठ्यक्रममा राख्न सकिएको छैन । टीयूको जनस्वास्थ्य केन्द्रीय विभागका प्राध्यापक तथा अनुसन्धानकर्ता प्रोफेसर भगवान अर्यालले आवश्यकता अनुसार विषय पाठ्यक्रममा समावेश गर्न नसकेको बताए । ‘समेट्दै नसमेटिएको होइन, केही कुराहरू कतिपय विषयमा समावेश गरिएका छन्, तर अहिले आवश्यकता जति देखिन्छ, त्यो अनुसारका कुरा समावेश गर्न सकिएको छैन,’ उनी भन्छन् । ‘अपाङ्गताका कुरालाई हरेक पाठ्यक्रममा समावेश गर्नुपर्ने आवश्यकता छ, त्रिविले अपाङ्गता र समावेशीका कुरालाई आवश्यकता आधारमा मात्र केही विषयमा प्रसंगअनुसार समावेश गरेको छ, अब सच्याउनुपर्ने अवस्था देखियो,’ उनले थपे । केयूले केही वर्ष यतादेखि अपाङ्गताका कुरालाई समावेशी शिक्षामा जोड दिइरहेको जनाएको छ ।विश्वविद्यालयको इन्क्लुसिभ एजुकेसन कार्यक्रमका फोकल पर्सन जिलशेन शाह केयूले अपाङ्गताका कुरालाई शिक्षामा समावेश गर्न पाइला चालिरहेको बताउँछन् । ‘अन्य विषयमा अपाङ्गताका विषयलाई समावेश गर्न सकेको छैन, यसमा केयूले मिहिनेत गर्नैपर्छ । तर, केही वर्षयतादेखि इन्कुलभ एजुकेसनमार्फत विभिन्न किसिमका अपाङ्गता भएका व्यक्तिलाई शिक्षा दिने काम हामीले गरिरहेका छौं, ’ उनले भने । केयूको डिपार्टमेन्ट अफ डेभलपमेन्ट एजुकेशन, स्कुल अफ एजुकेशनका प्राध्यापक लीना गुरुङले विश्वविद्यालयमा डिसाविलिटी रिसर्च सेन्टर स्थापना गरिएको र इन्क्लुसिभ एजुकेशन सुरु गरेको बताइन् । उनका अनुसार यी विषयलाई पाठ्यक्रममा समावेश गर्ने प्रयास भइरहेको छ । टीयूको नेपाली विभागका सहप्राध्यापक डा. रजनी ढकालले साहित्यका माध्यमबाट केही अपाङ्गताका कुराहरू आएपनि निकै कम आइरहेको बताइन् । साहित्यका माध्यमबाट यस्ता विषय बुझाउन अझ सहज हुने उनको बुझाइ छ । त्रिविको स्नातकोत्तर तहको पाठ्यक्रम परिमाजर्नको क्रममा रहेकाले यस्ता लेख रचना केही भए उपलब्ध गराउने उनले बताइन् । ‘धेरैजसो विश्वविद्यालयको संरचनाकै कारण पनि तत्काल अपाङ्गता भएका व्यक्तिका कुरालाई समावेश गर्न सकिने अवस्था छैन । त्रिविले निकास खोज्नुपर्ने आवश्यकता छ । अपाङ्गताका विषयहरूलाई अनिवार्य पाठ्यक्रममा राखिनुपर्छ भन्ने छलफल पहिले हुँदैन्थ्यो,’ उनले भनिन् । पाठ्यक्रममा समावेश हुनुमात्र ठूलो कुरा नभइ पहिले सोच बदल्न आवश्यक रहेको प्राध्यापकहरू बताउँछन् । कुनै समय शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिलाई परिवारले बोझ ठान्ने प्रवृत्ति थियो । तर अहिले परिवेश फेरिएको छ । अपाङ्गता भएका व्यक्ति आफै सक्षम हुन थालेका छन् । काठमाडौंकी अन्जना श्रेष्ठले शारीरिक अशक्ततासँगै शिक्षा हासिल गर्न निकै सङ्घर्ष गर्नुपर्यो । सानो कद त्यसैमा बांगिएका खुट्टा उनलाई स्कुलदेखि ब्याचलर्स र मास्टर्स पढ्दासम्म चुनौती भयो । उनी भन्छिन्, ‘मैले विद्यालयदेखि उच्च शिक्षा पढ्दा गर्नुपरेको संघर्षमात्र लेख्ने हो भने पनि किताब नै बन्छ तर म अहिले जहाँ पुगेको छु, जुन माया सम्मान पाएको छु यो सब शिक्षाकै कारण पाएकी हुँ ।’ आफू कलेज जाँदा कसैले घृणापूर्वक हेरेको र कसैले आफ्ना छोराछोरी पनि कलेज पढाउन थालेको उनी बताउँछिन् । श्रेष्ठ अपाङ्गता भएका व्यक्तिलाई हेर्ने नजर बदलिए पनि अझै धेरै सुधारको आवश्यक रहेको बताउँछिन् । साथै उनी विश्वविद्यालयको पाठ्यक्रम अपाङ्गमैत्री नभएको गुनासो पनि गरिन् । उनी पाठ्यक्रममा राखेका विषयवस्तुको पनि सिकाउने तरिका नभएको बताउँछिन् । ‘यदि यही अवस्था अझै रहने हो भने झमक घिमिरेले जसरी पढाइका लागि मिहिनेत गर्नुभयो त्यो संघर्ष अब सबैले गर्न सक्दैनन्, यो दृष्टिले पनि हेरिनुपर्छ, ’ उनी भन्छिन् । अभिभावकको गुनासो अपाङ्गता सन्तान भएका अभिभावकले नेपालका भौतिक संरचना र बाटोघाटो अपाङ्गता भएका बालबालिकाका लागि सुरक्षित अवस्था नरहेको बताएका छन् । ‘एकातिर उहाँहरूका कुरा शिक्षामा समावेश गरिएको छैन, अर्कोतिर भएका संरचनाहरू पनि अपाङ्गमैत्री छैनन्, यस्तो अवस्थामा हामीले छोराछोरीलाई कसरी सुरक्षित राख्ने ? सरकारले अब यो विषयमा ध्यान दिनुपर्छ,’ अभिभावक राजु बस्नेतले भने । उनी यसका लागि शिक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोग र विश्वविद्यालयहरूमा समन्वय हुनुपर्ने बताउँछन् । बस्नेत अपांगता भएका व्यक्तिलाई प्रयोग गरिने शब्दमा समेत खेद प्रकट गर्दछन् । अर्का अभिभावकले अपाङ्गता भएका व्यक्तका विषयमा गरिएका अनुसन्धान तथा लेख रचना सबै अपाङ्गता भएका व्यक्तिले पढ्न सक्नेगरी सार्वजनिक गर्नुपर्ने सल्लाह दिएका छन् । ‘अपाङ्गताका विभिन्न विषयमा अध्ययन अनुसन्धान भएको विभिन्न कार्यक्रममा जाँदा थाहा पाइन्छ । अब ती हाम्रो पहुँचमा आउन सक्ने गरी सार्वजनिक गरिनुपर्छ,’ उनले भने । अर्का अभिभावकले शिक्षाले नै समाजलाई चेतना दिने भएकाले अपाङ्गताको विषय शिक्षामा आउनु अनिवार्य भएको बताउँछन् । अपाङ्गता भएका व्यक्तिको शिक्षाको सुरुवात फरक लिपी र भाषाबाट गर्नुपर्ने आवश्यकता रहेको कतिपयको भनाइ छ । आँखाले देखेर पढ्न सक्नेले भौतिक संरचना राम्रो बनाइदियो भने धेरै कुरा सहज हुन्छ । तर फरक लिपि र भाषा चाहिनेहरूका लागि त्यही अनुसारको व्यवस्था गर्नुपर्ने र अबका अनुसन्धान यतातिर केन्द्रित हुनुपर्ने उनीहरूको बुझाइ छ । केही अभिभावकले स्कुल गएका बालबालिकाको शिक्षा, उनीहरूलाई सपाङ्ग भएका विद्यार्थी र शिक्षकले गरिने व्यवहारको पनि अनुसन्धान हुनुपर्नेमा जोड दिए । फेरिँदै समाजको नजरिया त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र केन्द्रीय विभागमा रिसर्चरको रूपमा काम गरिरहेकी समाजशास्त्री नीति अर्याल पहिलेभन्दा अहिले अपाङ्गता भएका व्यक्तिलाई हेरिने नजर, गरिने व्यवहार फरक हुनुका साथै उनीहरूका समस्या सम्बोधन हुन लागेको बताँछिन् । ‘विगतको समयमा अपाङ्गतालाई हेर्दा साधारण रूपमा शरीरको कुन पार्टले काम गर्दैन भन्ने हिसाबले मात्र हेरिन्थ्यो तर अहिले अपाङ्गता भएका व्यक्तिको हक अधिकारको आन्दोलनसँगै हेर्ने नजरिया धेरै फेरिएको छ,’ उनले भनिन् । अर्यालका अनुसार समाजले अपाङ्गता भएका व्यक्तिको शारीरिक संरचनालाई मात्र हेर्नु समस्या नभई समाजमा रहेको भौतिक पूर्वाधार, कम्युनिकेशन लगायतका विषयमा नहेरिनु समस्या हो । अपाङ्गता भएका व्यक्ति भित्र पनि जातियता, भेगिय, महिला लगायतका विषयमा पनि विभेद अहिले पनि छ । उनले सामाजिक, शारीरिक, इन्ट्यूस्नल पोलिसी र कम्युनकेशन बेरिअर बीचको परिचयले नै अपाङ्गताको अनुभवलाई निर्धारित गरेको बताइन् । ‘सामाजिक र शैक्षिक मोभमेन्टको सम्बन्ध गाढा हुन्छ । शैक्षिक क्षेत्र आफै पनि सामाजिक कार्यक्रमबिना बस्न सक्दैन,’ उनी भन्छिन्, ‘अहिले नेपालका विश्वविद्यालयमा अपाङ्गता भएका व्यक्तिका विषयलाई समेटेर अध्ययन हुन थालेका छन्, तर कतिपय विश्वविद्यालयमा बनिसकेका पाठ्यक्रमलाई पनि नयाँ ढंगले हेर्ने, नयाँ खालको अनुन्धानको क्षेत्र पनि हुन थालेको छ ।’ अर्यालका अनुसार शैक्षिक क्षेत्रभित्र सन् १९८० देखि यस विषयमा छलफल हुन थालेको हो । अपाङ्गता भएका व्यक्तिको लागि डिसाबिलिटी स्टडिज अहिलेपनि विश्वको निकै कम विश्वविद्यालयमा छ । समाजशास्त्र, इतिहास, ल लगायतका विषयमा अपाङ्गता भएका व्यक्तिको अध्ययन तथा अनुसन्धान गर्ने व्यक्ति रहेको पाइन्छ । आजभोलि अपाङ्गता भएका व्यक्ति शिक्षित हुन थालेपछि आफैले पनि अध्ययन तथा अनुसन्धान गर्न थालेका छन् । यसले पनि यो मुद्दा आजको मुख्य बनेको छ । लेख्ने, पढ्ने र बोल्ने भनेको पहिले मेडिकल क्षेत्रबाट मात्र हुन्थ्यो भने अहिले समाजले नै यस्ता व्यक्तिलाइ पढ्ने गरेको छ । नेपालमा सन् १९९० पछि यो क्षेत्रमा अझै खुलेर बहस हुन थालेको हो । यूएनसीआरपीडी आइसकेपछि सहज भएको अर्याल बताउँछिन् । नेपालको इतिहास हेर्ने हो भने पनि च्यारिटी वल फेयर बेस्ट मोडलबाट राइट बेस्ट मोडलतिर गएको छा । बृहत शान्ति सम्भौतापछि अझ यो विषयमा बढी काम भएको अर्यालको भनाइ छ । अहिले कुनै न कुनै हिसाबले पाठ्यक्रममा यस्ता विषय राखिएको पाइन्छ । डिपार्टमेन्ट अफ एजुकेशनबाट सुरु भएपनि अहिले इन्क्लुसिभ एजुकेशनबाट अपाङ्गताका बारेमा जान्ने, बुझ्ने पढाइ हुने भइरहेको छ । अर्यालका अनुसार विश्वव्यापी रूपमा हेर्ने हो भने अपाङ्गता भएका व्यक्तिबाटै यसमा लगानी भएको छ । नेपालमा त्यो पनि अझ हुन सकेको छैन । उनी यसको पछाडि उच्च शिक्षा अध्ययनमा नेपाली अपाङ्गता भएका विद्यार्थीका लागि निकै असहज हुने गरेको बताउँछिन् ।
शारीरिक अपांगताले रोक्न नसकेको जिलेशन साहको शैक्षिक यात्रा
काठमाडौं । हिँडडुल गर्नै चुनौती भएको जीवनमा धेरैका सपना थाकेर रोकिन्छन् । परिवार, समाजबाटै अपहेलित हुनुपर्छ । भाग्यलाई सराप्दै रोइरहेकाहरू अहिले पनि प्रशस्त छन् । तर शारीरिक अपांगताले रोक्न नसकेको एक यात्रा हो जिलेशन साहको । आजभन्दा ५० वर्ष अगाडिको सोच अहिलेको जस्तो थिएन । शारीरिक अपांगतालाई पूर्वजन्मको पापका रूपमा लिइन्थ्यो । समाज र परिवारकै अपहेलना सहेर बस्नुपर्थ्यो तर, शाहका बुवाआमाले कहिल्यै पापको रूपमा हेरेनन् । बरु भगवानको उपहार भनेर स्वीकारे । ‘बुवाको मप्रतिको लगाव, आमाको प्रेरणाले मलाई यो अवस्थामा पुर्याएको हो, अहिले जहाँ म पुगेको छु, जुन अवस्थामा छु, आमाबुवाकै देन हो,’ साहले भने । जिलेशन अहिले काठमाडौं विश्वविद्यालयको इन्क्लुसिभ एजुकेसन अफ डिपार्टमेन्टमा लेख्चररका रूपमा कार्यरत छन् । २५ वर्ष नेपालका विभिन्न विद्यालय तथा कलेजमा अध्यापन गराउँदै आएका उनी शिक्षाले नै विभेद, हिंसा रोक्न सिकाउने बताउँछन् । ‘यदि मैले शिक्षा प्राप्त गरेको थिइनँ भने म कहिल्यै तपाईंसँग भेट्ने अवसर पाउने थिइनँ, समावेशी शिक्षाको आवाज उठाउन सक्ने हैसियतमा हुँदैन थिएँ । अहिले जुन ठाउँ पुगेको छु, जुन सम्मान पाएको छु, शिक्षाले नै पाएको हुँ, मानवको जीवनमा शिक्षा अनिवार्य छु,’ उनले भने । जिलेशनले शारीरिक, मानसिक, सामाजिक वा आर्थिक हिसाबले पछाडि परेका व्यक्ति वा विभिन्न कारण पढ्न नपाएका व्यक्तिहरूलाई शिक्षा दिइरहेका छन् । कतिपय विद्यार्थी विश्वविद्यालयमै अध्ययनका लागि पुग्छन् भने अनलाइनमार्फत देशभरका शिक्षकहरूलाई सिकाउने काम उनले गर्छन् । २५ वर्षसम्म विभिन्न स्कुल तथा कलेज हुँदै विश्वविद्यालयसम्म अध्यापन गराउनु सहज थिएन । उनी जहाँ पुगे आफ्नै क्षमताले पुगेको दाबी गर्छन् । २५ वर्षको शिक्षण यात्रा आफ्नाहरू पराइ हुने सहर हो काठमाडौं । धनसम्पत्ति हुँदा नचिनेकाहरू पछाडि लाग्ने, केही नहुँदा आफन्तहरू पराइ हुने यो सहरमा साहका लागि चुनौती निकै थिए । शक्त व्यक्तिलाई समेत असहज हुने भीडमा शारीरिक रूपमा अपांगता भएका व्यक्तिलाई थप चुनौती थियो । हातमा बैशाखीको सहारामा साहले आफूलाई यसरी कुदाएकी जसरी भक्तपुर ठिमीदेखि रत्नपार्क कुद्ने माइक्रो गुड्थ्यो । बिहान कलेज, दिउँसो विद्यालय, साँझ अर्को काम यतिसम्मकि एकै दिन तीन चारवटा शैक्षिक संस्थामा उनी विद्यार्थीलाई अध्यापन गराउँथे । कलेज विद्यालयको संख्या गन्ने हो भने करिब दुई दर्जन हाराहारीको शैक्षिक संस्थामा उनले विद्यार्थी पढाएका छन् । जिलेशन साह ‘शैक्षिक संरचना उस्तै, विद्यार्थी पढाउन, तेस्रो, चौथो तलासम्म पुग्नुपर्थ्यो । एक ठाउँ काम सकिनेबित्तिकै अर्को कलेज पुग्नुपर्थ्यो । दिनमा यति दौडधूप हुन्थ्यो कि कहिलेकाँही त दिनभरि थाकेर साँझ सारै गलिन्थ्यो,’ विकासन्युजसँग साहले आफ्नो दौडधूपबारे सुनाए । थकित शरीरसँग पैंठेजोरी गर्दै परिवारको सहयोग र आफ्नो आँटले समावेशी शिक्षाको जानकार भएका व्यक्ति हुन् साह । पोलियोले अशक्त बनाएको शरीर सामान्य परिवार । जेठो छोरी पछिको दोस्रो सन्तानका रूपमा जन्मेका साह । छोरा जन्मँदा आमाबुवा कम्ती खुसी थिएनन् । छोरा जन्मँदा उत्सव मनाउने समाजमा छोरीपछिको छोरा हुँदा खुसी नहुने कुरै भएन । सर्लाहीको बागमती नगरपालिकामा जन्मेका उनी सात वर्षसम्म शारीरिक रूपमा स्वस्थ थिए । त्यसपछि उनी अशक्त भए– कारण थियो पोलियो । साहलाई पोलियो भएको थियो । त्यो बेला अहिलेको जस्तो स्वास्थ्य सुविधा थिएन । बिरामी भएर थला पर्दामात्र अस्पताल जाने अवस्था थियो । सुरुमा के भएको थियो थाहा भएन, उनका बुवाले धामीझाँक्री सबै लगाए तर निको भएन । अस्पताल पनि पुर्याए त्यहाँ उपचार गरियो तर निको भएन । जिलेशन पोलियोको नाममा भएको गलत उपचारले आफूलाई शारीरिक अपांगता बनाएको बताउँछन् । विभिन्न अस्पताल, धामीझाँक्री गर्दा पनि कतै निको नहुँदा उनका बुवाले उपचारको लागि भारत लगे । भारतमा पनि उनलाई निको भएन । त्यसपछि उनका बुवाले एउटा प्रणय गरे– अब छोरालाई जसरी हुन्छ पढाउँछु । ‘वुवालाई कसैले भने– छोराको खुट्टा निको हुँदैन, बरु उसको भविष्य राम्रो चाहने हो भने उसलाई सक्दो शिक्षा दिनुपर्छ,’ उनी भन्छन्, ‘अस्पतालमा चिकित्सकले पनि भन्नुभयो सायद अन्य व्यक्तिले पनि यसै भन्नुभयो अनि बुवाले अठोट गर्नुभयो– जस्तोसुकै अवस्था आओस् छोरालाई पढाउँछु, बुवाको यही हिम्मतले आज म म भएको हुँ ।’ साह आफ्नो कारण बाले धेरै दुःख पाएको बताउँछन् । विभिन्न अस्पताल धाउँदा त्यो बेलाको करिब ९० बिघा जग्गा किन्ने पैसा उपचारमा खर्च गरेको उनको भनाइ छ । मेरो बाले कहिलेकाहीँ भन्नुहुन्छ, ‘तेरो उपचारमा मैले ८० देखि ९० बिघा जग्गा किन्ने पैसा खर्च गरें ।’ त्यो बेला पाँच सय रुपैयाँमा एक बिघा जमिन आउँथ्यो । घरमै शिक्षक साहका बुवा पढेलेखेका थिएनन् । तर कखरा बुवाले घरमै सिकाए । केही समयसम्म घरमै शिक्षक बोलाइयो । कक्षा तीनसम्म सर्लाहीमै पढेका उनको परिवार रौतहटमा सर्यो । रौतहटमा पनि विद्यालय नजिक थिएन । घरबाट तीन÷चार किलोमिटरसम्म हिँडेर जानुपर्थ्यो । अहिलेको जस्तो राम्रा बाटो थिएन । ‘हिलैहिलोमा घ्रिसिएर पुग्दा शरीरका कपडा समेत भिजेका हुन्थे, म आफै गन्हाएको हुन्थेँ,’ ती दिन सम्झँदै साह भन्छन्, ‘हिलोले म गन्हाए वा म गन्हाउन बाध्य भएँ, धेरै साथीहरूले नाक छोप्नुपर्ने अवस्था आउँथ्यो, शिक्षकलाई उस्तै घिन लाग्थ्यो होला ।’ साहकी दिदी पनि उनीसँगै स्कुल जान्थिन् । पानी पर्दा गाह्रो हुँदा बोकेर लैजान्थिन् । दिदीसँगै स्कुल जाँदा खेतका आलीमा लडेको याद उनलाई ताजै छ । कहिले उनी हिँड्दै गरेको देख्दा बाटोमा हिँड्ने गाडीले सहयोग गर्थे । कक्षा ८ सम्म पढ्दा निकै दुःख पाएका साहले त्यसपछि बैशाखीको सहारा लिन थाले । साहले कक्षा १० सम्म पढ्न ८ विद्यालय जानुपर्यो । धेरै पटक विद्यालय नै टाढा हुँदा परिवारले नै बसाइँ सर्नुपर्यो । उनकै शिक्षाका लागि खेती किसान गर्दै आएका बुवाले काम छोडेर कुटानीपिसानीका लागि मिल सञ्चालन गर्नुपर्यो । समाजले गर्ने व्यवहार, साथीसँगीले गर्ने खिसिट्युरी कति हो कति । ती दिन उनलाई अहिले सम्झिन मन पर्दैन तर, खेतका आलीआलीमा बसेर किताबहरू पढेको, आँपको छहारीमा बसेर अंग्रेजी सिकेको, गणीतका हिसाब मिलाएको साहलाई खुब याद आउँछ । विभिन्न आरोह–अवरोह पार गर्दै उनले रौतहटको सन्तपुर माविबाट २०४८ सालमा एसएलसी पास गरे । अंग्रेजीमा पास हुने एक्लै विद्यार्थी जिलेशन पढाइमा अब्बल थिए । तीक्ष्ण दिमागका उनी शिक्षकले एक पटक भनेको टपक्कै टिप्थे । अंग्रेजी विषयमा पनि उनी अब्बल थिए । २०४८ सालमा रौतहटमा १८ स्कुलका ९ सय १४ जना विद्यार्थीले परीक्षा दिएकोमा अंग्रेजी विषयमा पास हुने उनी एक्लो विद्यार्थी थिए । अन्य विषयमा पास भएर अंग्रेजी विषय लागेर सबै विद्यार्थी पास हुँदा साहलाई एक विषय पनि लागेन । यो नतिजाले आफूले आफैलाई हेर्ने नजर अझ बलियो भयो । ९ सय १८ जना विद्यार्थीमा एक्लो पास हुँदा उनलाई अंग्रेजी विषयलाई रोज्ने निर्णयमा पुगे । ‘जुन विषयले मलाई मात्र एक विद्यार्थी पास भयो भन्ने बनायो, मलाई चिनायो, त्यो विषयलाई छोड्न मन लागेन, बरु अब यही विषयमा मिहिनेत गरेर यही विषय रोज्छु भन्ने चाहना त्यही दिनबाट सुरु भएको थियो,’ उनले भने । एसएलसीपछि काठमाडौंमा साहले एसएलसी पास गरिसकेपछि दिदीभाइ नै पढाइका लागि काठमाडौं आए । काठमाडौं झन् सोचेभन्दा फरक थियो । सामान्य मान्छेलाई बाँच्नै गाह्रो हुने यो सहरमा जति पस्न सजिलो छ, त्यति बस्न सजिलो छैन । दिदीभाइ काठमाडौंमा डेरा लिएर बसे । साहले पाटन क्याम्पस रोजे जहाँ आईएमा अंग्रेजी, राजनीतिकशास्त्र र अर्थशास्त्र तीन विषय लिएर पढे । आईए पास भएपछि बीएमा दुई विषयमात्र छान्न पाइन्थ्यो । आईए बीए हुँदै २०५४ सालमा अंग्रेजीमा मास्टर्स गरे । पढ्दै काम गर्दै साहलाई पढ्नुमात्र थिएन, अब आफै पढ्दै काम गर्नु थियो । उनले पढ्दै गर्दा किसुनजीको सहयोगमा खेतान ग्रुपमा काम गर्ने अवसर पाए । त्यसपछि उनी शिक्षण पेशामा आवद्ध भए । ‘शिक्षा नै यस्तो क्षेत्र हो जहाँबाट युवापुस्तालाई चेतना जगाउन सकिन्छ , त्यसैले पनि म शिक्षण पेशामा आएको हुँ । किसुनजीले भनेर जागिर लगाइदिएको हो,’ उनले विगत सम्झिँदै भने । मास्टर्स गरिसकेपछि उनी शिक्षण पेशामा आवद्ध भए । सबैभन्दा पहिले उनले शिक्षण पेशा सुरु गरेको शिक्षण संस्था हो– ग्यालेक्सी पब्लिक स्कुल । साहको स्कुलमा पढाउने तरिका पनि अरूको भन्दा बेग्लै थियो । सबै शिक्षकले विद्यार्थीले राम्रो नतिजा नल्याउँदा विद्यार्थीलाई मात्र भन्थे भने उनी अभिभावक नै बोलाउँथे । ‘विद्यार्थी साना बच्चा हुन्छन्, उनीहरूलाई विद्यालयमा शिक्षकजस्तै घरमा अभिभावकले पनि गाइड गर्नुपर्छ । उनीहरू पढ्न बस्दा हेरिदिने, बेलाबेला कपी चेक गर्ने गर्दा बच्चाले राम्रो गर्नसक्छन् तर अभिभावकले नै वेवास्ता गर्यो भने बच्चाको शिक्षा राम्रो हुँदैन,’ उनले भने । साहको पढाउने तरिका स्कुल सञ्चालक गीता राणालाई मन पर्यो । उनले एक शिक्षकबाट पछि इञ्चार्जसम्म बनाइन् । त्यसपछि उनी सेन्ट लरेन्स कलेजमा अंग्रेजी पढाउन थाले । साहले १२ भन्दा बढी कलेजमा पढाए । साहलाई सबैभन्दा रमाइलो लाग्ने भनेकै पढ्न हो । उनले तीनवटा विषयमा स्नातकोत्तर गरेका छन् । उनले अंग्रेज, समाजशास्त्र र समावेशी शिक्षामा स्नातकोत्तर गरेका हुन् । हाल उनी पीएचडी गर्ने तयारीमा छन् । सञ्चालक बन्न खोज्दा पैसा डुब्यो हर व्यक्तिले आफ्नो क्षेत्रमा काम गर्दै जाँदा आफ्नै काम गर्ने रहर हुन्छ । शिक्षण पेशामा लाग्दै गर्दा एकदिन आफै सञ्चालक हुन पाइने अवसर साहलाई आयो । उनले यो प्रस्तावलाई नकार्न सकेनन् । नाशामा पढाउने एक जना शिक्षक सुजित सिंह कोर्डिनेटर थिए । उनको योजनामा उनी लगायत ३८ जनाले गुरुकुल नेशनल फाउण्डेशनमा लगानी गरे । गुरुकुल नेशनल फाउण्डेशन राम्रो कलेज थियो । सुजितले निकालेको प्याकेज पनि एकदम राम्रो प्रभावशाली र अचम्म लाग्दो थियो । त्यो योजनाले साहलाई पनि प्रभावित तुल्यायो । उनले सहमति पनि जनाए तर कलेज चल्न सकेन । प्रतिव्यक्ति करिब २८ लाख लगानी गरेको सबैको रकम डुब्यो । कलेज पनि बन्द भयो । लगानी डुबेपछि साहलाई तनाव भयो । ‘बिहानदेखि साँझसम्म विद्यार्थी पढाएर कमाएको पैसा डुबेपछि यस्तोसम्मको अवस्था आयो कि ऋण निकालेर केही महिना गुजरा चलाउनुपर्ने अवस्था आयो । झण्डैझण्डै सडकमै आइसकेको थिएँ, अरूको लहलहैमा लाग्दा डुबेको पैसा अहिले पनि पाउन सकेको छैन,’ साहले भने । संस्था २०६६ सालदेखि २०७१ सालसम्ममात्र चल्यो अनि त्यसपछि बन्द भयो । सानैबाट शिक्षक बन्ने रुचि शिक्षाले व्यक्तिलाई मात्र नभई, समाज र देशलाई नै शिक्षित बनाउँछ । साहलाई शिक्षाबाट समाजलाई सचेत गर्नु थियो । एकमात्र नभइ हजार विद्यार्थीलाई आफूले जानेको सिकेको कुरा सिकाउन पाउने एउटामात्र अवसर हो शिक्षण पेशा । विद्यार्थी बेला पनि आफूले जानेको कुरा उनी अरू साथीहरूलाई सिकाउँथे । उनलाई आफूले जानेको कुरा अरूलाई सिकाउँदा सन्तुष्टि हुन्थ्यो । ‘खेतका आलीमा बसेर स्कुलका किताबसँगै अन्य कम्युनिष्टका किताबहरू पनि पढिन्थ्यो । त्यो बेला पढ्ने माहोल निकै थियो,’ उनी भन्छन्, ‘अहिलेको जस्तो फोन थिएन, रमाइलो गर्ने एउटै काम थियो पढ्ने, पढेरै रमाइलो लिइन्थ्यो । यस्तो पढाइले बाह्य शिक्षा लिन सहज भयो ।’ उपत्यकाका प्रत्येक स्कुल कलेज पढाउँदै गर्दा साह काठमाडौं विश्वविद्यालयमा जोडिने अवसर पाए । अहिले काठमाडौं युनीभर्सिटीको इन्क्लुसिभ एजुकेशन डिपार्टमेन्टको लेख्चररका रुपमा कार्यरत छन् । जहाँ उनले सबै किसिमका विद्यार्थीलाई विशेष आवश्यक्ता भएका अपांगता भएका, सिकाइमा कठिन भएका भाषा, सांस्कृतिक रूपमा फरक पृष्ठभूमिका वा सामाजिक रूपमा पछाडि परेकाहरूलाई शिक्षा दिइरहेका छन् । अनलाइन माध्यमबाट सरकार विद्यालयका शिक्षकहरूलाई कसरी पढाउने, विद्यालय नपुगेका विद्यार्थीलाई कसरी पढाउने भन्ने विषयमा साह प्रशिक्षण गर्छन् । उनी मास्टर अफ स्कुल ट्रान्सफर्मेसन विषय पढाउँछन् । त्यो पढ्न आउने सबै शिक्षक छन् । उनी भन्छन्, ‘म दूरदराजको कुनै स्कुलमा भएको भएर त्यसको प्रभाव थोरै हुन्थ्यो होला तर अहिले म जहाँ छु– मैले नेपालका ग्रामीणस्तरदेखि सहर बजारका शिक्षकहरूलाई सिकाउने अवसर पाइरहेको छु निकै खुसी छु ।’ साहलाई सरकारी शैक्षिक संस्थामा काम गर्न मन थियो । गाउँमै गएर पनि शिक्षा दिन इच्छा थियो । तराईको पनि भित्री मधेसमा गएर पढाउन रहर थियो । परिवारलाई उनको स्वास्थ्यको चिन्ता थियो । उनलाई अझै पनि गाउँमै गएर पढाउन मन छ । जिलेशनले देखेको नेपालको शिक्षा जिलेशनका अनुसार नीतिगत रूपमा नेपालको शिक्षा एकदम राम्रो छ तर, कार्यान्वयन हुन सकेको छैन । गुणस्तरीय शिक्षा सबैलाई अनिवार्य गराइने भनिए पनि शारीरिक रूपमा अपांगता भएका व्यक्तिलाई भने अहिले पनि शिक्षा पाउन समस्या छ । विभिन्न विकासे रिपोर्टदेखि सरकारी रिपोर्टमा शिक्षाको विषयमा राम्रो लेखिएपनि व्यवहारमा लागू भने अझै हुन सकेको छैन । मधेसका कयौ विद्यालयमा विद्यार्थी टन्न छन् तर शिक्षक छैनन् कतै शिक्षक छन् विद्यार्थी छैनन् । कुनैपनि कार्यालयका भौतिक संरचना अपाङ्गतामैत्री नभएकाले अपांगता भएका व्यक्तिहरूका लागि निकै कष्टकर छ । काठमाडौं विश्वविद्यालयमा पनि राम्रो सुविधा छैन । तर यसका लागि भुइँतलामै पढाउने व्यवस्था गरिरहेको छ । स्कुल पढ्दाकै साथी अहिले श्रीमती जिलेशनले सिल्की कपाल भएको, पंहेलो कुर्ता सलवार लगाइराख्ने, सररर साइकलमा हिँड्ने एउटी केटी सधैं देखिरहन्थे । सधैं देखिरहने ती केटीलाई उनले कहिल्यै श्रीमतीको रूपमा भने हेरेका थिएनन् तर साइकलमा चढेर स्कुल आउँदै गरेको जाँदै गरेको उनलाई याद हुन्थ्यो । ती साइकलवाली केटीले भने जिलेशनलाई मन पराउँदिरहेछिन् । सधैं देखादेख भएपनि त्यतिसारो बोलचाल हुँदैन्थ्यो । साह काठमाडाैं आइसकेपछि एकदिन एक्कासि बानेश्वरमा गाडी चढ्ने बेला ती युवतीसँग भेट भयो । त्यो बेला उनी पाटन ढोका नजिकै लुगा पसल सञ्चालन गरेर बसिरहेकी थिइन् । त्यसपछि दुवैबीच बोलचाल हुँदै गयो । बीए दोस्रो वर्षमा अध्ययन गर्ने बेलामा जिलेशनले ती युवतीसँग बिहे गरे । उनीहरूका छोराछोरी विदेशमा अध्ययन गरिरहेका छन् भने बुहारी नेपालमै अध्ययन गरिरहेकी छिन् । साह श्रीमतीको साथले नै आफू यहाँसम्म आइपुगेको बताउँछन् ।
आन्दोलनपछि थप संकटमा शिक्षा क्षेत्र, जेनजीकै प्राथमिकतामा परेन
काठमाडौं । ‘आजभोलि विद्यार्थीलाई ठूलो स्वर गरी बोल्न नै नहुने, गृहकार्य किन नगरेको, किन विद्यालय नआएको ? भन्दा खाउँला जस्तै घुरिएर हेर्छन्, हेर्नेमात्र होइन, म जेनजी हो, गर्न पनि सक्छु, नगर्न पनि सक्छु ।’ ‘अहिले विद्यार्थी किन हो डराइरहेको महसुस गर्छन्, ठूलो स्वरमा बोल्दा होस् वा कोही मान्छे जम्मा हुँदा होस् उनीहरू आत्तिन्छन्, विद्यार्थीमात्रै होइन कतिपय शिक्षकहरूमा पनि यस्तै त्रास पैदा भएको छ ।’ ‘पहिले डर मानेरै पढाइमा ध्यान दिने विद्यार्थी अहिले म नै हो भन्ने अहंमता देखाउँछन् ।’ आजभोलि प्रायः शिक्षकहरूबाट सुनिने गुनासा यस्तै खालका छन् । भदौमा भएको जेनजी आन्दोलनपछि नेपालको शिक्षा क्षेत्रमा आएको परिवर्तन यही हो । सामाजिक सञ्जाल नै हेर्ने हो भने युवाहरूले जेनजी हौं भन्दै विभिन्न कार्यालयमा सिधै गएर हप्काइदप्काइ गरेको, विद्यालयमा शिक्षकलाई थर्काएका भिडियोहरू देख्न सकिन्छ । यस्ता गतिविधिले शिक्षा क्षेत्रमा नकारात्मक असर परिरहेको छ । नेपालमा बेथिति र भ्रष्टाचार बढ्दै गएको असन्तुष्टिले जन्मेको थियो जेनजी आन्दोलन । गत भदौ २३ र २४ गते भएको आन्दोलनले ठूलो जनधनको क्षति भयो । आन्दोलनमा सरकारले चलाएको गोलीबाट विद्यार्थीहरू विद्यालय पोसाकमै प्राण त्यागे । कतिपय विद्यार्थीहरू अहिले पनि दिनहुँ अस्पताल धाइरहेका छन् । आन्दोलनको उद्देश्य सही भए पनि शिक्षा क्षेत्रमा यसले ठूलो प्रभाव पारेको शिक्षा क्षेत्रका जानकारहरू बताउँछन् । जेनजी आन्दोलनले शिक्षा क्षेत्रलाई अझै पछाडि धकेलेको र अझै नेपाली विद्यार्थी विदेश पलायन हुने डर बढेको विज्ञहरूको भनाइ छ । आन्दोलनमा धेरै शैक्षिक संस्थामा समेत आगजनी भयो । कतिपय शैक्षिक संस्था अहिले पनि अनलाइनमार्फत शिक्षा दिन बाध्य छन् भने कतिपय शैक्षिक संस्थाले भवन भाडामा लिएर सञ्चालन गरिरहेका छन् । जेनजी आन्दोलनमा पूर्णरूपमा ध्वस्त भएको युलेन्सले भवन भाडामा लिएर विद्यार्थीलाई शिक्षा दिइरहेको छ । बाँसबारीमा रहेको युलेन्सले आफ्नै जलेको भवन पुनःनिर्माण गरी विद्यार्थीलाई भौतिक रूपमा शिक्षा दिइरहेको छ भने खुमलटारमा रहेको युलेन्सले घरभाडामा लिएर शिक्षा दिइरहेको छ । यद्यपि मन्टेश्वरीका बालबालिकालाई घरमै राख्न अभिभावकसँग अनुरोध गरिएको छ । बस जल्दा विद्यार्थीसमेत विद्यालय पुग्न समस्या भएको छ । जोरपाटीमा रहेको नामी कलेजको पनि यस्तै अवस्था छ । यो आन्दोलनले शिक्षा क्षेत्रलाई अस्तव्यस्त पार्नु निकै दुःखद रहेको प्याब्सनका पूर्वअध्यक्ष डीके ढुंगाना बताउँछन् । ‘विद्यालयलाई शान्ति क्षेत्र हो भनिन्छन्, तर यहाँ हरेक आन्दोलनको मारमा सबैभन्दा पहिले विद्यार्थी, शिक्षक र विद्यालय पर्छन्,’ उनी भन्छन्, ‘विद्यालय क्षेत्रमा ठूलो मिहिनेत गरेर नेपाली विद्यार्थी नेपालमै रोक्ने कोसिस गरेका छौंं, यस्ता आन्दोलनले कतै फेरि विद्यार्थी बाहिर जाने त होइनन् भन्ने पीर परेको छ ।’ शिक्षा जेनजीको प्राथमिकतामा नै परेन शिक्षाविद डा. विष्णु कार्की जेनजी आन्दोलनले शिक्षा क्षेत्रलाई प्राथमिकतामा नराखेको बताउँछन् । ‘जेनजीले आन्दोलन गरे, सरकार परिवर्तन गरे,’ उनी भन्छन्, ‘नयाँ सरकारपछि पटकपटक प्रधानमन्त्री तथा मन्त्रीहरू भेटेको देखिन्छ, तर शिक्षाको सवाल लिएर शिक्षामन्त्रीलाई भेटेको देखिँदैन ।’ कार्की आफैले माग राखेर गरेको आन्दोलनका विषयमा आफैले कुरा नउठाउनु दुःखद रहेको बताउँछन् । अहिले जेनजीले शिक्षा क्षेत्रमा राम्रो काम गर्न सक्ने अवसर रहेको बताउँदै यो विषय प्राथमिकतामा पर्नुपर्ने उनको भनाइ छ । ‘पटकपटक शिक्षकहरू सडकमा जान्छन्, अब जेनजीले त्यो समस्या समाधानका लागि पनि शिक्षामन्त्रीलाई भेट्नुपर्छ,’ कार्की भन्छन्,‘ जेनजीले शिक्षामन्त्रीसँग हातेमालो गर्दै गर्न सकिने सुधारका विषयमा काम गर्न सक्ने यो सुन्दर अवसर हो ।’ ‘नेपालमा समस्या हरेक क्षेत्रमा छन् तर सबैभन्दा धेरै समस्या शिक्षा क्षेत्रमा छ । नेपालका शिक्षालयमा विद्यार्थीको आकर्षण नभइरहेको, आवश्यकता अनुसार शिक्षक नभएको लगायतका विभिन्न समस्या शिक्षा क्षेत्रमा छन् । जेनजीहरूले यी विषयलाई उठाएर काम गर्नुपर्छ,’ कार्कीले जेनजीलाई सुझाव दिए । बुढानीलकण्ठका आभास कार्की अहिले तीनकुनेमा रहेको आईएसएमटी कलेजमा बीएचएम तेस्रो वर्षमा अध्ययन गर्दैछन् । उनी पढाइ सकिएपछि विदेश जाने सोंचमा छन् । उनी भन्छन्, ‘अहिले पढ्दैछु, नेपालका होटेल रेस्टुरेन्टमा काम पनि खोजिरहेको छु । पाइयो भने केही समय यतै गर्छु, अन्तिममा जाने भनेको विदेशमै त होला नि ।’ अभास नेपालमा पढ्ने र काम गर्ने दुवै माहोल नदेखेको बताउँछन् । ‘कहिले विद्यालयमै आगो लाग्छ, कहिले विद्यार्थीमाथि गोली चल्छ, यस्तो अवस्थामा यहाँ कसरी बस्न सकिन्छ ?,’ उनले भने । सोही कलेजमा अध्ययनरत अर्का विद्यार्थी स्नेहा डंगोल विद्यार्थीका लागि नेपालमा राम्रो अवसर नभएको बताउँछिन् । उनी पनि नेपालमा राम्रो अवसर नपाए विकल्प विदेश नै हुने बताउँछिन् । नेपालकै बैंकिङ क्षेत्रमा काम गर्ने रुचि राखेकी उनले सके नेपालमै प्रयास गर्ने र नसके विदेश जाने योजना सुनाउँछिन् । विदेश जाने विद्यार्थीको संख्या अझै बढ्नसक्ने जेनजी आन्दोलनपछि विदेश जाने विद्यार्थीको संख्या अझै बढ्न सक्ने विज्ञहरू बताउँछन् । नेपालको शिक्षा क्षेत्र लामो समयदेखि राजनीतिक अस्थिरता, नीतिगत अनिश्चतता, भ्रष्टाचारबाट जेलिएको छ । जेनजी आन्दोलनपछि देखिएको शून्यता र अस्थिरताले शिक्षा क्षेत्रमा थप संकट थपिएको छ । जेनजी आन्दोलनमा सहभागी धेरै युवा अहिले विदेश गइसकेका छन् । शिक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाले दिनहुँ विदेश जाने विद्यार्थीको संख्या बढ्दै गएको बताएको छ । आजभोलि विदेश अध्ययन गर्न चाहिने नो अब्जेक्सन लेटर (एनओसी) लिने विद्यार्थीको संख्या बढ्दै गएको जनाएको छ । अनुमति शाखाका अनुसार अहिले प्रत्येक दिन ३ सय ५० देखि चार सय विद्यार्थी एनोओसी लिन पुग्ने गर्छन् । जेनजी आन्दोलन पछि बढेको अन्यौलताले नेपाली विद्यार्थीहरू विदेश जानेक्रम अझ बढ्न थालेको छ । अन्तिम अवस्थामा आएको ऐन रोकियो, शिक्षा क्षेत्रमा ऐन नहुँदा धेरै कुराहरू रोकिएका छन् । शिक्षा क्षेत्रको अधिकार स्थानीय तह, प्रदेश र संघ कसले राख्ने भन्ने स्पष्ट छैन । जवसम्म ऐन पारित हुँदैन तबसम्म तीन तहबीचको अधिकारको अस्पष्ट हुन्छ । जसले शिक्षा सञ्चालन र समन्यवमा कानुनी खाल्डो सिर्जना गरेको छ । नेपालको संविधानले शिक्षा स्थानीयतहलाई दिएको भएपनि व्यवहारिक रूपमा लागू हुन सकेको छैन । शिक्षकहरू स्थानी तहअन्तर्गत नरहने भन्दै पटकपटक आन्दोलन गरिरहेका छन् । शिक्षा ऐन नहुँदा शिक्षा प्रशासन व्यवस्थापनले स्पष्टता गुमाएको छ भने शिक्षक अधिकार र करियर संरचना अस्पष्ट बनेको छ । यस्तै, शिक्षा गुणस्तर र समान पहुँचमा असमानता फैलिएको, आधुनिक शिक्षा योजनाहरूमा ढिलाइ भएको र अन्य नीतिगत सुधारमा ढिलाइ भएका छन् । ५४ वर्ष अगाडि बनेको शिक्षा ऐन, २०२८ ले नेपालको शिक्षा क्षेत्रमा काम गर्दा गुणस्तर नभएको प्रसंग धेरै पहिलेदेखि उठ्दै आएको हो । २०७४ सालपछि नयाँ शिक्षा ऐनका विषयमा छलफल भए पनि अहिलेसम्म ऐन बन्न सकेको छैन । निकै दौडधूपपछि गत भदौमा पारित हुन लागेको थियो । एक्कासि भएकोे राजनीतिक घटनाक्रमले सरकार परिवर्तन भएसँगै अहिले ऐन स्वतः निष्कृय बनेको छ । अब तत्काल ऐन पारित हुने सम्भवना देखिँदैन। शिक्षाविद् डा. विष्णु कार्की ऐन आउन अझै समय लाग्दा शिक्षा क्षेत्रमा थप अन्यौलता थपिएको बताउँछन् । ‘सबै निकाय, व्यक्तिसँग छलफल गरेर ऐन आउनै लाग्दा भएको आन्दोलनले ऐन नै आउन सकेन, अब निर्वाचन हुन्छ, नयाँ व्यक्ति आउँछन्, यसोउसो गर्दा ६–७ महिना लाग्छ, यो भनेको शिक्षा क्षेत्रमा परेको असर नै हो,’ उनले भने । शिक्षाका जानकार जिलसेन शाह जेनजी आन्दोलनले शिक्षा क्षेत्रमा सकारात्मकसँगै नकारात्मक दुवै असर पारेको बताउँछन् । सकारात्मक पक्षमा पहिले विद्यार्थी केही जान्दैनन्, बुझ्दैनन् भन्ने भ्रम अहिले हटेको उनको भनाइ छ । ‘पहिले विद्यार्थीलाई जसरी पढाए पनि हुन्छ भन्ने सोंच शिक्षकमा हुन्थ्यो भने अहिले परिर्वतन आएको छ । शिक्षकमा पनि अब मिहिनेत गर्नुपर्छ भन्ने त्रास बढेको छ, जुन कुरा सकारात्मक हो । यो आन्दोलनपछि शिक्षकहरू विद्यार्थीको कुरा सुन्ने, उनीहरूले भनेको मान्ने, आफूपनि तयारी गर्ने गरेको पाइन्छ,’ उनले भने । विद्यार्थीहरू हामी जेनजी हौं भन्दै गृहकार्य पनि गर्न नखोज्ने, हरेक क्रियाकलपामा हामी जेनजी हौं भन्दै अटेरी गर्ने प्रवृत्ति बढ्नु नकारात्मक पक्ष रहेको बताउँछन् शाह । डीके ढुंगाना जेनजी आन्दोलन पछि विद्यार्थी र शिक्षकहरूको मनोविज्ञानमा ठूलो प्रभाव परेको बताउँछन् । ‘के हुन्छ कसो हुन्छ भन्ने भन्ने दुविधा अझै रहेको छ । दुई दिनमा भएको आन्दोलनमा ठूलो जनधनको क्षति भयो,’ उनी भन्छन्, ‘आकस्मिक रुपमा भएको आन्दोलने कसैले साथी त कसैले आफन्त गुमाउँदा ठूलो मानसिक असर परेको छ ।’ शिक्षा क्षेत्रमा काम गर्नेहरूको दैनिकी भने हिजो र आजमा केही नफेरिएको उनको भनाइ छ। ‘हाम्रो फेरिएको मनोविज्ञान हो, फेरिएको मानसिकता हो, कतिपय ठाउँमा राम्रो काम गरिरहेकाहरू पनि प्रताडित भए,’ उनी भन्छन्, ‘जेनजीको नाममा कतिपय अराजक व्यक्तिले अपराधिक काम पनि गरे । यसले भोलि कुनै ठाउँमा आन्दोलन हुँदा आफू सुरक्षित नहुने हो कि, पेशाकर्मी सुरक्षित नहुने हुन् कि, व्यवसायी सुरक्षित नहुने हुन् कि भन्ने चिन्ता बढेको छ ।’
जसले विराट मेडिकल कलेजलाई नम्बर वान बनाए
काठमाडाैं । ‘एक रुपैयाँ कसैलाई मागेर चलाउन नपरोस्, जति सकिन्छ आफ्नै बलबुतामा त्यो पनि इमानदार तरिकाले गर्नुपर्छ,’ यही सोचले करोडौंका मालिक बनेका व्यक्ति हुन् ज्ञानेन्द्रमान सिंह कार्की । जिन्दगीका आरोह–अवरोह पार गर्दै एउटा चिकित्सकबाट मालिक बनेका उनी चिकित्सा क्षेत्रमा प्रतिष्ठित चिकित्सकको रूपमा चिनिन्छन् । स्त्रीरोग विशेषज्ञको रूपमा दक्षता राख्ने कार्कीले अहिलेसम्म कतिलाई नयाँ जीवन दिए त्यसको हिसाब छैन । स्त्रीरोग सम्बन्धी विशेषज्ञ खासै नभएको बेलामा उनी विशेषज्ञका रूपमा काम गरिरहेका थिए । स्त्रीरोग सम्बन्धी विशेषज्ञ औंलामा गन्न सकिने अवस्था डा. भोला रिजाल पछिको विशेषज्ञ सायद उनै थिए । एउटा चिकित्सकको रूपमा स्वास्थ्य क्षेत्रमा प्रवेश गरेका कार्की अहिले स्वास्थ्य संस्थाको मालिक बनेका छन् । अझ रोचक त के छ भने एउटा सरकारी अस्पतालबाट सेवा सुरु गरेका उनी अहिले निजी स्वास्थ्य संस्थाको पक्षमा पैरवी गरिरहेको पाइन्छ । नेपालमै निजी स्वास्थ्य संस्था नभएको बेला डा. कार्कीले पूर्वाञ्चल क्षेत्रमा निजीको बीजारोपण गरेका थिए । एउटा पुरानो घरको एक बेडबाट सुरु गरेको उनको स्वास्थ्य यात्रा अहिले एक हजार बेडमा पुगेको छ । कार्कीले बिरामीलाई सेवामात्र होइन, बिरामीलाई सेवा गर्ने जनशक्ति पनि उत्पादन गर्दै आएका छन् । पेशाले एउटा चिकित्सक सर्जन, व्यवसायी विराट मेडिकल कलेजको अध्यक्ष, एशोसियसन अफ प्राइभेट मेडिकल कलेज एण्ड डेन्टल हस्पिटलको अध्यक्ष, प्रोफेसरलगायत धेरै भूमिकामा रहेका कार्कीले कसरी सफलता हात पारे कतिपयलाई कौतुहलता पनि छ । उनी भने निरन्तरको प्रयास काम प्रतिको लगाव र मिहिनेतले यो स्थानमा पुग्न सकेको बताउँछन्। विभिन्न पदमा रहेका कार्की अहिले पनि आफ्नो मुख्य भूमिका पढ्ने र पढाउने रहेको बताउँछन् । त्योभन्दा बाहेक उनी शल्यचिकित्सा पनि गर्छन् । पहिलेको जस्तो ओपीडीमा समय दिन पाउँदैनन् । सुरुवाती दिनमा हप्ताको सात दिन महिनाको तीस दिन, वर्षको ३ सय ६५ दिनमा नै उपचारमा उनी उपचारमा व्यस्त हुन्थे । उनले २० वर्षसम्म यो कामलाई निरन्तरता दिए । त्यसपछि आफ्नै संस्था सञ्चालनमा ल्याएका हुन् । प्रसूति गृहबाट सेवामा प्रवेश आजभन्दा ३९ वर्ष पहिले सन् १९८६ मा डा. कार्की रसियाबाट एमडी सकेर नेपाल फर्के । नेपालमा निजी अस्पताल थिएनन् । सरकारी अस्पताल, वीर, प्रसूति गृह, पाटन अस्पताल र टिचिङमात्र थिए । विज्ञता भएपनि काम पाउन निकै सकस थियो । सोर्सफोर्स सबै प्रयोग गर्दा पाउने सम्भावना हुन्थ्यो । उनले जागिरका लागि वीर अस्पताल निकै धाए । चिनेका मान्छेहरूलाई भेटे । भोलेन्टियरको रूपमा काम पाउन पनि हातखुट्टा ढोग्नुपथ्र्याे । चार पाँच महिना धाउँदा पनि भोलिन्टियर नपाउँदा उनलाई प्रसूति अस्पतालमा काम गर्ने अवसर मिल्यो । तलब एक हजार ५० रुपैयाँ थियो । ‘लोकसेवा सितिमिति खुल्दैन थियो, खुलेपनि ५÷१० जना मात्र हुन्थे,’ त्यो बेलाको स्मरण गर्दै कार्की भन्छन्, ‘पढेर आएपनि काम गर्न दौडधूप गर्नपर्यो, चिनेको दाइ प्रसूतिमा हुँदा बल्ल त्यहाँ पस्ने मौका पाएँ ।’ एक वर्ष प्रसूतिमा काम गरिसकेपछि कार्की पाटन अस्पतालमा गए । अस्पतालमा काम गर्दागर्दै उनी तीन वर्षे एमएस गर्न रसिया पुगे । रसियाबाट पढाइ सकेर उनले फेरि प्रसूतिमै काम गरे । त्यतिबेला उनको तलब २ हजार ६ सय रुपैयाँ थियो । त्यतिबेलासम्म केही निजी क्लिनिक पनि खुलिसकेका थिए । सरकारी अस्पताल, निजी अस्पतालमा काम गर्दा कार्कीले पैसा पनि राम्रै कमाउन थालिसकेका थिए । तर आमाको मृत्युपछि उनी विक्षिप्त भए । २०४९ सालमा आमाको मृत्युपछि उनी आफ्नै ठाउँ विराट नगरमा फर्किने निधोमा पुगे । दमक घर, रसियन केटीसँग प्रेम कार्कीको घर पूर्वको झापा दमक हो । दमकमा जन्मे पनि हुर्काइ बढाइ विराटनगर भयो । उनलाई दमक बसेको त्यति याद छैन । उनी तीन वर्ष हुँदा उनका बुवाको निधन भएको थियो । बुवाको निधनपछि घरको जिम्मेवारी उनका ठूलदाइ रिद्धबहादुर कार्कीले सम्हाले । जो अहिले स्वर्गीय भइसकेका छन् । दाइ उनीभन्दा ६ वर्षमात्र ठूला थिए । ‘बुवालाई देख्न पाइनँ तर बुवाको रूपमा दाइलाई देखेँ, मेरो जीवनको हरेक कुरा मेरो दाइले गाइड गर्नुभयो, आज जे छु त्यसमा सबैभन्दा ठूलो हात मेरो दाइको छ,’ कार्कीले भने । कार्की विराटनगरमा राधाकृष्ण माविमा पढे । उनलाई ८ वर्षको हुँदा चार कक्षामा भर्ना गरिएको थियो । १३ वर्षको हुँदा एसएलसी पास गरिसकेका थिए । तर उनले उमेर बढाएर १६ वर्ष बनाएका थिए । एसएलसीपछि ५–६ महिना विराटनगरमै पढे । त्यसपछि दार्जिलिङ पढ्न गए । दार्जिलिङमा आइएसी गरे । मेडिसिनको लागि पनि तयारी गरिराखे । चार वर्षको बिएसी कोर्समा उनले बटनी विषय लिएर पढे । बिएसीपछि उनी एमएसीको तयारी गरिरहेका थिए । तर चिकित्सा शिक्षाका लागि नेपालमा पनि बुझिरहेका थिए । बिएसीको अन्तिम नतिजा आएको थिएन । उनका दाइ उनलाई लिन दार्जिलिङ पुगे । दाइसँगै कार्की नेपाल फर्के । नेपाल आएपछि नागरिकता बनाउनेदेखि अन्य कागजात बनाउनेका काममा लागे । कार्कीलाई सहयोग गर्ने उनका दाइ थिए । कागजात जम्मा पारिसकेपछि उनी दाइसँगै काठमाडौं आए, काठमाडौं आउँदा बाटो अहिलेको जस्तो राम्रो थिएन । अंकलको घरमा बसे । भिसा आएपछि उनी सन् १९७९ मा रुस गए । उनी रुसको मक्सोमा रहेको सेन्टपिटर्सवर्गमा १० वर्ष पढ् । त्यहीँ नै एममए, एमएस र पीएचडी गरे । उनी भन्छन्, ‘मेरो युवा अवस्था तत्कालीन सोभियत संघमा बित्यो । नेपालको बारेमा बुझ्ने जान्ने अवसर विद्यार्थी उमेरमा पाउन सकिनँ ।’ रुसमा त्यो बेला शिक्षा, स्वास्थ्य सेवादेखि आवतजावत फ्री थियो । नागरिकले पैसा कमाएर थुपारेका हुँदैन थिए । एक डलरमा एक महिनाभरिको आवतजावतलाई पुग्थ्यो । सहरका बस, ट्रली, मेट्रो सबै नागरिकले सित्तैमा चढ्न पाउँथे । नेपाली रसियन धेरै साथीहरू भइसकेका थिए । विश्वविद्यालयभित्र छात्रछात्राको होस्टेल थियो । पढ्ने छात्राछात्राको सख्या बढी छात्राकै थियो । कार्कीको सँगै पढ्ने एउटा केटीसँग प्रेम बस्यो । ती केटी थिइन् इरिना । इरिना र उनमा दुवै एकै कक्षामा पढ्थे तर समूह फरक थियो । उनी रुसकै नागरिक हुन् । दुई तीन वर्षसम्म एकअर्काको वास्ता थिएन । त्यसपछि उनीहरू नजिक हुन थाले । सन् १९८७ मा उनीहरूले विवाह गरे । त्यो बेला रुसमा विहे गर्दा हामी अब परिपक्क भयौं, बिहे गर्छौ भनेर विवाह व्युरोमा गएर निवेदन दिनुपथ्र्यो । निवेदनपछि व्यूरोले समय दिन्छ । त्यो समयमा बिहे गर्नुपर्छ । उनले केही साथी र इरिनाको आमा भाइहरू जम्मा भएर म्यारिज ब्यूरोमा गएर बिहे गरे । बिहेपछि कार्की र इरिना नेपालमा सँगै बस्न पाएनन् । उनी रसियामै बसेर छोरा हुर्काउन थालिन् भने यता कार्की नेपालमा काम गर्न थाले । श्रीमतीप्रति कृतज्ञ कार्कीकी श्रीमती पनि पेशाले चिकित्सक हुन् । उनले कहिल्यै ज्ञानेन्द्रको काममा हस्तक्षेप गरिनन् बरु उनलाई सहयोग गरिन् । नेपालमा अस्पतालमा काम गरेर काठमाडौंमा इरिनालाई राख्न सकिने अवस्था थिएन । ‘आर्थिक अवस्था कमजोर भनौं भने काजीसापको छोरा थिएँ, गाउँमा बाको करौडौंको सम्पत्ति थियो तर, मलाई बाको सम्पत्तिको होइन, आफ्नै सम्पत्तिमा रमाउनुपर्छ भन्ने थियो,’ कार्कीले भने । कार्कीले आजसम्म घरको पैसा ९ सय डलर मात्र खर्च गरेको बताए । उनी भन्छन्, ‘त्यो पनि पढाइको खर्च गरेको थिएँ, आफ्नो व्यक्तिगत कामको लागि कहिल्यै घरमा पैसा मागिनँ ।’ केही महिनाको नेपाल बसाइपछि इरिना छोरा लिएर रसियामै गइन् । उनले कुनै गुनासो गरिनन् । श्रीमतीको सल्लाहले नेपाल फर्के पाटनमा काम गर्दा एमएसको लागि छात्रवृत्तिमा कार्कीको नाम निस्कियो । उनी फेरि रुस गई त्यहाँ तीन वर्ष पढे । पढाइ सकेपछि नेपाल जाने कि रुसमै बस्ने भन्ने श्रीमान श्रमतीबीच छलफल भयो । कार्कीलाई रुसमै काम गर्न अफर पनि आएको थियो । अब के गर्ने नेपाल फर्किने वा रुसमै बस्ने ? कार्कीले सोध्दा उनकी श्रीमतीले भनिन्, ‘रुसमै बस्ने हो भने कसैले चिन्दैनन्, सधैं विदेशी भएर चिनिन्छ । राम्रो, नराम्रो जस्तो भए पनि आफ्नै देश जानुपर्छ ।’ इरिनाले आफ्नै देश फर्किन कर गरेपछि सन् १९९१ कार्की श्रीमती छोरासहित नेपाल फर्किए र प्रसूतिगृहमा एक वर्ष काम गरे । रुसमा नसिकेको कुरा प्रसूति गृहमा सिक्न पाउँदा कार्कीले तीन वर्ष प्रसूति गृहमा काम गरे । त्यहाँ काम गर्दा उनलाई धेरै कुरा जान्ने सिक्ने अवसर पाए । त्यतिबेला नै जटिलभभन्दा जटिल सर्जरी प्रसूतिमा सुरु भइसकेको थिए । उनले मिहिनेत गरेर पढेअनुसार जस्तोसुकै सर्जरी गर्न तम्तयार रहन्थे । तर नेपाल आएर एउटा नयाँ कुरा सुने– आङ खस्ने समस्या । जुन विषय कार्कीले न पढेका थिए न सुनेका थिए । आङ खसेको व्यक्ति देखेका पनि थिएनन् । तर उनले काम गर्दा अस्पतालमा आधा बढी बिरामी आङ खसेको समस्या ल्याएर आउँथे । ‘म एकातिर क्यान्सरको जटिल शल्यक्रिया गर्थे, तर मिनी ल्याब गर्न आउँदैनथ्यो,’ कार्की भन्छन्, ‘मैले विदेश गएर ठूलोठूलो कुरा सिकेको रहेछु, ससानो उपचार र समस्याबारे अनभिज्ञ रहेछु, रुसमा यस्ता कुरा र अप्रेसन न सुन्न पाइयो, न देख्न पाइयो ।’ उनी प्रसूतिमा काम गरेपछि यस्ता सानासाना कुरा जान्ने, सिक्ने अवसर पाएको बताउँछन् । ‘ठूला कुरा रुसमै सिकेर आए पनि ससाना समस्याबारे यही सिक्ने अवसर पाएँ,’ उनी भन्छन्,‘ जीवन भन्ने कुरा ससाना कुराले बनेको हुँदो रहेछ, म ठूलो काम गर्छु भनेर घमण्ड कसैले नगरे पनि हुने रहेछ, त्यसैले म प्रसुतिगृहप्रति कृतज्ञ छु । जहाँ धेरै सिक्ने अवसर पाइयो ।’ आमाको मृत्यपछि विराटनगर फर्किँदा आमाको मृत्युपछि कार्की विक्षिप्त भए । कार्कीको यस्तो अवस्था देखेर इरिनाले हिम्मत दिइन् । रसियाबाट नेपाल आएकी इरिनाले उनलाई काठमाडौंबाट विराटनगर फर्काइन् । उनले अब आफ्नै ठाउँमा गएर केही गर्नुपर्छ भन्दै हौसला दिइन् । विराटनगरमा कार्कीले चिनेका एक जना चिकित्सक थिए । जो अहिले स्वर्गीय भइसके । कार्कीले तिनलाई सोधे– विराटनगर आउँदा कसो होला ? उनले कार्कीको विज्ञता थाहा पाइसकेपछि तुरुन्त आइहाल्न भने । त्यो बेला विराटनगरमा प्रसूति रोग विज्ञ थिएनन् । पूर्वाञ्चलमै जम्मा चारजना मात्र थिए । उनले बोलाइसकेपछि कार्की विराटनगर गए । विराटनगर पुगेका कार्कीले कोशी अञ्चल अस्पतालमा काम सुरु गरे । कोशी अस्पतालमा बिरामीको चाप धेरै स्रोतसाधन कम थियो । अप्रेसन थिएटर दुईवटा पूराना थिए भने गाइनोको अप्रशेनका लागि आज नाम लेखाउँदा तीन वर्षपछि पालो आउँथ्यो । उनलाई अचम्म लाग्यो । उनले लिस्ट हेरे । त्यहाँ इमरजेन्सी बाहेक १० जना विरामीको मात्र अप्रेसन गरिने गरेको थाहा पाए । उनी भन्छन्, ‘वर्षको पूण्यतिथि सकिन्थ्यो तर अप्रेशनको पालो आउँदैन्थ्यो । बिरामीको अवस्था देखेर मलाई नरमाइलो लाग्यो, त्यसपछि मैले आफ्नो मिहिनेत बढाए ।’ स्रोतसाधन अभावले बिरामीले समयमै सेवा नपाउँदा कार्कीलाई पीडा हुन्थ्यो । त्यसपछि उनलाई लाग्यो– अब आफ्नै अस्पताल सञ्चालन गर्नुपर्छ । आफूप्रति गर्न सक्छु भन्ने विश्वासले उनी आफैले अस्पताल सञ्चालन गर्ने निर्णय गरे । उक्त निर्णयमा श्रीमतीले पनि साथ दिइन् । घरभाडामा एउटा बेड कुरा २०५१ सालको हो । कार्कीले घरभाडामा लिएर एक बेड राख्दा धेरैले पागल भने । दिनभरि कोशी अस्पतालमा काम गर्थे । त्यहाँको काम सकेर राति आफ्नो अस्पतालमा काम गर्थे । अस्पतालमा न स्रोत साधन थिए न त बत्ती नै । बिरामी राख्ने बेड पनि हल्लिन्थ्यो । २० रुपैयाँको दुई सय वाटको बत्ती किनेर उनले अप्रेसन गर्थे । कार्की कोशी अस्पतालमै काम गर्ने केही नर्स, चिकित्सलाई पनि सँगै ल्याउँथे । राति बिरामीको अप्रेशन गर्थे । दुई महिना यसरी नै काम गरे । बेडको संख्या बढाउँदै गए । अस्पताल सुरु गरेका एक हप्तामा सात जना बिरामी भर्ना भए । उपचार गरेको पैसा जम्मा गरी उनी भारतको पटना गए । यहाँबाट उनले करिब ३ लाखको अप्रेशनका लागि आवश्यक पर्ने सामान ल्याए । डा. कार्कीले आफ्नै अस्पताल खोले भन्दै पूर्वाञ्चलभरि हल्ला भयो । अस्पताल राम्रो चल्न थालेपछि उनी कोशी अस्पतालबाट बिदा लिने योजनामा पुगे । कोशी अस्पतालमा त्यो बेलासम्म चिकित्सकको संख्या पनि केही बढिसकेको थियो । व्यवस्थापनसँग कुरा गरेर अब आफ्नै अस्पताल सञ्चालन गर्ने भन्दै उनले बिदा मागे । ‘मैले कोशीमा तीन वर्ष काम गर्दा एक पैसा लिइनँ, आएको पैसा पनि सार्थीहरूलाई नै खानुहोस भन्थे,’ उनी भन्छन्, ‘एक बेडबाट सुरु गरिसकेको अस्पतालको बेड र बिरामी पनि बढ्दै गए त्यसपछि म आफ्नै अस्पतालमा व्यस्त हुन थालेँ ।’ अहिले पनि बेलाबेला चिकित्सकलाई सरकारी अस्पतालमा काम गर्ने तर बिरामीलाई आफ्नो निजी क्लिनिकमा लिएर जाने आरोपहरू आउँछ । कतै तपाईंले पनि सरकारीमा काम गरेर बिरामै यसैगरी आफ्नो क्लिनिकमा त बोलाउनुभएन भन्ने प्रश्नमा उनी भन्छन्, ‘जब म अस्पतालमा काम गर्थेँ आफ्नो सय प्रतिशत काममा दिन्छु, मैले त्यो बेला पनि त्यही गरे, कहिले विद्यार्थीलाई यहाँ आउनुहोस, त्यहाँ नजानुहोस भनिनँ, अस्पतालमा हुँदा अस्पतालमै व्यस्त भएँ, आफ्नो क्लिनिकको समयमा आफ्नै क्लिनिकलाई दिएँ ।’ उनी आफूले कहिले आफ्नो पेशा र बिरामीलाई पैसा कमाउने दृष्टिले नहेरेको दावीसमेत गर्छन् । दुइटा साथीसँगको सहकार्यमा नर्सिङ होम ७ बेड क्षमता भएको अस्पताललाई कार्कीले अर्को ठूलो घरमा सारेर २२ बेडको बनाए । त्यो बेलासम्म पूर्वाञ्चलमा निजी क्लिनिकहरू थिएन । कार्कीको कामको प्रसंसा हुन थालेपछि कार्कीका दुईजना साथीले अब राम्रो नर्सिङ होम सञ्चालन गरौं भन्ने प्रस्ताव राखे । प्रस्ताव राख्नेमा एकजना चिकित्सक डा. आरके साबु र अर्को एकजना अरुण राठी जो राम्रो व्यापारी हुन् । तीन जनाले करिब १ करोड लगानी गरे । त्यसपछि विराट नर्सिङ होम सञ्चालनमा आयो । त्यसलाई ५० बेडको बनाइयो । धेरैले विराटनगरमा किन यत्रो अस्पताल चल्छ त सम्म भने । तर नागरिकले विश्वास गर्दै गए । अस्पताल राम्ररी चल्न थाल्यो । अस्पताल निकै खर्चालु व्यवसाय हो । पैसा जम्मा हुनेबित्तिकै नयाँ प्रविधि ल्याइहाल्नुपथ्र्यो । अस्पताल राम्रो चल्दा पनि पैसाको व्याजसमेत हातमा नपर्दा दुईजना साथीहरू आतिन्थे । कार्कीले धैर्य रहन आग्रह गर्दा पनि दुवै तयार भएनन् । केही वर्षपछि चिकित्सक सावुले पैसा मागे । कार्कीले सावा व्याजसहित फर्काइदिए । त्यसपछि मराठीले पनि त्यसै असन्तुष्टि जनाउन थाले । पाँच वर्षपछि उनको हिसाब पनि पुरा गरे । त्यसपछि उनी एक्लैले हाँके । नर्सिङ होम राम्रो चलेपछि कार्कीले काठमाडौंमा आएर ग्लोबल अस्पताल सञ्चालन गरे । टाँट पल्टेको नोबेलको नेतृत्व कार्कीको नर्सिङ होम राम्ररी चलिरहेको थियो । सन् २००९ मा नोबेल कलेज बन्द हुने अवस्थामा आयो । लिलाम हुने अवस्थामा आइसकेपछि डा. सुनिल शर्माले संस्था बचाइदिन आग्रह गरे । हामी मिलेर चलाउनुपर्यो भन्ने प्रस्ताव राखेपछि शर्मा र कार्कीले ५०÷५० प्रतिशत लगानी गरेर सुचारु गरे । संस्थाको अध्यक्ष कार्की थिए भने सुनिल शर्मा एमडी थिए । डुब्न लागेको नोबेल कलेज डेढ वर्षपछि खुट्टा टेक्ने अवस्थामा पुगेको थियो । केही समयपछि उनलाई शर्मासँग काम गर्न मन लागेन । शर्मा आफैले चलाउने अड्डी कसे । कार्कीले आफ्नो साउँव्याज लिएर सहमतिमै छुटिने कुरा गरे । उनी भन्छन्, ‘मैले जस्तो सोचेको थिएँ त्यो भन्दा २० औं गुणा त्यो संस्थालाई शर्माले धेरै माथि लगे, आज नोबेल नेपालको एक उत्कृष्ट मेडिकल कलेजमा पर्छ, मलाई निकै खुसी लाग्छ ।’ मेची महकाली यात्रा सुरु नोबेल मेडिकल कलेजबाट बाहिरिसकेपछि कार्कीले मेची महाकाली यात्रा सुरु गरे । देशभरका मेडिकल कलेज तथा नर्सिङ होम हेरे । २०१० मा उनले मेडिकल कलेज सञ्चालन गर्ने योजना बनाए । उनले काठमाडौंमा भएको ग्लोबल अस्पताल र हेल्थ कलेज बेचे । त्यो बेला आर्थिक रूपमा समस्या हुने अवस्था थिएन । राम्रो भइसकेको थियो । त्यो बेला ठूलो छोरा अष्टे«लिया पढ्न गइसकेका थिए । कलेज सञ्चालन गर्दा लोन दिन बैंकले गर्ने असहयोग र राजनीतिक स्वार्थ फरक छ । कार्की एनआईसी, सिभिल बैंंकमा पुगे । सिभिल बैंंकका सीईओ किशोर महर्जनलाई भेटे । उनले सहयोग गरेपछि बल्ल लोन पाए । पैसा पाइसकेपछि कार्कीले १६ विगाह जग्गा किने । संरचना तयार गरे । प्रधानमन्त्री सुशील कोइराला थिए । डा.गोविन्द केसीको विरोध सुरु हुन थालेको थियो । कलेजको रुपमा मान्यता लिन पनि निकै दौडधुप गर्नुपर्यो । त्यो बेला काठमाडौं विश्वविद्यालयका उपकुलपति रामकण्ठ मकाजु थिए । शिक्षामन्त्री चित्रालेखा यादव थिइन् । उनी विभिन्न प्रयासका बावजुत २०१४मा बल्ल मेडिकल कलेज सञ्चालनमा आएको बताए । नम्बर वान दाबी २०१४ मा स्थापना भएको विराट मेडिकल कलेज २०२५ मा निजी क्षेत्रमा अहिले नम्बर एक भएको दाबी गर्छन् कार्की । भौतिक संरचना, विद्यार्थीको संख्या फ्याकल्टी, प्रविधिमा, नतिजाको आधारमा १० वर्षमा नेपालको नम्बर वान कलेज बनाएको दावी गर्छन् उनी । उनी विराट मेडिकल कलेज यो स्तरमा आउनु आफ्नो मात्र योगदान नरहेको बताउँछन् । उनी मेडिकल कलेजमा आवद्ध सबै व्यक्ति कर्मचारीको साथ र सक्रियताले भएको बताउँछन्। हजार बेड सञ्चालनमा एउटा मेडिकल कलेजका लागि ५ सय बेड आवश्यक पर्छ । विराट मेडिकल कलेजसँग पनि पाँच सय बेडको अनुमति छ तर, अस्पताल एक हजार बेड सञ्चालनमा ल्याएको छ । अस्पतालको क्षमता १ हजार २ सय बेडको हो । पाँच सयको अनुमति भएपनि हजार बेड चलाउन पाइन्छ । विराट मेडिकल कलेजमा नेपालको सबैभन्दा बढी १ सय ३० सिट छ । एमबीबीएस, एमडीएमएसका दक्ष जनशक्ति तयार गरिरहेको छ । कार्की छोटो समयमै नेपालको सबैभन्दा हाइटेक प्रविधि आफ्नो अस्पतालसँग रहेको दाबी गर्छन् । विराट मेडिक कलेजमा अहिले प्रत्यक्ष दुई हजार कर्मचारी छन् । दुई सय बढी कन्सलटेन्ट छन् । आईसीयू, एनआईसीयू पीआईसीयूसीसीयू गरेर तीन सय बढी छन् । एक सय बेडको इमरजेन्सी बेड छ । उनी समेय सापेक्षरूपमा आफूलाई विकास गर्दे लगिरहेको बताउँछन् । हरेक दिन दुई हजार बढी बिरामी ओपीडीमा आउने गरेका छन् भने तीन सय, चार सय बढी बिरामी भित्र हुन्छन् । महिनामा ५० देखि ६० हजा नागरिकलाई सेवा दिन्छ भने वर्षमा करिब ८ लाख मानिसलाई सेवा लिने गरेको छ । बजारभन्दा ६ किलोमिटर टाढा अस्पताल खोल्दा यसको वरिपरी राम्रा चिया पसल थिएनन् । अहिले त्यो ठाउँ सहर भएको छ । बुढींगगा गाउँपालिको जग्गाको भाउमात्र बढेन, पालिकाको रंग नै फेरियो । व्यवसाय चल्न थाले । भारतबाट ठूलो संख्यामा उपचारका लागि नेपाल आउनेको संख्या ठूलो छ । पूर्वाञ्चलको जनसंख्या करिब ५०–६० लाख मात्र हो । अहिले सबैभन्दा प्रतिस्पर्धा पनि त्यही छ । पाँचवटा मेडिकल कलेज छन् । ठूलो कोशी अस्पताल छ । दूर दराजमा पनि अस्पताल बनिसकेका छन् । त्यसको बावजुत पनि यो अस्पताल राम्रो चलिरहेको छ । २० देखि ३० प्रतिशत बिरामी अहिले भारतबाट उपचारका लागि आउँछन् । दक्ष जनशक्ति उत्पादन विराटले प्रत्येक वर्ष सय जना चिकित्सक उत्पादन गर्छ भने त्यही अनुपातमा, बीएसी नर्सिङ, एमडीएमएस तयारी गर्छ । नेपालमा पहिले दुई हजार विद्यार्थीमात्र पढ्न पाउँथे । अहिले २ हजार ६ सय विद्यार्थी नेपालमा पढिरहेका छन् । २ हजार ६ सयमा ७ सय विदेशी विद्यार्थी छन् । त्यसमा पनि धेरै भारतबाट आउँछन् । १ हजार ९ सय नेपाली विद्यार्थीको सिटमा ६ सय छात्रवृत्ति गरी जम्मा एक हजार १३ सय विद्यार्थीलाई मात्र प्रतिस्पर्धामा भाग लिएर पढ्न पाउँछन् । जबकि यो वर्ष १ हजार ८ सय विद्यार्थीले एमबीबीएस पढ्न परीक्षा दिएका थिए । कार्की नेपालमा ७ सय मात्र नभइ ७ हजार बढी विद्यार्थी ल्याउन दिनुपर्ने माग गर्छन् । उनी यसका लागि सरका निकाय, सरकारी व्यक्तिलाई भेट्दाभेट्दा थाकेको बताउँछन् ।
सीटीईभीटीको ओरालो यात्रा : विद्यार्थी नपाउँदा धमाधम बन्द हुँदै विद्यालय, पुनर्संरचनाको आवश्यकता
काठमाडौं । ‘जनताको समृद्धिका लागि सीपयुक्त नेपाल’ भिजन र ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको माग अनुसार सक्षम जनशक्ति विकास गर्ने’ लक्ष्यका साथ स्थापना भएको संस्था हो प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) । तर, सीटीईभीटीले न भिजन पुरा गर्नसकेको छ न मिसन नै । स्वदेशमै रहेका विद्यार्थी र उद्योगीबीचको दूरी बढ्दो छ भने अन्तर्राष्ट्रिय बजारमा गएका श्रमिकहरू अदक्ष छन् । यसले पनि सीटीईभीटीले लिएको मिसन भिजन दुवै पूरा नगरेको देखाउँछ । बरु स्थापना भएको तीन दशकमै संस्था ओरालो लाग्दै गएको छ । राजनीतिले थिलोथिलो परेको र आवश्यक सीपयुक्त कार्यक्रम दिन नसकेको गुनासो अब नयाँ रहेन । बरु विद्यार्थीले सीटीईभीटीको शिक्षा लिनै छोडेका छन् । सीटीईभीटीबाट मान्यता लिएका शैक्षिक संस्था धमाधम बन्द हुँदा विद्यार्थी घटेको स्पष्ट पार्छ । शिक्षालाई प्राविधिक र सीपयुक्त हुनुपर्छ भन्ने आवाज उठिरहेको बेला प्राविधिक शिक्षा लिने विद्यार्थीको संख्या भने बर्सेनि घटिरहेको छ । सीटीईभीटीको सुधारका लागि पटक-पटक गठन गरिएका कार्यदलले पुनर्संरचना, गुणस्तर अभिवृद्धि, कार्यक्षमता वृद्धि तथा शिक्षाको पहुँच विस्तार सम्बन्धी सुझाव पेश गर्दा पनि कार्यान्वयन हुन सकेको छैन । विगतमा तीन पटक बनाइएका कार्यदलले पेश गरेको सुझाव कार्यान्वयन नभएको अवस्थामा आइतबार अर्को कार्यदलले संस्थाको प्रतिवेदन बुझाएको छ । एक महिना अगाडि काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति प्रा डा.सुरजराज शर्माको संयोजकत्वमा गठन गरिएको कार्यदलले शिक्षामन्त्री महावीर पुनलाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझ्दै शिक्षामन्त्री महावीर पुनले भने, ‘अब यो प्रतिवेदन अलमलमा पर्दैन, बरु छिट्टै सार्वजनिक गरेर छिटो भन्दा छिटो सुधारका लागि पहल गर्नेछु ।’ उनले प्रतिवेदन बुझेको फोटो सामाजिक सञ्जाल फेसबुकमा राख्दै लेखेका छन्, ‘प्राविधिक शिक्षा तथा व्यावसायिक परिषद (सीटीईभीटी ) को पुनर्संरचना नगरी नहुने देखिएकोले प्राविधिक तालिम कार्यक्रमलाई समयको मागअनुसार सुधार गर्ने उद्देश्यले प्रा.डा. सुरेशराज शर्माज्यू (पूर्वउपकुलपति)को संयोजकत्वमा कार्यदल गठन गरिएको थियो । एक महिनापछि कार्यदलले प्रतिवेदन बुझाएको छ । अब प्रतिवेदन अनुसार भटाभट पुनर्संरचनाको काम हुनेछ । त्यसको लागि कार्यान्वयन समिति बनाइयो ।’ मन्त्री पुनले कार्यान्वयन समिति पनि बनाइसकेको बताएका छन् । समितिले बुझाएको फाइल नै अलपत्र सीटीईभीटी को पुनर्संरचना र सक्षम जनशक्तिको को कुरा सुधारको उठेको अहिलेमात्र होइन, पहिले पनि उठेको थियो । पूर्वशिक्षामन्त्री विद्या भट्टराईले पनि सुधारका लागि आवाज उठाउँदै कार्यदल गठन गर्न निर्देशन दिएकी थिइन् । भट्टराईको निर्देशनपछि आयोगको शिक्षा हेर्ने सदस्य गीता पौडेल अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो । अधिकारीको संयोजकत्वमा गठित कार्यदलले २०८१ पुसमै सुझाव सहितको प्रतिवेदन बुझाएको थियो । तर उनले राजीनामा दिएपछि प्रतिवेदन त्यत्तिकै थन्कियो । भट्टराईपछि मन्त्री बनेका शिक्षामन्त्री रघुजी पन्तले त्यो छलफल अगाडि बढाउने प्रयास गरेका थिए । तर, छलफल नहुँदै जेनजी आन्दोलनले सरकार परिवर्तन भयो । उसो त २०७५ सालमै प्रा.डा. प्रमोद श्रेष्ठको संयोजकत्वमा पनि कार्यदल गठन गरिएको थियो । त्यो कार्यदलले बनाएको प्रतिवेदन पनि सार्वजनिक हुन सकेन । पटक पटक सुधारको आवश्यकता भएर गठन गरिएका कार्यदलले काम गरेर बुझाएका प्रतिवेदनसमेत अलपत्र पारिएको भन्दै विज्ञहरू सरकारको आलोचना गर्छन् । सीटीईभीटी पुनर्संरचना आवश्यक किन ? विज्ञहरू अहिलेको अवस्थामा सीटीईभीटीको पुनर्संरचना, सक्षम जनशक्ति र कार्यक्रमहरू सबैमा पुन:छलफल आवश्यक रहेको बताउँछन् । विश्वमै आवश्यक ठानिएको प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण घट्नु नै सीटीईभीटीको गम्भीर समीक्षा आवश्यक रहेको बताउँछन् । शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला पहिला सीटीईभीटीमा विद्यार्थीको संख्या धेरै हुनु र आजभोलि घट्दो क्रममा हुनु नै ठूलो प्रश्न रहेको बताउँछन् । उनी भन्छन्, ‘हामी शिक्षा व्यवहारिक भएन, सीपमूलक भएन भनेर भनिरहने तर नहुने किन ? यो विषयमा सोच्नुपर्ने आवश्यकता छ ।’ उनी सरकारले प्राविधिक धार र प्राविधिक शिक्षालाई दुई ढंगले ल्याउँदा त्यति प्रभावकारी हुन नसकेको बताउँछन्। ‘यो बलियो भएन भनेर सीटीईभीटीले पनि बारम्बार भनिरहेको थियो, तर यहाँ सुन्ने कोही भएनन्,’ कोइराला भन्छन्, ‘सीटीईभीटी भनेको पैसा कमाउने राम्रो र असल स्रोत बन्यो, सीटीईभीटीले सम्बन्धन दिँदा पैसा खुवाउने प्रवृत्ति निकै बलियो हुँदै गयो । यस्ता गतिविधिबाट बचाउन जरुरी हुँदा यसको पुनर्संरचनाको निकै आवश्यक छ।’ कोइराला परम्परागत सीपलाई प्राविधिक बनाउनु पर्ने बताउँछन् । सरकारले हाम्रा सीपलाई प्राविधिक हो भनेर भन्न सकेन, दलितहरू परम्परागत रूपमा लगाउँदै आएको आरन व्यवसायलाई हामीले प्राविधिक हो भनेर कोर्स बनाउन सकेनौं, जसको परिणाम यस्तो अवस्था आयो । उनी यस्ता कुरा गर्न पनि सुधार र परिमार्जनको आवश्यक रहेको बताउँछन् । अदक्ष जनशक्ति र स्मार्ट विद्यार्थीको परिणाम अहिलेका विद्यार्थी स्मार्ट छन् । विद्यालय गएर शिक्षकले पढाउनुभन्दा अगाडि उनीहरूले कुरा थाहा पाइसकेका हुन्छन् । बढ्दो प्रविधिको पहुँचले अहिलेको विद्यालय उमेरका पुस्ता निकै स्मार्ट बनिसकेका छन् । विद्यार्थी आफैले घरमा सिकिसकेको कुरा कलेजमा गएर पढ्दा त्यति रुचि हुँदैन । विज्ञहरू अब विद्यार्थीलाई शिक्षा दिने शिक्षकले नै कसरी शिक्षा दिने भन्नेबारे चनाखो हुनुपर्ने बेला आएको बताउँछन् । नेपाली विद्यार्थीलाई प्राविधिक तथा व्यावसायिक शिक्षा दिन वि.सं. २०४५ सालमा सीटीईभीटी स्थापना गरिएको हो । जसले देशलाई आवश्यक पर्ने प्राविधिक तथा सीपयुक्त जनशक्ति उत्पादनमा प्रतिवद्धता गरेको छ । तर, प्रतिवद्धता अनुसारको परिणाम भने दिन सकेको छैन । नेपालमा सीटीईभीटीबाट मान्यता लिएर चार प्रकारका शैक्षिक संस्था सञ्चालन भइरहेका छन् । जसमा आंगिक शिक्षालयको ६७ वटा सञ्चालनमा छन् भने सीटीईभीटीको साझेदारीमा ५८ वटा शैक्षिक संस्था सञ्चालन भइरहेका छन् । यस्तै, सामुदायिक विद्यालय ६ सय ३९ र निजी ४ सय ३९ र छोटो अवधिको व्यवसायिक तालिम सञ्चालन गर्न सीटीईभीटीबाट सम्बन्धन लिने संस्थाको संख्या १८ सय ५० छ । ग्रामीणस्तरमा रहेका सामुदायिक विद्यालयले सञ्चालन गरेका सीटीईभीटीका कार्यक्रम अधिकांश रूपमा बन्द भइसकेका छन् । विद्यार्थीहरू नपाउँदा कार्यक्रम नै बन्द गर्नुपर्ने अवस्था आएको शिक्षकहरू बताउँछन् । पछिल्लो समय प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या समेत घट्दै गएको छ । सीटीईभीटीका अनुसार डिप्लोमा र प्री-डिप्लोमाका कार्यक्रममा निर्धारित कोटा अनुरूप विद्यार्थी पाउन मुस्किल छ । गत वर्ष २०८१ सालमा सीटीईभीटीले प्री-डिप्लोमाका कार्यक्रमका लागि २४ हजार ५ सय ९३ सिट खुलाए पनि ७ हजार तीन सय विद्यार्थीमात्र भर्ना भए । प्री-डिप्लोमा मात्र होइन, डिप्लोमा कार्यक्रममा पनि अवस्था उस्तै छ । २०८१ सालमै सीटीईभीटीले विभिन्न कार्यक्रमका लागि ५३ हजार ७ सय ५९ सिटका लागि भर्ना खुलाउँदा २५ हजार २ सय ४९ जना विद्यार्थीमात्र भर्ना भए । पछिल्ला केही वर्षमा भर्नादर घट्दै गइरहेको छ । सीटीईभीटीका सूचना अधिकारी एकराज अधिकारीका अनुसार पछिल्ला केही वर्ष यता विद्यार्थीको संख्या घट्दै गएको छ । अधिकारी यो वर्षको लागि अहिले पनि रजिष्टशेन जारी रहेकाले ठ्याक्कै यति विद्यार्थी भर्ना भए भन्न नसकिने बताउँछन् । उनी रजिष्टेशन बन्द भइसकेपछिमात्र यकिन तथ्यांक आउने बताउँछन् । अधिकारीका अनुसार सीटीईभीटीमा विद्यार्थी घट्नाका मुख्य चारवटा कारण छन् । किन सीटीईभीटीमा विद्यार्थीको संख्या घट्यो भन्नेबारे गरिएको अध्ययनअनुसार अधिकारी विभिन्न कारण भएपनि मुख्य चारवटा कारण रहेको बताउँछन् । अधिकारीका अनुसार सबैभन्दा पहिलो कारण विद्यालय शिक्षा १२ कक्षा हुनु रहेको छ । उनी भन्छन्, ‘विद्यालय शिक्षा १२ कक्षा सम्मको भयो, हाम्रो डिप्लोमा तहका कार्यक्रमहरू एसईईपछि छ, यसो हुँदा विद्यार्थीलाई कक्षा १२ सम्म अनिवार्य गर्नुपर्छ, विद्यार्थी घट्नुको सबैभन्दा मुख्य कारण यही हो ।’ दोस्रो, शिक्षा विभागले कक्षा ९ देखि १२ सम्म प्राविधिक धारका कार्यक्रम सञ्चालन गर्नु हो । सामुदायिक विद्यालयमै विद्यार्थीले बिना शुल्क प्राविधिक धारका कार्यक्रम सञ्चालन हुँदा विद्यार्थीलाई सीटीईभीटी जानुपर्छ भन्ने लागेन । तेस्रो, विद्यार्थीमा जतिसक्दो छिटो प्लस टु पास गर्ने र विदेश जाने लहर हो । ‘सीटीईभीटीको कोर्ष गर्न तीन वर्ष लाग्छ, तर हाम्रा विद्यार्थीलाई जसोतसो प्लस टु पास हुनुपर्छ भन्ने हतार हुन्छ, विद्यार्थी प्लस टु पास गरेर विदेश जाने लहरले पनि हाम्रा विद्यार्थी कम भएका हुन्,’ अधिकारीले भने । उनी सीटीईभीटीमा विद्यार्थी कम हुनुको चौथो कारण पढेका विद्यार्थीलाई काम गर्न पर्याप्त उद्योग, कलकारखाना, प्रतिष्ठान नहुँदा पनि विद्यार्थीको रुचि घटेको बताउँछन् । सीटीईभीटीका अन्य कार्यक्रममा विद्यार्थीको संख्या घटेपनि डिप्लोमा तहको स्वास्थ्य क्षेत्रका कार्यमा भने विद्यार्थीको आकर्षण बढिरहेको अधिकारीले बताए । यस्तो भन्छन् विज्ञ सीटीईभीटीले विद्यार्थी घट्नुका विभिन्न कारण देखाएपनि विज्ञहरू भने अदक्ष जनशक्ति, स्मार्ट विद्यार्थीको परिणाम र राजनीतिक कारणले सीटीईभीटीमा विद्यार्थीको आकर्षण घटेको बताउँछन् । शिक्षाविद् डा. विष्णु कार्की सीटीईभीटीले सञ्चालन गरिरहेका कार्यक्रम नै समयअनुसार हुन नसकेको बताउँछन् । विद्यार्थीलाई छोटो समयमा पढेर पैसा कमाउनुपर्ने हतार भइरहेको बेला तीन वर्षमा एउटै कोर्ष अध्ययन गर्नुभन्दा विदेश गएर पैसा कमाउने इच्छा हुने भएकाले अब कार्यक्रमहरू नै परिमार्जन गर्नुपर्ने बताउँछन् । शिक्षाविद् प्रा.डा विद्यानाथ कोइराला विद्याथीले सीप युट्यबमा हेरेर केही समयमै सिक्ने सीप सीटीईभीटीले दुई/तीन वर्ष लगाउँदाको समस्या भएको बताउँछन् । उनी भन्छन्, ‘सीप सिक्नलाई विज्ञान र गणित चाहिन्छ भनियो, विज्ञान र गणित भन्नेबित्तिकै गाह्रो हुन्छ भन्ने बुझियो, पढाउने शिक्षक पनि अदक्ष हुनु र विद्यार्थीले विज्ञान र गणितलाई असजिलो मान्नुको परिणाम पनि सीटीईभीटीका विद्यार्थी घट्नु हो ।’ कोइरालाका अनुसार सीटीईभीटीबाट प्राविधिक शिक्षा अध्ययन गरेका विद्यार्थी ६५ देखि ६८ प्रतिशत विदेश जाने गरेको बताउँछन् । उनी हरेक मान्छेसँग गरिखाने सीप हुनुपर्ने बताउँछन् । उनी सीटीईभीटीले केही मान्छेलाई मात्र गरिखाने बनाएको बताउँदै प्राविधिक शिक्षामा पनि परम्परागत तरिका हुँदाको परिणाम भएको बताए । नेपाल राष्ट्र बैकको तथ्यांकअनुसार २५ देखि ३० प्रतिशत नेपालको अर्थतन्त्र रेमिट्यान्सले धानेको छ । अहिलेकै अवस्था रहने हो भने यो प्रतिशत अझै बढ्दै जाने छ । रेमिट्यान्स पठाउने मान्छे उच्च शिक्षा पढ्न नपाएका र मुस्किलले कक्षा १० पास गरेका व्यक्ति हुन् । सरकारले यस्ता व्यक्तिहरूलाई मध्यनजर गर्दै सीटीईभीटी स्थापना गरेको हो । शिक्षाविद् डा. विष्णु कार्की अहिले सीटीईभीटीको संरचना भन्दा पनि कार्यक्रममा ध्यान दिनु आवश्यक रहेको बताउँछन् । उनी भन्छन्, ‘संरचना र कार्यक्रम दुवै परिमार्जनको आवश्यक छ ।’ अहिले सीटीईभीटीले सञ्चालन गरिरहेका कार्यक्रम सरकारले छात्रवृत्ति दिएर पढ्न आह्वान गर्दा पनि विद्यार्थी नपाइरहेको अवस्था छ । ‘जसलाई राज्यले टार्गेट गरेर छात्रवृत्ति दिन्छौं, पढ्न आऊ भन्छ यस्ता विद्यार्थी ५० प्रतिशतसम्म नपाइरहेको अवस्था छ, यो भनेको हामीले विद्यार्थीलाई आवश्यक कार्यक्रम ल्याउन नसकेको भन्ने हो, हामीले त्यस्ता विद्यार्थीलाई चाहिने तालिम अथवा शैक्षिक कार्यक्रम दिन नसकेको हो,’ कार्कीले भने ।