११० क्षेत्रको नतिजा सार्वजनिक, कांग्रेस १२ र एमाले ६ ठाउँमा विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना मुलुकभर जारी रहेको छ । निर्वाचन आयोगका अनुसार १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म ११० क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ८५ निर्वाचन क्षेत्रमा विजय हासिल गरिसकेको छ । साथै रास्वपाले थप ३७ निर्वाचन क्षेत्रमा अग्रता कायम राखेको छ । समानुपातिकतर्फ पनि रास्वपा ७ लाख ४८ हजार बढी मतसहित शीर्ष स्थानमा रहेको छ । यसैगरी नेपाली कांग्रेसले हालसम्म १२ निर्वाचन क्षेत्रमा जीत हासिल गरेको छ भने ७ निर्वाचन क्षेत्रमा अग्रता कायम राखेको छ । समानुपातिकतर्फ कांग्रेसले २ लाख ५१ हजारभन्दा बढी मत प्राप्त गरेको छ । नेकपा (एमाले) ले हालसम्म ६ निर्वाचन क्षेत्रमा जीत हासिल गरेको छ । एमालेले थप ५ निर्वाचन क्षेत्रमा अग्रता कायम राखेको छ भने समानुपातिकतर्फ १ लाख ९८ हजारभन्दा बढी मत प्राप्त गरिसकेको छ। त्यस्तै नेपाल कम्युनिष्ट पार्टीले ५ निर्वाचन क्षेत्रमा जीत हासिल गरेको छ भने ३ निर्वाचन क्षेत्रमा अग्रता लिइरहेको छ । उक्त पार्टीले समानुपातिकतर्फ ९२ हजारभन्दा बढी मत प्राप्त गरेको छ । पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हालसम्म १ सिटमा जीत निकालेको छ भने समानुपातिकतर्फ ५१ हजारभन्दा बढी मत प्राप्त गरेको छ । यसैगरी स्वतन्त्र उम्मेदवारले १ निर्वाचन क्षेत्रमा जीत हासिल गरेका छन् भने श्रम संस्कृति पार्टीले ३ निर्वाचन क्षेत्रमा अग्रता कायम राखेको छ।
२० हजार बढी मतान्तरसहित बारा २ मा रास्वपाका चन्दन कुमार सिंह निर्वाचित
काठमाडौं । बारा क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चन्दन कुमार सिंह निर्वाचित भएका छन् । जनता समाजवादी पार्टी नेपालका रामकिशोर प्रसाद यादवलाई २० हजारभन्दा बढी मतले पछि पार्दै प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन् । चन्दनले ३५ हजार ५९० र यादवले १४ हजार १९८ मत पाएका छन् । नेपाली कांग्रेसका भैयाराम प्रसाद यादवले ११ हजार ८३७, नेकपा एमालेका बलविर प्रसाद चौधरीले ७ हजार २१३ र प्रगतीशिल लोकतान्त्रिक पार्टीका शिवचन्द्र प्रसाद कुशवाहा १ हजार ३९६ मत प्राप्त गरे ।
रुकुम पश्चिममा तेस्रो भए जनार्दन, नेकपाका गोपाल शर्मा विजयी
काठमाडौं । रुकुम पश्चिममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का गोपाल शर्मा निर्वाचित भएका छन् । उनी २१ हजार ६०९ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजु केसीले १६ हजार ६६१ मत पाए । प्रगतिशिल लोकतान्त्रिक पार्टीका जनार्दन शर्माले भने १४ हजार ३४६ मात्र मत पाए ।