सिरहा-२ मा रास्वपाका यादव ३९ हजार ५६१ मत ल्याएर विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सिरहा क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिवशङ्कर यादव विजयी भएका छन् । यस क्षेत्रका निर्वाचन अधिकृत नवराज जोशीका अनुसार यादवले ३९ हजार ५६१ मत प्राप्त गरी विजयी भएका हुन् ।  उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामचन्द्र यादवले १२ हजार ८१४ मत मात्र प्राप्त गरे । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नविन यादव ६ हजार ७१३, जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार सञ्जीवकुमार यादवले ३ हजार ८७ मत मत प्राप्त गरे ।  यस क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी २९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । अर्नमा, औरही, गोलबजार, धनगढीमाई, नवराजपुर, बरियारपट्टी, लक्ष्मीपुरपतारी र सुखीपुरका विभिन्न ४१ वडा समेटिएको यस निर्वाचन क्षेत्रमा कूल १ लाख १५ हजार ७५८ मतदाता रहेकामा ७३ हजार १७५ मत खसेको थियो । 

मोरङ-१ मा रास्वपाका न्यौपाने विजयी

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मोरङको निर्वाचन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार यज्ञमणि न्यौपाने विजयी भएका छन् ।  मोरङ-१ को निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार न्यौपाने २७ हजार ३६७ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका उम्मेदवार शान्ति पाख्रिन लामाले १७ हजार ५२२ मत प्राप्त गरिन् ।  नेपाली कांग्रेसका उम्मेदवार खड्गबहादुर फागोले ११ हजार ९८६, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार घनश्याम खतिवडाले ९ हजार ८२३ मत प्राप्त गरेका छन् । सो निर्वाचन क्षेत्रमा १ लाख २८ हजार ५४५ मतदाता रहेकामा ७७ हजार ५८५ मत खसेको थियो ।

४५ हजार ६८० मत ल्याएर झापा १ मा रास्वपाकी निशा डाँगी विजयी

काठमाडौं । झापा निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार निशा डाँगी निर्वाचित भएकी छिन् । निर्वाचन अधिकृत गोपी विश्वकर्माका अनुसार रास्वपाका उम्मेदवार डाँगीले ४५ हजार ६८० मत प्राप्त गरी निर्वाचित भएकी हुन् ।  उनका अनुसार निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार केशवराज पाण्डेले १० हजार ५५० मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीका उम्मेदवार केवलराम राईले १० हजार चार, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार रामचन्द्र उप्रेतीले ७ हजार ६५९ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा ८३ हजार ८२२ मत खसेको थियो भने ७ हजार ७७ मत बदर भएको उनले बताए ।