हाइब्रिड कारमा कर छुट दिने व्यवस्था विवादमा, व्यवसायीबीच विवाद हुँदा सरकार रमिते

काठमाण्डौ । सरकारले चालु आर्थिक वर्ष २०७६/७७ को बजेटमा हाइब्रिड कारमा भन्सार र अन्तःशुल्कमा ५०/५० प्रतिशत छुट दिने व्यवस्था गर्यो । नयाँ नियम अनुसार हाल नेपाल आयात भइरहेका कारको तुलनामा हाइब्रिड कारमा लाग्ने राजस्व ६१ प्रतिशतले कम हुने व्यवसायीहरु बताउँछन् । चालू आर्थिक वर्षको आर्थिक ऐनमार्फत भएको भन्सार ऐनको संशोधनमा ‘कम्प्रेसन इग्निसन इन्टरनल कम्बसन पिस्टोन इन्जिन (डिजेल वा अर्ध डिजेल) र धक्का दिने विद्युतीय मोटर दुवै भएका तथा स्पार्क (इग्निसन इन्टरनल कम्बसन रेसिप्रोकेटिङ पिस्टोन इन्जिन र धक्का दिने विद्युतीय मोटर दुवै भएका सवारी साधन पैठारी गर्दा दरबन्दी बमोजिम लाग्ने भन्सार महसुलमा ५० प्रतिशत छूट हुनेछ,’ उल्लेख गरिएको छ । यस्ता स्पेसिफिकेसन भएका सवारी साधन आयातमा लाग्ने अन्तःशुल्कमा समेत ५० प्रतिशत छुट दिने व्यवस्था आर्थिक ऐनले गरेको छ । उक्त छुटको विषयलाई लिएर व्यवसायीहरु दुई भागमा विभाजित भएका छन् । एक थरी व्यवसायीहरु उक्त छुट ठिक भएकोले कार्यान्वयन हुनुपर्छ भन्ने पक्षमा छन् भने अर्काथरी व्यवसायी उक्त व्यवस्था गलत भएको भन्दै त्यसको विरोधमा देखिएका छन् । हाइब्रिड कारको परिभाषा स्पष्ट नभएकोले यस विषयमा विवाद भएको नाडा अटोमोवाईल्स एसोशिएशन नेपालका अध्यक्ष शम्भु प्रसाद दाहालले बताए । हाइब्रिड कारमा कति प्रतिशत नविकरणीय उर्जा प्रयोग हुने र कति प्रतिशत पेट्रोल वा डिजेल प्रयोग हुने भन्ने विषय विवादमा रहेको उनले बताए । केही हाइव्रिड कारमा १० प्रतिशतभन्दा कम नविकरणीय उर्जा प्रयोग हुने र ९० प्रतिशतभन्दा बढी पेट्रोल/डिजेल प्रयोग हुने भएकोले यस्तामा ६१ प्रतिशतसम्म कर छुट दिँदा देशलाई कतै पनि लाभ नहुने एकथरी व्यवसायीहरुको तर्क छ । तर ४६ प्रतिशत नविकरणीय उर्जा प्रयोग हुने हाइब्रिड कार आयात गर्दा पनि सरकारले दिएको कर छुट सुविधा नपाएको नाडाका कार्यकारिणी सदस्य करण चौधरी बताउँछन् । ‘हाइबिीड कारमा भन्सार र अन्तःशुल्क छुट दिने व्यवस्थाको कार्यान्वयन भएको छैन । यो व्यवस्था लागू हुने हो भने उपभोक्तालाई लाभ हुने थियो’ उनले भने । हाइब्रिड कारमा भन्सार र अन्तःशुल्क छुट दिने विषयमा अर्थ मन्त्रालयमा छलफल भइरहेको अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले बताए । ‘यस विषयमा छलफल भइरहेको छ,’ उनले भने ‘नविकरणीय ऊर्जा र इन्धन खपत हेरेर कर छुट दिइन्छ ।’ कस्तो खालको हाइब्रिड गाडीमा कति प्रतिशत छुट दिने अर्थात कति प्रतिशत नविकरणीय ऊर्जा उपयोग हुनेले कति छुट पाउने विषयमा अहिले निर्णय नभएको उनले बताए । ‘उनले भने यस विषयमा निर्णय हुन वाँकी छ ।’

सवारी साधनको कुम्भ मेला भदौ १० देखि, ९५ वटा ब्राण्ड एकै स्थलमा

काठमाडौं । नाडा अटोमोबाइल्स् एशोसियशन अफ नेपालले यही भदौ १० देखि सवारीसाधनहरुको कुम्भ मेला ‘नाडा अटो शो २०१९’ आयोजना गर्ने भएको छ । नाडाले आइतबार काठमाडौमा पत्रकार सम्मेलन गरेर भदौ १० गतेदेखि १५ गतेसम्म भृकुटीमण्डपमा अटो शो गर्ने जानकारी दिएको हो । अटो शोमा १६० वटा स्टलहरु र ब्लकहरुमा ९५ ब्राण्डका सवारी साधन प्रदर्शन र बिक्री वितरण गरिने छ । २३ वटा ब्राण्डका चार पाङ्ग्रे, १९ वटा ब्राण्डका दुई पाङ्ग्रे, १२ वटा ब्राण्डका लुब्रिकेन्ट, ९ वटा ब्राण्डका टायर, ५ वटा ब्राण्डका ब्याट्री, १४ वटा ब्राण्डका पार्टपूर्जा एवम् ग्यारेज उपकरण तथा १३ वटा वित्तीय संस्थाहरुको स्टल रहने छ । नाडाका अध्यक्ष शम्भुप्रसाद दाहालले नाडा अटो शो सबैको उत्सव भएकोले यसलाई सबैले महत्व दिएको बताए । नाडा अटो शो आधुनिक हुँदै गएको र अघिल्लो वर्ष ७१ वटा स्टल भएकोमा यो वर्ष ९५ वटा स्टल रहने बताए । नाडा अटो शोका संयोजक निराकर श्रेष्ठले यस वर्ष मेलामा आउने आगन्तुकहरुलाई मध्य नजर गरी अस्थाइ आकाशे पुलको निर्माण गरिने बताए । अटो शोमा नयाँ र पुराना ५ वटा ब्रान्डका विद्युतीय र हाइब्रिड गाडीहरु रहने बताए । यस संकरणको मुख्य प्रायोजक शीर्ष सर्भो क्लास लुब्रिकेन्ट्स रहेको छ । नाडाले दशैं आउन एक महिना अगाडि गर्न लागिएको अटो शोमा गाडीका नयाँ मोडलहरु सार्वजनिक गरिने तथा खरिदकर्ताहरुलाई विभिन्न छुट दिनेछ । ७५ हजार दर्शकले अवलोकन गर्ने नाडाको अनुमान छ । प्रदर्शनीमा वित्तीय संस्था, नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस, लुब्रिकेन्टस, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एशोसेरिजहरूको सहभागिता रहने छ । जसमा नेपालमै उत्पादित सामाग्रीहरू समेत प्रदर्शनीमा रहने छन् । ओमेगा अटोमोबाइल्सको प्रायोजनमा नाडा जी पी एक्स जेन्टलमेन २०० सीसी क्षमाताको मोटर साइकल टिकटको लक्की ड्र गरी एक जना आगन्तुकलाई उपहार दिने व्यवस्था गरिएको छ ।

गल्फ लुब्रिकेन्ट्सको रिटेलस मिट, ‘धेरै बिक्री गर्ने प्रतिबद्धता जनाउनेलाई सुजुकी अल्टो कार’

काठमाडौँ । गल्फ लुब्रिकेन्ट्सको उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेडले बुधबार गल्फ रिटेलर मिट सम्पन्न गरेको छ । काठमाडौंका लागि गल्फको आधिकारिक वितरक एभ ट्रेडिङ प्रालिको समन्वयमा भएको सो रिटेलर मिटमा विभिन्न संस्थाहरु पुरस्कृत समेत भएका छन् । सो अवसरमा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपानेले उपभोक्तालाई मर्कामा पारेर नभई आफ्नो नाफाबाट मात्र उपहार कुपन बाँड्न र गुणस्तरीय लुब्रिकेन्ट्सको प्रयोग वारेमा मेकानिक्सहरुलाई जानकारी प्रदान गर्न अनुरोध गरे । माउन्टेन स्पोर्ट्स फेडरेसनका अध्यक्ष गोविन्द भट्टराईले सवारी साधनको मर्मत सम्भार गर्दा सावधानी अपनाएर गुणस्तरीय लुब्रिकेन्ट्स र पार्ट्स प्रयोग गरिए सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताए । नेपाल अटो मेकानिक्स ट्रेड युनियन(नाटु) का उपाध्यक्ष प्रदीप घिमिरेले लुब्रिकेन्ट्सको काम गर्दा मेकानिक्सहरुमा देखिन सक्ने स्वास्थ्य समस्याका वारेमा समेत लुब्रिकेन्ट उत्पादकहरुले ध्यान दिनुपर्ने बताउँदै यसको गुणस्तर र प्रयोगका बारेमा मेकानिक्सहरुलाई समय समयमा तालिमको आवश्यकता औल्याए । सो अवसरमा नेपाल ल्युब आयल लिमिटेडका नेसनल सेल्स म्यानेजर रविन्द्र उपाध्यायले गल्फ लुब्रिकेन्ट्सको गुणस्तरीयता वारेमा जानकारी प्रदान गर्दै मेकानिक्सहरुले समेत लुब्रिकेन्ट्सको वारेमा जानकारी लिनु आवश्यक भएकाले कम्पनीले समेत समय समयमा विभिन्न कार्यक्रम गर्दै आएको बताए । नेपाल अटो ट्रेडिङका प्रबन्ध निर्देशक रामप्रसाद कँडेलले ग्राहक र कम्पनी बीचको सम्बन्ध मजबुत बनाउनका लागि रिटेलरहरुको भूमिका महत्वपूर्ण भएको बताउदै आगामी दिनमा सो सम्बन्ध थप मजबुत हुने विश्वास ब्यक्त गरे । एभ ट्रेडिङका प्रबन्ध निर्देशक मधुसूदन सिग्देलले गल्फ लुब्रिकेन्ट गुणस्तरीय भएकै कारण एभ ट्रेडिङले काठमाडौं क्षेत्रमा राम्रो व्यवसाय गर्न सफल भएको बताउदै यो कार्यमा संलग्न सबै व्यवसायीहरुलाई धन्यवाद ज्ञापन गरे । सो अवसरमा राम्रो परिमाणमा गल्फ लुब्रिकेन्ट्स बिक्री–वितरण गर्ने रिटेलर तथा मेकानिक्सहरुलाई विभिन्न उपहार प्रदान गरिएको थियो । यस अन्तर्गत धनश्री अटो केयरले बुलेट क्लासिक ३५० बाइक प्राप्त गरेको छ । आगामी आर्थिक वर्षका लागि सिन्धुली अटो पार्ट्सले धेरै बिक्री गर्ने प्रतिबद्धता जनाउदै सुजुकी अल्टो ८०० कार अग्रिम रुपमा प्राप्त गरेको छ । त्यसैगरी राम मोटरसाइकल वर्कसप, दिलिप मोटरसाइकल वर्कसप र विकास मोटरसाइकल वर्कसपले ३२ इन्चको एलईडी टीभी पाएका छन् भने आरके मोटरसाइकल वर्कसप, राजु अटो पार्ट्स र गिरी अटो पार्ट्सले वासिङ मेसिन पाएका छन् । न्यु श्रेष्ठ अटो पार्ट्सले भने आईफाइभ ल्यापटप प्राप्त गरेको छ । गल्फ लुब्रिकेन्टले गत वर्ष नै दुई आर्थिक वर्षका लागि अग्रिम रुपमा विभिन्न विक्रेताहरुलाई भिटारा ब्रेजा कार वितरण गरिसकेको छ । नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्री–वितरण समेत गर्छ । गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट ब्रान्ड हो ।