सनराइज बैंकले गाडी किन्न बिना धितो ६० प्रतिशतसम्म कर्जा दिने
काठमाडौं । सनराइज बैंक र आईएमई समूहद्वारा संचालित नेपालका लागि अशोक लेल्याण्ड ब्राण्डका विभिन्न सवारी साधनको आधिकारीक बिक्रेता आई एम ई मोटर्स प्राइभेट लिमिटेड बिच सहमतिपत्रमा हस्ताक्षर भएको छ । उक्त सहमतिपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र आईएमई मोटर्सका तर्फबाट कार्यकारी निर्देशक सन्दिप अग्रवालले हस्ताक्षर गरेका हुन् । यस सहमतिपत्र अनुरुप, आईएमई मोटर्सद्वारा वितरित सवारी साधन खरिद गर्नका लागि सनराइज बैंकबाट कर्जा प्रवाह गर्ने सहमतिमा हस्ताक्षर भएको छ । ग्राहकहरुले उक्त सवारी साधन खरिदका लागि बिना धितो खरिद मूल्यको ६० प्रतिशतसम्मको कर्जा सुबिधा पाउने बैंकले जनाएको छ । कर्जाको मासिक किस्ता ईएम आईको आधारमा अधिकतम ७ वर्षको अवधिमा भुक्तानी गर्न सकिनेछ । कर्जा बैंकले ३ कार्य दिन भित्र उपलब्ध गराउने व्यवस्था समेत गरेको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकले सिजि मोटो कर्पबाट गाडी किन्दा सहुलियत कर्जा दिने
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र सिजि मोटो कर्पबिच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनीबिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक रजित मास्के र सिजि मोटो कर्पका तर्फबाट उक्त कम्पनीका महाप्रबन्धक सिराज पन्तले हस्ताक्षर गरेका छन् । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिँदै आएकोमा यस सम्झौता अनुसार यस बैंकका ग्राहकहरुले सुजुकी ब्राण्डको गाडीको आधिकारीक विक्रेता सिजि मोटो कर्पबाट नयाँ गाडी खरीद गर्न चाहेमा ९.५ प्रतिशत ब्याजदरमा गाडीको मूल्यको ५० प्रतिशत सम्म कर्जा सुविधा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सक्नेछन् ।
दीगो ब्रान्डका विद्युतीय गाडी किन्दा चार तोलासम्म सुन र आकर्षक उपहार पाइने
काठमाडौं । दीगोले दीगोे ब्रान्डका विद्युतीय सवारी साधन खरिद गर्ने प्रत्येक ग्राहकका लागि दसैं अफर ‘दीगो स्वर्ण उत्सव’ सार्वजनिक गरको छ । यो उत्सवमा ग्राहकले खरिद गरेको गाडीको मोडलको आधारमा चार तोलासम्म सुन उपहार पाउने छन् । यसबाहेक पनि ग्राहकले निःशुल्क एसेसोरिज, एक वर्षको सडक कर, तीनवटा निःशुल्क सर्भिसिङ र ८० प्रतिशतसम्म कर्जाको सुविधा पाउनेछन् । यसका अतिरिक्त ग्राहकले ७० प्रतिशत कम चालू खर्चले पुग्ने विद्युतीय गाडी, ज्यादै कम मर्मत खर्च, अत्यन्तै सजिलो ड्राइभिङ लगायतको लाभ पनि लिन पाउने छन् । दीगोेले नेपाली बजारमा दीगोे इ८, डिएफएसके डाँफे, जोयलङ इ६ र सिएचटिसी इ–बस सार्वजनिक गरेको थियो । यो स्वर्ण उत्सव यी चारवटै मोडलहरुमा लागू हुनेछ । दीगोे इ८ ह्याचब्याक कार हो । यो मोडलको मुल्य २४ लाख ९४ हजार रुपैयाँ तोकिएको छ । १५.२ किलोवाट आवर ब्याट्री प्याक र १५ किलोवाटको मोटर रहेको यो कार एकपटकको चार्जले सामान्य ड्राइभिङ कन्डिसनमा १५० किलोमिटर (एनइडिसी २०० किलोमिटर) गुड्छ । डिएफएसके डाँफे ११ सिट भएको माइक्रोबस हो । यो गाडीको मूल्य ४४ लाख रुपैयाँ तोकिएको छ । यसमा ४२ किलोवाट आवरको ब्याट्री र ६० किलोवाटको मोटर छ । एकपटकको चार्जले सामान्य ड्राइभिङ कन्डिसनमा यो माइक्रोबस २५० किलोमिटरसम्म (एनइडिसी ३०० किलोमिटर) गुड्छ । त्यसैगरी जोयलङ इ६, २० सिट क्षमताको मिनिबस हो । ९० लाख रुपैयाँ मूल्य पर्ने इ६, ८० किलोवाट आवरको ब्याट्री प्याक र ११० किलोवाटको मोटरसहित आउँछ । एकपटकको चार्जले यो बस सामान्य ड्राइभिङ कन्डिसनमा २१० किलोमिटर (एनइडिसी २८० किमि) गुड्छ । त्यस्तै, सिएचटिसी इ–बस २८ सिटको छ । १ करोड २६ लाख ५० हजार मूल्य तोकिएको यो बसको सिट क्षमता आवश्यकता अनुसार मिलाउन सकिन्छ । यसमा १२९ किलोवाट आवरको ब्याट्री प्याक र १४० किलोवाटको मोटर छ । एकपटकको चार्जले यो बस २०० किलोमिटर गुड्छ । ‘यो बजारमा उपलब्ध मध्येको उत्कृष्ट अफर हो । ग्राहकले एकातिर सवारी साधनमा धेरै आकर्षक अफर पाइरहनुभएको छ भने त्यही समयमा उहाँहरुले विद्युतीय बाहनको जबरदस्त, लाभ पाउनुहुन्छ । यो अफरमार्फत हामी पर्वको उमंग र खुसियाली ल्याउन चाहन्छौं । आशा गरौं चाँडै नै सबै ठिक हुनेछ र आवश्यक सबै सावधानी अपनाएर पर्व मनाउनेछौं । हामी सबैजनालाई सुस्वास्थ्य र समृद्धिसहित ज्यादै सुखद र सुरक्षित दसैंको कामना गर्दछौं ।’, चाडपर्वको अवसर पारेर ल्याइएको अफरका विषयमा बोल्दै दीगो कम्पनीका सिइओ हेमन्त पुरानिकले भने ।