हिरोले ल्यायो आईथ्रीएस प्रविधिका तीन नयाँ बाइक
काठमाडौं, ६ मंसिर । हिरोले एकैपटक तीनवटा बाइकलाई नयाँ भर्सनमा ल्याएको छ । हिरो मोटरकर्प लिमिटेडले स्प्लेण्डर आइस्मार्ट ११० सीसी, न्यू अभिचर १५० सीसी र नयाँ सुपर स्प्लेण्डर १२५ सीसीको नयाँ भर्सनलाई नेपाली बजारमा ल्याएको हो । हिरोको आधिकारिक विक्रेता नेपाल जनरल मार्के्टिङले सोमबार काठमाडौंमा सार्वजनिक गरेका तीन वटै बाइकका यसअघिका अडिसन नेपाली बजारमा लोकप्रिय भइसकेका थिए । कम्पनीले नेपालमा अपग्रेड गरेर भित्र्याएको तीन वटै मोटरसाइकल आईथ्रीएस प्रविधिमा छन् । कम्पनीका प्रतिनिधिहरुले बाइकहरु अनावरण गर्दै भरपर्दो, उर्जायुक्त र प्रभावकारी उत्पादनहरु नेपाली बजारमा ल्याएको बताए । कम्पनीले केही महिना अगाडि मात्रै डुएट स्कुटर बजारमा ल्याएको थियो । कम्पनीले बजारमा ल्याएको स्प्लेण्ड आइस्मार्ट ११० सीसीको मोटरसाइकल भारतको जयपुरमै डिजाइन भएको हो । सबै बाइकमा ९ पटकको फ्रि सर्भिस र ५ वर्षको वारेन्टी दिइएको छ ।
सवारी चालक इजाजतपत्रका लागि निवेदन बुधबारदेखि खुल्ला
काठमाडौँ, ८ मङ्सिर । यातायात व्यवस्था विभागले बागमती अञ्चल कार्यालयमा सवारी चालक इजाजतपत्र लिनका लागि नयाँ निवेदन बुधबारदेखि खुला गरेको छ । बागमती अञ्चल कार्यालयले विभिन्न प्राविधिक कारणले दशैँदेखि नयाँ निवेदन लिन रोकेको थियो । नयाँ निवेदन नखुलेपछि सेवाग्राहीलाई दुईपाङ्ग्रे, चारपाङ्ग्रे तथा अन्य सवारीसाधनको इजाजतपत्र लिन समस्या भएको थियो । गत असोज ११ गतेको राजपत्रमा केही नियमावली संशोधन भएकाले विभागले नयाँ निवेदन रोकेकोमा बुधबारदेखि नयाँ नियमअनुसार निवेदन खुला गरिएको विभागका निर्देशक निरन्जन रिजालले जानकारी दिए । सवारी चालक इजाजतपत्र लिन चाहने सेवाग्राहीले एकपटक लिखित परीक्षा फेल भएमा तीन महिनासम्म परीक्षण (ट्रायल) परीक्षा दिन नपाउने व्यवस्था गरिएकोमा त्यसलाई नियमावली संशोधन गरी एकपटक लिखित परीक्षा उत्तीर्ण भएकाले तीनपटकसम्म परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । पुराना निवेदकले दिएको निवेदनको काम कारबाही भने सुचारु भइरहेको थियो । रासस
सिप्रदिको ग्लोवल सर्भिस क्याम्प सुरु, देशभरका २४ वटा सर्भिस सेन्टरमा ग्लोवल क्याम्प गरिने
काठमाडौं, ७ मंसिर । ग्राहकलाई उच्चस्तरीय सेवा दिने उदेश्यले सिप्रदी ट्रेडिङले ग्लोबल सर्भिस क्याम्प आयोजना गरेको छ । कम्पनीको नेपालभरी रहेका २४ वटा सर्भिस सेन्टरमा ग्लोबल क्याम्प सुरु भएको हो । टाटा मोटर्सले संसारभरी रहेका सम्पूर्ण ग्राहकलाई उच्चस्तरीय सेवा दिने उदेश्य राखेको छ । सोही उदेश्य अनुसार सिप्रदीले यो ग्लोबल क्याम्प गरेको जनाएको छ । सोमबारदेखि तीन दिनसम्म चल्ने यो क्याम्पमा टाटाका कमर्सियल गाडीहरुको निशुल्क सर्भि्सिङ गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सर्भिस चार्ज,ब्याट्री तथा इलेक्ट्रिक चेकअप,फ्युल इन्जेक्सन पम्प चेकअप,आँखा तथा साधारण स्वास्थ्य जाँच,चालकलाई तालिम र एचआइभी एड्स जनचेतना तालिम निशुल्क गरिनेछ । कम्पनीले म्याक लुब्रिकेन्ट्समा २० प्रतिशत र टाटा जेन्युइन स्पेयर पार्टसमा १० प्रतिशत छुट दिने जनाएको छ । यो अवधिमा उत्कृष्ट माइलेज अवार्ड,मोबाइल उपहार,प्रत्येक गाडीलाई आकर्षक उपहार र वम्पर उपहारमा ४० इन्चको एलइडी टेलिभिजन दिइने कम्पनीले जनाएको छ। कम्पनीले तीन दिनको अवधिमा तीन हजार भन्दा बढी गाडीको सर्भि्सिङ गर्ने लक्ष्य राखेको जनाएको छ ।