बिहीबारदेखि शनिबारसम्म थप एक हजार बस थपिने, दसैंमा घरजानेलाइ राहत

काठमाडौं १९, असोज । दसैंमा यात्रुको चाप हुने मुख्य तीन दिन बिहीबारदेखि शनिबारसम्म थप हजार बस थप्ने घोषणा निजी व्यवसायीले गरेका छन्। यात्रुको चापअनुसार यातायात व्यवसायीले बस थप्न नमानेपछि सरकारले सय वटा बस थप्ने निर्णय गरेसँगै निजी व्यवसायी तातेका हुन भन्ने समाचार बुधबारको अन्नपूर्ण पोष्टले छापेको छ। यात्रुको चापअनुसार दशैमा बसको संख्या थप्न निजी क्षेत्रले रोखेको माग सरकारले पुरा नगरी आफैं बस सञ्चालन गर्ने निर्णय गरेपछि व्यवसायीले लामो दूरीमा तीन दिनमा हजार बस थप्ने घोषणा गरेको हुन्। नेपाल यातायात व्यवसयी राष्ट्रिय महासंघले यात्रुको अत्याधिक चाप हुने आगामी बिहीबार शुक्रबार र शनिबार दैनिक ती यस ३० गाडी थपेर सञ्चालन गर्न लागेको उल्लेख गरेको छ । बस थप्न लाग्ने अतिरिक्त खर्च महासंघले व्यहोर्ने सर्तमा व्यवसायी बस थप्न तयार भएका हुन् ।

अरनिको यातायातको सिन्डिकेट तोडियो, काभ्रेको कोसीमापरी जाने सुनकोसी पूर्व यातायातको १७ वटा टाटासुमो

काठामाडौं १९, असोज । काभ्रेको कोसीपारि क्षेत्रमा अरनिको यातायातको सिन्डिकेट तोडिएको छ । सुनकोसी पूर्व यातायात प्रालिले दसैंको मौका पारी १६ टाटासुमो गाडीबाट मंगलबारबाट सेवा सुरु गरेपछि अरनिकोको सिन्डिकेट तोडिएको समाचार बुधबारको कान्तिपुरले छापेको छ। कोसीपारिमा अरनिकोको एकाधिकारका कारण थोरै गाडी चल्दै आएका छन् । थोरै गाडीमा यात्रुको चाप बढी हुँदा बेलाबेला ठूला दुर्घटना हुने गरेको छ । गत महिनामात्र कोसीपारि २७ जनाको ज्यान जाने गरी बस दुर्घटना भएको थियो । काभ्रेका निमित्त प्रमुख जिल्ला अधिकारी भीमकान्त अधिकारीले ऐन, कानुन अनुसार नयाँ यातायात कम्पनी आउन पाउने बताए । ‘राज्यको ऐन, कानुन मानेर आउने यातायात कम्पनीलाई स्वागत गर्ने सरकारको नीति हो’ उनले भने, ‘यातायातमा सिन्डिकेट तोड्ने राज्यको दायित्व हो ।’ उनले प्रक्रिया पुर्‍याएर आउने यातायात कम्पनीलाई आवश्यक परे सुरक्षा व्यवस्था मिलाउने बताए । सुनकोसी पूर्व यातायात प्रालिले यातायात व्यवस्था कार्यालय वाग्मतीबाट अस्थायी रुट परमिट लिएर सञ्चालन गरेको अध्यक्ष रमेश सेढाईंले जानकारी दिए । उनका अनुसार तत्काल १६ वटा सुमो सञ्चालन गरिएकोमा बिस्तारै थप्दै लगिनेछ । १७ वटै गाविसमा सेवा दिने उनले जानकारी दिए । ‘कच्ची सडकमा ठूला गाडीले जोखिम बढाएपछि स्थानीयको मागका आधारमा सञ्चालन गरेका हौं,’ सेढाईंले भने, ‘सबै गाविस र रुटमा सेवा पुर्‍याउन गाडी संख्या थप्दै लैजान्छौं ।’ जिल्ला प्रशासन कार्यालयमा प्रहरी प्रमुखसमेतको उपस्थिति अन्तिम स्टप (कात्तिके देउराली)सम्मको भाडा साढे ५ सय निर्धारण गरिएको उनले जानकारी दिए । पोखरीचौरी ५ का व्यापारी नवराज गौतमले प्रालिले नयाँ गाडी चलाउन सुरु गरेपछि यात्रा सहज भएको बताए । उनले भने, ‘ठूलो गाडीको तुलनामा सजिलो भएको छ ।’ अरनिकोले काभ्रेसहित सिन्धुपाल्चोक, रामेछाप, दोलखा जिल्लामा एकलौटी गाडी चलाउँदै आएको छ । ती जिल्लामा सिन्डिकेट नभएको देखाउन उसले विभिन्न समितिको नाममा गाडी सञ्चालन गर्दै आएको छ । जिल्लाको कोसीपारि क्षेत्रमा उसले कोसीपारि यातायात, चौतारामा जुगल, बाह्रबिसेमा सुनकोसी, दोलखा, रामेछाप (लोकल टिप)मा सगरमाथा, दोलखा, रामेछापबाट काठमाडौं चल्नेमा अरनिको सुपर, सिगटीमा गौरीशंकर यातायातको नाममा अरनिकोले सेवा सञ्चालन गर्दै आएको छ । ती सबैको मूल समिति अरनिको यातायात नै हो । कच्ची सडकमा चल्ने पुराना गाडीका कारण कोसीपारिका १७ गाविसमा पटक–पटक सवारी दुर्घटना हुँदै आएका छन् ।

लाइफ अटोमोबाइलद्धारा ‘पुन्टो प्युअर’ कार नारायणघाटमा सञ्चालनमा

नारायणघाट, १७ असोज । नेपालका लागि फियाट् कारको आधिकारिक विक्रेता लाइफ अटोमोबाइलले ‘पुन्टो प्युअर’लाई नारायणघाटमा सार्वजनिक गरेको छ । ‘बेस्ट–इन–क्लास’ सुविधा भएको युरोपियन ह्याचब्याक अब स्थानीय डिलर युरो अटोमोटिभमा उपलब्ध हुने छ । कम्पनीको अनुसार पुन्टो प्युअर आकर्षक विशेषता भएको इन्ट्रि–लेभल ह्याचब्याक हो । बलियो बनोट, पर्याप्त स्पेस, उच्च ग्राउन्ड क्लेरेन्स र प्रिमियम डिजाइनका कारण यो कारलाई काठमाडौंमा रुचाइएको छ । उक्त कारमा चार वटा सिलिन्डर भएको १.२ लिटर फायर पेट्रोल इन्जिन जडान गरिएको छ । यसले ६ हजार आरपीएममा ६८ पीएस उर्जा र २५०० आरपीएममा ९६ एनएम टर्क उत्पन्न गर्छ । पुन्टो प्युअर ‘एक्जोटिक रेड’, ‘हिपहप ब्ल्याक’ र ‘ह्वाइट’ गरी तीन रंगमा उपलब्ध रहेको छ । कम्पनीका अनुसार पाँच वटा ढोका भएको यो युरोपेली ह्याचब्याकमा अवार्ड–प्राप्त इन्जिन जडान गरिएको छ जसले कम इन्धन खपतमा शक्तिशाली उर्जा पैदा गर्छ । पुन्टो प्युअरमा पाँच स्पिडको म्यानुअल ट्रान्समिसन छ । ४५ लिटर क्षमताको फ्युल ट्यांक भएको यो इटालिन कारले १५ दशमलब ७ केएमपीएल माइलेज दिन्छ । पुन्टो प्युअरको इन्टेरियर यसको अघिल्लो संस्करण पुन्टो इभोबाट प्रभावित छ । कम्पनीका अनुसार यसमा पाँच जना मानिस सजिलैसँग यात्रा गर्न सक्नेछन् । कारको बुट स्पेस २८० लिटर छ । पुन्टोको आकार ‘क्लास लिडिङ’ हो । ठूलो आकारका कारण यो कारले सडकमा आफ्नो बलियो उपस्थिति देखाउनेछ । पुन्टो प्युअरमा १४ इन्चको स्टिल ह्विल र कालो रंगको आउटर रियर भ्यु मिरर (ओआरभीएम) जडान गरिएको छ । पुन्टो प्युअरमा ‘फलो मि हेडल्याम्प’ छ जसले इन्जिन बन्द भइसकेपछि पनि केही समयका लागि हेडल्याम्पलाई बालिराख्नेछ । सिटको हेडरेस्टलाई एड्जस्ट गर्न सकिन्छ, पछाडिको सिटमा हेड रिस्टे«न्टसमेत राखिएको छ जसले यात्रालाई आनन्ददायी बनाउँछ । यसको ग्राउन्ड क्लेरेन्स १९५ मिलिमिटर रहेको छ जुन यो क्लासकै सबैभन्दा बढी हो । यसमा फायर प्रिभेन्सन सिस्टम पनि जडान गरिएको छ जसले दुर्घटनाको समयमा इन्धन आपुर्तिलाई काटिदिने कम्पनीको विश्वास छ । उक्त कार चितवन उद्योग वाणिज्य महासंघका अध्यक्ष राजन गौतमले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।