टीभीएसकाे नयाँ रेकर्ड, एकैदिन बिक्री गर्याे एक हजार बाइक तथा स्कुटर
काठमाडौं । नेपालमा टीभीएस मोटर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले कात्तिक ५ गते बुधबार एकैदिन एक हजार बाइक तथा स्कुटर बिक्री गरेर रेकर्ड कायम गरेको छ । देशभर रहेका १३२ शोरुममार्फत यति धेरै बाइक तथा स्कुटर बिक्री गरिएको जगदम्बा मोटर्सका मार्केटिङ म्यानेजर नवराज कोइरालाले बताए । यो भन्दा पहिले गत कात्तिक ३ गते सोमबार एकै दिन ८२५ युनिट बिक्री गरिएको थियो । हिजोको बिक्रीले नेपाली बजारमा टीभीएसले एक इतिहास कायम गरेको छ । दशैंको अवसरमा नयाँ बाइक र स्कुटर किन्ने चलन भएकाले दसैं नजिकिदै गर्दा यी सवारी साधन खरिद गरेका हुन् । हाल नेपाली बजारमा सबै रेन्ज र सबैलाई उपयुक्त हुने मूल्यमा टीभीएसका बाइक तथा स्कुटर उपलब्ध छन् । यी सबै सवारी साधन खरिद गर्नका लागि जगदम्बा मोटर्सले आफ्नै जगदम्बा इन्भेष्टमेन्ट कम्पनीमार्फत फाइनान्सको व्यवस्था समेत गर्दै आएको छ । उपयुक्त गुणस्तरका बाइक तथा स्कुटर सबैका लागि उपलब्ध भएकाले छोटो समयमा टीभीएसले नेपाली बजारमा सफलता प्राप्त गरेको कोइरालाले बताए । जगदम्बा मोटर्सले पछिल्लो समयमा स्मार्ट कनेक्ट र एबीएस सहितका अपाचे आरटीआर २०० र आरटीआर १६० समेत नेपाली बजारमा उपलब्ध गराएको छ । टीभीएस एनटर्क स्कुटर नेपाली बजारमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम स्कुटर भनेर केही दिन पहिले जगदम्बा मोटर्सले घोषणा समेत गरेको थियो । नेपाली बजारमा हाल यसका १ सय सीसीको एक्सएल १०० मोडलको मोपेडदेखि ३१० सीसी क्षमताको आरआर ३१० रेसिङ बाइकसम्म उपलव्ध छ । त्यसैगरी ५ फरक मोडलमा स्कुटर र २ मोडलका थ्री ह्विलरको समेत कारोबार हुँदै आइरहेको छ । तथापि अपाचे सिरिजका मोटरसाइकल र एनटर्क स्कुटर पछिल्लो समयका सर्बाधिक चर्चित उत्पादन हुन् । जुन युवा पुस्तामाझ निकै लोकप्रिय बनिरहेका छन् । नेपालमा जगदम्बा मोटर्सले टीभीएसका सवारी साधन बिक्री–वितरण गर्न थालेको ५ वर्ष मात्र भएको छ । छोटो समयमै टीभीएसको पहिचान नेपाली बजारमा एक उत्कृष्ट ब्रान्डका रुपमा स्थापित भएको छ । नेपाली बजारमा बिगत लामो समयदेखि कारोबार हुँदै आइरहे पनि गुमनाम प्रायः रहँदै आएको यो ब्रान्ड जगदम्बा मोटर्स मातहत आएपछि यसले पुनर्जन्म नै पाएको हो भन्दा फरक पर्दैन । हाल यो नेपाली बजारमा सर्बाधिक बिक्री हुने उत्कृष्ट ५ ब्रान्डका टु ह्विलरमा समावेश हुन सफल भएको छ । टीभीएस ब्रान्डका मोटरसाइकल तथा स्कुटर बलियो, मजबुत र उच्चतम पावर तथा पर्फमेन्सका कारण चर्चित मानिन्छन् । सबै बर्गका राइडर लक्षित मोडल उपलव्ध हुनु यसको अर्को महत्वपूर्ण विशेषता हो । नेपालमा खासगरी युवा पुस्ताले यो ब्रान्डलाई बढी रुचाएका छन् । आधुनिक डिजाइन, आकर्षक लुक्स र उच्चतम पावर तथा पर्फमेन्सका कारण युवा पुस्तामाझ यो ब्रान्ड लोकप्रिय बनेको हो । जगदम्बा मोटर्सले हाल चाडपर्वको अवसरमा ‘टीभीएस दसैंको आशा’ नामक स्किम ल्याएको छ । यस योजनामा सहभागिता जनाउन टिभिएसको मोटरसाइकल खरिद गरेकै हुनु पर्ने भन्ने छैन । योजना अन्तर्गत टीभीएसको कुनै पनि मोटरसाइकल खरिदमा नगद छुटको रूपमा ९ हजार र स्कुटरको खरिदमा ७ हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सक्ने छन् भने ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले शुन्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्ने छन् । यी दुई मध्ये कुनै एक स्किम ग्राहकले छनोट गर्न पाउने सुविधा कम्पनीले दिएको छ । बम्पर उपहारका रूपमा, हरेक हप्ता एक जनाले टीभीएस अपाचे आरआर ३१० बाइक जित्न सक्ने छन् । यो टीभीएसकै सबैभन्दा महंगो मोटरसाइकल हो । हरेक हप्ता हुने लक्की ड्रमा भागलिन चाहने जो कोहीले पनि https://tvsnepal.com/dashain/ मा गएर फारम भर्नु पर्ने छ । जसमा मोटरसाइकल नकिन्नेले पनि आफ्नो नाम रजिस्टर गर्न सक्ने छन् भने आरआर ३१० जित्ने अवसर पाउने छन् ।
चैतयता छापियो १० लाख चालक अनुमतिपत्र
काठमाडौं । यातायात व्यवस्था विभागले गत चैतदेखि अहिलेसम्म झण्डै १० लाख चालक अनुमतिपत्र छपाइ गरेको छ । विगतमा झण्डै आठ/नौ लाखसम्म पनि अनुमतिपत्र बाँकी रहेकामा अहिले त्यो सकिँदै गएको विभागले जनाएको छ । पहिले वर्षाैँसम्म सेवाग्राहीले अनुमतिपत्र नपाउने गरेकामा अहिले त्यो अवस्था पूरै हटिसकेको विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताए । उनका अनुसार पछिल्लो तीन÷चार महिनामा आएका अनुमतिपत्र मात्रै छाप्न बाँकी छ । छापिएका सबै अनुमतिपत्र सम्बन्धित कार्यालयमा पठाइसकिएको उनले बताए । उनले भने, “सेवाग्राहीले नयाँ वा नवीकरण गरिएका अनुमतिपत्र सम्बन्धित कार्यालयमा पुगेर लिन सक्छन् ।” निषेधाज्ञाका समयमा यातायात व्यवस्था कार्यालयबाट आएका झण्डै एक लाख अनुमतिपत्र छाप्न बाँकी रहेको प्रवक्ता भुसालले बताए । अहिले आवश्यकतानुसार ‘मास प्रिन्टर’ बाट अनुमतिपत्र छपाइ भइरहेको छ । आवेदन दिएको तीन/चार महिनामा अनुमतिपत्र पाउन सक्ने गरी पठाउन लागिएको उनले जानकारी दिए । उनले भने, “पहिले जसरी अब वर्षौँसम्म कुर्नुपर्ने अवस्था आउँदैन ।” सरकारले झण्डै पाँच वर्ष पहिले ‘स्मार्ट’ चालक अनुमतिपत्र दिन शुरु गरेको थियो । सेवाग्राहीले आवेदन दिएको लामो समयसम्म पनि अनुमतिपत्र पाएका थिएनन् । उपकरणको क्षमताभन्दा कयौँ गुणा छाप्नु परेकाले समस्या भएको थियो । विभागले गतवर्ष ‘मास प्रिन्टर’ खरिद गरेर सञ्चालनमा ल्याएसँगै त्यो समस्या हटेको छ । विभागले गतवर्ष नै ‘मास प्रिन्टर’सँगै १० लाख स्मार्ट कार्ड खरिद गरेको थियो । रासस
जडान गरेकाे एक दशकपछि गाडीकाे स्वस्थता परीक्षण गर्ने उपकरण पुनः सञ्चालनमा ल्याउने तयारी
काठमाडाैं । एक दशकभन्दा पहिले जडान भएर पनि अझै पूर्णरूपमा सञ्चालनमा आउन नसकेको सवारी साधनको स्वस्थता परीक्षण गर्ने उपकरण पुनः सञ्चालनमा ल्याइने भएको छ । टेकुस्थित भेहिकल फिटनेस टेस्ट सेन्टर (भिएफटिसी) ले चिनियाँ कम्पनीले निर्माण र जडान गरेको सो उपकरण मर्मत गरेर सञ्चालनमा ल्याउने तयारी अघि बढाएको हो । उपकरणबाटै सवारी साधनको स्वस्थता परीक्षणका लागि सरकारले विसं २०६६/६७ को बजेटमा गरेको व्यवस्थानुसार विसं २०६८ मा सवारी साधनको अवस्था परीक्षण गर्ने उपकरण खरिद गरेको थियो । सेन्टरमा हेभी र लाइट सवारी साधनका लागि छुट्टाछुट्टै लेन रहेको छ । कुनै पनि सवारी साधन लेनमा प्रवेश गरेपछि त्यसको कुन–कुन भागको अवस्था कस्तो छ भनी कम्प्युटरमा नै देखिन्छ । प्राविधिक बोलाएर उपकरणको मर्मत गरेर भेहिकल फिटनेस टेष्ट लेन प्रयोगमा ल्याउने तयारी गरिएको सेन्टरका प्रमुख मणिराम भुषालले बताए । उनका अनुसार उपकरण जडान भएर लामो समयम्म थन्किएकाले विभिन्न पार्ट र कम्प्युटरमा समस्या आएको छ । अहिले उपकरण मर्मतका लागि आवश्यक पर्ने रकमको आँकलन गरेर प्रक्रिया अघि बढाइएको उनले बताए । सोहीअनुसार अहिले मर्मतका लागि ठेक्का आह्वान गरिएको छ । उनले भने, “मेसिन चार/पाँच महिनामा चलाउने गरी ठेक्का अघि बढेको छ ।” उपकरण निर्माण गर्ने कम्पनीलाई खरिद गर्ने ठेकेदार कम्पनीले पूरै रकम नदिएकाले हस्तान्तरण नै भएको थिएन । उनले भने, “फिनिसिङको काम र सफ्टवेयर नगरी निर्माण कम्पनीले छाडेको रहेछ ।” उपकरण प्रयोगमा नआएकाले अहिलेसम्म म्यानुअल (मान्छेले नै) यसको परीक्षण गर्दै आएको सेन्टरले जनाएको छ । मान्छेले हेरेर गरिने परीक्षण भरपर्दाे नहुने भएकाले वैज्ञानिकरूपमा परीक्षण गर्न उपकरण प्रयोगमा ल्याउन खोजिएको सेन्टरका प्रमुख भुषालले बताए । उनले भने, “उपकरणले गरिएको परीक्षण वैज्ञानिक हुने भएकाले विश्वासनीय हुन्छ ।” सवारी साधनको छ/छ महिनामा जाँचपास हुने गरे पनि त्यो परीक्षण झारा टार्ने किसिमको मात्रै रहेको प्रमुख भुषालले बताए । आँखाले हेरेर जाँच गरिँदा सवारी साधनको वास्तविक अवस्था जानकारी नहुने उनको भनाइ छ । उपकरणबाट गर्दा त्यसको ब्रेक, हर्नलगायतका कुरा ठीक छ–छैन भनी छुट्याउन सकिन्छ । सो उपकरण सञ्चालनमा आएपछि हेभी र लाइट दुवै खालका सवारी साधन आ–आफ्नो लेनमा एउटाबाट छिरेर अर्काे दिशाबाट निस्कँदा कम्प्युटरमा नै कुन–कुन भागको अवस्था कस्तो छ भनी जानकारी दिनेछ । सवारी साधन पास भए उसले प्रमाणपत्र पाउने र फेल भएमा पुनः मर्मत गरेर ल्याएर अवस्था ठीक भएपछि मात्रै प्रमाणपत्र पाउने उनले बताए । उनले भने, “कुन–कुन भाग बिग्रिएको छ त्यो वर्कसपमा मर्मत गरेर आएमा अर्काे पटकमा पास हुनसक्छ ।” सो उपकरणबाट ब्रेक रोलर, सस्पेन्सन, साइट क्लिक, हर्न, लाइटलगायतका कुरा परीक्षण हुने उनले बताए । अगाडि र पछाडिको पाङ्ग्रामा कति भार हुनुपर्ने, सवारीको क्षमतानुसार भार बोक्दा ब्रेकले काम गर्छ वा गर्दैन, प्राविधिक जाँच, सस्पेन्सन (पाङ्ग्राको साइड स्लिप), हर्नको अवस्था, हेडलाइटलगायत कुराको समेत यसमा परीक्षण हुनेछ । त्यससँगै च्यासिस खिया वा कोतरिएकोे अवस्था बुझ्नका लागि ‘भिजवल इन्स्ट्रक्स’ समेत हुने गरेको छ । हलुका सवारीलाई उचालेर माथिल्लो भागमा पु¥याएर र गह्रौँ सवारी साधन भइरहेकै स्थानमा तल्लो तलामा प्राविधिक गएर च्यासिसलगायतका भाग हेर्ने गर्छन् । उनले भने, “जतिसक्दो चाँडो बनाएर यसलाई प्रयोगमा ल्याउन खोजेका छौँ ।” भन्सारबाट आएका विद्युतीय गाडीहरु पहिले बाटोमा चलाउन मिल्ने भनी सेन्टरले प्रमाणित गरेपछि मात्रै यातायात व्यवस्था कार्यालयमा दर्ता हुने गर्छ । अहिलेसम्म यसको पनि हेरेर नै परीक्षण हुने गरेकामा परीक्षणका लागि अहिले उपकरण किन्न प्रक्रिया अघि बढाइएको उनले बताए । संविधानले यातायात व्यवस्थापनको जिम्मेवारी स्थानीय तह, प्रदेश र सङ्घीय सरकार गरी तीनै तहलाई दिएको छ । पालिकाभित्र चल्ने सवारी साधन व्यवस्थापनको जिम्मेवारी सम्बन्धित पालिका, अन्तरपालिका चल्ने सवारी साधनको प्रदेश सरकार र अन्तरप्रदेश चल्ने सवारी साधन व्यवस्थापनको जिम्मेवारी सङ्घीय सरकारको हो । सेन्टरलाई अन्तरप्रदेश चल्ने गाडीको जाँचपास, स्तर कायम, प्रदूषण जाँच र रुट अनुमतिसमेतको जिम्मेवारी दिइएको छ । यातायात व्यवस्था कार्यालय दुई वर्ष पहिले प्रदेश सरकारमा हस्तान्तरण भएसँगै सबै सवारी साधनको रुट अनुमति, जाँचपासलगायतका काम एकान्तकुनास्थित साना ठूला सवारी कार्यालयले नै गरिरहेको थियो । पहिले सङ्घको कार्यालय र कर्मचारी अभावका कारण जिम्मेवारी लिन सकेको थिएन । अहिले यिनै जिम्मेवारी पूरा गर्न विभागले देशभरका विभिन्न स्थानमा भिएफटिसीसमेत स्थापना गरिरहेको छ । अहिले अन्तरप्रदेश चल्ने सवारी साधनको परीक्षण, अनुमति र नवीकरण हामी गर्छाैँ भनी जिम्मेवारी लिइएको सेन्टरले जनाएको छ । भदौबाट रुट अनुमति दिन थालिए पनि फाट्टफुट्ट मात्रै सवारीधनी यहाँ आउन थालेका छन् । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ तथा नियमावली २०५४ मा सार्वजनिक सवारीको अद्यावधिक जाँचपास, प्रदूषण परीक्षण, सवारीमा गरिने फेरबदलसम्बन्धी स्वीकृतिलगायतका काम गर्न केन्द्र स्थापना गर्ने उल्लेख थियो । सोही व्यवस्थाका आधारमा केन्द्र स्थापना भएको हो । रासस