केरुङमा रोकिए पाँच सय कन्टेनर, साढे दुई महिनादेखि समान रोकिएका कारण कुहिने चिन्ता
काठमाडौं । चीनबाट काठमाडौंको लागि सामान लिएर आएका करिब पाँच सय कन्टेनर साढे दुई महिनादेखि रसुवागढी नाका नजिकै केरुङमा रोकिएको खबर छ । चीनको ग्वान्जाउबाट अर्बौं मूल्यका सामान लिएर आएका कन्टेनर रोकिएपछि व्यापारी मर्कामा परेका छन् । लामो समय कन्टेनर रोकिँदा लाखौंका सामान कुहिएर नष्ट भएको सम्बद्ध व्यवसायीले बताएका छन् । भन्सार कर्मचारी र एजेन्टको बदमासीले करिब पाँच सय कन्टेनर रोकिएको बौद्ध व्यापार संघका पूर्वअध्यक्ष दुर्गानाथ दाहालले बताए । काठमाडौंका व्यापारीले चीनबाट सामान किनेपछि भन्सार पास र ढुवानीको जिम्मा एजेन्टलाई दिन्छन् । व्यापारीसँग कम मूल्यमा काठमाडौंसम्म सामान ल्याउने सम्झौता गरेका एजेन्टले अहिले भन्सारमा निर्धारित मूल्य तिर्नुपर्ने भएपछि सामान ढुवानी नगरेका हुन् । नागरिक दैनिकबाट ।
राजधानीमा फेरी थपियो ३२ सिटे ठुलो बस
काठमाडौं । राजधानीका सडकमा फेरी ३२ सिट क्षमताका ठुला बस थपिएका छन् । गोकर्णेश्वर यातायात प्रालिले ८ मीटर च्यासिसमा आधारित ३२ सिट क्षमताका बस सञ्चालन गरेको छ । प्रालीले अशोक लेलैण्डका लिनएक्स स्मार्ट बसबाट चैत ८ गतेदेखि सेवा आरम्भ गरेको अध्यक्ष चन्द्र बहादुर श्रेष्ठले बताए । हाल २० वटा बसहरू संचालनमा ल्याइएको छ । जसमध्ये १० वटा बसहरू माकलबारीबाट नारायणटार, गौरीघाट, मित्रपार्क, गौशाला हुदै कोटेश्वर पुगेर चक्रपथ परीक्रमा गर्ने र चावहिलबाट पूनः मित्रपार्क आएर सोही रुटबाट फर्किने छन् । बाँकी १० वटा बसले माकलबारीबाट नारायणटार, जोरपाटी, बौद्ध, चावहिल, धुम्बाराही हुदै चक्रपथ परिक्रमा गर्ने र सोही रुटबाट फर्किने छन् । २० वटा बसले सुविधा नपुग्ने भएकोले पुनः १० दिन भित्र ५ वटा बस थप्ने कम्पनीले जनाएको छ ।
महिन्द्रा टू व्हीलरको नयाँ वर्षे योजना, क्र्याच कुपनमा ४०० प्रतिशतसम्म क्यास ब्याक
काठमाडौं । महिन्द्रा टु–व्हीलर्स् लि.को आधिकारिक वितरक अग्नि मोटो इन्क प्रा. लि. ले नयाँ वर्षको अवसरलाई लक्षित गर्दै “नयाँ वर्षमा यसपाली, स्क्र्याच गरौं दुईताली” नामक रोचक योजना बजारमा ल्याएको छ । यस योजना अन्तर्गत महिन्द्रा टू व्हीलर खरिदकर्ताहरुका लागि ४०० प्रतिशतसम्म क्यास ब्याक बोनस पाउने नौलो अवसर रहेको छ । यसपाली ग्राहकहरुले हरेक खरिदमा पाउने स्क्र्याच कार्डमा दुई पटकसम्म स्क्र्याच गर्न सकिने व्यवस्था रहेको छ । पहिलो स्क्र्याचमा ग्राहकहरुले १ लाख रुपैयाँसम्म पक्का जित्ने र दोश्रो स्क्र्याचमा उक्त रकमको ४०० प्रतिशतसम्म बोनस क्यास जित्ने अवसर रहेको छ । यस योजनासँगै महिन्द्रा टू व्हीलर खरिद गर्ने ग्राहकहरुका लागि यो नयाँ वर्षमा थप उत्साह भरिने कम्पनीको विश्वास रहेको छ ।