जीडब्लुएम नेपालले सार्वजनिक गर्‍यो नयाँ ट्याङ्क सिरिज, ४ लाखभन्दा बढी बिक्री भएको मोडेल

काठमाडौं । जीडब्लुएम नेपालले आफ्ना नयाँ मोडेलहरू ट्याङ्क ३०० एचईभी र ट्याङ्क ५०० पीएचईभी नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यस ट्याङ्क सिरिजले नेपालमा प्रिमियम स्पोर्ट्स युटिलिटी वाहन (एसयूभी) बजारमा नयाँ अध्यायको सुरुवात गरेको छ । यी मोडेलहरू लक्जरी, प्रदर्शन र अफ–रोड क्षमताको उत्कृष्ट संयोजनसहित प्रस्तुत गरिएको उल्लेख गरिएको छ । जीडब्लुएम ट्याङ्क सिरिज सन् २०२१ मा चीनको चेङदु अटो प्रदर्शनीमा पहिलोपटक प्रस्तुत गरिएको थियो । त्यसयता यो मोडेल चीन, थाइल्यान्ड, इन्डोनेसिया, मलेसिया, दक्षिण अफ्रिका, अष्ट्रेलिया र न्युजिल्यान्डलगायतका बजारमा अत्यन्त लोकप्रिय बनेको छ । हालसम्म विश्वभर चार लाखभन्दा बढी ट्याङ्क मोडेलहरू बिक्री भइसकेका छन्, जसले अफ–रोड सवारीप्रेमीहरूबीच नयाँ रोजाइको रूपमा स्थान बनाएको छ । नेपालमा ट्याङ्क ब्रान्डको प्रवेशले जीडब्लुएमको बजारप्रतिको प्रतिबद्धता मात्र होइन, अफ–रोड संस्कृतिको विस्तारमा नयाँ युगको सुरुवात पनि गरेको कम्पनीले जनाएको छ । अफ–रोड सवारी साधनप्रतिको माग पछिल्ला वर्षहरूमा तीव्र गतिमा बढ्दै गएको र यो सेग्मेन्टमा जीडब्लुएमको प्रवेशले प्रतिस्पर्धा अझ रोचक बन्ने बताइएको छ । ट्याङ्क मोडेलहरूमा सर्व–भू–भाग चलाउने क्षमता (एडभान्स्ड फोर–ह्विल ड्राइभ प्रणाली) जस्ता सुविधा छन्, जसले ढुंगा, बालुवा, हिलो र हिउँजस्ता सबै भौगोलिक अवस्थाहरूमा सहज रूपमा यात्रा गर्न सहयोग पुर्‍याउँछ। हाइब्रिड प्रविधिमा आधारित ट्याङ्क ५०० पीएचईभीमा टर्बो चार्ज इञ्जिन र शक्तिशाली विद्युतीय मोटरको संयोजन रहेको छ, जसले तुरुन्त टर्क (घुमाउने शक्ति) र उच्च इन्धन दक्षता प्रदान गर्छ । यसमा लक्जरी भित्री डिजाइन (इन्टेरियर) अपनाइएको छ, जहाँ उच्च गुणस्तरका सामग्री, ठूला डिजिटल पर्दा र बुद्धिमान (स्मार्ट) प्रणालीहरूको संयोजनले सवारी अनुभवलाई नयाँ स्तरमा पुर्‍याउँछ । स्मार्ट सुरक्षा प्रणालीहरू जस्तै स्वचालित सहायक सवारी नियन्त्रण (एडीएएस), ३६० डिग्री क्यामेरा र बुद्धिमान ड्राइभ सहायक प्रविधिले सडक वा अफ–रोड दुवै अवस्थामा सुरक्षित यात्रा सुनिश्चित गर्छ। जीडब्लुएमको 'शक्ति र उद्देश्य' भन्ने दृष्टिकोणलाई प्रतिबिम्बित गर्ने बलियो र आकर्षक बाहिरी रूप (डिजाइन) ले यी मोडेलहरूलाई अझ विशिष्ट बनाएको छ । नेपालमा उपलब्ध ट्याङ्क ३०० एचईभी र ट्याङ्क ५०० पीएचईभीमा २.० लिटर टर्बो पेट्रोल इञ्जिन, नौं गियर भएको स्वचालित गियर प्रणाली (हाइ–फोर–ट्रान्समिसन) प्रयोग गरिएको छ । यी मोडेलहरूले क्रमशः ३५१ अश्वशक्ति र ६४८ न्यूटन–मिटर टर्क (एचईभी) तथा ४०८ अश्वशक्ति र ७५० न्यूटन–मिटर टर्क (पीएचईभी) प्रदान गर्छन् । कम्पनीका अनुसार यी सवारी साधनहरू शहरदेखि राजमार्ग र दुर्गम अफ–रोड यात्रासम्म सबैका लागि उपयुक्त, शक्तिशाली र विश्वसनीय छन् ।

दक्षिणपूर्वी एसियामा होन्डाको वर्चस्व धरापमा, ठूलो चुनौती चीनका ईभी निर्माता

काठमाडौं । होन्डाको यस आर्थिक वर्षको नाफा पूर्वानुमान घटाउने निर्णयले अमेरिकी ट्यारिफ र विश्वव्यापी चिप अभावले पारेको तत्काल दबाबलाई देखाउँछ । तर, दीर्घकालीन रूपमा होन्डाका लागि अझ गम्भीर चुनौती भने चीनका विद्युत सवारीसाधन (ईभी) निर्माताहरूबाट बढ्दो प्रतिस्पर्धा हो । जापानको दोस्रो ठूलो अटो निर्माता होन्डाले शुक्रबार बजार बन्द भएपछि आफ्नो वार्षिक नाफा पूर्वानुमान २० प्रतिशतले घटायो । कारणका रूपमा कम्पनीले एकपटकका लागि हुने ईभी खर्च र नेदरल्याण्डमा आधारित नेक्सपेरियाको चिप्स आपूर्तिमा आएको कमीलाई उल्लेख गर्यो । नेक्सपेरियालाई चीनको विङटेक स्वामित्वमा रहेको अवस्थामा नेदरल्याण्ड सरकारले गत सेप्टेम्बर ३० मा नियन्त्रणमा लिएको थियो । अमेरिकी ट्यारिफका कारण ३८५ अर्ब येन (२.६ अर्ब डलर) नोक्सान हुने अनुमान गरिएको छ, जुन प्रारम्भिक अनुमान ४५० अर्ब येनभन्दा केही कम हो । सोमबार कम्पनीका सेयर ४.७ प्रतिशतले घटे । तर होन्डाका लागि अझ गम्भीर चिन्ता भने दक्षिणपूर्वी एसियामा बजार हिस्सेदारी क्रमशः घट्नु हो — जहाँ उनीहरूले एक समय लगभग निर्विरोध वर्चस्व जमाएका थिए । हालसम्म जापानी अटो निर्माताहरूले चीनबाहेकका एसियाली बजारहरूमा आफ्नो व्यवसाय सुरक्षित हुने विश्वास गरेका थिए । तर अब त्यो धारणा सत्य देखिँदैन । होन्डाका कार्यकारी उपाध्यक्ष नोरिया काईहारा भन्छन्, ‘थाइल्यान्डजस्ता बजारमा प्रतिस्पर्धा निकै तीव्र भएको छ । मूल्यका हिसाबले हामीले आफ्नो प्रतिस्पर्धात्मक धार गुमाएका छौं ।’ बिक्री घट्नु मात्र समस्या होइन । निर्माता कम्पनीहरूले ग्राहक आकर्षित गर्न प्रोत्साहन बढाउन र मूल्य घटाउन थालेका छन्, जसले नयाँ बिक्रीमा नाफा घटाएको काईहाराले बताए । होन्डाले अहिलेको आर्थिक वर्षमा एसियामा (चीनसहित) ९ लाख २५ हजार सवारी बेच्ने लक्ष्य राखेको छ, जुन अघिल्लो लक्ष्य १.०९ मिलियनभन्दा १० प्रतिशतभन्दा बढी घटेको हो । चीनबाहेक एसियामा अघिल्लो वर्षभन्दा ५ हजार कम सवारी बिक्री हुने अनुमान गरिएकोमा अहिले त्यो संख्या ७५ हजार पुगेको छ । बीवाईडीजस्ता चिनियाँ ईभी निर्माताहरूको प्रतिस्पर्धा थाइल्यान्ड र इन्डोनेसियासहित दक्षिणपूर्वी एसियामा जापानी अटो कम्पनीहरूका लागि दिनदिनै कठिन बन्दै गएको एक उद्योग स्रोतले जनायो । ‘दक्षिणपूर्वी एसिया अहिले चीनी कम्पनीहरूको प्रभावमा गहिरिँदै गएको छ,’ स्रोतले भन्यो, ‘थाइल्यान्डमा पछिल्ला दुई वर्षमा चीनी ईभीहरूको वृद्धि अद्भूत छ ।’ चीनभित्रको तीव्र मूल्य प्रतिस्पर्धाले त्यहाँका ईभी कम्पनीहरूलाई अन्तर्राष्ट्रिय बजारतर्फ आक्रामक रूपमा विस्तार गर्न प्रेरित गरेको छ । होन्डाको खुद्रा बिक्री इन्डोनेसियामा यो वर्षको पहिलो नौ महिनामा अघिल्लो वर्षको तुलनामा करिब ३० प्रतिशतले घट्यो । मलेसियामा १८ प्रतिशत र थाइल्यान्डमा १२ प्रतिशत कमी आयो । यो क्षेत्रका लागि होन्डासँग आगामी दुई वर्षका लागि नयाँ मोडेल योजना छैन, सिटी कम्प्याक्ट सेडानको पुनःसंस्करणबाहेक । यस ढिलाइले चीनी निर्माताहरूलाई अझै बलियो बनाउने जोखिम छ । भारत : नयाँ सम्भावनाको केन्द्र अब जापानी अटो कम्पनीहरूको नजर भारततर्फ मोडिँदैछ — जहाँको बजार हालसम्म चिनियाँ ईभी कम्पनीहरूका लागि लगभग बन्द छ । गत महिना होन्डाले भारतलाई आफ्नो नयाँ इलेक्ट्रिक सवारी उत्पादन र निर्यात आधार बनाउने घोषणा गर्यो । यसले विश्वको तेस्रो ठूलो अटो बजारका रूपमा भारतको बढ्दो महत्त्वलाई देखाउँछ । टोयोटा र सुजुकीले पनि संयुक्त रूपमा ११ अर्ब डलरको लगानी योजना घोषणा गरेका छन्, जसले उत्पादन र निर्यात क्षमतामा वृद्धि गर्नेछ । तर विज्ञहरूका अनुसार होन्डाको चुनौती संरचनात्मक रूपमा अझ गहिरो छ । गत शुक्रबार कम्पनीको अटोमोबाइल विभागले लगातार तेस्रो त्रैमासिकमा घाटा देखायो जबकि मोटरसाइकल विभागले ऐतिहासिक नाफा कमायो । त्सुकुदा मोबिलिटी रिसर्च इन्स्टिच्युटका संस्थापक योसियो त्सुकादाले दुई विभागबीचको यो नाफाको असन्तुलन ‘अनुचित’ भएको बताए । ‘यदि होन्डाले चारपाङ्ग्रे र दुईपाङ्ग्रे व्यवसाय छुट्यायो भने मोटरसाइकल व्यवसाय विश्वभर फस्टाउनेछ,’ उनले भने, ‘तर अटोमोबाइल विभाग अहिलेको संरचनामा गम्भीर संकटमा छ ।’ उत्तर अमेरिकामा पनि चुनौती होन्डाले यस आर्थिक वर्षका लागि कुल सवारी बिक्री अनुमान ३.६२ मिलियनबाट घटाएर ३.३४ मिलियनमा झारेको छ । यसमा नेक्सपेरियाबाट चिप आपूर्तिको अभावका कारण १.१ लाख सवारी उत्पादन घटेको छ । अमेरिका हाल पनि होन्डाको सबैभन्दा ठूलो बजार हो, जसले कम्पनीको कुल बिक्रीको ४२ प्रतिशत हिस्सा ओगटेको छ । तर अमेरिकी ट्यारिफबाहेक पनि त्यहाँ समस्याहरू छन् । चिप अभावका कारण मेक्सिकोमा कारखाना बन्द गर्नु परेको र अमेरिका तथा क्यानडामा उत्पादन घटाउनुपरेकोले कम्पनीको सञ्चालन नाफामा करिब १५० अर्ब येन (९९४.८३ मिलियन डलर) को असर परेको छ। यस वर्ष होन्डाका सेयर १.४ प्रतिशत घटेका छन् जबकि निक्केई २२५ सुचकांक करिब २८ प्रतिशतले बढेको छ। होन्डा र निसानबीच विलयको सम्भावनाबारे छलफल चलेको थियो तर फेब्रुअरीमा वार्ता टुंगिएको थियो । त्सुकादाका अनुसार होन्डा, निसान र मित्सुबिशी मोटर्स सबैको कमजोर स्थिति भएका कारण अहिलेको अवस्थामा कुनै मर्जर ‘दुई कमजोरहरूको गठबन्धन’ मात्र हुने छ । सुनको खेल अझै बाँकी ! मूल्य घट्ने कि फेरि इतिहास दोहोरिने ? टेस्ला शैलीमा ‘रिभियन’ले पनि सीईओ आरजे स्क्यारिन्जलाई ४.६ अर्ब डलरको तलब प्याकेज दिने

केईको नगरकोट यात्रा सम्पन्न, ५६ गाडी र दुई सय सहभागीको सहभागिता

काठमाडौं । जीओ अटोमोबाइल्स प्रालि र लक्ष्मी ई–मोबिलिटी (केई नेपालका आधिकारिक आयातकर्ता) ले केई ग्राहक भेट र्याली आयोजना गरेको छ । थापाथलीबाट सुरु भएको उक्त र्याली क्लब हिमालय, नगरकोटमा सम्पन्न भयो । र्यालीमा ५६ वटा केई गाडी र १९३ जना सहभागी (मिडिया प्रतिनिधि र इन्फ्लुएन्सरहरू सहित) सहभागी थिए । कार्यक्रमको उद्देश्य केई प्रयोगकर्ताबीचको सम्बन्ध सुदृढ बनाउने र वातावरणमैत्री यात्रालाई प्रवर्द्धन गर्ने रहेको थियो । सहभागीहरूले यात्रा क्रममा रमाइला खेल, समूहगत क्रियाकलाप र प्राकृतिक सौन्दर्यको आनन्द लिएका थिए । क्लब हिमालयमा सहभागीहरूका लागि स्वागत कार्यक्रम, अन्तरक्रियात्मक सत्र र भेटघाटका अवसरहरू प्रदान गरियो । कार्यक्रमको मुख्य आकर्षण सीपीआर (कार्डियो पल्मोनरी रेससिटेसन) सम्बन्धी सचेतना तथा तालिम सत्र थियो, जहाँ स्वास्थ्यकर्मीहरूले आपतकालीन अवस्थामा कसरी सहयोग गर्न सकिन्छ भन्ने सिकाए । यसले सडक सुरक्षा र जिम्मेवार ड्राइभिङप्रति सहभागीहरूको जागरूकता बढाएको आयोजकले जनाएको छ । कार्यक्रमको समापन मनोरञ्जनात्मक प्रस्तुति र समूहगत गतिविधिसँग गरिएको थियो । जीओ अटोमोबाइल्स र लक्ष्मी ई–मोबिलिटीले ग्राहक सन्तुष्टि, सुरक्षा सचेतना र सामाजिक जिम्मेवारीप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै आगामी दिनहरूमा अझ रमाइला कार्यक्रमहरू ल्याउने योजना बनाएको जनाएको छ ।