‘नाडा अटो शो- २०२५’ को स्टल बाँडफाँट सम्पन्न
काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२५’ आगामी भदौ ३ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । शोका लागि आवश्यक पर्ने स्टल बाँडफाँटको काम सम्पन्न भएसँगै यसको औपचारिक तयारी सुरु भएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नाडाले जनाएको छ । स्टल बाँडफाँट कार्यक्रममा चारपाङ्ग्रे, दुईपाङ्ग्रे, व्यावसायिक सवारी तथा अटो सामग्री र उपकरणका क्षेत्रबाट उल्लेखनीय सहभागिता रहेको नाडाले जानकारी दिएको छ । यस वर्षको प्रदर्शनीमा प्रविधि, नवप्रवर्तन र दिगोपनालाई विशेष प्राथमिकतामा राखेको नाडाले दावी गरेको छ। नाडाका अनुसार चारपाङ्ग्रे सवारीतर्फ १८, हल्का व्यावसायिक सवारीतर्फ १३, दुईपाङ्ग्रेतर्फ ४ तथा सामग्री र उपकरणतर्फ ४० भन्दा बढी ब्राण्डहरूको सहभागिता रहनेछ । चारपाङ्ग्रे (१८ स्टल) डीपल, अवटार, डोङ्फेङ, सेरेस, टाटा, सुजुकी, टेस्ला, आयन भी, एक्सपेङ, रिड्डारा, स्काइवेल, बीवाइडी, फोटोन, बीएडब्ल्यू ब्रम्बी, जेवाई एयर, हाभाल, एलएस अटो र जिनपेङ प्रर्दशनीमा राखिनेछन् । दुईपाङ्ग्रेतर्फ हिरो, रोयल इनफिल्ड, जोन्सन र यामाहा प्रदर्शनीमा रहने नाडाले जनाएको छ । हल्का व्यावसायिक सवारी (१३ स्टल) न्यु गोनाओ, डिएफएसके, डोङफेङ, कामा, फोटोन, सोकन, सीजी केवाईसीरकिङलङ, मोन्ट्रा, स्काइवर्थ, कैनिउ, कावेईरनावेको र सनलङको सहभागीता रहनेछ । सामग्री तथा उपकरण (४० स्टल) एसियन, गल्फ, डकह्याम्स, म्याक्सशाइन, मिश्लिन, लिक्वी मोली, सिएट टायर, जेकेरगुड टायर, टाटा ग्रीन, टोटल एनर्जिज, स्टड्सरएसएमके लगायतका प्रमुख ब्राण्डहरू रहेका छन् । यसपटकको अटो शोमा केही नयाँ आकर्षणहरू पनि थपिने नाडाले बताएको छ । ‘मेड इन नेपाल’ पेभिलियन, पुराना गाडीहरूको प्रदर्शनी (भिन्टेज कार पेभिलियन) र अटो क्षेत्रका विविध विषयमा छलफल गरिने ‘अटो डाइलग्स क्याफे’ प्रमुख आकर्षणका रूपमा रहनेछन् । सन् १९९८ देखि आयोजना हुँदै आएको नाडा अटो शो नेपाली अटोमोटिभ क्षेत्रको सबैभन्दा प्रतिष्ठित प्रदर्शनी मानिन्छ । यस वर्षको प्रदर्शनीलाई एमएडब्लू समूहले प्रायोजन गरेको छ ।
‘एलईभी-०१’ को अल ह्वील ड्राइभ मोडल तयार, अर्को महिना नेपालमा सार्वजनिक हुने
काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल कम्पनी एलएस अटोले आफ्नो पहिलो मोडेल ‘एलईभी-०१’को अल ह्वील ड्राइभ मोडल तयार पारेको छ । कम्पनीले यसलाई एलईभी-एक्स नाम दिएर नेपाली बजारमा बिक्री सुरु गर्ने योजना बनाएको हो । नेपालको लागि एलएस अटोको आधिकारीक वितरक नेक्सन भेन्चरले एलईभी-एक्स आगामी महिना हुने नाइमा नेपाल मोबिलिटी एक्स्पोमा लन्च गर्ने जानकारी दियो । नयाँ अल ह्वील ड्राइभ मोडल अहिले बजारमा रहेको एलईभी-०१ कै बडी डिजाइनमा आउने छ । बाहिरबाट हेर्दा उस्तै देखिएपनि भित्री फिचर भने फरक हुने कम्पनीको भनाइ छ। कम्पनीका अनुसार एलईभी- एक्समा फ्रन्ट र रियरमा गरी १९८ किलोवाटको ड्यूल मोटर सेटअप रहेको छ । साथै ब्याट्री पनि १० किलोवाट आवर बढी क्षमताको प्रयोग भएको छ । एलईभी-०१ मा ६७ किलोवाट आवरको ब्याट्री रहेकोमा एक्स मोडलमा ७७ किलोवाट अवारको ब्याट्री रहेको छ । एलईभी-एक्सको इन्टेरियरमा पनि केही परिवर्तन गरिएको कम्पनीले जानकारी दियो । कम्पनीका अनुसार नयाँ अलह्वील ड्राइभ ईभीमा एसी भेन्ट र इन्टेरियर डिजाइन अपडेट भएको हो । सेग्मेन्टमै धेरै २१० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स भएको एलईभी एक्समा अल ह्वील ड्राइभ फिचर थप भएको कारण अफरोडमा ढुक्कसँग चलाउन सकिने कम्पनीको भनाइ छ । नेक्सन भेन्चरले नाइमा अटो शोमा एलईभी एक्सका अलावा प्रिमियम ह्याचव्याक सेग्मेन्टमा एलईभी-०५ समेत लन्च गर्ने योजना बनाएको छ । एलईभी-०५ नेपाली बजारमा बीवाइडी डल्फिन र नामी-०१ सँग सिधा प्रतिस्पर्धा गर्ने मोडल हो ।
राजस्वमा ४० प्रतिशत सवारीकरको योगदान
रसुवा । भन्सार शुल्कको कुल आयमध्ये चालीस प्रतिशत राजस्व चिनियाँ सवारी साधनले ओगटेको छ । आर्थिक वर्ष २०८१/८२ को साउनदेखि यही असार १७ गतेसम्मको राजस्व असुली विश्लेषणका आधारमा करिब ४० प्रतिशत हिस्सा सवारी साधन करबाट मात्र प्राप्त भएको भन्सार कार्यालयले जनाएको छ । प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार चालू आवको यस अवधिमा २९ अर्ब ६५करोड ९३ लाख रुपैयाँ असुली भएको छ भने गत वर्षको साही अवधिमा २० अर्ब २१ करोड रुपैयाँ मात्र राजस्व संकलन भएको थियो । रसुवागढी नाकाबाट विशेषगरी जुत्ता–चप्पल, तयारी पोशाक, र नेपालमा सञ्चालित जलविद्युत् आयोजनाका सामग्री आयात हुने गरेको भन्सार कार्यालयले जनाएको छ । चालुआवको यस अवधिमा साना ठूला गरी छ हजार ५०० भन्दा बढी सवाारी साधन आयात भइसकेको र चीनतर्फ तीन अर्ब रुपैयाँभन्दा बढीको सामग्री निर्यात भएको भन्सार कार्यालयले स्पष्ट गरेको छ । भन्सार शुल्क बुझाए पनि कतिपय आयातकर्ताले सवारी साधन अहिलेसम्म नलगिदिँदा भन्सार कार्यालयको हातभित्र लामबद्धरुपमा थन्क्याएर राखिएका छन् । ठूलो लगानी गरी छिमेकी मित्रराष्ट्र चीनतर्फबाट आयात गरिएका ती सवारी साधन समयमै लगिदिन भन्सार कार्यालयले सम्बद्ध व्यवसायीसँग अनुरोध गरेको छ । यसअघिजस्तै वर्षा लागेसँगै सम्भावित बाढीपहिराका कारण रसुवागढी नाका आसपासका वस्ती जोखिमको अवस्थामा रहेको स्थानीयबासीको भनाइ छ ।