विद्युतीय गाडीको बिक्री बढे पनि अमेरिकी शुल्कको प्रभावबिना अडीको आर्थिक पूर्वानुमान
काठमाडौं । जर्मन अटो निर्माता कम्पनी अडीले चालु आर्थिक वर्षको लागि राजस्वको पूर्वानुमान कायम राखेको छ । कम्पनीले पहिलो त्रैमासिकमा विद्युतीय सवारीसाधनको बिक्रीमा उल्लेख्य वृद्धि हुँदै १२.४ प्रतिशत राजस्व वृद्धि गरे पनि अमेरिकी आयात शुल्कको सम्भावित असरलाई भने पूर्वानुमानमा समावेश नगरेको जनाएको छ । जनवरीदेखि मार्च महिनासम्म अडीको राजस्व १५.४३ अर्ब युरो (झण्डै १७.४९ अर्ब अमेरिकी डलर) पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १३.७३ अर्ब युरोभन्दा धेरै हो । कम्पनीले २०२५ मा वार्षिक राजस्व ६७.५ अर्बदेखि ७२.५ अर्ब युरोको बीचमा रहने अपेक्षा गरेको छ र सञ्चालन नाफा ७ देखि ९ प्रतिशतको दायरामा रहने जनाएको छ । अडीले स्पष्ट पारेको छ कि अमेरिकी आयात शुल्कहरूको प्रभाव अझै पूर्ण रूपमा मूल्याङ्कन गर्न बाँकी छ । साथै मार्चमा अडीको व्यवस्थापन र कामदार युनियनबीच भएको सहमतिका प्रभावहरू पनि वर्तमान पूर्वानुमानमा समावेश छैनन् । अमेरिकामा उत्पादनको तयारी अडीसँग हाल अमेरिकाभित्र कुनै उत्पादन केन्द्र छैन । तर कम्पनीले यसै वर्ष अमेरिकी उत्पादन क्षमताको सम्भाव्यता मूल्याङ्कन गरी निर्णय लिने जनाएको छ । सीईओ जुर्गेन रिटर्सबर्गरका अनुसार उक्त उत्पादन विद्युतीय सवारीसाधनसमेत समेटिन सक्नेछ । 'हामी विद्युतीय सवारीमाथि विशेष ध्यान दिइरहेका छौं, अमेरिका पनि त्यही फोकस क्षेत्र हो,' उनले भने । विद्युतीय सवारीको बिक्री उकालो, अन्य बजारमा संकुचन यद्यपि अडीले विश्वभर पहिलो त्रैमासिकमा ३.४ प्रतिशत कम गाडी बिक्री गरेको छ, कम्पनीका विद्युतीय सवारीहरूको बिक्री भने ३०.१ प्रतिशतले बढेको छ । उत्तर अमेरिकामा (मेक्सिको बाहेक) अडीको बिक्री २.१ प्रतिशतले घटेको छ भने चीनमा तीव्र प्रतिस्पर्धाका कारण बिक्री ७ प्रतिशतले घटेको कम्पनीले जनाएको छ । शुल्कले मूल्य वृद्धि र बजारमा असर युरोपेली गाडी निर्माता कम्पनीहरूमाथि अमेरिकी शुल्कले ठूलो असर पारिरहेको छ । शुल्कका कारण गाडीको मूल्य हजारौं डलरले बढ्ने देखिएको छ । शुल्कले पहिले नै चुनौती भोगिरहेको विश्व अटो उद्योगमा थप दबाब सिर्जना गर्ने विश्लेषण गरिएको छ। अडीले हाल अमेरिकी बजारलाई मेक्सिकोको सान जोस चिएपा कारखानाबाट सेवा दिइरहेको छ, जहाँ लोकप्रिय क्यू फाइभ मोडल उत्पादन हुन्छ र ५ हजारभन्दा बढी कर्मचारी कार्यरत छन् । ल्यान्ड रोभरको अमेरिका गाडी निर्यात पुनः सुरु मस्क बिनाको टेस्ला, निल्नु न ओकल्नुको अवस्थामा बोर्ड ईयूमा शुल्कबाट बच्न प्लग-इन हाइब्रिड बढी बेच्दै चिनियाँ अटो कम्पनी
ईभी गाडी दर्ता हुनेक्रम बढ्दै, ८२ करोड रुपैयाँ राजस्व संकलन
काठमाडौं । यातायात व्यवस्था कार्यालय झापाले चालु आव २०८१/८२ को नौ महिनामा ८२ करोड १६ लाख ४८ हजार चार सय दुई रुपैयाँ राजस्व सङ्कलन गरेको छ । चालु आवको चैत महिनासम्म सवारी साधनको कर सङ्कलन बापत ६९ करोड छ लाख २२ हजार पाँच सय ४२ रुपैयाँ, यातायात क्षेत्रको आम्दानी बापत ९६ लाख ६० हजार छ सय ६७ रुपैयाँ, सवारी चालक अनुमतिपत्र सवारी दर्ता किताबसम्बन्धी दस्तुरबापत १२ करोड १२ लाख ८९ हजार छ सय ५१ रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख प्रेमप्रसाद सापकोटाले जानकारी दिए । चालु आवको नौ महिनामा जिल्लामा नौ हजार नौ सय ५४ नयाँ सवारीसाधन दर्ता भएका कार्यालय प्रमुख सापकोटाले बताए । उनका अनुसार गत आव २०८०/८१ को अन्त्यसम्ममा जिल्लामा दुई लाख छ हजार आठ सय ८४ सवारी साधन दर्ता रहेका थिए । कार्यालय प्रमुख सापकोटाका अनुसार चालु आवको नौ महिनामा सबैभन्दा धेरै नयाँ मोटरसाइकल तीन हजार दुई सय ३६ दर्ता भएका छन । यसैगरी ई-रिक्सा दुई हजार पाँच सय ४९, स्कुटर दुई हजार तीन सय ४५, ई-स्कुटर पाँच सय ७९, कार एक सय ८०, ट्र्याक्टर एक सय ७६, जिप एक सय ६८, बस एक सय आठ, ई-कार ९३, ट्रक ५२, ट्रिपर २०, माइक्रो १९, एम्बुलेन्स चार वटा नयाँ दर्ता भएका छन् ।
लक्ष्मी ई-मोबिलिटी र जीओ अटोमोबाइल्सको संयुक्त आयोजनामा 'केई एक्सचेन्ज कार्निभल २०८२’ हुँदै
काठमाडौं । नेपालका लागि केई ईभीको आधिकारिक वितरक लक्ष्मी ई-मोबिलिटी र जीओ अटोमोबाइल्सले 'केई एक्सचेन्ज कार्निभल २०८२’ आयोजना गर्ने भएका छन् । काठमाडौंस्थित थापाथली (केई शोरुम/हुन्डाई शोरुमको विपरित दिशा)मा आगामी बैशाख २६ देखि २८ गतेसम्म यो कार्निभल हुन लागेको हो । 'केई एक्सचेन्ज कार्निभल २०८२’ मा केईका विद्युतीय सवारी साधनमा आकर्षक अफरहरू ल्याएको छ । सो कार्निभलमा पुराना गाडीसँग ई–क्युट ०२, ई–क्युट ०४ र एक्स ३ प्रो गरी केई ईभीका तीन मोडल विशेष अफरका साथ एक्सचेन्ज गर्न सकिने छ । कार्निभलका मुख्य आकर्षण ग्राहकहरूले यस एक्सचेन्ज योजना अन्तर्गत विशेष अन–द–स्पट सवारी साधन मूल्याङ्कन, उत्कृष्ट रिसेल भ्यालु, आकर्षक नगद छुट र प्रत्येक मूल्याङ्कनमा दुई जनाको लागि क्यूएफएक्स हलमा फिल्मका टिकटहरू प्राप्त गर्न सक्छन् । बीमा, सडक कर कभरेज र चयन गरिएका मोडेलहरूमा एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सकिने जनाइएको छ । यसैगरी, प्रत्येक बुकिङको साथ रोमाञ्चक रिवार्ड प्राप्त गर्न सकिने छ । ई–क्युट सवारीसाधन सँग बोस्च जेट कार वासर र एक्स थ्री प्रो सवारीसाधनको साथ बोस्च वासिङ मेसिन प्राप्त गर्न सकिने छ । कार्निभलमा मनोरञ्जन र संगीत, रमाइला खेलहरू र सम्पूर्ण परिवारलाई संलग्न गराउने मनोरञ्जनात्मक गतिविधिहरू पनि हुने जनाइएको छ । चीनको सिचुआन प्रान्तको यिबिन शहरमा मुख्यालय रहेको केई अटो विश्वव्यापी रूपमा मान्यता प्राप्त सवारी साधन निर्माण कम्पनी हो । केई अटोले इन्धनबाट चल्ने र विद्युतीय दुवै सवारी साधन उत्पादन गरिरहेको छ, जुन पूर्वी युरोप, मध्य पूर्व, अफ्रिका र दक्षिणपूर्व एशिया लगायत देश र क्षेत्रहरूमा निर्यात गरिन्छ । नेपालमा केईलाई जीओ अटोमोबाइल्स प्रालि र लक्ष्मी ई–मोबिलिटी प्रालिले वितरण गर्छ ।