नबिल बैंकले गर्यो विद्यार्थीहरूका लागि वित्तीय साक्षरता कार्यक्रम आयोजना
काठमाडौं । ग्लोबल मनी वीक २०२६ को अवसर पारेर नबिल बैंक, मालिगाउँ शाखाले काठमाडौंको टङ्गालस्थित श्री टङ्गाल माध्यमिक विद्यालयमा वित्तीय साक्षरता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयमा अध्ययनरत कक्षा १० देखि १२ सम्मका ४० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको उक्त कार्यक्रम बालबालिका तथा किशोरकिशोरीहरूमा आर्थिक चेतना र वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको हो । नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष ग्लोबल मनी वीकको अवसरमा यस्ता सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । उक्त कार्यक्रममा नबिल बैंक मालिगाउँ शाखाका प्रमुख उत्सव श्रेष्ठले बैंकिङ साक्षरता सम्बन्धी मुख्य प्रस्तुति दिएका थिए । कार्यक्रममा शाखाका सम्बन्ध अधिकृत कृपा दहाल र सञ्चालन इन्चार्ज कपिला लामिछानेको समेत उपस्थिति रहेको थियो । प्रशिक्षणका क्रममा विद्यार्थीहरूलाई बचतको महत्व, बैंकिङ प्रणालीको कार्यविधि, डिजिटल भुक्तानीका माध्यमहरू तथा सुरक्षित वित्तीय व्यवहारका बारेमा विस्तृत जानकारी गराइएको थियो । कार्यक्रमका वक्ताहरूले वर्तमान समयमा डिजिटल बैंकिङ, मोबाइल वालेट र अनलाइन कारोबारको प्रयोग तीव्र रूपमा बढ्दै गइरहेकाले युवापुस्तालाई सही वित्तीय ज्ञान हुनु अत्यावश्यक रहेकोमा जोड दिए । साथै विद्यार्थीहरूलाई पैसाको सही व्यवस्थापन, नियमित बचत गर्ने बानी र डिजिटल माध्यमको सुरक्षित प्रयोगबारे समेत व्यावहारिक ज्ञान प्रदान गरिएको थियो । सहभागी विद्यार्थीहरूले यस कार्यक्रमबाट प्राप्त ज्ञानले भविष्यमा सही आर्थिक निर्णय लिन र सुरक्षित बैंकिङ कारोबार गर्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । नबिल बैंकले आगामी दिनमा पनि समुदायस्तरमा वित्तीय साक्षरताका यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने बताएको छ ।
सिटिजन्स बैंकको २०औं वर्ष प्रवेशको पूर्वसन्ध्यामा ६२ कर्मचारीलाई ‘दीर्घ सेवा सम्मान’
काठमाडौं । सिटिजन्स बैंकले आफ्नो स्थापनाको १९औं वर्ष पूरा गरी २०औं वर्षमा प्रवेश गर्न लागेको उपलक्ष्यमा ‘दीर्घ सेवा सम्मान’ कार्यक्रम आयोजना गरेको छ । हरेक वर्ष चैत्र १ गतेलाई ‘कर्मचारी दिवस’ का रूपमा मनाउँदै आएको बैंकले यस वर्ष पनि सोही दिन पारेर बैंकमा १० वर्ष र १५ वर्ष सेवा प्रवाह गरेका कर्मचारीहरूलाई सम्मान गरेको हो । बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित विशेष समारोहका बीच प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलले १० वर्ष सेवा पूरा गरेका ४८ जना र १५ वर्ष सेवा पूरा गरेका १४ जना गरी कुल ६२ जना कर्मचारीलाई पदक तथा प्रमाणपत्र प्रदान गरे । विसं २०६४ वैशाख ७ गते ४३ जना कर्मचारीबाट बैंकिङ यात्रा सुरु गरेको यस बैंकमा हाल १ हजार ७ सय ६४ कर्मचारीहरू कार्यरत छन् भने हालसम्म ३५६ जना कर्मचारीले दीर्घ सेवा पदक प्राप्त गरिसकेका छन् । समारोहलाई सम्बोधन गर्दै सीईओ पोखरेलले कर्मचारीहरूलाई जिम्मेवार, लगनशील र प्रतिबद्ध भई कार्यसम्पादन गर्न आग्रह गर्दै बैंकलाई नयाँ उचाइमा पुर्याउन शतप्रतिशत योगदान दिन आह्वान गरे। ‘बैंक अफ द इयर २०२४ र २०२५’ को प्रतिष्ठित उपाधि प्राप्त गर्न सफल यस बैंकले पछिल्लो समय प्रविधिमैत्री सेवामा आफूलाई अब्बल सावित गरेको छ । बैंकले नेपालमै पहिलो पटक ’सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल कार्ड) सञ्चालनमा ल्याउनुका साथै ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’, ‘डिजी बैंक सेवा’, र फ्रिलान्सरहरूका लागि विशेष बचत खाता समेत सुरु गरिसकेको छ । हाल बैंकले देशभरका २०० शाखा, १६९ एटीएम र विभिन्न विस्तारित काउन्टरहरूमार्फत करिब २० लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । आगामी वैशाख ७ गते हुने मुख्य वार्षिकोत्सवको अवसरमा बैंकले महिनाभरि नै विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।
गभर्नर पौडेलले सिकाए पैसाको महत्त्व, भने- पैसा भ्यालु स्टोर गर्ने माध्यम हो
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले जीवनमा जुनसुकै पेशा रोजेपनि पैसाको सदुपयोग गर्न आवश्यक रहेको बताएका छन् । सोमबार ग्लोबल मनी वीक–२०२६ को अवसरमा बोल्दै उनले डाक्टर, इन्जिनियर, प्लम्बर, इलेक्ट्रीसियन, शिक्षक जे बनेपनि मिहिनेत गरेर कमाएको पैसाको सदुपयोग कसरी गर्ने भन्ने स्पष्ट हुनुपर्ने बताए । गभर्नर पौडेलले विद्यार्थीहरूलाई सानै उमेरदेखि पैसाको महत्व, बचत र खर्च व्यवस्थापनबारे बुझ्न आवश्यक रहेको बताए । पैसा भनेको मूल्य सुरक्षित राख्ने माध्यम (भ्यालु स्टोर) भएको उनको भनाइ छ । आज गरेको कामको मूल्य भविष्यमा केका रूपमा प्राप्त हुन्छ भन्ने कुरा पैसाले निर्धारण गर्ने उनले बताए । ‘कुनै व्यक्तिले आज कसैका लागि काम गरेपछि त्यसको सट्टा प्राप्त गरेको पैसा प्रयोग गरेर अन्य ठाउँबाट आवश्यक सामान किन्न सक्छ । दूध, चिनी, चियापत्ती वा अन्य सेवासुविधा खरिद गर्ने प्रक्रिया पैसाको माध्यमबाट सम्भव हुने भएकाले यसको सही प्रयोगबारे बुझ्न आवश्यक छ,’ उनले भने, ‘आज तपाईंले गरेको कामको मूल्य भविष्यमा तपाईंले के पाउनुहुन्छ भन्ने पैसाले निर्धारण गर्छ र पैसा मिहिनेतको फल हो, त्यसैले यसलाई सदुपयोग गर्न र मिहिनेत गरेर कमाएको मूल्य सुरक्षित गर्न जान्नुपर्छ ।’ उनका अनुसार विगतमा ऋण तिर्न नसक्दा व्यक्ति जीवनभर अरूको लागि काम गर्न बाध्य हुन्थे । आजको समय फरक भए पनि पैसा सदुपयोग नगरेको खण्डमा नकारात्मक परिणाम हुन सक्ने उनले बताए । पौडेलले भने, ‘पैसासँग सम्बन्धित विषयहरू समयसँगै परिवर्तन हुँदै गएको छ । पहिले सुन, चाँदी र तामाका असर्फी चल्थे भने अहिले नोट र भविष्यमा भर्चुअल माध्यमबाट पैसा प्रयोग हुने सम्भावना छ । बैंकिङ सेवा र डिजिटल भुक्तानीको माध्यमबाट पैसा चलाउने, बचत गर्ने र खर्च गर्ने कुरा जान्न आवश्यक छ ।’