६ अर्ब ६० करोड लगानी गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ अर्ब ६० करोड लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने भएको हो । केन्द्रिय बैंककाअनुसार ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा उक्त परिमाण बराबर रकम मुद्दति निक्षेपमा लगानी गरिने छ । वाणिज्य बैंकमा ५ अर्ब २८ करोड , विकास बैंकमा ९९ करोड र वित्त कम्पनीमा ३३ करोड मुद्दती निक्षेपमा लगानी गरिनेछ । १८ डिसेम्बर २०२५ देखि १८ डिसेम्बर २०२६ सम्म ३ सय ६६ दिनको मुद्दति निक्षेपमा उक्त रकम लगानी गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, राष्ट्र बैंकबाट तोकिएको न्युनतम पुँजीकोष कायम गरेको हुनुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति केन्द्रीय बैंकले तोकेको न्यूनतम सीमा कायम गरेको हुनुपर्ने, कर्जा/निक्षेप अनुपात समय–सयममा निर्धारण गरिएको सीमाभित्र रहेको हुनुपर्ने र निकटतम अघिल्लो आर्थिक वर्षमा खुद मुनाफामा रहेको हुनुपने शर्त राष्ट्र बैंकको छ । त्यसैगरी, निक्षेप लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई राष्ट्र बैंकले जरिवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक वा सीईओ उक्त संस्थामा कायम नरहेको हुनुपर्ने र यदि कायम रहेको भए जरिवाना भुक्तान गरेको मितिले ६ महिना अवधि पूरा भएको हुनुपर्ने, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने पनि शर्त छ । त्यस्तै, राष्ट्र बैंकको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको हुनुपर्ने भएको भए फुकुवा भएको ६ महिना अवधि पूरा भएको हुनुपर्ने तथा सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने सर्त केन्द्रीय बैंकको छ । उक्त मुद्दति राख्न चाहने बैंक वित्त संस्थाले कात्तिक ४ भित्रै राष्ट्र बैंकमा ब्याजदर प्रस्ताव पठाउन भनिएको छ ।
क्यानडामा ब्याजदर स्थिर, वृद्धि दर बढ्ने अपेक्षा
काठमाडौं । क्यानाडाको केन्द्रीय बैंकले बुधबार आफ्नो मुख्य नीतिगत ब्याजदर हालको २.२५ प्रतिशतमा कायम राख्ने निर्णय गरेको छ । बैंकका गभर्नर टिफ म्याकलेमका अनुसार अमेरिकाद्वारा एलुमिनियम, अटोमोबाइल र काठमा लागू गरिएका कडा शुल्कले ती क्षेत्रहरूमा उल्लेखनीय असर परेको छ । साथै, अमेरिकी व्यापार नीतिमा रहेको अनिश्चितताले व्यावसायिक लगानीमा समेत दबाब सिर्जना गरेको छ । तर गभर्नर म्याकलेमले भने, ‘अहिलेसम्म क्यानडाको अर्थतन्त्र समग्रमा स्थिर र लचिलो देखिएको छ ।’ केन्द्रीय बैंकले तेस्रो त्रैमासिकमा क्यानडाको अर्थतन्त्र २.६ प्रतिशतको अपेक्षाभन्दा बढी वृद्धि भएको जनाएको छ । विश्वका अन्य ठूला अर्थतन्त्रहरूले अमेरिकी व्यापार संरक्षणवादको प्रभावको बाबजुद स्थिरता देखाइरहेका छन्, यद्यपि अनिश्चितता अझै उच्च रहेको छ । बैंकका अनुसार चौथो त्रैमासिकमा घरेलु माग बढ्ने अपेक्षा गरिएको छ, तर निर्यातमा सम्भावित कमीले सकल घरेलु उत्पादन (जीडीपी) लाई केही कमजोर बनाउने सम्भावना छ । ‘सन् २०२६ मा वृद्धि दर बढ्ने अपेक्षा छ, यद्यपि अनिश्चितता उच्च नै रहन सक्ने र व्यापारमा उतार–चढावले त्रैमासिक अस्थिरता ल्याउन सक्नेछ,’ बैंकले उल्लेख गरेको छ । मूल्यस्तरको अवस्थाबारे बैंकले आधारभूत मुद्रास्फीति अझै २.५ प्रतिशत आसपास रहेको भनेको छ । अर्थतन्त्रको वर्तमान कमजोरीले व्यापार पुनर्संरचनासँग सम्बन्धित लागत दबाबलाई केही हदसम्म समेट्ने अपेक्षा गरिएको छ, जसले उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) मुद्रास्फीतिलाई २ प्रतिशत लक्ष्य नजिक राख्नेछ । केन्द्रीय बैंकले यस वर्ष जनवरी, मार्च, सेप्टेम्बर र अक्टोबरमा ब्याजदर २५ आधार अङ्कले घटाएको थियो भने अप्रिल, जुन र जुलाईमा यसलाई स्थिर राखेको थियो ।
बैंकका शाखा मर्जरले कराेडाैं बचत, नाफा बढ्ने
काठमाडौं । ‘काठमाडौंको न्युरोड, विशाल बजार क्षेत्रमा १०/१५ मिटरको दूरीमा बैंकहरूका ६०/६५ वटा शाखा कार्यालय छन् । विशाल बजार, न्युरोड क्षेत्रमा भाडा पनि एकदमै महँगो छ । १०/१२ लाख रुपैयाँसम्म भाडा तिरिरहेका छन् । अब नेपाल राष्ट्र बैंकले शाखा मर्जरको नीति ल्याएपछि सहज हुने भयाे । एउटा शाखाबाट अनुमानित कम्तीमा २५ देखि ३० लाख रुपैयाँ महिनाको बचत हुने देखिन्छ,’ एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी (एसीईओ) जयेन्द्र रावलले भने । उनका अनुसार पछिल्लो समय बैंकहरूले डिजिटल कारोबारलाई जोड दिइरहेकाले राष्ट्र बैंकको शाखा मर्जरको नीति सकारात्मक छ । विगतमा धमाधम खोलिएका बैंकका शाखा अब मर्जरको माध्यमबाट घटाउन सहयोग पुग्ने उनको भनाइ छ । ‘सहरी क्षेत्र विशेषगरी महानगरपालिका र उप-महानगरपालिकामा शाखाहरू धेरै भएका हुन् । साथै पछिल्लो समय डिजिटल ट्रान्जिक्सन एकदमै ह्वात्तै बढेको छ । ग्राहकहरू भौतिक रुपमा शाखामा उपस्थित भएर हुने कारोबार (फिजिकल फुटप्रिन्ट)मा कमी आएको छ,’ एसीईओ रावलले भने, ‘अब शाखा मर्जर गर्न पाउँदा बैंकहरूको नाफामा पनि सकारात्मक प्रभाव पर्नेछ ।’ शाखा मर्जरले बैंकिङ क्षेत्रमा हुने अस्वस्थ प्रतिस्पर्धा पनि घट्नेछ भने सेवा प्रवाहमा सहजता आउने उनको भनाइ छ । उनका अनुसार एनआईसी एशिया बैंकले शाखा मर्जरका लागि वर्कआउट गरिरहेकाे छ । साथै राष्ट्र बैंकले सर्कुलर जारीपछि मात्रै शाखा मर्जरका लागि प्रक्रिया अघि बढाइने उनको भनाइ छ । ‘कति नाफा हुनसक्ला भनेर हिसाब निकालिसकेका छैनौं । जस्तो काठमाडौं महानगरपालिका भित्र विशाल बजार, न्युरोड क्षेत्रमा एउटै शाखाको १०/१२ लाख रुपैयाँसम्म भाडा तिर्ने गरिएको छ । त्यसैले अब शाखा मर्जर गर्याे भने कर्मचारीबाहेक २५ देखि ३० लाख रुपैयाँ महिनाको बचत हुने देखिन्छ । किनकी कर्मचारीहरू अरु शाखामा स्थानान्तरण भइहाल्छन्,’ उनले भने, ‘शाखाको आकार, पोर्टफोलियो लगायत विषय हेर्नुपर्छ । त्यसकारण कति वटा शाखा कार्यालय मर्ज गर्ने भनेर अध्ययन हुन बाँकी छ । सर्कुलर आइसकेपछि मात्रै कति शाखा बन्द गर्ने भन्ने तथ्याङ्क आउनेछ ।’ शाखा मर्जरको लागि नेपाल बैंकर्स संघले राष्ट्र बैंकलाई सुझाव दिएको हो । साथै डिजिटल कारोबारहरू बढ्दै र पहुँच बढ्दै गएपछि बैंकहरुले पनि विभिन्न चरणमा विगत एक/डेढ वर्षदेखि शाखा मर्जरको माग गरिरहेका थिए । ‘कुनै बेला हामीले न्युरोड, विशाल बजार क्षेत्रमा ७/८ वटा काउन्टर राखेका थियौं । अहिले अवस्था ठ्याक्कै उल्टो छ । अहिले २/३ वटा शाखा राखेपनि पर्याप्त हुन्छ । डिजिटल कारोबारको पहुँच बढ्दै जाँदा मान्छेहरू डिजिटलाईज हुँदैछन् । अब मोबाइल बैंक, क्रेडिट कार्ड, डेबिट कार्डको प्रयोग सामान्य भइसक्यो,’ उनले भने, ‘युवा पुस्ता लगायत सबैलाई सजिलो भएकाले डिजिटलतर्फ आकर्षित भइरहेका छन् । एनआईसी एशियामा ९०/९२ प्रतिशत कारोबार डिजिटलबाट हुन्छ ।’ ग्लोबल आइएमई बैंकका एसीईओ चन्द्रराज शर्मा महानगरपालिकामा शाखा मर्जर गर्न पाउँदा बैंकहरूलाई फाइदा हुने बताउँछन् । बैंकहरूले डिजिटलाइजेशनमा जोड दिइरहेकाले शाखा मर्जर अहिलेको आवश्यकता रहेको उनको भनाइ छ । उनका अनुसार बैंकको कुल कारोबारमा ८५ प्रतिशत कारोबार डिजिटलको माध्यमबाट हुने गरेको छ । शाखा कार्यालयमा ग्राहकहरूको उपस्थिति पनि घट्दै गएको उनले बताए । ‘जस कारण शाखा कन्सोलिडेट गर्यो भने खर्च कम हुने भयो । जस्तै भाडा, बिजुली, पानी लगायतमा ठूलो खर्च हुन्छ । त्यसकारण बैंकको फाइनान्सियसमा राम्रो नै प्रभाव पर्नेछ,’ उनले भने, ‘हामीले पनि शाखा मर्जरका लागि अध्ययन गरिरहेका छौं । ग्राहकको सेवालाई असर नपर्ने गरी कुन–कुन मर्जर गर्न सकिन्छ भने सबै अध्ययन भइरहेको छ ।’ उनका अनुसार नाफा बढाउने भनेको आम्दानी बढाएर वा लागत घटाएर हो । यदि शाखा मर्ज गर्याे लागत बचत भएपछि नाफामा सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ । राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी अधिकृत (डीईओ) पवन रेग्मी शाखा मर्जरले सकारात्मक फाइदा पुर्याउने बताउँछन् । तर, राष्ट्रिय वाणिज्य बैंकले शाखा मर्जरका लागि कुनै रणनीति नलिएको उनको भनाइ छ । ‘शाखा मर्जरको योजना छैन । त्यसकारण राष्ट्र बैंकको व्यवस्थाले केही असर गर्ने देखिँदैन । बरु हामी डिजिटल विस्तारसँगै शाखा विस्तार पनि गरिरहेका छौं । सबै जनता पूरै शिक्षित छैनन् । सबैले डिजिटल प्ल्याटफर्म प्रयोग गर्न सक्दैनन् । वित्तीय पहुँच हाम्रो पहिलो प्राथमिकता हो,’ उनले भने, ‘लगानी गर्ने, कर्जा दिने, निक्षेप संकलन लगायत अन्य बैंकिङ प्रडक्टहरू बिक्रीका लागि शाखा नै चाहिन्छ । त्यसकारण शाखा मर्ज गर्ने हाम्रो मनसाय छैन।’ मर्ज भएका निजी लगानीका बैंकहरुका लागि शाखा मर्जर आवश्यक परेको हुँदा यो व्यवस्था ल्याइएको हुन सक्ने उनले सुनाए । हिमालयन बैंकका एसीईओ सुनिलप्रसाद गोर्खाली विगतमा आक्रामक रुपमा व्यवसाय गर्ने उद्देश्यले विस्तार गरिएपनि पछिल्लो समय आर्थिक मन्दीका कारण घाटामा शाखा चलाउनु परेको बताउँछन् । आर्थिक मन्दी र अनलाइन बैंकिङका कारण शाखा मर्जर गर्न आवश्यक देखिएको र शाखामा जाने ग्राहकहरूको संख्या नै कमी आएको उनको भनाइ छ । शाखा मर्ज हुँदा सञ्चालन खर्च लगायत प्रशासनिक खर्चसमेत घट्ने भएकाले नाफा वृद्धि हुने उनले बताए । ‘विगत २/३ वर्षदेखि आर्थिक मन्दीका कारण घाटामा चलिरहेका छन् । व्यापार व्यवसाय पनि खासै हुन सकिरहेको छैन । एउटा शाखामा कर्मचारी खर्च, भाडा, प्रशासनिक खर्च हुन्छ,’ उनले भने, ‘कुनै बैंकले ५० लाख र कुनै बैंकले १ करोडमा शाखा खोलेका हुन्छन् । किनभने फर्निचर फिक्सर, जेनेरेटर, मेच टेबल राख्दा ५० देखि एक करोडसम्म लागत लाग्छ ।’ उनका अनुसार अब मर्जर गरेपछि १ करोड रुपैयाँ बच्ने होइन । त्यो खर्च भइसकेको हो । तर शाखामा हुने विभिन्न खर्च कम हुने भएकाले त्यो रकम बचत हुने उनले बताए । ‘टाढाका शाखा मर्ज हुँदैनन् । जस्तो ठमेल र बत्तीसपुतली शाखा मर्जर गर्दैनौं । बिजनेश भायविलिटी नभएका नजिकका शाखा मर्ज गर्छाैं । जस्तो साबिक सिभिल बैंकको भीमसेनथान शाखा छ र साथै एउटा शाखा टेकुमा छ । टेकु र भीमसेनथान शाखाको दूरी २/३ सय मिटरको फरकमा होला,’ उनले भने, ‘तत्कालीन समयमा ती शाखा ठिकै थिए । अब भिमसेनथान शाखाललाई टेकुमा राख्दा त्यहाँको कर्मचारी पनि टेकु नै जान्छन्, बिजनेश पनि टेकुमै जान्छ । त्यसरी शाखा मर्जर गर्न खोजिएको हो ।’