२० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार २० अर्ब निक्षेप तान्दैछ । निरन्तर अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले बुधबार फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप तान्न लागेको हो । अहिले कुल निक्षेप ७६ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता तान्दै आएको छ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ । निक्षेप चुलिँदा बुधबार अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको छ र ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८३ चैत्र १८ गते भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोल गर्न सकिने रकम न्युनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । खासगरी केन्द्रिय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधि अनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता स्थिति देखिए त्यसको व्यवस्थापन गरी बजार ब्याजदर व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकताअनुसार कुनैपनि दिन संरचनात्मक खुला बजार कारोबार अन्तर्गत बढीमा ६ महिना अवधिको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ । यही व्यवस्था टेकेर केन्द्रिय बैंकले पटकपटक निक्षेप संकलन उकरण प्रयोग गर्दै आएको छ ।
सम्पत्ति शुद्धीकरण निवारण दिवसमा नेपाल एसबिआई बैंकका कर्मचारीद्वारा प्रतिज्ञा
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले 'सम्पत्ति शुद्धीकरण राष्ट्रिय निवारण दिवस'को अवसरमा आफ्ना सबै कार्यालयका कर्मचारीहरूलाई सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी वा अन्य गैरकानुनी प्रयोजनका लागि बैंकिङ प्रणाली दुरुपयोग हुन नदिन उच्चतम एमएल/सीएफटी प्रावधानको पालना गर्ने प्रतिज्ञा गराएको छ । नेपाल सरकारले माघ १४ गतेलाई राष्ट्रिय सम्पत्ति शुद्धीकरण निवारण दिवसका रूपमा मनाउने निर्णयअनुसार बैंकले उक्त दिवस मनाएको हो । यस अवसरमा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले प्रधान कार्यालय, काठमाडौंमा आयोजित कार्यक्रममा सम्पूर्ण कर्मचारीहरूलाई प्रतिज्ञा गराएका थिए । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत प्रवीण मुनि बज्राचार्यसहित अन्य वरिष्ठ पदाधिकारीहरूको उपस्थिति रहेको थियो । साथै, बैंकका प्रदेश तथा शाखा कार्यालयका कर्मचारीहरूले पनि आ–आफ्ना कार्यालयहरूमा सोही अवसरमा प्रतिज्ञा लिएका थि ए। नेपाल एसबिआई बैंक लिमिटेडले विगत ३२ वर्षदेखि नेपालमा बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । हाल बैंकका १०२ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा, १२७ एटीएम तथा १ कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन् ।
ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्राहकहरूलाई सरल, सहज र अत्याधुनिक बैंकिङ प्रदान गर्ने उद्देश्यले ग्राहक स्वयंले बैंकको शाखा कार्यालयमा रहेको किओस्क मेसिनबाट बैंक खाता खोल्न सक्ने सुविधा सार्वजनिक गरेको छ । बैंकले १९औं वार्षिककोत्सवको अवसर पारेर किओस्क मेसिनबाटै खाता खोल्न सकिने सुविधा ल्याएको हो । बैंकमा खाता खोल्नको लागि ग्राहकहरूले बैंकको काठमाडौंको कमलादीस्थित शाखा कार्यालयमा रहेको किओस्क मेसिनबाटै सहज रुपमा आफ्नो बैंक खाता खोल्न सक्नेछन् । यसरी खाता खोल्नेक्रममा सम्पूर्ण विवरणहरु किओस्क मेसिन मार्फ्त प्रदान गर्नुपर्नेछ । तत्पश्चात्, आवश्यक कागजातहरू प्रविष्ट गरी खाता नम्बर उपलब्ध गराइनेछ । हालका लागि यो सेवा बैंकको कमलादीमा रहेको डिजिटल युनिभर्सबाट मात्र उपलब्ध रहेको छ । यसअघि, बैंकले बैंकको कमलादीस्थित शाखामा रहेको डिजिटल युनिभर्स मार्फत मेसिनबाटै क्यास डिपोजिट र चेक डिपोजिट जस्ता सेवाहरु उपलब्ध गराइरहेको थियो । भविष्यमा यस्ता सेवालाई बैंकले अरु स्थानमा पनि विस्तार गर्दै जाने योजना राखेको छ । ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरू प्राप्त गरिसकेको छ ।