विकास ऋणपत्र जारी गरेर १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौं । सरकारले विकास ऋणपत्र जारी गरेर १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरेको छ । विकास ऋणपत्र दुई वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो ।  हाल नेपाल राष्ट्र बैंकबाट निष्कासन भएका विकास ऋणपत्र ३ वर्षदेखि १५ वर्ष अवधिसम्मका रहेका छन् । अहिले ३ वर्षका लागि विकास ऋणपत्र –२०८५ ‘ढ’ बोलकबोलमार्फत  जारी गर्ने तयारी गरिएको सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले जानकारी दिएको छ ।  उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, अन्य व्यक्ति, फर्म, संस्था वा कम्पनीले भाद्र ११ गते बुधवार विहान १०ः०० बजेदेखि अपरान्ह ३ः०० बजेसम्म बोलकबोलमा भाग लिन सक्नेछन् ।  ऋणपत्र खरिद गर्न चाहनेले  अनलाइन प्रणालीको मध्यमबाट बोलकबोल पेश गर्नु पर्नेछ । ऋणपत्रको सावाँ भुक्तानी २०८५ भाद्र १२ गते हुने छ भने ब्याज भुक्तानी अर्धवार्षिक रूपमा हुनेछ । त्यस्तो ब्याजमा आयकर लाग्नेछ ।   बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ‘कट अफ’ ब्याजदरलाई एकल ब्याजदर कायम गरी हुने राष्ट्र बैंकले जनाएको छ । उक्त ब्याजदर र त्यसभन्दा तलका सबै बोलवालाहरुलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध हुनेछ ।  ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर—बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेश गर्न सक्नेछन् । ऋणपत्र धितो राखी कर्जा लिन र दिन पाइनेछ । ऋणपत्रको ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ भने र आर्जित ब्याजमा ब्याजकर लाग्नेछ । ऋणपत्र प्रतिष्पर्धी र अप्रतिष्पर्धी बोलवालाहरुलाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशतले हुने ८ अर्ब ५० करोड र १ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ ।  अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिष्पर्धी बोलवालाहरुलाई विक्री गरिने राष्ट्र बैंकले जनाएको छ । अप्रतिष्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरूलाई समानुपातिक रूपमा उक्त ऋणपत्रको रकम बाँडफाँट हुनेछ ।  ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा बोलकबोल पेश गर्नुपर्नेछ । ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिष्पर्धी वा अप्रतिष्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले अप्रतिष्पर्धीको रुपमा भाग लिन पाउने छैनन् ।

भारू २ सय, ५ सय र २ हजारका नोटमा प्रतिबन्ध, ५ हजार डलरभन्दा बढी बोक्न नपाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले भन्सार घोषणा गरेर मात्रै विदेशी मुद्रा कारोबार गर्न आग्रह गरेको छ । ५ हजार अमेरिकी डलर भन्दा बढी नगद विदेशी मुद्रा नेपालमा भित्र्याउँदा र नेपालबाट बाहिर लैजाँदा भन्सार घोषणा गर्नुपर्ने राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जनाएको हो । राष्ट्र बैंकका अनुसार नेपाली वा विदेशी नागरिकले नगद विदेशी मुद्रा अमेरिकी डलर ५ हजारसम्म (भारतीय रुपैयाँको हकमा अमेरिकी डलर ५ हजार बराबर हुन आउने भारतीय रुपैयाँ (भारू) सम्म र राष्ट्र बैंकबाट विनिमय दर प्रकाशन नहुने अन्य विदेशी मुद्राको हकमा समेत अमेरिकी डलर ५ हजार बराबरसम्म) भन्सार घोषणा बिना नेपालमा भित्र्याउन सक्छन् । तर, ५ हजार अमेरिकी डलरभन्दा बढी रकमको हकमा भने भन्सार घोषणा गरी प्रमाणित गराउन राष्ट्र बैंकले जनाएको छ ।  यसअघि पनि राष्ट्र बैंकले विदेशी मुद्रा कारोबारसँग सम्बन्धि विसं २०७५ असार ३२ गते र विसं २०७५ चैत २६ गते सूचना जारी गरेको थियो । साथै विसं २०७५ पुस २३ गते राजपत्रमा सूचना ( खण्ड ६८, संख्या ४७, भाग ५) जारी गर्दै कसैले पनि सन् २०१६ नोभेम्बर ९ भन्दा अगाडि चलनचल्तीमा रहेका ५०० र १००० भारतीय रुपैयाँ दरका नोटको कारोबार गर्न तथा २००, ५०० र २००० भारतीय रुपैयाँ दरका नोट साथमा राख्न, ओसार पसार गर्न र कारोबार गर्न नपाइने व्यवस्था रहेको राष्ट्र बैंकले जनाएको छ ।  साथै नेपाली नागरिकले भारत बाहेक अन्य मुलुकमा भारतीय रुपैयाँ लैजान वा अन्य मुलुकबाट भारतीय रुपैयाँ नेपाल ल्याउन नपाउने व्यवस्था रहेको राष्ट्र बैंकले जनाएको छ । 

एनआईएमबिका ५ वटा शाखा कार्यालय गाभिए

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबि) का विभिन्न शाखा कार्यालय गाभिएका छन् । बैंकका एकै स्थानमा रहेका ५ वटा शाखा कार्यालय गाभिएका हुन् । शाखा कार्यालय एक आपसमा गाभ्न नेपाल राष्ट्र बैंकबाट स्वीकृतीपश्चात् विभिन्न ठाउँमा रहेका ५ वटा शाखा गाभिएका हुन् ।  गाभिने शाखा कार्यालयबाट बैंकिङ कारोबार गरिरहेका ग्राहकहरूले अब उप्रान्त गाभ्ने शाखा कार्यालयबाट कारोबार सुचारू गर्न बैंकले अनुरोध गरेको छ ।  बैंकका अनुसार कास्कीको पोखरा महानगरपालिका-६ गौरीघाट शाखा सेन्टर पोइन्टस्थित लेकसाइड शाखामा गाभिएको छ । यस्तै, पोखरा महानगरपालिका-८ स्थित रत्न चोक शाखा श्रृजना चोक पोखरा-२ शाखामा गाभिएको छ । चितवनको भरतपुर महानगरपालिका-१० स्थित भरतपुर हाइट शाखा हाकिम चोकमा, कैलालीको एलएन चोक शाखा मेनरोड धनगढी शाखामा गाभिएको बैंकले जनाएको छ ।  यस्तै, धनुषाको जनकपुर उपमहानगरपालिका-१ मिल्स एरियास्थित जनकपुर शाखा जनकपुर उपमहानगरपालिका-२ जनक चोकमा रहेको शाखामा गाभिएको बैंकले जनाएको छ ।  यस्तै, बैंकको पोखरा महानगरपालिका-८ सभागृह चोकमा रहेको शाखा १ सय मिटर दक्षिणतर्फ स्थानान्तरण गरिएको बैंकले जनाएको छ ।