डिजिटल कारोबार प्रवर्द्धनका लागि सिटिजन्स बैंक र ई-स्पोटबीच सहकार्य

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नागपोखरीस्थित ई-स्पोट नेपालबीच डिजिटल कारोबार प्रवर्द्धन र ग्राहक सेवा सुदृढीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार सिटिजन्स बैंकका डेबिटरक्रेडिट कार्डधारक, प्रिभिलेज कार्ड प्रयोगकर्ता तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूले ई–स्पोट नेपालका सम्पूर्ण आउटलेटहरूमा ५ प्रतिशत ईभी चार्जिङ्गमा र ५ प्रतिशत फुडमा गरी कुल १० प्रतिशतसम्मको छुट पाउनेछन् । बैंकले यो सहकार्यलाई ग्राहकलाई नगद कारोबारबाट डिजिटल माध्यमतर्फ प्रोत्साहित गर्ने रणनीतिक कदमका रूपमा लिएको छ । साथै, डिजिटल कारोबारको प्रवर्द्धन गर्ने उद्देश्यले बैंक समय-समयमा यस्ता ग्राहकमैत्री अफरहरू ल्याउँदै आएको बताइएको छ । छुट सम्बन्धी थप जानकारी सिटिजन्स बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध छ ।

फ्रन्टलाईन हस्पीटल र प्रभु बैंकबीच सम्झौता, ग्राहक र कर्मचारीलाई १० प्रतिशतसम्म छुट

काठमाडौं । बानेश्वरस्थित फ्रन्टलाईन हस्पीटल र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीलाई छुट दिने समझदारी भएको छ । सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी, उनका परिवारजन तथा ग्राहकहरूले फ्रन्टलाईन हस्पीटलको सेवा सुविधामा १० प्रतिशत छुट पाउनेछन् । यस छुट सुविधा फ्रन्टलाईन हस्पीटलमै सिधा प्रयोग गर्न सकिने छ । सम्झौतापत्रमा फ्रन्टलाईन हस्पीटलका तर्फबाट क्लिनिकल अध्यक्ष योगेश न्यौपाने र मेडिकल प्रशासक रोहन झा, तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकारले संयुक्त हस्ताक्षर गरेका छन् । यस सम्झौताले वित्तीय संस्था र स्वास्थ्य सेवाबीचको सहकार्यलाई सुदृढ गर्दै सेवा विस्तारमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

नेपाल एसबिआई र सिद्धार्थ बैंकको ऋणपत्र बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं । नेपाल एसबिआई बैंक र सिद्धार्थ बैंकको ऋणपत्र बाँडफाँट गरिएको छ । दुइटै बैंकको ऋणपत्र साउन ७ गते बुधबारका दिन बाँडफाँट गरिएको जनाएको छ । नेपाल एसबिआई बैंक असार ३० गतेदेखि साउन १ गतेसम्म ३ अर्ब रुपैयाँको १० वर्ष अवधि रहेको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत नेपाल एसबिआई डिबेञ्चर २०९०’ बिक्री गरेको थियो ।  बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य दरका ३० लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँको १८ लाख कित्ता व्यक्तिगत र ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गरेको थियो । साथै सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो ।  यस्तै, सिद्धार्थ बैंक असार २९ गतेदेखि असार ३२ गतेसम्म २ अर्ब ५० करोड रुपैयाँको १० वर्ष अवधि रहेको वार्षिक ७.२५ प्रतिशत ब्याजदरमा ‘एसबिएल डिबेञ्चर २०९१’ बिक्री खुला गरेको थियो ।  बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य दरका २५ लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १५ लाख कित्ता व्यक्तिगत र ४० प्रतिशत अर्थात् १० लाख कित्ता ऋणपत्र सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गरेको थियो । सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई छुट्याइएको थियो ।  बिक्री प्रबन्धक तथा सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालन गरेको आईपीओ रिजल्टमार्फत् नतिजा हेर्न सकिने जनाएको छ । एसबिआई बैंकको ऋणपत्र बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ र सिद्धार्थ बैंकको ऋणपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटल हो ।