गभर्नरको स्वागतमै राजनीति : एमाले र माओवादी निकट कर्मचारीलाई बाइपास, कांग्रेसी हावी

काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघ नेपाल राष्ट्र बैंकले आफ्नै सहकर्मीहरू माथि अन्याय गरेको गुनासो आएको छ । बुधबार नवनियुक्त गभर्नर डा.विश्व पौडेलको स्वागत कार्यक्रममा वित्तीय संस्था कर्मचारी संघले अन्य संगठनका कर्मचारीलाई स्वागत कार्यक्रमको जानकारी नदिई आफ्नै संघमा आबद्ध कर्मचारीहरूलाई मात्रै बोलाएर अन्याय गरेको गुनासो नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकट कर्मचारीहरूले गरेका हुन् । नेपाल वित्तीय संस्था कर्मचारीले बिहान साढे १० बजेका लागि आफ्ना सदस्य कर्मचारीहरूलाई स्वागतका लागि राष्ट्र बैंकको गेटमा उपस्थित हुन आन्तरिक परिपत्र (सर्कुलर) जारी गरेको थियो । तर, सो विषयमा आफूहरूलाई जानकारी नदिई बाइपास गरिएको अन्य संगठनका कर्मचारीहरूले गुनासो गरेका हुन् । नेकपा एमाले निकट नेपाल राष्ट्र बैंक कर्मचारी संघकी पूर्वअध्यक्ष गीता पोख्रेल लम्सालले वित्तीय कर्मचारी संघले सर्कुलर जारी गर्दै आफू निकटका कर्मचारीहरूलाई मात्रै बोलाएर अन्य संगठनलाई बाइपास गरेको गुनासो गरिन् । आधिकारिक रुपमा जानकारी नआएपछि आफ्नो संगठनको कार्यालयमा गएर यस विषयमा छलफल गरेको उनको भनाइ छ । ‘बिहान गेटमा वित्तीय कर्मचारी संघका साथीहरूले हामी स्वागत गर्छाैं भनेर सर्कुलर जारी गरेर आफू निकटका कर्मचारीलाई मात्रै बोलाउनु भएछ । त्यसैले हामी गेटमा नबस्ने भनेर कार्यालयमै बसिरह्यौँ,’ उनले भनिन्, ‘तर साढे ३ बजेको स्वागत कार्यक्रममा बोलाइएपछि भने आफ्ना कुराहरू राख्यौँ ।’ उनका अनुसार गभर्नर पौडेलसँग भेटका लागि भोलि (बिहीबार) समय लिइएको छ ।  नेकपा माओवादी केन्द्र निकट संगठन नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष कृष्ण केसी सपथ ग्रहण र पद बहालीको सूचना नआएपछि स्वागतका लागि आफूहरू नगएको जानकारी दिए । ‘कतिबेला सपथ ग्रहण र कतिबेला पद बहाली भन्ने हामीलाई जानकारी थिएन । गभर्नर आउनु भएपछि बेलुका स्वागत कार्यक्रम हुन्छ भन्ने अनुमानसहित हामी तयारी गरिरहेका थियौं । गभर्नरका विषयमा कस्तो किसिमको धारणा राख्ने, कसरी अगाडि बढ्ने भन्ने किसिमले संगठनभित्र छलफल गर्दै थियौं,’ उनले भने, ‘उहाँ आकस्मिक रुपमा आउनु भयो । उहाँ आइसकेपछि मात्रै थाहा भयो कि पद बहाली गरिसक्नु भएछ । त्यतिबेला हामी सबै साथीहरू हाम्रै संगठनको कार्यालयमा बसेर छलफल गरिरहेका थियौं ।’ उनका अनुसार उहाँहरू (वित्तीय कर्मचारी संघ) लाई सपथ ग्रहणदेखि पद बहाली कार्यक्रमका बारेमा जानकारी थियो । त्यसैले उनीहरू शपथग्रहणदेखि कार्यभार सम्हाल्ने सम्म सहभागी भएका थिए । राष्ट्र बैंकको सम्बन्धित विभागले व्यवस्थापन नगर्दा यस्तो समस्या आएको उनको भनाइ छ ।  ‘यसमा गभर्नरको दोष छैन, किनकी उहाँलाई जानकारी नहुन पनि सक्छ । भित्री व्यवस्थापनले त्यो कुराहरू थाहा पाएर सर्कुलर गर्नुपर्थ्यो। त्यो कमी कमजोरी भएको छ,’ उनले भने, ‘उहाँले सबैलाई सहभागिता गराएर अघि बढ्ने कुरा गर्नु भएको छ । उहाँले जसरी लैजानु हुन्छ त्यस्तै रेस्पोन्स हाम्रो रहन्छ ।’   साढे ३ बजेको शुभकामना तथा बधाई कार्यक्रममा भने आधिकारिक जानकारी आएपछि आफ्नो धारणा राखेको उनले बताए । विगतको आबद्धतालाई बिर्सिएर राष्ट्र बैंकमा न्यायिक निर्णय र समावेशी सहभागिता गराउनुपर्ने उनको भनाइ छ । एमाले निकट नेपाल राष्ट्र बैंक कर्मचारी संघका अध्यक्ष रामहरि घिमिरे गेटमा स्वागतका लागि उपस्थित हुन आधिकारिक सूचना र समयबारे जानकारी नगराउँदा आफूहरू नगएको बताउँछन् । ‘कर्मचारी साथीहरू भेला भएर स्वागत गरेका हुन् । गेटमा भेला भएर उपस्थित हुनका लागि आधिकारिक सूचना थिएन । हामीलाई जानकारी नभएपछि गएनौँ । बैंकको सम्बन्धित विभागहरूले कार्यक्रम आयोजना गर्दा सूचना जारी गर्छ । सोही आधारमा हामी जाने हो,’ उनले भने, ‘बिहान गेटमा स्वागत गर्ने सूचना थिएन । साढे ३ बजेको कार्यक्रमको लागि मात्रै सूचना आयो । त्यसैले पद बहाली कार्यक्रममा सहभागी भएनौँ ।’  कांग्रेस निकट कर्मचारीका अध्यक्ष हरिकृष्ण भट्टराई नवनियुक्त गभर्नरका लागि कर्मचारीहरू स्वःस्फूर्त रुपमा गेटमा पुगेर स्वागत गरेको बताउँछन् । गभर्नर सबै कर्मचारीको हुने भएकाले स्वःस्फूर्त रुपमा उपस्थित हुनुपर्ने उनको भनाइ छ । सबै इच्छुक कर्मचारीहरूलाई गभर्नरको स्वागतका लागि बिहान साढे १० बजे गेटमा बोलाइएको उनले बताए । ‘गभर्नर सबै कर्मचारीको हो । आज जतिपनि कर्मचारी उपस्थित भए, उहाँहरू स्वःस्फूर्त रुपमा आएका हुन्,’ उनले भने, ‘पाँच वर्षअगाडि महाप्रसाद अधिकारी गभर्नर भएर आउँदा जुन अवस्था थियो आज पनि त्यही किसिमको वातावरण बनेको मात्रै हो ।’ 

कर्मचारीसामू गभर्नर पौडेलले भने : सञ्चिति बढ्दा मक्ख नपरौं, प्रयोगको विकल्प खोजौं

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले वैदेशिक मुद्राको सञ्चिति बढ्दा खुसी हुनु पर्ने अवस्था नरहेको बताएका छन् । गभर्नर पौडेलले पदभार ग्रहणपछि कर्मचारीहरूले राखेको स्वागत कार्यक्रममा बोल्दै उनले पछिल्लो समय राष्ट्र बैंकले वैदेशिक मुद्रा सञ्चितिको तथ्यांक देखेर खुसी भएको विषय उल्लेख गर्दै त्यसमा मक्ख परेर बस्न अवस्था नरहेको सुनाए । ‘वैदेशिक सञ्चिति बढ्यो भनेर खुसी हुनुपर्ने अवस्था छैन, यसको प्रयोगमा जोड दिनुपर्छ, अब बैंक तथा वित्तीय संस्थामा कडा नियमनभन्दा पनि सुपरभिजनमा जोड दिनुपर्छ,’ उनले कर्मचारीहरूसँग भने ।  यस्तै, उनले ग्रे लिष्टबाट देशलाई बाहिर ल्याउनका लागि सबैसँग समन्वय गरेर अगाडि बढ्नुपर्ने धारणा उनको थियो । उनले कर्मचारीहरुसँग नीतिगत स्थायित्व र सरोकारवालाहरूसँगको छलफलका आधारमा मौद्रिक लगायत केन्द्रीय बैंकका नीति तय गर्नुपर्ने र त्यसमा कर्मचारीको साथ आवश्यक हुने धारणा राखे ।  उनले राष्ट्र बैंकको निर्णयमा सरोकारवालाले अनुमान लगाउन खालको हुनुपर्ने बताए । ‘हामीले नीति निर्माणमा पनि पारदर्शी बन्नुपर्छ, आकस्मिक कुनै निर्णय गर्नु हुँदैन, सबैको उद्देश्य आर्थिक चलायमान नै हुनुपर्छ,’ उनले भने ।  नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार २१ खर्ब ३६ अर्ब रुपैयाँ विदेशी मुद्राको सञ्चिति छ । बैंक तथा वित्तीय संस्थामा मात्रै २ खर्ब ९० अर्ब रुपैयाँ रहेको छ ।   

क्यूआर स्क्यान, नगद हाताहात : आरबिबीले सुरु गर्‍यो क्यूआर स्क्यानमार्फत नगद झिक्ने सेवा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक (आरबिबी) ले अन्तरबैंक काउन्टरबाट मोबाइल बैंकिङमार्फत नगद झिक्न मिल्ने सेवा सुरु गरेको छ । ‘क्यूआर स्क्यान, नगद झिकियो - सजिलो, स्मार्ट, सहज’ नाराका साथ बैंकले फोनपे नेटवर्कसँगको सहकार्यमा ‘क्रस बैंक टेलर क्यूआर ट्रान्जेक्सन सेवा’ सुरु गरेको हो । यस नयाँ सेवाबाट अब फोनपे नेटवर्कमा आबद्ध जुनसुकै बैंकका ग्राहकले आरबिबीको देशभरिका शाखाबाट आफ्नै मोबाइल बैंकिङ एप प्रयोग गरेर काउन्टरमै नगद झिक्न सक्नेछन् । यसका लागि चेक वा एटीएम कार्ड आवश्यक पर्दैन । ग्राहकले शाखाको काउन्टरमा रहेको क्यूआर स्क्यान गरेर मोबाइल एपबाट रकम भुक्तानी गरी तुरुन्त नगद प्राप्त गर्न सक्ने बैंकले जनाएकाे छ । सेवा कसरी प्रयोग गर्ने ? आरबिबीको कुनै पनि शाखा जानुहोस्, आफ्नो मोबाइल बैंकिङ एप खोल्नुहोस् (फोनपे नेटवर्कमा आबद्ध जुनसुकै बैंकको), काउन्टरमा राखिएको क्यूआर स्क्यान गर्नुहोस्, झिक्न चाहेको रकम राख्नुहोस्, ट्रान्जेक्सन स्वीकृत गर्नुहोस्, तुरुन्तै नगद प्राप्त गर्नुहोस् । आरबिबीका अनुसार यो सेवा विशेषगरी टाढा रहेका शाखा तथा सीमित एटीएम पहुँच भएका स्थानहरूमा प्रभावकारी हुनेछ । बैंकले डिजिटल समावेशीकरणलाई प्रवर्द्धन गर्दै नेपालभर ग्राहकमैत्री र नवप्रवर्तनमुखी सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ ।