नबिलको घर कर्जामा ०.७५ प्रतिशत प्रिमियम, ३५ वर्षका लागि ‘स्थिर’
काठमाडौं । जीवनमा आफ्नै घर, सोही घरमा परिवारसँगै रमाउने अनि जिन्दगी बिताउने जो कसैको रहर हुन्छ । जागिर, व्यवसाय वा अन्य कुनै काम गरिरहेका व्यक्तिलाई चिटिक्क परेको घर बनाउने सपना (सोच) हुन्छ । मानिसहरूका लागि आधारभूत आवश्यकता पनि हो, ‘घर’ । तर, जग्गाजमिन भएर पनि रकम अभावमा धेरै मान्छेले सपनाको घर बनाउन सकेका हुँदैनन् । जग्गाजमिन छ, घर बनाउन सकिएको छैन, तयारी अवस्थामा घर छ, खरिद गर्न सकिएको छैन, शान्त तथा रमणीय वातावरणमा अपार्टमेन्ट छ, खरिद गर्न सकिएको छैन, आफ्नै घरलाई थप विस्तार गर्ने योजना छ, गर्न सकिएको छैन, बैंकबाट ऋण लिएर घर बनाउने योजना छ, सस्तो ब्याजदर नहुँदा घर कर्जा लिएको छैन । यी तमाम समस्या र झन्झटबाट मुक्त हुनेगरी नबिल बैंकले ल्याएको छ, ‘नबिल अफोर्डेबल हाउजिङ लोन’ । घर बनाउन कर्जा आवश्यक परेकाहरूलाई बैंकका ‘नबिल ढुक्क घर कर्जा’ र ‘दिगो घर कर्जा’ योजना सञ्चालनमा छन् । तर, बैंकको पनि सपना छ, सबै वर्गका मान्छेहरूसँग एउटा घर होस् । ‘समाजमा कम आयस्रोत भएका व्यक्ति पनि छन् । उहाँहरूको आफ्नै घर बनाउने सपना हुन सक्छ । तर, न्यून तथा मध्यम आम्दानी हुँदा सहजै कर्जा पाउन सक्नु भएको छैन । त्यसैले आयस्रोत कम भएका व्यक्तिहरूको घर बनाउने सपना पूरा गर्न नबिल बैंकले नबिल अफोर्डेबल हाउजिङ लोन योजना ल्याएको हो,’ बैंककी रिटेल लेण्डिङ प्रमुख चाँदनी श्रेष्ठले भनिन्, ‘उच्च तहका व्यक्तिले त सहजै घर बनाउन सक्नुहुन्छ । तर, निम्न तथा मध्यम वर्गका मान्छेसँग इच्छा भएपनि घर बनाउन सक्नु भएको छैन । उहाँहरूलाई लक्षित गरी गत पुसमा यो प्रोडक्ट ल्याएका हौं ।’ उनका अनुसार हालसम्म धेरैले सपनाको घर बनाउन नबिल अफोर्डेबल हाउजिङ लोन लिएका छन् । कर्जा लिएका ग्राहकहरूबाट सकारात्मक प्रतिक्रिया आइरहेको उनले बताइन् । यस्ता छन् विशेषता नबिल अफोर्डेबल हाउजिङ लोन योजनामा बैंकले अधिकतम ५० लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्छ । साथै कर्जा अवधि ३५ वर्ष तोकिएको छ । कर्जा चुक्ता अवधि धेरै भएकाले किस्ता रकम थोरै हुने गरेको उनले बताइन् । उनका अनुसार ५० लाख रुपैयाँ कर्जा लियो भने ३५ वर्षभित्र चुक्ता गर्नुपर्ने हुन्छ । किस्ता भने मासिक तिर्नुपर्छ । ‘५० लाख रुपैयाँ कर्जा लिएको अवस्थामा ३५ वर्षमा ४२० वटा किस्ता हुन्छन् । जसअनुसार एक लाख रुपैयाँ कर्जाको मासिक किस्ता जम्मा ६१९ रुपैयाँ हुन आउँछ,’ बैंककी रिटेल लेण्डिङ प्रमुख चाँदनी श्रेष्ठले भनिन् । बैंकले २ लाख रुपैयाँसम्मको जीवनभर निःशुल्क क्रेडिट कार्ड दिनेछ । बैंकहरूले अन्य कर्जा प्रवाह गर्दा सेवा शुल्क लिने गरेका हुन्छन् । तर, यस योजनामा भने सेवा शुल्कमा ०.२५ प्रतिशत छुट दिएर ०.५० प्रतिशत मात्रै लिने गरेको उनको भनाइ छ । जसले गर्दा ग्राहकलाई बैंकको कर्जाको लागत कम हुँदा राहत हुने उनले बताइन् । नबिल अफोर्डेबल हाउजिङ लोन योजनामा ब्याजदर निर्धारण गर्दा अन्य कर्जा सरह नै गरिन्छ । जस्तो कुनै ग्राहकलाई कर्जा दिँदा आधार दरमा निश्चित प्रिमियम दर तोकेर ब्याजदर निर्धारण गरिन्छ । र नबिल अफोर्डेबल हाउजिङ लोन योजनामा आधार दरमा ०.७५ प्रतिशत प्रिमियम दर जोडेर ब्याजदर निर्धारण गरिन्छ । जसमा आधार दर मासिक परिवर्तन हुन्छ भने प्रिमियम दर स्थिर रहन्छ । ‘बैंकले अहिलेको बजार आवश्यकता हेरेर यो प्रोडक्ट ल्याएको हो । कुनै समय आधार दर बढी हुँदा ढुक्क घर कर्जा, दिगो घर कर्जा ल्याएको थियो । अहिलेको समयमा यो कर्जा उपयुक्त छ,’ बैंककी रिटेल लेण्डिङ प्रमुख चाँदनी श्रेष्ठले भनिन्, ‘कर्जा लिँदा आधार दरमा ०.७५ प्रतिशत प्रिमियम जोडेर ब्याजदर निर्धारण गरिन्छ । आधार दर प्रत्येक महिना परिवर्तन हुन्छ । तर, प्रिमियम दर भने ३५ वर्षसम्मका लागि स्थिर हुन्छ ।’ उनका अनुसार बैंकिङ क्षेत्रमा अधिकांश घर कर्जा योजनामा १.५० प्रतिशतभन्दा बढी नै प्रिमियम दर रहेको छ । तर, नबिलले घर कर्जामा बैंकिङ क्षेत्रमै सबैभन्दा कम प्रिमियम दर तोकेको उनको दाबी छ । हाल नबिल बैंकको आधार दर ५.९७ प्रतिशत रहेको छ । बैंकले ग्राहकलाई गुणस्तरीय सेवा दिइरहेको छ । ग्राहकले सबै डकुमेन्ट उपलब्ध गराएको एक साता भित्र कर्जा प्रवाह गर्ने गरेको उनले बताइन् । ‘जस्तो घर किन्दै हुनुहुन्छ भने घरको लालपूर्जा र बिक्रेताको नागरिकता ल्याउनुपर्छ । साथै खरिदकर्ताले केवाईसी फारम भर्नुपर्ने हुन्छ । जसमा नागरिकता, फोटो, प्यान आवश्यक पर्छ । साथै आम्दानी स्रोत र कर चुक्ता प्रमाणपत्र पनि उपलब्ध हुनुपर्दछ,’ उनले भनिन् ।
एभरेष्ट, सानिमा र नेपाल बैंकले ब्याजदर बढाए, कुमारी, सिद्धार्थ र एनआईएमबिले घटाए
काठमाडौं । जेठ महिनाका लागि अधिकांश बैंकले ब्याजदर स्थिर राखेका छन् । जेठ १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरिएको ब्याजदर सूचीमा अधिकांश बैंकले मुद्दती निक्षेपमा ब्याजदर स्थिर राखेका हुन् । वैशाख महिनाको तुलनामा जेठमा वाणिज्य बैंकहरूको ब्याजदर मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.०२ प्रतिशत घटेर ५.९५ प्रतिशतमा झरेको छ । यस्तै, संस्थागततर्फ औसत ०.०१ प्रतिशत बढेर ४.३७ प्रतिशत पुगेको छ । विकासन्यूजलाई प्राप्त तथ्याङ्क अनुसार जेठ महिनाका लागि एभरेष्ट बैंक, नेपाल बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)ले ब्याजदर परिवर्तन गरेका छन् । जसमा एभरेष्ट, नेपाल बैंक र सानिमा बैंकले ब्याजदर बढाएका छन् भने कुमारी, सिद्धार्थ बैंक र एनआईएमबिले ब्याजदर घटाएका छन् । एभरेष्टले मुद्दती निक्षेपमा ०.०३ प्रतिशत बढाएर व्यक्तिगततर्फ ६.६४ प्रतिशत र संस्थागततर्फ ५.६४ प्रतिशत तोकेका छन् । यस्तै, नेपाल बैंकले व्यक्तिगततर्फ ०.३० प्रतिशत बढाएर ५.४५ प्रतिशत ब्याजदर तोकेको छ । तर, संस्थागतमा भने स्थिर राखेको छ । यस्तै, सानिमा बैंकले व्यक्तिगततर्फ ०.३८ प्रतिशत बढाएर ६.३३ प्रतिशत र संस्थागततर्फ ०.३० प्रतिशत बढाएर ४.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । जेठ महिनाका लागि कुमारीले ०.०१ प्रतिशत घटाएर व्यक्तिगततर्फ ५.९१ प्रतिशत र संस्थागततर्फ ४.९१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यस्तै, सिद्धार्थ बैंकले ०.२५ प्रतिशत घटाएर व्यक्तिगततर्फ ५.७५ प्रतिशत र संस्थागततर्फ ४.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)ले व्यक्तिगततर्फ १ प्रतिशत घटाएर ५.५ प्रतिशत र संस्थागततर्फ ०.०६ प्रतिशत घटाएर ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
गर्भरनर बन्न अयोग्य भन्दै डा. विश्व पौडेलविरुद्ध रिट दायर
काठमाडौं । अर्थशास्त्री डा. विश्व पौडेलविरुद्ध नेपाल राष्ट्र बैंकको गभर्नर बन्न अयोग्य रहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ताद्वय प्रतीभा उप्रेती र विशाल थापाले दायर गरेको उक्त रिटमा, राजनीतिक दलको सक्रिय सदस्य रहेको व्यक्तिलाई राष्ट्र बैंकको गभर्नर बनाउन खोज्नु नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल हुने जिकिर गरिएको छ । रिट निवेदनमा हाल प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति भएको चर्चा भएकाे थियाे । गभर्नर छनोट समितिका सदस्य रहेका डा. पौडेलले आइतबार उक्त समिति सदस्य पदबाट राजीनामा दिएका थिए ।