माछापुच्छ्रे बैंकको ‘माछापुच्छ्रे महोत्सव’, निशुल्क डेबिट कार्ड तथा अन्य सेवामा छुटैछुट

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले १८ औं वार्षिकोत्सवको अवसरमा ‘माछापुच्छ्रे महोत्सव’ सुरु गरेको छ । यो महोत्सवमा बैंकले ग्राहकलाई विशेष छुटको व्यवस्था गरेको छ । बैंकका अनुसार निःशुल्क डेबिट कार्ड, कर्जा सेवा शुल्कमा छुट, वार्षिक लकर शुल्कमा छुट, माछापुच्छ्रे मोबाइल मनी जारी शुल्कमा छुट र माछापुच्छ्रे क्रेडिट कार्डमा छुट लगायत विभिन्न सरप्राइज गिफ्टहरु पनि प्रदान गरिएको छ । भदौ एक गतेदेखि सुरु भएको यो महोत्सव आसोज मसान्तसम्म चल्ने बैंकले जानकारी दिएको छ । १८ औं बर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा माछापुच्छ्रे बैंकका सम्पुर्ण शाखाले ग्राहकलाई भिन्न किसिमको बैंकिङ अनुभुती गराउने बताएको छ । बैंकले सर्वसाधारणहरुलाई नजिकको शाखामा गई महोत्सवमा सहभागीहुन तथा विशेष सुविधा लिन आव्हान गरेको छ । पोखराबाट २०५७ सालमा बैंकीङ कारोबार शुरु गरेको यस बैकले हाल ६२ वटा शाखाकार्यालय, ४ वटा एक्स्टेन्सन काउण्टर, ४ वटाशाखा रहित सेवालगायत ८१ वटा एटिएमबाट देशभरीका ५ लाख ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

बिहीबार ५ अर्बको ऋणपत्र निष्कासन हुदै, ०८५ मा फिर्ता हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपैयाँको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । केन्द्रीय बैंकले भदौ २९ गते बोलकबोल मार्फत “ विकास ऋणपत्र २०८५ क” बिक्री गर्ने भएको छ ।सरकारको तर्फबाट राष्ट्र बैंकले ११ वर्ष अवधिको “विकास ऋणपत्र निष्कासन गर्न लागेको हो । ऋणको सांवा फिर्ता ०८५ भदौ ३० गते फिर्ता हुने राष्ट्र बैंकले जानकारी दिएको छ । प्रत्येक ६ महिनामा ऋणको ब्याज भुत्तानी हुने छ । ऋणपत्र बैक तथा वित्तीय संस्था, गैर—बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्ने छन् । सरकारले चालु आर्थिक वर्षका लागि १ खर्ब ४५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । जसमध्ये विकास ऋणपत्र उपकरणबाट ७२ अर्ब रुपैयाँ उठाइने भएको छ ।

बैंकिङ प्रणालीमा ७० अर्ब तरलता, राष्ट्र बैंकले बुधबार १ अर्ब उठाउदै

काठमाडौं । बजारमा अधिक तरलता (लगानीयोग्य पुंजी) भएपछि नेपाल राष्ट्र बैंकले रिभर्स रिपो उपकरणमार्फत प्रतिस्पर्धाबाट तरलता प्रशोचन सुरु गरेको छ । राष्ट्र बैंकले बुधबार १ अर्ब रुपैयाँ बजारबाट प्रशोचन गर्ने भएको छ । बजारमा हाल ७० अर्ब रुपैयाँ तरलता रहेको राष्ट्र बैंकका प्रवत्ता नारयणप्रसाद पौडेलले बताए । बजारको अवस्था हेरेर राष्ट्र बैंकले पैसा खिच्न थालेको उनको भनाई छ । बजारमा तरलता रहेकाले बैंक तथा वित्तीय संस्थालाई लगानी गर्न पुंजीको अभाव नभएको उनी बताउछन् । बजारमा तरलता बढ्दै गएपछि बैंक तथा वित्तीय संस्थाले मुद्धति र साधारण निक्षेपको ब्याज दर घटाउन थालेका छन् ।  बैंकमा लगानी गर्न पर्याप्त पुंजी भएपछि बैंक तथा वित्तीय संस्थाले सेयर कर्जा, घरकर्जा, साना तथा मझौला व्यवसाय लगायत कर्जा योजना सार्वजनिक गर्न थालेका छन् । बैंक तथा वित्तीय संस्थाले क्षमता भन्दा बढी लगानी गर्दा गत आर्थिक वर्षको दोस्रो त्रैमाश सुरु हुदै बजारमा तरलताको अभाव भएको थियो ।