माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त
काठमाडौं । माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त भएका छन् । बैशाख १४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले केसीलाई अध्यक्ष नियुक्त गरेको हो । बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन(बाफिया)ले संवैधानिक पद धारण गरेको व्यक्तिलाई अध्यक्ष तथा सञ्चालक बन्न रोक लगाएपछि संचालक समितिका डा. बिरेन्द्र प्रसाद महतोले राजीनामा दिएका थिए । बाफियामा लालमोहर लागेसँगै बिभिन्न बैंक तथा वित्तिय संस्थाबाट सञ्चालक तथा अध्यक्षहरुले राजीनामा दिने क्रम बढेको छ । सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङले पनि राजीनामा दिईसकेका छन् ।
कुसुम लामाले छोडिन प्रभु बैंक
काठमाडौं । प्रभु बैंकको सञ्चालक समितिबाट कुसुम लामाले राजीनामा दिएकी छिन् । बैशाख १४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले लामाको राजीनामालाई स्वीकृत गरेको हो । लामा प्रभु बैंकमा स्थापना कालदेखि नै आवद्ध रहँदै आएकी थिइन्।
दुई विकास बैंक प्राप्तिसँगै प्राइम बैंकको नयाँ भवन उद्घाटन, अनिल शाह बढी बोल्ने सिईओ, नारायणदाश मानन्धर बढी काम गर्ने सीईओ
काठमाडौं । प्राइम कमर्शियल बैंकको नबनिर्मित भवनको उद्घाटन भएको छ । साथै यस बैंकले विराटलक्ष्मी विकास बैंक र कन्ट्री डेभलपमेन्ट बैंक प्राप्तिपछिको एकिकृत कारोबार सञ्चालन गरेको छ । कमलपोखरीमा निर्मित बैंकको आफ्नै नयाँ भवनको उद्घाटन र एकिकृत कारोबारको शुभारम्भ नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवि नेपालले गरेका छन् । उक्त अवसरमा बोल्दै गर्भनर नेपालले चालु आर्थिक वर्षको आर्थिक वृद्धि ७ प्रतिशत नजिक हुँदै गएको बताउँदै भविष्यमा दोहोर अंकको आर्थिक वृद्धि हासिल गर्न सकिने बताए । बैकिङ क्षेत्रलाई सुरक्षीत र पारदर्शि बनाउने राष्ट्र बैंकले धेरै काम गरेको, नयाँ कानुन र अदालतका आदेशहरुले राष्ट्र बैंकलाई बलियो बनाउदै लगेको उनले बताए । विराटलक्ष्मी विकास बैंक र कन्ट्री डेभलपमेन्ट बैंक प्राप्तिपछि बैंकको चुक्ता पुँजी ६ अर्ब ३२ करोड रुपैयाँ भएको छ । ८ अर्ब पुँजी पुर्याउन बैंकले बोनस सेयर जारी गर्ने बैंकका अध्यक्ष उदयमोहन श्रेष्ठले बताए । बैंकको निक्षेप ५९ अर्ब ६९ करोड र कर्जा ५४ अर्ब ९८ करोड रुपैयाँ भएको बैंकले जनाएको छ । सोही कार्यक्रममा बोल्दै नेपाल बैंकर्स संघका अध्यक्ष अनिल केशरी शाहले प्राइम कमर्शियल बैंकले १० वर्षको अवधिमा धेरै राम्रो काम गरेको र अरु बैंकहरुलाई पनि पदचिन्ह छोड्न सफल भएको बताए । उनले आफू सबैभन्दा धेरै बोल्ने र मिडियामा देखिने सीईओ भएको र प्राइम कमर्शियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदाश मानन्धर कम बोल्ने तर धेरै काम गर्ने सीईओ भएको टिप्पणी गरे ।