बैंकमा व्याजदर दिनदिनै बढ्न थाल्यो, सिभिल बैंकले ११.११ प्रतिशत दिने, सरकारी बैंक पनि व्याज बढाउन बाध्य
काठमाडौं, २२ पुस । बैकिङ क्षेत्रमा लगानी योग्य पुँजी (तरलता)को कमी भएपछि बैंकहरुले निक्षेपको व्याजदर दिन दिनै बढाउन थालेका छन् । जनता बैंक नेपालले पुस १७ गतेदेखि १०० दिन अवधिको मुद्दती खातामा १० प्रतिशत व्याज दिने योजना ल्यायो । लगत्तै मेघा बैंकले पनि निक्षेपकर्तालाई १० प्रतिशत व्याज दिने योजना ल्यायो । ती दुबै बैंकका योजना असफल हुने गरी सिमिल बैंकले शुक्रबार ११ दशमलव १ प्रतिशत व्याज दिने योजना सार्वजनिक गरेको छ । १११ दिनको मुद्दति खाताको लागि ११.१ प्रतिशत व्याज दिने बैंकले जनाएको छ । सिभिल बैंकले शुक्रबार जारी गरेको योजनाले जनता र मेघा बैंकको मुद्दति योजनालाई छायाँमा पारेको छ । गएको ५ महिना अवधिमा निजी क्षेत्रको लगानीमा खुलेका नयाँ बैंकहरु तुलनात्मक रुपमा बढी व्याजको प्रस्ताव गर्दै निक्षेप संकलनमा जोड दिएका छन् । यसको प्रभाव पुराना र सरकारी लगानी रहेका बैंकमा पनि विस्तारै पर्न थालेको छ । निक्षेप संकलनका कार्यलाई कहिल्यै प्राथमिकतामा नराख्ने सरकारी लगानी रहेको कृषि विकास बैंकले पनि ८.५ प्रतिशत व्याजदर प्रस्ताव गर्दै ७ महिने मुद्दति बचत योजना ल्याएको छ । बैकिङ क्षेत्रमा लगानी योग्य पुँजी (तरलता) कमी भएपछि व्यक्तिगत र संस्थागत दुबै निक्षेपकर्ताले आकर्षक व्याज पाएका छन् । कर्मचारी सञ्चय कोषका प्रशासक कृष्णप्रसाद आचार्यका अनुसार वाणिज्य बैंकहरुले निक्षेपमा दिने व्याज विगत पाँच महिनामा दोप्बर वृद्धि भएको छ । ‘गत असार/साउनसम्म हामीले मुद्दति खातामा करिव ५ प्रतिशत व्याज पाउँथ्याैं, अहिले बैंकहरुले ११ प्रतिशत व्याज दिन थालेका छन्’–उनले भने । बैकर्सहरुका अनुसार यतिबेला निक्षेप र कर्जाको अनुपात ८० प्रतिशत नाघेको छ । पुस मासान्तमा सो रेसियो ८० प्रतिशतको सीमा भित्र ल्याउन बैंकहरुले छोटो अवधिको निक्षेपमा जोड दिएका छन् । पुस मसान्तमा दोस्रो चौमासिक वित्तीय विवरण सार्वजनिक गर्नु पर्ने र सो समयमा निक्षेप कर्जा अनुपात ठिक ठाउँमा राख्न बैंकहरुले कल एकाउण्टमा पनि उच्च व्याज दिएर निक्षेप तान्ने प्रयास गरिरहेका छन् ।
सेञ्चुरी बैंकमा ९ करोड घोटाला, केन्द्रसँग मिलोमत्तो भएको आशंका
इटहरी, २० पुस । धरानस्थित सेञ्चुरी बैंकको शाखा कार्यालयमा कीर्ते कागज बनाई करोडौँ रकम घोटाला गर्नेलाई प्रहरीले पक्राउ गर्न थालेको छ । एक वर्षअघिदेखि उक्त बैंक घोटाला प्रकरण चर्चामा रहँदै आएको थियो । सेञ्चुरी बैंक शाखा धरानले बैंक घोटालाका सम्बन्धमा दिएको लिखित उजुरीपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानबिन अगाडि बढाउन निर्देशन दिएलगत्तै धरान प्रहरीले घोटालामा संलग्नमध्ये तीनलाई पक्राउ गरिसकेको बताएको छ । पक्राउ पर्नेमा बैंकका सुन जाँचकी पदमा कार्यरत कुमार श्रेष्ठ तथा ऋणी सञ्जयकुमार राई र विशन शाक्य पक्राउ परेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभएको छ । कीर्ते कागजबाट रु नौ करोडभन्दा बढी रकम घोटाला गरिएको बताइन्छ । राष्ट्र बैंकको कारबाहीबाट बच्न बैंकका सञ्चालकको लिखित जाहेरीमा तत्कालीन सुन जाँचकी श्रेष्ठ र ऋणी दुवैलाई नियन्त्रणमा लिई अनुसन्धान कारबाही अघि बढाइएको प्रहरीले जानकारी दिएको छ । तल्लोस्तरका कर्मचारीले मात्रै करोडौँ घोटाला गर्न सम्भव नरहेको निष्कर्ष निकाल्दै इप्रका धरानले सिबीआइको सहयोग मागेको थियो । सिबीआइले राष्ट्र बैंककै विज्ञको सहयोगमा छानबिन र कारबाही अघि बढाउन आदेश दिएपछि धरान प्रहरीले तत्कालीन शाखा प्रमुख निखिल श्रेष्ठ, सुन जाँचकी श्रेष्ठ, ऋणी राई र शाक्य लगायतलाई नियन्त्रणमा लिनुपर्ने रायअनुसार ती तीन जनालाई पक्राउ गरेको हो । निखिल श्रेष्ठबाहेक निर्दिष्ट गरिएका सबै पक्राउ गरिसकेको र निखिलको पनि खोजी जारी राखिएको इप्रकाका प्रनाउ खतिवडाले जानकारी दिए । ऋणी राई धरान–९ स्थित पुतलीलाइनमा रहेको इम्मानुयल ज्वेलर्सका सञ्चालक हुन् भने शाक्य धरानका सुनचाँदी व्यवसायी हुन् । सुन कर्जामा गरिएको लगानीमा बिनाधितो नक्कली कागजात बनाएर झन्डै रु नौ करोडभन्दा बढी घोटाला गरेको स्वयम् बैंक शाखाले दिएको उजुरीमा उल्लेख भएको पाइएको छ । रासस
कुमारी बैंकले २१ प्रतिशत बोनस सेयर दिने, ५० प्रतिशत हकप्रद सेयर प्रक्रियामा
काठमाडाैं, २० पुस । कुमारी बैंकले सेयरधनीहरुलाई २१ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । मंगलबार बसेको बैंक संञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । बैंकले गत आर्थिक बर्षमा ७४ करोड खुद मुनाफा आर्जन गरेको थियो । बैंकले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकको स्वीकृतिपश्चात बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् । हाल बैंकको २ अर्ब ६९ करोड ९१ लाख रुपैयाँ चुक्तापूँजी रहेको छ । २१ प्रतिशत बोनसपछि बैंकको चुक्तापूँजी ३ अर्ब २६ करोड रुपैयाँ नाघ्नेछ । बैंकले पचास प्रतिशत हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । कुमारीले काष्ठमण्डप, महाकाली, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई एक्वायर गर्ने सम्झौता गरिसकेको छ ।