प्रभु बैंकको ४० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित
काठमाडौं, ८ पुस । प्रभु बैंक लिमिटेडको १५औं वार्षिक साधारण सभाले बैंकको ४० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्तावलाई पारित गरेको छ । हाल बैंकको चुक्ता पूँजी ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रद बिक्रीपछि बैंकको चुक्ता पूँजी ८ अर्ब २३ करोड रुपैयाँ पुग्ने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । शुक्रबार सम्पन्न उक्त वार्षिक साधारण सभाबाट सञ्चालक समितीको प्रतिवेदन सहित गत आ.व.०७२/०७३को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरिएको छ । साथै, बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने, एक्विजिसन(प्राप्ति) तथा खरिद गर्ने प्रक्रिया अगाडि बढाउनको लागि सञ्चालक समिती लाई अख्तियारी दिने निर्णय गरेको छ । उक्त सभाले ६ जना सञ्चालकहरु निर्विरोध निर्वाचित गरेको छ । जसमा संस्थापक शेयधनीहरुको तर्फबाट देवीप्रकाश भट्टचन, पुष्पबहादुर प्रधान, अम्बिका शर्मा लामिछाने र रमेश सिंह खड्का रहेका छन् । सर्वसाधारण शेयरधनीहरुको तर्फबाट कुसुम लामा र दक्ष पौडेल (सुभाष)निर्वाचित भएका छन् । साथै आजै बसेको नव निर्वाचित संचालक समितिको बैठकले देवी प्रकाश भट्टचनलाई अध्यक्षमा सर्व सहमतिका साथ चयन गरेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
धितोपत्र बोर्डद्धारा ११ वटा बैंकलाई आस्वा प्रणालीमा सहभागी हुने अनुमति
काठमाडौं, ८ पुस । आगामी माघदेखि लागू गर्न लागेको एप्लिकेसन सपोर्टेड वाइ बल्कड् एमाउन्ट अर्थात आस्वा प्रणालीमा ११ वटा बैंकहरु सहभागी हुने भएका छन् । नेपाल धितोपत्र बोर्डले ९ वटा वाणिञ्य बैंक र २ वटा विकास बैंक सहित ११ वटा बैंकहरुलाई यस प्रणालीमा सहभागी हुन अनुमति दिएको हो । बोर्डका अनुसार अनुमति पाउनेमा वाणिज्य बैंकहरुमा सेन्चुरी कमर्सियल बैंक, सनराइज बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, लक्ष्मी बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, एनआइसी एसिया, एनबी बैंक र कुमारी बैंक रेहका छन् । त्यस्तै, विकास बैंकहरुमा एस डेभलपमेन्ट बैंक र कैलास विकास बैंकले अनुमति पाएका छन् । बोर्डका अनुसार अन्य ६ वटा संस्थाहरु प्रक्रियामा रहेका छन् । बोर्डले आगामी माघदेखि सेयर आवेदन दिएपछि बैंक खातामा पैसा रोक्ने गर्ने प्रणाली आस्वा लागू गर्देछ ।
अम्बिका पौडेलले दिए एनबी इन्स्योरेन्स कम्पनीबाट राजीनामा, अरुण फाइनान्सको नेतृत्व गर्दै
काठमाडौं, ७ पुस । एनबी इन्स्योरेन्स कम्पनीका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले राजीनामा दिएका छन् । तर उनको राजीनामा सञ्चालक समितिले स्वीकृत गरेको छैन । स्रोतका अनुसार मंसिर १७ गते कम्पनीको १८ औं र १९ औं साधारणसभा सम्पन्न भएपछि पौडेलले अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । आफू अन्य काममा व्यस्त भएको जनाउँदै पौडेलले राजीनामा गरेको बताएका छन् । सञ्चालक समितिले पौडेललाई राजीनामा फिर्ता गर्न सुझाव दिएको छ । बीमा समितिले समस्याग्रस्त घोषणा गरेको र बन्द अवस्थामा रहेको एनबी इन्स्योरेन्स कम्पनीलाई सञ्चालनमा ल्याउने र सामान्य अवस्थामा फर्काउन पौडेलले महत्वपूर्ण योगदान गरेको बताइएको छ । पौडेलको राजीनामा स्वीकृत गरि सो ठाँउमा आईएमई ग्रुपका हेमराज ढकाल आउन सक्ने अनुमान गरिएको छ । सम्बद्ध स्रोतका अनुसार अम्बिका पौडेलसहित आईएमई ग्रुपमा आवद्ध व्यक्तिहरुले समस्याग्रस्त अरुण फाइनान्समा प्रमोटर सेयर लिएका छन् । विहीबार मात्र पौडेल अरुण फाइनान्सको अध्यक्षमा चयन भएका छन् । राष्ट बैंकले समस्या ग्रस्त घोषणा गरेको यो फाइनान्सले नयाँ नेतृत्व पाए लगतै समस्याग्रस्त सूचिबाट हटाउने तयारी गरेको छ । संसद्बाट पारित हुने अन्तिम चरणमा रहेको बैक तथा वित्तीय संस्था सम्बन्धि विधेयकमा एउटै व्यक्ति बैंक र बीमा कम्पनीको सञ्चालक समितिमा बस्न नपाउने व्यवस्था गरेकोले पौडेलले इन्स्योरेन्स कम्पनीबाट राजीनामा दिएको बताईएको छ ।