निक्षेप तान्न बैंकहरूबीच प्रतिस्पर्धा, बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजी अभाव
काठमाडौं ६, पुस । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता)अभाव भएपछि एउटा बैंकमा भएको निक्षेप अर्कोमा तान्नका लागि प्रतिस्पर्धा देखिएको छ । पछिल्लो तीन महिनादेखि तरलता अभाव चर्किएसँगै निक्षेप तान्न बैंक तथा वित्तीय संस्थाबीच प्रतिस्पर्धा देखिएको हो । गत असोज महिनामा वाणिज्य बैंकहरूले आठ प्रतिशतभन्दा बढी ब्याजदरमा संस्थागत निक्षेप नलिने भद्र सहमति गरे पनि त्यसको कार्यान्वयन नभएको बैंकरहरू बताउँछन् । एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले पुस मसान्तसम्ममा अहिलेको अवस्था कायम रहेमा निक्षेपको ब्याजदर १२ प्रतिशतसम्म पुग्ने देखिएको बताए । “सरकारले विकास खर्च गरेको छैन, रेमिट्यान्स प्रवाह पनि घटेको हुँदा तरलता अभाव भएको छ,” उनले भने । नागरिक लगानी कोषले ५ अर्ब निक्षेपका लागि आह्वान गर्दा नाम चलेको एक वाणिज्य बैंकले १२ प्रतिशत ब्याजदर प्रस्ताव गरेको जनाइएको छ । माघपछि विकास खर्च बढ्ने भएकाले अधिकांश बैंक तथा वित्तीय संस्थाले अहिले निक्षेप बढाउनका लागि अल्पकालीन प्रकृतिको ब्याजदरका ‘स्किम’ ल्याएका छन् । जसमा सय दिनेदेखि एक वर्षसम्मको मुद्दती निक्षेपमा आठदेखि साढे ९ प्रतिशतसम्म ब्याजदरको योजनाको प्रस्ताव बैंक तथा वित्तीय संस्थो गरेका छन् । अघिल्लो वर्षसम्म वाणिज्य बैंकको तुलनामा राष्ट्रियस्तरका विकास बैंकले निक्षेपमा दिने ब्याजदर बढी थियो । तर, अहिले कतिपय वाणिज्य बैंकले विकास बैंकले भन्दा बढी ब्याजदर प्रस्ताव गरेको अवस्था छ । सिद्धार्थ डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अजय मिश्र विकास बैंकका राम्रा निक्षेपकर्ता वाणिज्य बैंकले तानेर लग्ने गरेको बताए । “अघिल्लो वर्ष राम्रा ऋणीहरूलाई विकास बैंकबाट तानेर वाणिज्य बैंकले लग्ने गरेका थिए,” उनले भने, “यो पटक निक्षेपकर्तालाई तान्नका लागि प्रतिस्पर्धा हुने गरेको छ ।” सरकारको विकास खर्च नबढेको तथा पुस मसान्तमा कर चुक्ता गर्नुपर्ने हुँदा वित्तीय प्रणालीमा अझै तरलता अभाव बढ्ने देखिन्छ । बैंक तथा वित्तीय संस्थालाई पुस मसान्तमा बासलात सुधार गर्नुपर्ने दबाब र करको लागि जाने ठूलो रकमले निक्षेपको ब्याजदर १२ प्रतिशत पुग्ने देखिन्छ । पछिल्लो समय राष्ट्र बैंकले प्रस्ताव गरेको ५ अर्ब रुपैयाँको निक्षेपमा ९।५ प्रतिशतभन्दा तल ब्याजदर प्रस्ताव गर्नेले बैंकहरूले निक्षेप पाएका थिएनन् । कारोबार दैनिकबाट ।
एनसीसी बैंकले बुम रेमिट्यान्सको सफ्टवेयर प्रयोग गर्ने, बैंक र रमिट्यान्सबीच सम्झौता
काठमाडौं, ५ पुस । नेपाल क्रेडिट एण्ड कर्मस (एनसीसी)बैंक र बुम रेमिट्यान्सबीच बुम रेमिट सफ्टवेयर मार्फत आन्तरिक विप्रेषण सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा नेपाल क्रेडिट एण्ड कर्मस बैंकका तर्फबाट प्रमुख कार्येकारी अधिकृत रमेशराज अर्याल र बुम रेमिट्यान्सका तर्फबाट प्रवन्ध निर्देशक धिरेन्द्र पन्तले हस्ताक्षर गरेका छन् । हाल बुम रेमिट्यान्सले माल्दिभ्स र खाडी मुलूकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ र चाडैनै मलेसिया, कोरीया, जापान, क्यानडा, अस्ट्रेलिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोवार सुरु गर्ने जनाएको छ ।
जनता बैंकको शाखा सिराहाको लहानमा, मंगलबार हेटौडामा शाखा खोल्यो
काठमाडौं, ५ पुस । जनता बैंकले सिराहाको लहानमा ३९ औ शाखा सोमबारदेखि सञ्चालनमा ल्याएको छ । बैंकको लहान शाखाको बैंकका सञ्चालकद्वय भीमानन्द ढुङ्गाना र ई.रामचन्द्र शाहले संयुक्त रूपमा गरे । गत आर्थिक बर्षमा बैकले ३२ करोड ५३ लाख खुद मुनाफा आर्जन गरेको थियो । बैंकले ३० वटा ए.टि.एम, १५ वटा शाखा रहित बैंकिङ इकाइ, ईन्टरनेट तथा मोवाईल बैंकिङ्ग मार्फत ग्राहकवर्गहरुलाई वित्तीय सेवा प्रदान गरिरहेको छ । बैंकले यस आर्थिक वर्षभित्र महोत्तरीको बर्दिवास, मकवानपुरको हेटौडा लगायत उपयुक्त स्थानहरुमा शाखाहरु थप गर्ने, थप ए.टि.एम. राखी नेटवर्क विस्तार गर्ने, देशको ग्रामिण क्षेत्रमा शाखारहित बैंकिङ इकाइहरु स्थापना गर्ने लगायतका कार्यक्रमहरु अघि सारेको छ । त्यस्तै बैंकले मंगलबार हेटौडामा पनि अर्को शाखा खोलेको छ ।