आवासीय घर पुर्ननिर्माण कर्जा मस्यौदा सार्वजनिक, २ प्रतिशत व्याजमा राजधानीमा २५, वाहिर १५ लाख कर्जा
७ जेठ । भूकम्प प्रभावित घरपरिवारलाई २ प्रतिशत व्याजमा सहुलियत ऋण उपलब्ध गराउने उदेश्यसहित नेपाल राष्ट्र बैंकले ‘आवासीय घर पुनर्निमाणका लागि प्रदान गरिने पुनरकर्जा कार्यविधि, २०७२’ को मस्यौदा सार्वजनिक गरेको छ । मस्यौदाबारे आफूलाई लागेको सुझाव जतिसक्दो छिटो पेश गर्न राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गरेको छ । मस्यौदामा पुनरकर्जाको अधिकतम सीमा काठमाण्डौ उपत्यकामा प्रति घरपरिवार रु २५ लाख र उपत्यका बाहेकका प्रभावित जिल्लामा रु १५ लाखसम्मको ऋण सुविधाको आवासीय घर पुनर्निर्माण कर्जा दिने उल्लेख गरिएको छ । यस्तो कर्जा “क”, “ख” र “ग” वर्गका अर्थात वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले प्रवाह गर्न सक्नेछन् । यो सुविधा ऋणी तथा निजको परिवारमा बस्न योग्य आवासीय घर नभएको अवस्थामा मात्र उपलव्ध गराइने छ । बैंक तथा वित्तीय संस्थाले आवासीय घर पुनर्निर्माण प्रयोजनको लागि प्रदान गर्ने ऋणमा अधिकतम २ प्रतिशतसम्म मात्र ब्याजदर लिनु पर्नेछ । नेपाल राष्ट्र बैंकले शून्य व्याजदरमा पुनरकर्जा सुविधा उपलव्ध गराउने छ । बैंक वा वित्तीय संस्थाले उपर्युक्त बमोजिमको कर्जामा ब्याजदर परिवर्तन गर्न पाउने छैनन् । यस्तो कर्जामा व्याज बाहेक अन्य कुनै पनि प्रकारको शुल्क लिन पाइने छैन । यस्तो कर्जाको अवधि न्युनतम ५ वर्ष र अधिकतम १० बर्षसम्मको हुनेछ । कुनै ऋणीले अग्रीम भुक्तानी गर्न चाहेमा कुनै पनि प्रकारको अग्रीम भुक्तानी शुल्क लाग्ने छैन । यस्तो पुनरकर्जा सुविधा एक पटकको लागि बढीमा १ बर्षको (नेपाल सरकारको सहमतिमा) लागि मात्र प्रदान गरिने छ र विद्यमान कानूनी व्यवस्थाको अधिनमा रही निरन्तरता हुने व्यवस्था मिलाइने छ । बैंक वा वित्तीय संस्थाले आवासीय घर पूनर्निर्माण कर्जा प्रवाह गर्दा निर्माण प्रगतिका आधारमा कम्तिमा चार चरणमा भुक्तानी हुने गरी प्रवाह गर्नुपर्नेछ । आवासीय घर पुनर्निर्माण गर्दा राष्ट्रिय भवन संहिता तथा भूकम्प प्रतिरोधात्मक मापदण्डकोपालना गरेको हुनु पर्नेछ । बैंक वा वित्तीय संस्थाले नेपाल सरकारको सम्वन्धित निकाय वा स्थानीय निकाय (नगरपालिका÷ उपमहानगरपालिका÷ महानगरपालिका÷ वडा कार्यालय÷ गा.वि.स.) को भूकम्प पीडित भई आवासीय घर क्षतिग्रस्त भएको र ऋणीको परिवारमा अन्य कुनै आवासीय घर नभएको प्रमाण अनिवार्य रुपमा लिनुपर्नेछ । भूकम्प पीडितका लागि यस बैंकबाट प्रवाह गरिने कुल पुनरकर्जाको सीमा प्रत्येक बैंक वा वित्तीय संस्थाका लागि सो संस्थाको प्राथमिक पुँजीको ८० प्रतिशतसम्म मात्र हुनेछ । यस्तो कर्जा सामान्यतः वीमा गरेको हुनुपर्नेछ । कर्जाको बीमा गरेको अवस्थामा ०.२५ प्रतिशतका दरले मात्र कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिनेछ । तोकिएको सीमाभन्दा बढी प्रवाह भएको कर्जाको रकममा पुनरकर्जा सुविधा प्रदान गरिने छैन । यस्तो पुनरकर्जा सुविधा प्राप्त गरिरहेका बैंक तथा वित्तीय संस्थाहरुले पुनरकर्जाको मासिक विवरण महिनासमाप्त भएको मितिले १५ दिनभित्र यस बैंकको सम्बन्धित सुपरिवेक्षण विभागमा पेश गर्नु पर्नेछ । पूँजीकोष गणना प्रयोजनका लागि यसरी प्रवाह गरिएको कर्जाको जोखिम भार आवासीय घर कर्जा सरह ६० प्रतिशत हुनेछ । यस्तो पुनरकर्जा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको धितोमा प्रदान गरिनेछ । “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुको सिफारिशमा त्यस्ता संस्थाका ग्राहकहरुलाई रु. २ लाख सम्म “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गरेको कर्जामा समेत यो पुनरकर्जा प्रदान गरिनेछ । यस्तो कर्जाको हकमा वा “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुको सिफारिश बिना “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुले प्रत्यक्ष रुपमा प्रवाह गरेको रु. २ लाख सम्मको कर्जाका हकमा राष्ट्रिय भवन संहिता सम्बन्धी व्यवस्था अनिवार्य हुने छैन । बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको यस्तो कर्जालाई विपन्न वर्ग कर्जामा गणना गरिनेछ । यस्तो कर्जा प्रवाह गर्दा बैंक तथा वित्तीय संस्थाले सम्बन्धित संस्थाको विद्यमान घरकर्जा सम्बन्धी नीतिगत व्यवस्थाको अधिनमा रही ग्राहकको कर्जा तिर्न सक्ने क्षमता लगायत सुरक्षणका स्पष्ट आधार लिई कर्जा स्वीकृत तथा प्रवाह गर्नुपर्नेछ ।
रावा बैंकको खुद नाफा सवैभन्दा बढी, स्ट्याण्डर्डको घट्यो
विकास न्युज/काठमाडौं ४ जेठ । १२ बैशाखमा गएको बिनासकारी भूकम्प र त्यसपछिका निरन्तर धक्काले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने विश्लेषण भैरहेको समयमा बाणिज्य बैंकहरुको खुद नाफा भने उच्च देखिएको छ । गत चैत मसान्तसम्मको कारोवारको आधारमा बैंकहरुले प्रकाशित गरेको वित्तीय विबरणले उनीहरुको नाफा बृद्धि भएको देखाउछ । विनासकारी भूकम्प जानु भन्दा पहिलाको कारोवारको आधारमा उनीहरुको नाफा उच्च देखिनु स्वभाविक हो । तर आगामी असार मसान्तको नाफा भने प्रभावित हुने अनुमान गरिएको छ । बैंक अफ काठमाडू (विओके) ले चैत मसान्तसम्ममा ४८ करोड ४ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत बर्षको सोही अवधिमा ३५ करोड ४९ लाख रुपैयाँ खुद नाफा गरेको थियो । यो अवधिसम्ममा विओकेले ३७ अर्ब ८६ करोड १२ लाख रुपैयाँ निक्षेप संकलन र ३२ अर्ब ९० करोड ९ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको छ । सेन्चुरी बैंकले १६ करोड ३० लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्षको सोही अवधिमा बैंकको खुद नाफा ६ करोड २६ लाख रुपैयाँ थियो । यो अवधिसम्ममा सेन्चुरीले २३ अर्ब ४२ करोड ६४ लाख रुपैयाँ निक्षेप संकलन र २० अर्ब ७ करोड ३९ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको छ । सिटिजन्स बैंक इन्टरनेसनलले ४५ करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्षको सोही अवधिमा बैंकले ३० करोड ४० लाख रुपैयाँ नाफा गरेको थियो । यो अवधिसम्ममा सिटिजन्सले ३४ अर्ब ७९ करोड ९६ लाख रुपैयाँ निक्षेप संकलन र २८ अर्ब ७४ करोड ५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । एभरेष्ट बैंकले १ अर्ब १९ करोड ३८ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८ करोड ९ लाख रुपैयाँ खुद नाफा गरेको थियो । एभरेष्टले यो अवधिसम्ममा ७१ अर्ब ५ करोड ६८ लाख रुपैयाँ निक्षेप संकलन गरी ५६ अर्ब ४९ करोड ४७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । ग्लोबल आइएमइ बैंकले ८० करोड ९६ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्षको सोही अवधिमा बैंकले ७२ करोड ५१ लाख रुपैयाँ खुद नाफा गरेको थियो । यो अवधिसम्ममा ग्लोबल आइएमइ बैंकले ५७ अर्ब ७३ करोड ७१ लाख रुपैयाँ निक्षेप संकलन र ४९ अर्ब ९३ करोड ९९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । हिमालयन बैंकले ९० करोड १५ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्षको सोही अवधिमा बैंकले ७९ करोड २८ लाख रुपैयाँ खुुद नाफा गरेको थियो । यो अवधिसम्ममा हिमालयनले ६८ अर्ब ३० करोड ७२ लाख रुपैयाँ निक्षेप संकलन र ५५ अर्ब ५० करोड ९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । मेगा बैंकले २६ करोड ७० लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्षको सोही अवधिमा बैंकले २५ करोड ७९ लाख रुपैयाँ खुद नाफा गरेको थियो । यो अवधिसम्ममा मेगा बैंकले २१ अर्ब २३ करोड ९५ लाख रुपैयाँ निक्षेप संकलन र १८ अर्ब ८३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । नेपाल बंगलादेश (एनबी) बैंकले ५१ करोड ३० लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्षको सोही अवधिमा बैंकले ४० करोड १७ लाख रुपैयाँ खुद नाफा गरेको थियो । यो अवधिसम्ममा एनबी बैंकले २९ अर्ब ५७ करोड ७९ लाख रुपैयाँ निक्षेप संकलन र २५ अर्ब ३३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । राष्ट्रिय बाणिज्य बैंकले ४ अर्ब ६ करोड १३ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्षको सोही अवधिमा बैंकले १ अर्ब २५ करोड ५६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । यो अवधिसम्ममा राष्ट्रिय वाणिज्य बैंकले १ खर्ब ३ अर्ब ९९ करोड ४४ लाख रुपैयाँ निक्षेप संकलन र ६९ अर्ब ७७ करोड ७९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । सिद्धार्थ बैंकले ५४ करोड ५८ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्षको सोही अवधिमा बैंकले ३६ करोड ३६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । यो अवधिसम्ममा सिद्धार्थ बैंकले ४१ अर्ब ८३ करोड ४४ लाख रुपैयाँ निक्षेप संकलन र ३४ अर्ब ९७ करोड ३५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । स्टाण्डर्ड चार्टर्ड बैंकले ९५ करोड ७५ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्षको सोही अवधिमा बैंकले ९९ करोड ९४ लाख रुपैयाँ खुद नाफा गरेको थियो । यो अवधिसम्ममा बैंकले ५१ अर्ब ३९ करोड ७९ लाख रुपैयाँ निक्षेप संकलन र ३० अर्ब ७९ करोड ८३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । सनराइज बैंकले ३३ करोड ७२ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत बर्षको सोही अवधिमा बैंकले २७ करोड २७ लाख रुपैयाँ खुद नाफा गरेको थियो । यो अवधिसम्ममा सनराइज बैंकले २९ अर्ब ८४ करोड ३१ लाख रुपैयाँ निक्षेप संकलन र २४ अर्ब ४६ करोड ३६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
भूकम्पको आर्थिक प्रभाव संकलन गर्दै राष्ट्र बैंक
३ बैशाख । नेपाल राष्ट्र बैंकले विनासकारी भूकम्पको कारण कुन कुन क्षेत्रको कर्जामा कस्तो असर पर्यो भनेर तथ्यांक संकलन गर्न लागेको छ । भूकम्पको कारण परेको प्रभाव कम गर्न कस्तो प्रकारको नीति लिनु पर्छ भन्ने यकिन गर्न तथ्यांक संकलन गरिएको हो । पहिलो चरणमा क्षतिको विवरण संकलन गर्ने र त्यसपछि लिनुपर्ने नीतिको विषयमा छलफल हुने नेपाल राष्ट्र बैंकका अधिकारीको भनाइ छ । राष्ट्र बैंकले सवै बैंक वित्तीय संस्थालाई पत्राचार गर्दै आफ्नो कुन कुन क्षेत्रको कर्जामा कस्तो प्रभाव परेको छ, त्यसको जानकारी दिन भनेको छ । ‘कुन क्षेत्रको कर्जामा कस्तो प्रभाव प¥यो भनेर विवरण माग गरिरहेका छौं,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने– सवै तथ्यांक आएपछि के कस्तो नीति लिने भन्ने निर्णयमा पुगिन्छ । विनासकारी भूकम्पको कारण कर्जाको किस्ता प्रभावित हुन सक्ने अनुमान बैंक तथा वित्तीय संस्थाका अधिकारीको पनि छ । कर्जाको किस्ता नियमित हुन नसकेमा बैंक तथा वित्तीय संस्थाको चालु आर्थिक बर्षको नाफा नै प्रभावित हुन सक्ने छ । तर १२ बैशाखमा भूकम्प गएको र चैत मसान्तको किस्ता उठिसकेकोले अहिले नै बैंक तथा वित्तीय संस्थालाई खास दबाब छैन । तर बैशाख महिनाभरी नै भूकम्पको धक्का आइरहेकोले आगामी असार मसान्तको किस्ता भने प्रभावित हुने अनुमान गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले तयार पारेको प्रारम्भिक विबरण अनुसार भूकम्पको सवैभन्दा धेरै प्रभाव अपार्टमेन्ट तथा हाउजिङ ब्यवसायमा परेको छ । यो क्षेत्र केहि बर्ष पहिलादेखि समस्या रहेकोले भूकम्पको कारण थप समस्यामा पर्ने देखिएको छ । यस्तै लामो समयसम्म उद्योग ब्यवसाय ठप्प रहेको सवै क्षेत्रको कर्जाको किस्ता प्रभावित हुन सक्ने देखिएको छ ।