ग्लोबल आइएमई र अरुण ट्रेडर्सबीच सम्झौता, सुजुकीका गाडीमा ८० प्रतिशत कर्जा
काठमाडौं, १२ भदौ । ग्लोबल आइएमई बैंकले अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्स सँग लोन प्रवाह गर्ने विषयमा सम्झौता गरेको छ । बैंकले ग्राहक वर्गहरुलाई सहज रुपमा अटो लोन प्रवाह गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । उक्त सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट बैंकका मुख्य प्रबन्धक एसएमइ तथा रिटेल बैंकिङ्ग, सुरेन्द्र राज रेग्मि र अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्सको तर्फबाट महा प्रबन्धक–फाइनान्स मनिष कुमार जैनले हस्ताक्षर गरेका छन् । सम्झौता पत्र अनुसार अब सुजुकी ब्राण्डका कुनैपनि निजि वा कमर्सियल प्रयोजनका लागि अरुण इन्टरकन्टिनेन्टल ट्रेडर्स र त्यस अन्र्तगतका अन्य कम्पनीहरुबाट खरिद गरेका गाडिहरुलाई ग्लोबल आइएमई बैंकले ग्राहकहरुलाई आफनो सबै शाखाहरुबाट आकर्षक ब्याजदर सहित बढिमा ७ वर्षको लागि ८० प्रतिशत सम्म कर्जा प्रवाह गर्ने छ । हाल बैंकको ९१ वटा शाखा, ६ वटा एक्सटेन्सन काउण्टर, १०२ एटिएम, ४२ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएका छन् ।
सिभिल बैंकमा इन्टरनेशनल लिजिङ एन्ड फाइनान्स गाभिने
काठमाडौं, १० भदौ । सिभिल बैंक लिमिटेडमा इन्टरनेशनल लिजिङ एन्ड फाइनान्स कम्पनी लिमिटेडलाई गाभ्ने (मर्जर) सम्बन्धि प्रस्तावलाई बैंकको विशेष साधारण सभाले स्विकृत गरेको छ । उक्त विशेष साधारण सभाले दुवै संस्थाको सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन अनुसार सिभिल बैंकको प्रिमियम मूल्य सहितको प्रतिशेयर १११ दशमलब ०८ रूपैयाँ बराबर इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स कम्पनीको ८३ रूपैयाँ कायम हुने प्रस्ताव पारित गरेको छ । अब सिभिल बैंकका शयरधनीलाई एक कित्ता बराबर ११ प्रतिशत ८ रूपैयाँ प्रिमियम प्रदान गरिने छ भने फाइनान्सका लगानीकर्तालाई प्रतिकित्ता सिभिल बैंकको ०.८३ कित्ता शेयर दिइने बैंकले जनाएको छ । सिभिल बैंकमा उक्त फाइनान्स गाभिएपछी बैंकको चुक्ता पूँजी ५ अर्व ९ करोड रुपैँया पुग्नेछ । मर्जर पछी बैंकको नाम सिभिल बैंक लिमिटेड नै रहने र बैंकको संचालक समिति एवं उच्च व्यवस्थापनमा कुनै परिवर्तन नहुने बैंकले जनाएको छ । मर्जर पछी बैंकको शाखा संख्या ५३ हुनेछ । बैंकले गत आर्थिक वर्षमा ३३ करोड ६६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको बैंकले जनाएको छ ।
लक्ष्मी बैंकको नारायणघाट शाखा स्थानान्तरण हुँदै
काठमाडौं, १० भदौ । लक्ष्मी बैंकको नारायणघाट शाखा भाद्र १२ गते आइतबारबाट नयाँ स्थानमा स्थानान्तरण हुँदै छ । बैंकको नयाँ शाखा नारायणघाटको भरतपुर उपमहानगरपालिका वडा नं. ३ स्थित कृष्ण कम्प्लेक्सको पहिलो तल्लामा सरेको बैंकले जनाएको छ । ग्राहकहरुलाई थप सुविधा एवंम सेवा दिने उद्देश्यले बैंकले सोही शाखा नयाँ स्थानमा स्थानान्तरण गरेको बताएको छ । जम्मा २३०० वर्गफिट क्षेत्रफलमा अवस्थित नयाँ शाखाबाट बैंकका सम्पूर्ण ग्राहकलाई थप सहजता पुग्ने र चितवन क्षेत्रको बढ्दो व्यापारिक आवश्यकता र मागहरु पूर्ण गर्न सक्ने बैंकको विश्वास रहेको छ । यसअघि बैंकले नारायणघाट स्थित भरतपुर उपमहानगरपालिका वडा नं. ४ बाट ग्राहकलाई सेवा उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ ।