एक महिनामा व्याज ५० प्रतिशतले बढ्यो, पहिलो लाभ संस्थागत निक्षेपकर्तालाई
१९ फागुन । बैंक तथा बित्तीय संस्थाहरुले निक्षेपको व्याज बढाउन थालेका छन् । एक महिनामा नै संस्थागत निक्षेपको व्याज ५० प्रतिशतले बढेको छ । यसबाट सबैभन्दा पहिलो लाभ संस्थागत निक्षेपकर्तालाई भएको छ । माग मसान्तसम्ममा संस्थागत निक्षेपकर्ताले वाणिज्य बैंकमा करिव ५ प्रतिशत व्याज पाएका थिए । फागुनको तेस्रो सातासम्ममा करिव ७ दशमलब ५ प्रतिशत प्रतिशत पुगेको छ । नेपाल लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विवेक झाका अनुसार उक्त कम्पनीले पछिल्लो समयमा एक वर्षको मुद्दती खातामा ७ दशमलब ५ प्रतिशत व्याज पाउने गरी निक्षेप राखेको छ । विगतमा सो कम्पनीले ५ दशमलब ७५ प्रतिशत व्याजमा निक्षेप राखेको उनी बताउँछन् । कर्मचारी सञ्चय कोषले गत साता मात्र ७ दशमलब २५ प्रतिशतमा वाणिज्य बैंकमा निक्षेप राखेको कोषका प्रशासक कृष्णप्रसाद अचार्यले बताए । केही समय अघिसम्म ५ प्रतिशत मात्र व्याजमा निक्षेप राख्दै आएको उनले बताए । नागरिक लगानी कोषले कम्तिमा ७ प्रतिशत व्याजदर उल्लेख गरी बढाबढमा निक्षेप माग गर्न बैंकहरुलाई सार्वजनिक आह्वान गरेको छ । कोषका लगानी विभाग प्रमुख सुशीलकुमार अर्यालका अनुसार गत वर्ष बैंकहरुले पाँच प्रतिशत व्याज पनि दिन नमाने पछि कोषले वाणिज्य बैंकमा मुद्दती खाताको रकम राष्ट्र बैंकको व्याज नआउने खातामा राखेको थियो ।
बैंकर्स र व्यवसायीबीच संघर्ष, दुबै पक्ष सडकमा
१८ फागुन/वार्षिक विदा सकिएपछि कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत उदयकृष्ण उपाध्याय फागुन १७ गते बैंकमा हाजिर हुनुपथ्र्यो । तर उनी उपस्थित भएनन् । जवकी उनी पाँच दिन प्रहरी खोरमा बसेर १५ गते साँझ छुटेका थिए । उपाध्ययलाई प्रहरीले छोड्नुभन्दा केही घण्टाअघि मात्र बैंक सञ्चालक समितिको बैठकले घर विदामा बसेका कार्यकारी प्रमुख उपाध्यायको आचरण खराव देखिएको र बैंकको छविमा नकारात्मक असर परेको भन्दै निलम्वन गरेको थियो । यद्यपी उनलाई स्पष्टीकरणको मौका दिने बैंकको निर्णय छ । ‘उनी बैंकमा उपस्थिति हुने सम्भावना कम छ’–सञ्चालक समितिका एक सदस्यले भने–‘उपस्थित भईहाले भनेपनि भने पनि उनलाई बैंकले सफाई दिने आधार हामीले देखेका छैनौं ।’ उनी कुमारी बैंकमा मात्र होइन, अब बैकिङ क्षेत्रमा फर्कने सम्भावना ज्यादै लगभग शुन्य नै छ । गेष्ट हाउसमा गएर गैरकानुनी रुपमा यौन सम्पर्क गरेको प्रहरीको आरोप छ । तर उपाध्ययका आफन्तले बैंकका ऋणिले योजनाबद्ध रुपमा फसाएको आरोप लगाउँछन् । उनीहरुको भनाई समस्याग्रस्त व्यवसायी सुधीर बस्नेततर्फ लक्षित देखिन्छ । घरजग्गा व्यवसायी सुधीर बस्नेत टाट पल्टिएर सडकमा पुगेको केहि समयमा नै उनीसँग विगतमा राम्रो कारोवार गरिरहेका केहि बैंकर पनि सडकमा पुगेका छन् । पहिला असाध्यै राम्रो सम्बन्ध भएका र पछिल्लो समय बस्नेतसँग सम्बन्ध विग्रिएका बैंकरमध्ये केहि भूमिगत भएका छन् भने केहिलाई अपत्यारिलो अभियोग लागेर सडकमा पुगेका छन् । समयमै कर्जाको सावा व्याज नतिरेको भनेर बस्नेतलाई पहिलोपटक सार्वजनिक सूचना प्रकाशित गर्ने बैंक तत्कालिन किष्ट बैंक थियो । सो बैंकका तत्कालिन प्रबन्ध संचालक कमप्रसाद ज्ञवाली र बस्नेतको सम्बन्ध निकै राम्रो थियो । ज्ञवालीकै विषेश सहयोगमा बस्नेतले तत्कालिन किष्ट बैंकवाट १३ करोड रुपैयाँ व्यक्तिगत कर्जा लिएका थिए । अहिले तत्कालिन किष्ट बैंकका तत्कालिन प्रबन्ध संचालक ज्ञवाली बैंकिङ कसुरको अभियोगमा भूमिगत छन् । बस्नेतसँग पहिला राम्रो सम्बन्ध भएका र पछि बिग्रेका अर्का बैंकर ग्राण्ड बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुधीर खत्री हुन् । उनको बैंकले बस्नेतलाई २ करोड ८० लाख रुपैयाँ व्यक्तिगत कर्जा पनि दिएको थियो । ग्राण्ड बैंककै नेतृत्वमा बस्नेतको कम्पनी अग्नि एयरलाईन्सलाई ५५ करोड रुपैयाँ कर्जा दिईएको थियो । जुन कर्जा अझै उठेको छैन । पछि बस्नेत र खत्रीको सम्बन्ध विग्रियो । ग्राण्डले बस्नेतलाई कर्जा नतिरेको भन्दै कर्जा सूचना केन्द्रको कालोसूचीमा राख्यो । पछिल्लो समय राष्ट्र बैंककै अनुसन्धानले तत्कालिन सिइओ खत्री र व्यवसायी बस्नेतबीचको कारोबार शंकास्प्रद देखियो । खत्रीले ग्राण्ड बैंकबाट राजीनामा दिनुप-यो । नेपाल बैंकर्स संघको उपाध्यक्ष समेत भएका खत्री अहिले बैकिङ फाँटमा सक्रिय देखिदैनन् । यस्तै पछिल्लो समयमा कुमारी बैंकका सिइओ उदयकृष्ण उपाध्यायको अनौठो अभियोगमा जागिर गएको छ । उपाध्यायलाई प्रहरीले कोटेश्वरको एक रेष्टुरेन्टमा यौनक्रियामा संलग्न भएकै अवस्थामा समातेर सार्वजनिक अपराध ऐन अनुसार कारवाही चलाएपछि उनको जागिर गएको हो । बैंक संचालक समितिले उनलाई सिइओबाट निलम्बन गरेको छ । बैंकको सिइओको जिम्मेवारी दिएको व्यक्ति कुनै बेश्याघरबाट पक्राउ परेपछि उनको सामाजिक हैसियत लगभग सकिएको अनुमान गर्नेहरु पनि छन् । कुमारी बैंकले बस्नेतका विभिन्न आयोजनाहरुमा २० करोड ३६ लाख रुपैयाँ कर्जा दिएको थियो । बस्नेतले सावा व्याजको किस्ता समयमै नतिरेपछि कुमारी बैंकले पनि बस्नेतलाई कालो सूचीमा राखेर कर्जा असुली प्रक्रिया अगाडि बढाएको थियो । कुमारीबाट यो कार्यको नेतृत्व सिइओ उपाध्यायले नै गरेका थिए । बस्नेतले कर्जा लिएका अरु बैंक पनि छन् । उनलाई कर्जा दिने सबै बैंकले उनलाई कालोसूचीमा राखेर कर्जा असुली प्रक्रिया अगाडि बढाइ सकेका छन् । बस्नेतले आफूलाई अप्ठेरो पार्ने बैंकरहरुलाई योजनाबद्ध रुपमा फसाएको विश्लेषण पनि हुन थलेको छ । बस्नेतले एकपछि अर्को बैंकर्सलाई फसाए भनेर निष्कर्षमा पुग्ने आधारहरु छैनन् तर उनको आशु लाग्यो वा यो संयोग मात्रै हो ? उनीसँग कारोवार बिग्रेका बैंकर्सहरु झनै चिन्तित भएको पाईन्छ । ज्ञवाली, खत्री, उपाध्ययले व्यक्तिगत भेटघाटमा आफूहरु विरुद्ध बैंकका केही ऋणिहरु लागेको बताउँदै आएका थिए । कुन कुन बैंकसँग कति कर्जा लिएका थिए बस्नेतले ? बस्नेतले १४ वटा बैंकबाट १ अर्ब ६० करोड रुपैयाँ कर्जा लिएका थिए । उनको कम्पनी कोहिनूर हिल हाउजिङ एण्ड कोहिनूर बिल्डर्सका नाममा पाँचवटा बैंकले ७० करोड रुपैयाँ कर्जा लगानी दिएका छन् । कोहीनूरमा राष्ट्रिय वाणिज्य बैंकले २१ करोड ७१ लाख, प्राइम कमर्शियल बैंकले २० करोड ४६ लाख, कुमारी बैंकले ७ करोड ३६ लाख, सिद्धार्थ बैंकले ६ करोड १५ र नबिल बैंकले १४ करोड ६ लाख रुपैयाँ कर्जा दिएको छ । त्यसैगरी ओरियन्टल बिल्डर्सका नाममा बैंकहरुको ३४ करोड रुपैयाँ कर्जा छ । ओरेन्टियल विल्डर्समा एनआईसी एसिया बैंकले २० करोड १ लाख, सिटिजन बैंक इन्टरनेसनलले ११ करोड ६९ लाख र राष्ट्रिय वाणिज्य बैंकको २ करोड १५ लाख रुपैयाँ कर्जा छ । यस्तै बस्नेतले आफ्नो व्यक्तिगत नाममा पनि कर्जा लिएका छन् । उनल तत्कालिन किष्ट बैंकबाट १३ करोड, लुम्बिनी बैंकबाट ६ करोड ९३ लाख, ग्राण्ड बैंकबाट २ करोड ८० लाख, एनसीसी बैंकबाट १ करोड रुपैयाँ कर्जा लिएका थिए । सेन्चुरी बैंकले नितू थापाको नाममा बस्नेतलाई १० लाख रुपैयाँ कर्जा कर्जा दिएको छ । त्यसैगरी आयुषा बिल्डर्सका नाममा कुमारी र ग्राण्ड बैंकबाट बस्नेतले २१ करोड कर्जा लिएका छन् । जसमा कुमारीको १३ करोड र ग्राण्डको ७ करोड ९२ लाख रुपैयाँ लगानी छ । त्यसैगरी रेसिडेल डेभलपर्सको नाममा बस्नेतले प्राइम कमर्शियल बैंकबाट ११ करोड ५० लाख रुपैयाँ लिएका छन् भने सेञ्चुरी बैंकबाट बीबी नेपाल ट्रेड कन्सर्नका नाममा साढे ३ करोड रुपैयाँ कर्जा दिएका छन् । बस्नेतको दिपाज बिजनेस कन्सर्नका नाममा सिभिल बैंकबाट ३ करोड ७३ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।
कुमारी बैंकले सीईओ उपाध्यायलाई निलम्बन गर्यो, निमित्त सीईओ राजीव गिरी
१४ फागुन/कुमारी बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)उदयकृष्ण उपाध्यायलाई निलम्बन गरेको छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सीईओ उपाध्यायलाई निलम्बन गरी निमित्त सिईओको जिम्मेवारी राजीव गिरीलाई दिएको छ । विदामा बसेका प्रमुख कार्यकारी अधिकृत उपाध्यायको आचरण खराव देखिएकोले तत्काल निलम्बन गर्नु परेको बैंकका एक सञ्चालकले बताए । उनी बैंकमा हाजिर भएपछि प्रष्टीकरण लिने लगायत आवश्यक कारवाही हुने उनले बताए । प्रमुख कार्यकारी अधिकृत उपाध्यय वार्षिक विदा अन्तरतग फागुन एकदेखि १५ गतेसम्मका लागि छुट्टीमा बसेका थिए । फागुन ११ गते महानगरीय प्रहरी वृत तिनकुनेले कोटेश्वरको एक गेष्ट हाउसबाट पक्राउ गरी थुनामा राखिएरहेको छ । ‘पहिला उहाँ अपहरणमा परेको भन्ने जानकारी आएको थियो । खोज्दै जाँदा उहाँलाई प्रहरीले पक्राउ गरेको रहेछ । त्यो पनि गलत आचरणको विषय जोडिएर आयो’–ती सञ्चालकले भने–‘प्रहरीले सार्वजनिक अपराधको आरोप लगाएर मुद्दा हाल्ने तयारी गरिरहेको व्यक्तिलाई बैंकको मुख्य पदमा कायम राख्न सकिदैन ।’ ‘उहाँको आचरणबारे गम्भिर समाचार प्रकाशित भएका छन् । बैंकको छवि उहाँको आचारणसँग जोडिएर आएको छ । त्यसैले तत्कालका लागि निलम्बन गरेका, उहाँ आएपछि स्पष्टीकरणको मौका दिनेछौं’ ती सञ्चालकले भने–‘उहाँले सफाई दिनसक्नुभयो भने पुर्नवहाली हुन्छ, मनासिव प्रमाण दिनसक्नुभएन भने आवश्यक कारवाही हुनेछ ।’ उपाध्यायलाई प्रहरी कार्यलयले तिनकुनेमा थुनामा राखेको छ । उनीमाथि सार्वजनिक अपराध सम्वन्धि मुद्दा चलाईएको छ । फागुन १३ गते जिल्ला प्रशासन कार्यलय काठमाडौंले उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको छ । निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका गिरी सोही बैंकका नायब प्रमुख कार्यकारी अधिकृत हुन् । उनी १० महिनाअघि मात्र कुमारी बैंकमा प्रवेश गरेका हुन् । उनले स्ट्यान्डर्ड चार्टर्ड बैंकमा २५ बर्षको अनुभव संगालेका छन् ।