अटेरी ऋणी नै बैंकको अध्यक्ष, कसरी सुरक्षित हुन्छ सर्वसाधारणको निक्षेप ?
गत विहीबार मात्र नमस्ते वचत तथा ऋण सहकारी संस्थाले राजेन्द्र कुमार श्रेष्ठको तीन पुस्ते विवरणसहित कर्जा चुक्ता गर्न कान्तिपुर दैनिकमा सूचना प्रकाशित ग¥यो । शनिबार तिनै व्याक्ति सिन्धु विकास बैंकको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । बैंकको पाँचौं बार्षिक साधारण सभाबाट सञ्चालक भएका उनी सर्वसहमतिमा अध्यक्ष भए । उक्त सहकारीबाट एक करोड रुपैयाँ भन्दा बढी कर्जा लिएको सहकारी स्रोतले बतायो । श्रेष्ठले झापा र ललितपुरमा रहेको विभिन्न १३ कित्तामा रहेको जग्गा धितो राखी कर्जा लिएका छन् । २०७० असोजमा लिएको कर्जाको अहिलेसम्म सावाँ व्याज कुनै किस्ता पनि नतिरेको सहकारीले बताएको छ । कर्जा तिर्न पटक पटक मौखिक, लिखित र फोनबाट आग्रह गर्दा पनि श्रेष्ठले साँवा तथा व्याज भुक्तानी नगरेको सहकारीले जनाएको छ । बैंकको अध्यक्षमा निर्वाचित श्रेष्ठ आर्थिक मामिलामा विवादी व्यक्ति हुन् । उनले विभिन्न वित्तीय संस्थाबाट लिएको ऋण तिरेका छैनन् । उनले भुक्तानी दिएका चेकसमेत वाउन्स भएको पाइएको छ । तिनै विवादीत व्याक्तिलाई स्टेक होल्डरहरुले बैंकको अध्यक्ष बनाए । जो अरु वित्तीय संस्थाबाट ऋण लिएर तिर्दैनन् ? अरु व्यक्तिसँग सापटी तिएर तिर्दैनन् ? तिनै व्यक्तिलाई बैंकको सञ्चालक बनाउने उक्त बैंकको सेयरधनी कस्ता होलान् ? तिनै व्यक्तिलाई सर्वसहमतिमा अध्यक्ष स्वीकार गर्ने बैंकका अरु सञ्चालक कस्ता होलान् ? अरु वित्तीय संस्थाबाट लिएको कर्जा नतिर्ने अध्यक्षको आज्ञाकारी भएर काम गर्ने सिन्धु विकास बैंकका कर्मचारी कति प्रोफेशनल होलान् ? यस्ता अटेरी ऋणीलाई बैंकको अध्यक्षको रुपमा स्वागत गर्ने, सम्मान गर्ने र बैंकका प्रस्तावहरुमा सदर गर्ने राष्ट्र बैंकका अधिकारीहरु कति प्रोफेशनल होलान् ? उनीहरु सबैको नाकमा कालो लागेको छ । उनीहरु त्यो कालो बोकेर निरन्तर अघि बढ्छन् वा पखाल्न तयार हुन्छन् ? समयले नै बताउने छ ।
वाणिज्य बैंकहरुको नाफा २२ प्रतिशत बढ्यो
१८ माघ । सञ्चालनमा रहेका ३० मध्ये शनिवारसम्ममा वित्तीय विवरण प्रकासित गरेका १४ वाणिज्य बैंकहरुको पुससम्मको नाफा अघिल्लो बर्षको भन्दा २२ प्रतिशतले बढेको छ । बैंकहरुको कुल व्याज आम्दानी र राइट ब्याक रकम बढेपछि नाफामा पनि वृद्धि भएको हो । अघिल्लो बर्ष पुसमा कुल चार अर्ब २२ करोड रुपैयाँ नाफा कमाएका यी बैंकले यसवर्ष भने नाफा पाँच अर्ब १६ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकहरुको व्याज आम्दानी १९.६७ प्रतिशतले बढेर नौं अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । तर बैंकर्स एशोसिएसनका पुर्वअध्यक्ष राजनसिंह भण्डारी भने बैंकहरुको नाफामा उल्लेख सुधार हुन नसकेको बताउँछन । ‘हाम्रौ बैंकले अघिल्लो बर्षको पुसको तुलनामा छ अर्ब रुपैयाँले कर्जालगानी बढाएका छौं, तर हाम्रो नाफा जम्मा चार करोड रुपैयाँले बढेको छ, उच्च प्रतिफल पाउँनु चुनौती भएको छ,’ भण्डारीले भने । बैकर्स एशोसिएसनमा अध्यक्ष उपेन्द्र पौड्यालले बैंकहरु बीच कर्जा बिस्तारमा तीव्र प्रतिस्पर्धा रहेकोले नाफामा उल्लेख्य सुधार हुन नसकेको बताउछन । ‘अहिले समग्र बैंकिङ क्षेत्रको कर्जा १७ प्रतिशतको दरमा बढेको छ तर आम्दानी पाँच प्रतिशतले बढेको छ, ’ पौड्यालले भने । बैंकहरुमा अहिले कर्जाको व्याजदर घटाउन ग्राहकहरबाट दबाब परेको पौड्यालले बताए । यो अवधिमा सिभिल, कुमारी र सेञ्चुरी बैंकको नाफामा गुणात्मक वृद्धि भएको छ । अर्काेतर्फ, ग्लोबल आइएमइ, नेपाल इन्भेष्टमेन्ट लगायतको नाफा सुस्तिएको छ । एनआइसी एसिया बैंकको नाफा भने छ प्रतिशतले घटेको छ । बैंकहरुले तरालता वृद्धिसंगै कर्जा वृद्धिमा पनि तीव्रता ल्याएका छन । कतिपय आफ्नो संस्थाको कुल निक्षेपको तुलनामा कर्जा ९० प्रतिशतसम्म बढाएका देखिन्छन । एभरेष्ट र नेपाल इन्भेष्टमेन्ट बाहेक सबैको निक्षेपको ८० प्रतिशतभन्दा बढि रकम कर्जा प्रवाह भएको छ । बैंकहरुको अघिल्लो बर्षको तुलनामा गत बर्ष राइटब्याक २४ प्रतिशतले बढ्यो । यो रकम एक अर्ब दुई करोड रुपैयाँ छ । बैंकहरुको प्रोभिजनिङ पनि ६ प्रतिशतले घटेर एक अर्ब ६० करोडमा सिमित छ । बैंकहरुको कुल कर्जामा खराब कर्जाको अनुपात औसतमा १.६१ प्रतिशत छ । कुमारी र ग्लोबल आइएमइको कुल कर्जामा खराब कर्जाको अनुपात अन्यको भन्दा धेरै छ । त्यस्तै, खराब कर्जा वापत औसतमा तीन सय ३९ प्रतिशत रकमको व्यवस्था गरेका छन । बैंकहरुको चुक्तापूँजी २४ प्रतिशतले बढेर ३७ अर्ब रुपैयाँ र सञ्चिती १६ प्रतिशतले बढेर २२ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । बैंकहरुको निक्षेप २३ प्रतिशत र कर्जा २९ प्रतिशतले बढेको छ । बैंकहरुको निक्षेप पाँच खर्ब ४२ अर्ब रुपैयाँ र कर्जा चार खर्ब ५२ अर्ब रुपैयाँ रहेको छ । बैंकहरुको रियल स्टेटमा कुल कर्जा लगानी चार प्रतिशतले बढेको छ । बैंकहरुको रियल स्टेटमा कुल २८ अर्ब ९८ करोड रुपैयाँ रहेकोे छ । यो बैंकहरुले प्रदान गरेको कुल कर्जामा ६.४० प्रतिशत छ । त्यस्तै, सेयरको धितोमा दिइने कर्जा (मार्जिन लेण्डिङ) मा पनि एक सय ९१ प्रतिशतले वृद्धि भएर छ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । बैंकहरुको सञ्चालन नाफा भने २५ प्रतिशतले बढेर छ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । नेपाल इन्भेष्टमेन्ट र एनआइसी एसियाको सञ्चालन नाफा भने घटेको छ । बैंकहरुको औसतमा पूँजी पर्याप्तता कोष अनुपात भने ११.७९ प्रतिशत छ । नेपाल बंगलादेश बैंक र एनएमबीको यस्तो अनुपात ११ प्रतिशतभन्दा कम छ । बैंकहरुले कर्जा प्रवाहको लागि दिने आधार व्याजदर औसतमा ७.३४ प्रतिशत छ । बैंकहरुको कर्जा निक्षेप बीचको व्याज अन्तर दर (स्प्रेड दर ) औसतमा ४.५९ प्रतिशत छ । कुमारी बैंकको यस्तो दर सबैभन्दा बढि आठ प्रतिशत छ ।
प्रभु बैंकले ग्राण्ड बैंक एक्किजिशन गर्दै, प्रभुको नाफा ६ महिनामा ५४ करोड
१५ माघ । प्रभु बैंकले ग्राण्ड बैंक एक्वायर (प्राप्ति) गर्न लागेको छ । एक्विजिसनका लागि दुई बैंकबीच विहीबार प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । प्रभु बैंकका तर्फबाट अध्यक्ष देविप्रकाश भट्टचन र ग्राण्ड बैंक नेपालका तर्फबाट अध्यक्ष स्वरुप कोनेले हस्ताक्षर गरेको सम्झौता पत्रमा चालु आर्थिक वर्षभित्र एक्विजिसन गरिसक्ने उल्लेख गरिएको छ । एक्विजिसन भएकोले बैंकको नाम, सञ्चालक समिति, उच्च व्यवस्थापन समिति प्रभु बैंक कै कैं हुनेछ । प्रारम्भिक सम्झौताअनुसार एक्विजिसन सफल भएमा प्रभु बैंक नेपालका ठूला बैंकहरु मध्ये एक हुनेछ । प्रभु बैंकले जारी गरेको विज्ञप्ती अनुसार सेयर पुँजी ५ अर्ब २० करोड, निक्षेप ४५ अर्ब ९० करोड, कर्जा ३९ अर्ब ५ करोड रुपैयाँ पुग्नेछ । बैंकको शाखा १३४ वटा, एटीएम १२४ वटा र कर्मचारी करिव १ हजार ३ सय ५० जना हुनेछन् । ग्राण्ड बैंकलाई एक्विजिशन गर्ने सम्बन्धि प्रस्तावमा राष्ट्र बैंकको सैद्धान्तिक सहमतिका लागि आगामी साता प्रस्ताव गरिने बैंकका कामु प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए । एक्विजिसनपछि बैंकको क्यापिटल एडेक्वसी १० प्रतिशतभन्दा माथि हुने भएमा राष्ट्र बैंकले स्वीकृत दिन सक्ने राष्ट्र बैंकका प्रबक्ता मनोमोहन श्रेष्ठले बताए । ‘राष्ट्र बैंकले तोकेको मापदण्डअनुसार पुँजी प्रयाप्त भएमा राष्ट्र बैंकले सहमति दिनेछ’–उनले भने । एक्विजिसनपछि बैंकको क्यापिटल एडेक्वसी १० दशमल २० प्रतिशत हुने प्रभु बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । बैंकको निष्क्रिय कर्जा भने १६ दशमलव १७ प्रतिशत रहनेछ । स्वाप रेसियो कति ? ग्राण्ड बैंकका प्रमुख एक लगानीकर्ताले बताएअनुसार प्रभु बैंकको सेयर प्रतिकित्ता १०० र ग्राण्डको सेयर प्रतिकित्ता ६७ रुपैयाँ स्वाप मूल्य कायम गर्ने समझदारी भएको छ । प्रभु बैंकले प्रतिकित्ता ६० रुपैयाँ दिने प्रस्ताव गरेको तर ग्राण्ड बैंकले प्रतिकित्ता ७० रुपैयाँ माग गरेको प्रभु बैंकका एक सञ्चालकले भने । ‘स्वाम रेसियो डिडिए गरेपछि मात्र तय गरिने उनले बताए । स्वाप रेसियो १०० र ६७ कायम गरियो भने मर्जरपछि बैंकको चुक्तापुजी चार अर्ब ५४ करोड रुपैयाँ पुग्ने छ । हाल प्रभु बैंकको चुक्ता पुँजी ३ अर्ब २० करोड र ग्राण्ड बैंकको २ अर्ब रुपैयाँ रहेको छ । दुई बैंकबीच भएको स्वाप रेसियोको आधारमा ग्राण्ड बैंकको चुक्ता पुँजी २ अर्बबाट घटेर १ अर्ब ३४ करोड रुपैयाँ हुनेछ । विहीवार प्रभु बैंकको सेयर मूल्य तीन रुपैयाले घटेर ३०४ रुपैयाँमा कारोबार बन्द भयो भने ग्राण्ड बैंकको एक रुपैयाले मूल्य घटेर प्रतिकित्ता १८४ रुपैयाँका कारोबार बन्द भयो । ग्राण्ड बैंकलाई प्रभु बैंकले खरिद गर्ने खबर बजारमा आएसंगै यी कम्पनीको कारोबार उच्चले बढेको छ । ग्राण्डको तीन करोड ६८ लाख र प्रभुको तीन करोड ४३ लाख रुपैयाको सेयर कारोबार भएको छ । यसैबीच प्रभु बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ५४ करोड रुपैयाँ खुद मुनाफा गरेको छ । प्रोभिजन राइटव्याकबाट बैंकले ८२ करोड रुपैयाँ आर्जन गरेकोले खुद मुनाफा वृद्धि भएको बैंकका अध्यक्ष देविप्रकाश भट्टचनले बताए । कामु प्रमुख कार्यकारी अधिकृत शेरचनका अनुसार प्रोभिजन गरिएको कर्जामध्ये सार्क हस्पिटलले २८ रुपैया तिरेको छ । एप्पल इन्टरनेशनलले १८ करोड रुपैयाँ तिरेको छ । त्यस्तै, छायाँ क्रिशियन्टले १२ करोड, एचिभ फाउण्डेशनले ८ करोड, मल्लि ओटमोवाईल्सले ३ करोड, खनाल प्लाष्टिक र श्रेष्ट प्लाष्टिक उद्योगले ४ करोड रुपैयाँ कर्जा तिरेका छन् ।