सेञ्चुरी बैंकको ८५ लाख कित्ता हकप्रद सेयर आयो, भदौ ५ देखि निष्काशन

काठमाडौं, १९ साउन । सेञ्चुरी कमर्सियल बैंकले हकप्रद सेयरको बिक्रि खुल्ला गरेको छ । बैंकले ८५ लाख २२ हजार ४ सय कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । कुल चुक्ता पुँजीको १० बराबर ३ कित्ताको अनुपातमा प्रति कित्ता एक सय रुपैंयाँ मुल्य अंकित सेयर भदौं ५ गतेबाट निष्काशन सुरु भएर असोज ९ गते बन्द हुनेछ । २ अर्ब ८५ करोड चुक्ता पुँजी रहेको बैंकले पुँजी वृद्धिको योजना अनुसार हकप्रद सेयर निष्काशन गर्न लागेको हो । बैंकले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई बिक्रि प्रबन्धक तोकेको छ । सिभिल क्यापिटलको कार्यालय कमलादी र सेञ्चुरी बैंक लिमिटेडका शाखा कार्यालयहरुबाट दरखास्त दिन सकिने व्यवस्था गरिएको छ ।

सिभिल बैंकले युनिक फाइनान्सलाई एक्वार गर्ने, चुक्ता पूँजी ५ अर्ब पुग्ने

काठमाडौं, १८ साउन । सिभिल बैंकले युनिक फाइनान्स लिमिटेडलाई एक्वार (खरिद) गर्ने भएको छ । सम्झौता पत्रमा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ्ग र युनिक फाइनान्सका अध्यक्ष डा. बिनोद बहादुर खत्रीले हस्ताक्षर गरेका हुन् । मर्जरपछि बैंकको नाम सिभिल बैंक नै रहने तथा बैंकको हालकै संचालक समिति एवं उच्च व्यवस्थापन यथावत रहने बैंकले जनाएको छ । युनिक फाइनान्सको २३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । यसअघि २ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स कम्पनीबीच मर्जर पछी सिभिल बैंकको पुँजी ५ अर्ब ३१ करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनका अनुसार उक्त मर्जरबाट बैंकको व्यवसाय गर्ने क्षमता वृद्घि भई केहि ठूला परियोजनाहरु लगायत उद्योग व्यवयसायमा थप लगानी गर्न सहज हुनेछ । बैंकले आगामी दिनहरुमा नयाँ तथा ग्राहकमुखी थप सेवाहरु पनि थप्दै लाने कुरा जनाएको छ । बैंकले २०७४ असाढ मसान्तसम्म बैंकको चुक्ता पुँजी ८ अर्ब पु¥याउन बोनस शेयर र हकप्रद शेयर जारी गर्ने भएको छ । साथै, अन्य बैंक तथा वित्तीयसँग गाभ्ने र गाभिने प्रक्रियालाई पनि साथ–साथै अगाडि बढाइने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रभु बैंकको एक्स्टेन्सन काउन्टर तिलगंगा आँखा अस्पतालमा

काठमाडौं, १८ साउन । प्रभु बैंकले गौशाला स्थित तिलगंगा आँखा अस्पताल परिसरमा एक्स्टेसन काउन्टर सञ्चालन हुने भएको छ । उक्त अस्पताल परिसरमा आफ्नो एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याउन बैंकले आवश्यक तयारी पुरा गरिसकेको छ । बैंकका अनुसार अस्पतालमा आउने सेवाग्राहीहरुले अस्पताललाई बुझाउनु पर्ने रकम अब बैंकको एक्स्टेन्सन काउन्टरमा बुझाई अस्पतालबाट उपचार सेवा लिन सक्नेछन् । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनकाअनुसार अस्पताल सञ्चालन हुने प्रत्येक दिन बिहान ८ बजेदेखि अपरान्ह ५ बजेसम्म बैंकले सेवा उपलब्ध गराउने छ । निक्षेप संकलन तथा नगद भुक्तानी हुने यस तिलगंगा एक्स्टेन्सन काउन्टर सञ्चालनमा आएपश्चात् उपचारको लागि आउने सेवाग्राहीहरुले छिटो छरितो एवं व्यवस्थित रुपमा शुल्क भुक्तानी गरी उपचार सेवा लिन सक्नेछन् । साथै, तिलगंगा आँखा अस्पतालमा कार्यरत डाक्टर तथा सम्पूर्ण कर्मचारीहरुले कार्यस्थलमै बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।