दुई वर्षअघि ७९ करोड नोक्सानमा गएको यति अहिले नाफामा, अब ‘ब्राण्डिङ अन वार फुटिङ’

सागर शर्मा, प्रमुख कार्यकारी अधिकृत, यति डेभलपमेन्ट बैंक तीन वर्षअघि बाणिज्य बैंक बन्ने उदेश्यका साथ यति फाइनान्स, मनकामना डेभलपमेन्ट बैंक, इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंक र भ्याली फाइनान्सबीच मर्ज प्रक्रियामा सामेल भयौं । त्यो प्रयास सफल भएको भए यतिबेला हामी बाणिज्य बैंकको रुपमा बैकिङ कारोबार गरिरहेका हुने थियौं । इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंक मर्जर प्रक्रियाबाट बाहिरीए पछि वाणिज्य बैंक बन्ने प्रयास सफल भएन । यति फाइनान्स, मनकामना डेभलपमेन्ट बैंक र भ्याली फाइनान्सबीच मर्ज हुँदा पुँजी २ अर्ब नपुग्ने भयो । तत्काल बाणिज्य बैंक उदेश्य पुरा नहुने भयो । तैपनि तीन संस्था मर्जमा जाउँ, पछि अर्को कुनै संस्थासँग मर्ज भई वाणिज्य बैंक बन्न सकिन्छ भनेर तीन संस्थाबीच मर्ज भयो । २०७० असार ३१ गते एकिकृत कारोबार शुरु भयो । मर्जपूर्व म यति फाइनान्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत थिए । हामी हेटौडाको सानो, पुरानो र वार्षिक १५/२० प्रतिशत लाभांश सेयरधनीलाई वितरण गर्दै आएको फाइनान्स । यति फाइनान्सको व्यवसायमा समस्या थिएन । मर्जपछि पहिलो चौमासिक रिपोर्ट सार्वजनिक गरियो । यस संस्था भित्रको समस्या बाहिर आए । ठूला कर्जा लिने ऋणीहरु समस्यामा परे । खासगरी जग्गा व्यवसायमा गएको कर्जा उठ्न सकेको थिएन । त्यसको असर वित्तीय विवरणमा देखियो । पछि  खराव कर्जा १७ प्रतिशत नाघ्यो । संचिती नोक्सानी ७९ करोड रुपैयाँ भयो । बैंकप्रति निक्षेपकर्ताले विश्वास नै गुमाउँछन् कि, बैंक अब डुब्छ कि भन्ने चस्का (त्रास) उच्च व्यवस्थापनमा बसेर काम गर्नेले महसुस गर्नु पर्यो । यसरी बैंक जटिल अवस्थामा पुग्नुमा व्यस्थापनले गरेको कमजोरी केही थिए भने नीतिगत परिवर्तनले पनि हामीलाई ठूलो असर गर्यो । खासगरी घर जग्गा कर्जा लगानीमा राष्ट्र बैंकले गरेको कडाई र घर जग्गा बजारमा आएको मन्दीले बैंकलाई अप्ठ्यारो अवस्थामा पुर्यायो । त्यसबाट यस संस्थाले गतिलो पाठ सिकेको छ । कर्जा लगानी प्रक्रियामा धेरै सुधार गरेको छ । कर्जा लगानीको क्षेत्रमा सन्तुलित रुपमा विविधिकरण गरिएको छ । कसरी भयो सुधार ? यतिबेला हामीले हाम्रो वित्तीय अवस्थामा धेरै सुधार गरेका छौं । ७९ करोड संचित नोक्सानी सकेर गत असार मसान्तमा वासलातलाई सकारात्मक बनाएका छौं । गत आर्थिक वर्षमा मात्र ३६ करोड रुपैयाँ खुद नाफा भएको छ । ४ करोड भन्दा बढी रिर्जभमा लैजान सफल भएको छौं । अब संस्था सहज अवस्थामा आएको छ । अगाडिका बाटोहरु सफा भएका छ । यति डेभलपमेन्ट बैंकले प्रोभिजत गरेका खराव कर्जा हामीले उठाउँदै गयौं । अहिले पनि खराव सबै कर्जा उठेका छैनन् । असार मसान्तमा बैंकको खराव कर्जा ४.१७ प्रतिशत छ । आगामी असार मसान्तसम्ममा २ प्रतिशत भन्दा कम ल्याउने योजना छ । कतिपय कर्जा नउड्दा धितो सकारेले बैंकले गैर बैकिङ सम्पत्तिको रुपमा लिएको छ । अहिले यस बैंकको गैरबैकिङ सम्पत्ति ४८ करोड रुपैयाँ बराबरको छ । राष्ट्र बैंकको नियम अनुसार २ वर्षभित्र ती सम्पत्ति बिक्री गर्नुपर्छ । चालु आर्थिक वर्षका २४/२५ करोडको गैरबैकिङ सम्पत्ति बिक्री गर्छौ, त्यसपछि अर्को वर्ष बाँकी सम्पत्ति बिक्री गछौं । वाणिज्य बैंकको सपना मर्ज हुनुको उदेश्य वाणिज्य बैंक बन्नु थियो । यतिबेला हामी आफ्नै क्षमताले वाणिज्य बैंक बन्ने अवस्था छैन । राष्ट्र बैंकले वाणिज्य बैंकका लागि चुक्ता पुँजी न्यूनतम २ अर्बबाट बढाएर ८ अर्ब बनाएको बनाएको छ । त्यो एउटा चुनौति हो । अर्को स्तरवृद्धिको लागि पूरा गर्नु पर्ने मापदण्ड पुरा गर्न कम्तिमा पाँच वर्ष कुर्नुपर्छ । किनकी गएको वर्षमा हाम्रो वासलात नोक्सानमा गयो । तत्काल २ बराबर १ का दरले हकप्रद सेयर जारी गरेर पुँजी वृद्धि निर्णय साधारणसभाबाट भएको छ । चालु आर्थिक वर्षको नाफाबाट कम्तिमा १०/१२ प्रतिशत बोनस सेयर दिने लक्ष्यका साथ अगाडि बढेका छौं । यसबीचमा मर्जमा जाने बाटो पनि खुला राखेको छौं । हामी कुनै वाणिज्य बैंकमा मर्ज हुन पनि सक्छौं, अरु संस्था यति डेभलपमेन्ट बैंकमा आएर मर्ज हुन पनि सक्छन् । सबै विकल्पहरु खुला राखेका छौं । संस्थाको वित्तीय अवस्थामा पनि सुधार हुँदै गएको छ र मर्जको विषयमा पनि छलफल चलिरहेको छ । संस्था सुध्रदै गएको अवस्थमा मर्जको लागि स्वाप रेसियोमा वार्गेनिङ गर्ने क्षमता पनि बढ्दै गएको छ । पुँजी वृद्धि सँगै व्यापार विस्तार पनि गरेका छौं । गत आर्थिक वर्षमा करिव ४० प्रतिशतले विजनेश ग्रोथ भएको छ । चालु आर्थिक वर्षका पनि ४० प्रतिशतको विजनेश ग्रोथ गर्ने लक्ष्य राखेका छौं । यस वर्षको हाम्रो नारा ‘ब्राण्डिङ अन वार फुटिङ’ भन्ने छ । हामी वर्षको १२ महिना संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम गर्दै आएका छौं । बैंकका सरोकार पक्षलाई समेटेर बैंकको उपस्थिति रहेको क्षेत्रमा गरिने सामाजिक सेवाका कार्यले यस बैंकको ब्राण्ड इमेज राम्रो बनाउन धेरै मद्दत गरेको छ । इमान्दार भए बैकिङ व्यवसाय सजिलो बैकिङ भनेको सर्बसाधारणसँग निक्षेप लिएर चलाउने व्यवसाय हो । सबैभन्दा पहिले उनीहरुको विश्वास जित्ने गरी काम गर्नुपर्छ । मेरो अनुवभमा उच्च व्यवस्थापनमा बस्नेहरुले गडबढ नगर्ने हो भने बैंक चलाउन धेरै गाह्रो छैन । निश्चित प्रतिशत व्याजदरमा निक्षेप लिन्छौं । निश्चित नाफा राखेर कर्जा लगानी गछौं । धितो सुरक्षण राखेर कर्जा लगानी गछौं । प्रतिकूल समय र परिस्थितिमा ऋणीहरु समस्यामा पर्छन् । उनीहरुलाई बैंकको तर्फबाट पनि सहयोग चाहिन्छ । इमान्दारिता नछोड्ने हो भने ऋणीले ढिलै भएपनि बैंकको ऋण भुक्तानी गर्छ । बैंकको ऋण डूब्ने अवस्था विरलै मात्र आउने हो । (कुराकानीमा आधारित)

डलर खाता खोल्नेले बर्षमा १५ हजार डलर खर्चन पाउने

काठमाडौं, २३ साउन । विदेशी मुद्रामा खाता खोल्ने नेपालीले बर्षभरीमा १५ हजार रुपैयाँ अमेरिकी डलरसम्म खर्च गर्न पाउने भएका छन् । यसअघि बार्षिक १० हजार अमेरिकी डलर मात्रै खर्च गर्न पाउने ब्यवस्थामा संसोधन गर्दै ५ हजार अमेरिकी डलरको सीमा बढाएइको हो । विदेशी मुद्रा आर्जन गर्ने नेपालीले नेपालमा बैंकमा खाता खोलेर विदेशी मुद्रा जम्मा गर्न प्रोत्साहन मिलोस भनेर यस्तो ब्यवस्था गरिएको नेपाल राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय विभागका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले बताए । ‘विदेशी मुद्रा आर्जन गर्ने नेपालीले विदेशी मुद्रामै खाता खोलेर नेपालका बैंकमा रकम जम्मा गरेको अवस्थामा यस्तो सुविधा पाइने हो, यसले विदेशी मुद्राको बचतलाई प्रोत्साहन गर्ने अपेक्षा गरेका छौं,’ ढुंगानाले भने । यस्तो सुविधा पासपोर्ट एक्सचेन्ज सुविधा वाहेकको हो । प्रत्येक नेपालीले विदेश जानु पर्ने अवस्थामा भिसा लागेको पासपोर्टको आधारमा २ हजार ५ सय अमेरिकी डलर खर्च गर्ने सुविधा पाउछ । विदेशी मुद्रामा खाता खोल्ने नेपालीलाई दिइएको यस्तो सुविधा थप हो । थप सुविधा रकमवाट नेपालीले विदेशवाट बस्तु तथा सेवा खरिद गर्न पाउने राष्ट्र बैंकले जानकारी दिएको छ । यो ब्यवस्था आज (२३ साउन) देखि कार्यान्वयनमा आएको ढुंगानाले जानकारी दिए ।

सनराइज बैंक लिमिटेडको सुनवल शाखा स्थानान्तरण

काठमाडौं, २३ साउन । सनराइज बैंक लिमिटेडले सुनवल शाखालाई सोहि ठाउँको नयाँ स्थानमा स्थानान्तरण गरेकोे छ । अत्याधुनिक बैंकिङ्ग सेवाहरु लगायत छिटो र सुलभ सेवा ग्राहकहरू समक्ष पु¥याउने उद्देश्यले बैंकले उक्त शाखा स्थानान्तरण गरेको हो । सुनवल शाखा कार्यालयको समुद्घाटन प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको उपस्थितिमा नेपाल चेम्बर अफ कमर्स नवलपरासिका अध्यक्ष भिमबहादुर थापा (भरत)ले गरेका हुन् । साथै बैंक परिसरमा रहेको ए.टि.एम्.को समुद्घाटन जिल्ला सहकारी संघका अध्यक्ष विष्णुप्रसाद पौडेलले गरेका हुन् । सुनवल शाखामा निक्षेप संकलन तथा साना एवंम् मझौला व्यवसाय, हायर पर्चेज लगायत सेफ डिपोजिट लकर सुविधा उपभोग गर्न सकिने छ । नयाँ स्थान स्थानान्तरणको अवसरमा बैंकको सो शाखामा श्रावण २३ देखि भदौ १६, २०७३ सम्मका लागि लकर सुबिधामा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । हाल सनराइज बैंकले मुलुकभर आफ्नो ६७ वटा शाखा र ७१ वटा एटिएमद्धारा सर्वसुलभ सेवाहरु प्रदान गर्दै आएको छ । साथै विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र चितवन मेडिकल कलेज नारायणघाटमा एक्स्टेन्सन काउन्टर तथा ९ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा रहेका छन् ।