सिर्जना फाइनान्सको नाफा दोब्बर, ३० प्रतिशत बोनस सेयर दिन सक्ने
काठमाडौं, ३ साउन । विराटनगरस्थित सिर्जना फाईनान्स कम्पनीले गत आर्थिक वर्ष ८ करोड ९६ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा फाइनान्सले १०० प्रतिशतभन्दा बढी नाफा बढाएको छ । अघिल्लो आर्थिक वर्ष फाइनान्सले ४ करोड १८ लाख रुपैयाँ खुद नाफा गरेको थियो । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट करिव ३० प्रतिशत बोनस सेयर दिन सक्ने देखिएको छ । कम्पनीको चुक्ता पुँजी २१ करोड १६ लाख रुपैयाँ मात्र छ । राष्ट्र बैंकले २०७४ असार मसान्तसम्म फाइनान्स कम्पनीहरुको लागि ८० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएकोले यस फाइनान्सलाई पुँजी वृद्धि गर्न दवाव परेको छ । सिर्जना फाइनान्सको वित्तीय अवस्था राम्रो छ । निक्षेप २ अर्ब १६ करोड छ भने कर्जा तथा लगानी २ अर्ब २९ करोड रुपैयाँ रहेको छ । फाइनान्सको खराव कर्जा ०.३५ प्रतिशत मात्र रहेको छ भने कर्जा निक्षेप अनुपात ७४ प्रतिशत छ ।
इक्रा नेपालको पहिलो ‘डब्बल ए’ रेटिङ नेपाल एसविआई बैंकलाई
काठमाडौं, २ साउन । नेपाल एसबीआई बैंकले इक्रा नेपालको रेटिङमा ‘इक्रा आईआर–एए’ पाएको छ । इक्राको डब्बल ए पाउनुले यो बैंकको वित्तीय अवस्था धेरै राम्रो भएको संकेत गर्दछ । इक्रा नेपालले नेपाल एसबीआईको २० करोड रुपैयाँको बण्ड तथा डिबेन्चरलाई पनि डब्बल ए रेटिङ गरेको छ । यसको अर्थ हो उक्त बण्ड तथा डिबेन्चरमा गरिएको लगानी पूर्ण सुरक्षित छ । इक्रा नेपालको मूल्याङकनमा नेपालमा पहिलो पटक नेपाल एसबीआई बैंकले डब्बल ए तहको रेटिङ पाएको हो । इक्रा नेपालका प्रबन्ध निर्देशक दीपकराज काफ्लेले बैंकमा प्रबन्ध निर्देशक अनुकूल भाटनगरलाई रेटिङ सर्टिफिकेट प्रदान गरेको सो बैंकमा प्रबक्ता रमेश घिमिरेले जानकारी दिए ।
स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल ‘युरोमनी अवार्ड २०१६’ बाट सम्मानित
काठमाडौं, २ साउन । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले ‘युरोमनी अवार्ड २०१६’ प्राप्त गरेको छ । अन्तराष्ट्रिय युरो म्यागाजिनले दिने यो अवार्ड वित्तीय क्षेत्रमा निकै सम्मानित मानिन्छ । सन् १९६९ देखि चलिरहेको युरो म्यागाजिन वित्तीय बजारमा संसारभर ख्याति कमाउन सफल छ । म्यागजिनले हरेक वर्ष एउटा देशको उत्कृष्ट बैंकलाई यो अवार्ड प्रदान गर्दै आएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले विज्ञप्ति जारी गरेर यो अवार्ड प्राप्त गरेको जनाएको छ । यसअघि यो बैंकले बैंक अफ दि इयर, दि बेस्ट इमर्जिङ माकेट्स बैंक जस्ता अवार्ड प्राप्त गरिसकेको छ । युरोमनीले बैंकको गुणस्तरीय सेवा, सिर्जनात्मक र ग्राहक प्रतिको विशेषज्ञताका लागि यो अवार्ड प्रदान गरेको हो । बैंकले कठिन परिस्थितिका बावजुद पनि आफ्नो सेवालाई विस्तार गरेको थियो भने डिजिटल एजेण्डा र व्यापार पनि बढाएको थियो ।