प्रभु बैंकले ग्राण्ड बैंक एक्किजिशन गर्दै, प्रभुको नाफा ६ महिनामा ५४ करोड

१५ माघ । प्रभु बैंकले ग्राण्ड बैंक एक्वायर (प्राप्ति) गर्न लागेको छ । एक्विजिसनका लागि दुई बैंकबीच विहीबार प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । प्रभु बैंकका तर्फबाट अध्यक्ष देविप्रकाश भट्टचन र ग्राण्ड बैंक नेपालका तर्फबाट अध्यक्ष स्वरुप कोनेले हस्ताक्षर गरेको सम्झौता पत्रमा चालु आर्थिक वर्षभित्र एक्विजिसन गरिसक्ने उल्लेख गरिएको छ । एक्विजिसन भएकोले बैंकको नाम, सञ्चालक समिति, उच्च व्यवस्थापन समिति प्रभु बैंक कै कैं हुनेछ । प्रारम्भिक सम्झौताअनुसार एक्विजिसन सफल भएमा प्रभु बैंक नेपालका ठूला बैंकहरु मध्ये एक हुनेछ । प्रभु बैंकले जारी गरेको विज्ञप्ती अनुसार सेयर पुँजी ५ अर्ब २० करोड, निक्षेप ४५ अर्ब ९० करोड, कर्जा ३९ अर्ब ५ करोड रुपैयाँ पुग्नेछ । बैंकको शाखा १३४ वटा, एटीएम १२४ वटा र कर्मचारी करिव १ हजार ३ सय ५० जना हुनेछन् । ग्राण्ड बैंकलाई एक्विजिशन गर्ने सम्बन्धि प्रस्तावमा राष्ट्र बैंकको सैद्धान्तिक सहमतिका लागि आगामी साता प्रस्ताव गरिने बैंकका कामु प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए । एक्विजिसनपछि बैंकको क्यापिटल एडेक्वसी १० प्रतिशतभन्दा माथि हुने भएमा राष्ट्र बैंकले स्वीकृत दिन सक्ने राष्ट्र बैंकका प्रबक्ता मनोमोहन श्रेष्ठले बताए । ‘राष्ट्र बैंकले तोकेको मापदण्डअनुसार पुँजी प्रयाप्त भएमा राष्ट्र बैंकले सहमति दिनेछ’–उनले भने । एक्विजिसनपछि बैंकको क्यापिटल एडेक्वसी १० दशमल २० प्रतिशत हुने प्रभु बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । बैंकको निष्क्रिय कर्जा भने १६ दशमलव १७ प्रतिशत रहनेछ । स्वाप रेसियो कति ? ग्राण्ड बैंकका प्रमुख एक लगानीकर्ताले बताएअनुसार प्रभु बैंकको सेयर प्रतिकित्ता १०० र ग्राण्डको सेयर प्रतिकित्ता ६७ रुपैयाँ स्वाप मूल्य कायम गर्ने समझदारी भएको छ । प्रभु बैंकले प्रतिकित्ता ६० रुपैयाँ दिने प्रस्ताव गरेको तर ग्राण्ड बैंकले प्रतिकित्ता ७० रुपैयाँ माग गरेको प्रभु बैंकका एक सञ्चालकले भने । ‘स्वाम रेसियो डिडिए गरेपछि मात्र तय गरिने उनले बताए । स्वाप रेसियो १०० र ६७ कायम गरियो भने मर्जरपछि बैंकको चुक्तापुजी चार अर्ब ५४ करोड रुपैयाँ पुग्ने छ । हाल प्रभु बैंकको चुक्ता पुँजी ३ अर्ब २० करोड र ग्राण्ड बैंकको २ अर्ब रुपैयाँ रहेको छ । दुई बैंकबीच भएको स्वाप रेसियोको आधारमा ग्राण्ड बैंकको चुक्ता पुँजी २ अर्बबाट घटेर १ अर्ब ३४ करोड रुपैयाँ हुनेछ । विहीवार प्रभु बैंकको सेयर मूल्य तीन रुपैयाले घटेर ३०४ रुपैयाँमा कारोबार बन्द भयो भने ग्राण्ड बैंकको एक रुपैयाले मूल्य घटेर प्रतिकित्ता १८४ रुपैयाँका कारोबार बन्द भयो । ग्राण्ड बैंकलाई प्रभु बैंकले खरिद गर्ने खबर बजारमा आएसंगै यी कम्पनीको कारोबार उच्चले बढेको छ । ग्राण्डको तीन करोड ६८ लाख र प्रभुको तीन करोड ४३ लाख रुपैयाको सेयर कारोबार भएको छ । यसैबीच प्रभु बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ५४ करोड रुपैयाँ खुद मुनाफा गरेको छ । प्रोभिजन राइटव्याकबाट बैंकले ८२ करोड रुपैयाँ आर्जन गरेकोले खुद मुनाफा वृद्धि भएको बैंकका अध्यक्ष देविप्रकाश भट्टचनले बताए । कामु प्रमुख कार्यकारी अधिकृत शेरचनका अनुसार प्रोभिजन गरिएको कर्जामध्ये सार्क हस्पिटलले २८ रुपैया तिरेको छ । एप्पल इन्टरनेशनलले १८ करोड रुपैयाँ तिरेको छ । त्यस्तै, छायाँ क्रिशियन्टले १२ करोड, एचिभ फाउण्डेशनले ८ करोड, मल्लि ओटमोवाईल्सले ३ करोड, खनाल प्लाष्टिक र श्रेष्ट प्लाष्टिक उद्योगले ४ करोड रुपैयाँ  कर्जा तिरेका छन् ।

अरुण फाइनान्स समस्याग्रस्त

१३ माघ । नेपाल राष्ट्र बैंकले अरुण फाइनान्सलाई समस्याग्रस्त घोषणा गरेको छ । पूजीकोष ऋणात्मक भएको र निष्कृया कर्जाको अंश अत्याधिक भएको भन्दै अरुणलाई समस्याग्रस्त घोषणा गरिएको हो । राष्ट्र बैंकले गत आर्थिक बर्षको पुस मसान्तको वित्तीय विवरणको आधारमा गरेको स्थलगत अध्ययनमा संस्थाको पूजीकोष १९ प्रतिशतभन्दा बढीले ऋणात्मक थियो । यस्तै निष्कृय कर्जाको अंश कुल कर्जाको ८० प्रतिशतभन्दा बढी थियो । राष्ट्रियस्तरको फाइनान्स कम्पनीको न्युनतम चुक्तापूजी २० करोड रुपैयाँ हुनै पर्नेमा यस्तो पूजी १५ करोड रुपैयाँ मात्र थियो । फाइनान्सको अवस्था यस्तो देखिएपछि राष्ट्र बैंकले फाइनान्सलाई गत बर्ष नै समस्याग्रस्त घोषणा किन नगर्ने भन्दै पत्र पठाएको थियो । फाइनान्सले सुधारको ठोस प्रस्ताव पेश गर्न नसकेको र गत कात्तिक मसान्तसम्मको वित्तीय विवरणवाट पनि संस्थाको पूजीकोष ऋणात्मक नै रहेको कारण समस्याग्रस्त घोषणा गरिएको राष्ट्र बैंकको भनाइ छ । ‘संस्थाले पेश गरेको स्पष्टीकरणबाट संस्थालाई सुधार गर्नेतर्पm विश्वसनीय आधार नदेखिएको तथा हाल उक्त संस्थाको वित्तीय अवस्था निकै कमजोर रहेकोले संस्था, निक्षेपकर्ता, सर्वसाधारण लगानीकर्ता एवम् सम्पूर्ण सरोकारवालाहरुको हित संरक्षणका लागि उक्त संस्थालाई समस्याग्रस्त घोषणा गरिएको हो,’ राष्ट्र बैंकले उल्लेख गरेको छ । यस्तै सुधारको लागि विभिन्न १२ बुदे निर्देशन पनि दिइएको छ । अरुणलाई राष्ट्र बैंकले न्यूनतम चुक्ता पूँजी तथा पुँजीकोष अनुपात कायम गर्न, थप निक्षेप संकलन नगर्न तथा परिपक्व भएका निक्षेपहरु नवीकरण नगर्न र थप कर्जा तथा जमानत प्रदान नगर्न एवम् कर्जा नवीकरण नगर्न निर्देशन दिएको हो । यस्तै भाखा तथा म्याद पुगेका एवम् फिर्ता भुक्तानी गर्नुपर्ने निक्षेप फिर्ता गर्न । तर २ लाख रुपैयाँ भन्दा बढी निक्षेप वा दायित्व रकम भुक्तानी गर्दा यस राष्ट्र बैंकको स्वीकृति लिन, नयाँ शाखा नखोल्न, राष्ट्र बैंकको स्वीकृति बिना स्थिर सम्पत्ति खरिद तथा विक्री नगर्न, संचालकको भत्ता तथा सुविधा एवम् कर्मचारीहरुको तलव भत्ता तथा अन्य आर्थिक सुविधा वृद्धि नगर्न र राष्ट्र बैंकको स्वीकृति बिना नयाँ कर्मचारी भर्ना नगर्न तथा साविक कर्मचारी बढुवा नगर्न पनि निर्देशन दिएको छ । निष्कृय कर्जाको अनुपात ५ प्रतिशत भन्दा कम गर्न, लाभांश घोषणा वा वितरण नगर्न, संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली र जोखिम व्यवस्थापनको समुचित व्यवस्था मिलाउन, हरहिसाव तथा श्रेस्ता दुरुस्त राखी यस बैंकलाई सही तथ्य अद्यावधिक जानकारी नियमित रुपमा उपलब्ध गराउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

बैंक अफ काठमाण्डुको नाफा ३२ प्रतिशत बढ्यो, व्याज आम्दानी नाफाको आधार

९ माघ । बैंक अफ काठमाण्डुको गत बर्षको पुसको तुलनामा यो बर्षको पुसमा नाफा ३२ प्रतिशतले बढेको छ । बैंकको खुद व्याज आम्दानी बढेपछि नाफा बढेको हो । अघिल्लो पुसमा २५ करोड चार लाख नाफा कमाएको बैंकले यो पटक भने ३३ं करोड सात लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको खुद व्याज आम्दानी पनि २० प्रतिशतले बढेर ७० करोड १९ लाख पुगेको छ । बैंकले बैदेशिक बिनिमयबाट आठ करोड ३१ लाख, फि कमिसनबाट १२ करोड  १७ लाख र अन्य आम्दानी तीन करोड ५६ लाख गरेको छ । बैंकको कर्मचारी खर्च र अन्य सञ्चालन खर्च बढेको छ । बैंकको कोषको लागत घटेर ३.९ मा सिमित भएको छ । बैंकसंग एक अर्ब ७५ करोड रुपैयाँ सञ्चिती छ । बैंकको कुल सञ्चालन नाफा भने ४२ प्रतिशतले बढेर ५१ करोड भएको छ । बैंकको यो अवधिमा कर्जा लगानी २३ प्रतिशतले र  निक्षेप १६ प्रतिशतले बढेको छ । निक्षेप वृद्धिको आधारमा बैंकले कर्जा लगानी बढाउन सकेको देखिन्छ । बैंकको कर्जा निक्षेप अनुपात बढेर ७९.८८ प्रतिशत छ । बैंकले रियल इस्टेट कर्जा नौं प्रतिशतले घटेको छ । यो कुल कर्जाको जम्मा तीन प्रतिशत छ ।