अधिकांश बैंकको कर्जा थोक तथा खुद्रा ब्यापारमै केन्द्रीत, (कुन बैंकको कति ? सुचीसहित)
विकासन्युज/काठमाडौं २ माघ । अधिकांश वाणिज्य बैंकहरुको कर्जा तथा लगानी थोक तथा खुद्रा ब्यापारमै केन्द्रित भएको पाइएको छ । बैंकहरुको असोज मसान्तसम्मको कर्जा लगानीको तथ्यांकले यस्तो देखाएको हो । नेपाल बैंकले असोज मसान्तसम्ममा ४२ अर्ब १३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यसमध्ये सो बैंकले थोक र खुद्रा ब्यापारमा १० अर्ब ३५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । नेपाल बैंकले थोक तथा खुद्रा ब्यापारमा गरेको लगानी कुल कर्जाको २४ दशमलब ५७ प्रतिशत हो । राष्ट्रिय बाणिज्य बैंकले पनि आफ्नो लगानीको प्रमुख हिस्सा थोक तथा खुद्रा ब्यापारमै केन्द्रीत गरेको छ । असोज मसान्तसम्मको तथ्यांक अनुसार सो बैंकले १८ अर्ब ६७ करोड रुपैयाँ यस्तो कर्जा प्रवाह गरेको छ । असोज मसान्तसम्ममा राष्ट्रिय बाणिज्य बैंकले ६० अर्ब ८६ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । सो बैंकले थोक तथा खुद्रा ब्यापारमा गरेको लगानी कुल कर्जाको ३० दशमलब ६८ प्रतिशत हो । नविल बैंकले थोक तथा खुद्रा ब्यापारमा १५ अर्ब ६६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । उसले कुल कर्जा तथा लगानी भने ६१ अर्ब ७९ करोड रुपैयाँ गरेको छ । नविलले थोक तथा खुद्रा ब्यापारमा गरेको लगानी कुल कर्जाको २५ दशमलब ३४ प्रतिशत हुन आउछ । नेपाल इन्भेष्टमेन्ट बैंकले १३ अर्ब ५१ करोड रुपैयाँ थोक तथा खुद्रा ब्यापारमा कर्जा प्रवाह गरेको छ । इन्भेष्टमेन्ट बैंक ५९ अर्ब ८१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । इन्भेष्टमेन्ट बैंकले थोक तथा खुद्रा ब्यापारमा गरेको कर्जा लगानी कुल कर्जाको २२ दशमलब ५९ प्रतिशत हुन आउछ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले पनि आफ्नो लगानीको ठूलो हिस्सा थोक तथा खुद्रा ब्यापारमै लगानी गर्ने गरेको छ । बैंकले असोज मसान्तसम्ममा ५ अर्ब ९२ करोड रुपैयाँ यस्तो कर्जा लगानी गरेको छ । सो बैंकको कुल कर्जा २९ अर्ब ५५ करोड रुपैयाँ कर्जा तथा लगानी गरेको छ । सो अनुसार बैंकले थोक तथा खुद्रा ब्यापारमा गरेको कर्जा प्रवाह कुल कर्जा तथा लगानीको २० प्रतिशत हो । हिमालयन बैंकले असोज मसान्तसम्ममा ११ अर्ब ६१ करोड रुपैयाँ थोक तथा खुद्रा ब्यापारमा कर्जा प्रवाह गरेको छ । सो अवधिसम्ममा हिमालयनको कर्जा ५० अर्ब ५४ करोड रुपैयाँ थियो । यो अनुसार थोक तथा खुद्रा ब्यापारमा हिमालनले गरेको कर्जा प्रवाह कुल कर्जाको २२ दशमलब ९७ प्रतिशत हो । नेपाल एसबिआइ बैंकले ११ अर्ब ६५ करोड रुपैयाँ थोक तथा खुद्रा ब्यापारमा कर्जा प्रवाह गरेको छ । उसको कुल कर्जा ३७ अर्ब ६६ करोड रुपैयाँ छ । एसबिआइले थोक तथा खुद्रा ब्यापारमा गरेको कर्जा लगानी कुल कर्जाको ३० दशमलब ९३ प्रतिशत हो । एभरेष्ट बैंकले १३ अर्ब ९२ करोड रुपैयाँ थोक तथा खुद्रा ब्यापारमा कर्जा लगानी गरेको छ । सो बैंकको कुल कर्जा ५३ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । यो तथ्यांक अनुसार बैंकले असोज मसान्तसम्ममा कुल कर्जाको २६ प्रतिशत कर्जा थोक तथा खुद्रा ब्यापारमा लगानी गरेको छ । कृषि विकास बैंकले थोक तथा खुद्रा ब्यापारमा १२ अर्ब ३५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । उसको कुल कर्जा ६३ अर्ब ३५ करोड रुपैयाँ छ । कृषि विकास बैंकले कुल कर्जाको १९ दशमलब ४९ प्रतिशत थोक तथा खुद्रा ब्यापारमा प्रवाह गरेको छ । यस्तै ग्लोबल आइएमइ बैंकले १४ अर्ब ११ करोड रुपैयाँ थोक तथा खुद्रा ब्यापारमा कर्जा लगानी गरेको छ । सो बैंकको कुल कर्जा भने ४५ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । ग्लोबल आइएमइ बैंकले कुल कर्जाको ३० दशमलब ९९ प्रतिशत थोक तथा खुद्रा ब्यापारमा लगानी गरेको छ ।
बक्यौता बुझाउनेलाई राष्ट्रिय वाणिज्य बैंकले ९० प्रतिशतसम्म ब्याज छुट दिने
१५ पुस । राष्ट्रिय वाणिज्य बैंकले ऋणीहरूलाई बक्यौता रकम चैत मसान्तसम्म बुझाउन समयसीमा दिएको छ । बैंकले मंगलबार सूचना जारी गरी बैंकबाट २०६३ चैत मसान्तसम्म चुक्ता गराई फर फारक गर्न १० देखि ९० प्रतिशतसम्म ब्याज छुटको व्यवस्था गरेको छ । बैंकले लगानी नवीकरण भई भाखा नाघेका, पुराना कर्जा, सुविधाहरू, किताबी अपलेखित गरिएका कर्जा सुविधाहरू र ऋण असुली न्यायाधीकरणमा मुद्दा चलिरहेका वा फैसला भइसकेका कर्जा र सुविधा सकभर छिटो चुक्ता गरे ब्याज छुटको व्यवस्था गरेको हो । वाणिज्य बैंकले विशेष कार्यक्रमअन्तर्गत प्रदान गर्न लागिएको ब्याज मिनाहको सुविधा दिँदा पनि ऋण चुक्ता नगर्ने ऋणीहरूउपर प्रचलित कानुन र बैंक नियमानुसारको असल कारबाही (धितो लिलामी तथा सकार गर्ने कार्य) तुरुन्त अगाडि बढाइनेसमेत जानकारी दिएको छ । बैंकले बक्यौता बुझाउने ऋणीहरूका लागि कर्जा सीमा र कर्जा सुविधा चुक्ता गर्दा बुझाउनुपर्ने रकम पनि खुलाएको छ । जसमा ५० हजार रुपैयाँसम्मको साँवा कर्जा भएमा बाँकी साँवा पूरै र बीमा तथा अन्य दस्तुर भएमा सो रकम मात्र बुझाउनुपर्ने छ । यस्तै, ५० हजारदेखि माथि १ लाख रुपैयाँसम्मको साँवा कर्जा भएमा बाँकी साँवा पूरै र ब्याजबापत सो साँवाको कम्तीमा १० प्रतिशतले हुन आउने रकम, १ लाखदेखि माथि ५ लाख रुपैयाँसम्मको साँवा कर्जा भएमा बाँकी साँवा पूरै र ब्याजबापत सो साँवाको कम्तीमा ३० प्रतिशतले हुन आउने रकम तथा बीमा र अन्य दस्तुर भए सोसमेत बुझाउनुपर्ने छ । यसैगरी, ५ लाखदेखि माथि १० लाख रुपैयाँसम्मको साँवा कर्जा भएमा बाँकी साँवा पूरै र ब्याजबापत सो साँवाको कम्तीमा ५० प्रतिशतले हुन आउने रकम, १० लाखदेखि माथि २० लाख रुपैयाँसम्मको साँवा कर्जा भएमा बाँकी साँवा पूरै र ब्याजबापत सो साँवाको कम्तीमा ७० प्रतिशतले हुन आउने रकम तथा बीमा र अन्य दस्तुर भए सोसमेत बुझाउन सकिने बैंकले जनाएको छ । वाणिज्य बैंकले उल्लेखित कर्जा सुविधा सीमाभित्रका (भुक्तानी तालिकाअनुसार बुझाएको साँवा किस्तार रकमबाहेक) यसअघि आंशिक रूपमा प्राप्त रकमको ५० प्रतिशतभन्दा बढी रकम साँवामा जम्मा गरिएको भएमा सुरु साँवा लगानी रकमको आधारमा असुल गर्नुपर्ने ब्याज रकम निर्धारण गरिने जनाएको छ ।
नेपाली बैंकलाई चीनमा युआनमा खाता खोल्ने सुविधा
१५ पुस । नेपाली बैंक तथा वित्तीय संस्थाहरूले चीनको कुनै पनि वाणिज्य बैंकमा चिनियाँ मुद्रा युआनमा खाता खोल्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंक र चीनको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइनाबीच सहमति भएपछि नेपाली बैंक तथा वित्तीय संस्थाहरूले यस्तो सुविधा पाउने भएका हुन् । नेपाल राष्ट्र बैंकले निर्देशन जारी गर्दै चिनियाँ मुद्रा युआन खरिद गर्ने र खरिद गरिएको युआन चीनका वाणिज्य बैंकहरूमा खोलिएको खातामा जम्मा गर्न सकिने व्यवस्था गरिएको जानकारी दिएको छ । यस्तो निर्देशनपछि नेपालको अन्तर्राष्ट्रिय व्यापारको भुक्तानीका लागि चिनियाँ व्यापारिक फर्महरूलाई एलसी, ड्राफ्ट, टीटीलगायतका माध्यमबाट हुने भुक्तानी र हिसाब मिलान युआनमा गर्न सकिने भएको छ । यस्तो व्यवस्थापछि नेपाली नियार्तकर्ताले चिनियाँ बजारमा गर्ने वस्तु निर्यात, सेवा बिक्री, नेपाली फर्म कम्पनी तथा उद्योगले चीनबाट प्राप्त गर्ने ऋण वा प्रत्यक्ष वैदेशिक लगानीबापत प्राप्त रकम सम्बन्धित बैंक वित्रीय संस्थाहरूले युआनमै खाता खोली जम्मा गर्न पाउने भएका छन् । यस्तै, चिनियाँलगायत विदेशी नागरिकहरूले नेपालका बैंक वित्तीय संस्थाहरूलाई प्रचलित विनिमय दरमा युआन खरिद गर्न बाटो खुलेको छ । पर्यटकहरूले होटल, ट्राभल एजेन्सी, मनी चेन्जर जस्ता इजाजत प्राप्त संस्थामार्फत खरिद बिक्री गर्न पाउने भएका छन् । चिनियाँ मुद्रामा जारी भएका क्रेडिट डेभिट कार्ड प्रयोगबाट नेपाली रुपैयाँमा भुक्तानी दिन सकिने भएको छ । यस्तो रकमको हिसाब मिलान चीनस्थित आफ्नै युआन खाताबाट नेपाली वाणिज्य बैंकले गर्नसक्नेछ । नेपालबाट वर्षेनी चीनमा एमबीबीएस अध्ययनका लागि हजारौं नेपाली विद्यार्थीहरू चीनमा जाने गरेका छन् । राष्ट्र बैंक र चीनको केन्द्रीय बैंकको सहमतिपछि सबैभन्दा बढी फाइदा नेपाली विद्यार्थीहरूलाई पुगेको छ ।