हस्तक्षेप पछि कृषि बिकास बैंक अन्योलमा, दैनिक प्रशासनिक काममा पनि बोर्ड संलग्न

३ माघ । संचालक समितिको हस्तक्षेप पछि कृषि विकास बैंक ब्यवस्थापन प्रमुख विहिन भएको छ । ३१ असोजमा बैंकको प्रमुख कार्यकारीवाट तेजबहादुर बुढाथोकीलाई हटाएपछि बैंकका समस्या देखिएको हो । बैंक संचालक समितिले बुढाथोकीको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै १३ महिना कार्यकाल बाँकी छदै उनलाई पदवाट हटाएको थियो । बुढाथोकीलाई प्रमुख कार्यकारी अधिकृतबाट हटाएर साही बैंकका बरिष्ठ उपमहाप्रबन्धक अनिल उपाध्यायलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको थियो । बोर्डको यस्तो कार्य गैरकानुनी भएको भन्दै तत्कालिन प्रमुख कार्यकारी अधिकृत बुढाथोकीले अदालतमा निवेदन दिएका थिए । संचालक समितिले पदवाट आफूलाई हटाउन गरेको निर्णय गैरकानुनी भएको भन्दै यस्तो निर्णय रोक्ने आदेश माग गरेका थिए । अदालतले दुबै पक्षलाई बोलाएर छलफल गर्नको लागि मंसिर २७ गतेदेखि नै मिति तोक्दै आएको भएपनि यो विषय अझै विचाराधिन नै छ । बुढाथोकीले मुद्दा हालेकै समयमा बैंक संचालक समितिले बैंककै पूर्वसंचालक लिलाप्रकास सिटौलालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरको थियो । बैंक संचालक समितिले २८ मंसिरमा सिटौलालाई प्रमुख कार्यकारीमा नियुक्त गरेपनि अदालतले ४ पुसमा सिटौलालाई प्रमुख कार्यकारीको हैसियतमा काम नगर्नु नगराउनु भनेर आदेश दिएको छ । अदालतको यस्तो निर्णय पछि अहिलेसम्म बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कसैले पनि जिम्मेवारी लिएको छैन । नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त भैसकेको कारण कसैलाई निमित्त दिन नमिल्ने र अदालतको आदेशको कारण नियुक्त भएका प्रमुख कार्यकारी अधिकृतले पनि काम गर्न नसक्ने अवस्था आएको बैंक संचालक समितिका अध्यक्ष प्रमोद काकीले बताए । ‘कसैलाई निमित्त दिन पनि सक्ने अवस्था छैन’– कार्कीले भने– अदालतले प्रमुख कार्यकारी अधिकृतलाई पनि काम नगराउनु भनेकोले उहाँलाई पनि काम गराउन सक्ने अवस्था भएन । अहिले बैंकको प्रमुख कार्यकारी अधिकृत भए÷नभएको भनेर यसै भन्न नसकिने अवस्था रहेको कार्कीको भनाइ छ । प्रमुख कार्यकारी अधिकृत नभएको कारण बैंकको नियमित काममा पनि संचालक समितिले निर्णय दिने गरेको छ । बैंकको प्रमुख कार्यकारीमा सिटौलालाई नियुक्त गरेपछि निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी लिइरहेका बरिष्ठ उपमहाप्रबन्धक अनिलकुमार उपाध्याय पनि विदामा बसेका छन् । बैंक संचालक समितिले बुढाथोकीको मुद्दाको किनारा नलागुन्जेल उपाध्यायलाई पुन निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेबारी लिइदिन अनुरोध गरेपनि उनले अस्वीकार गर्दै घरविदामा बसेका बैंक स्रोतले जानकारी दिएको छ । बैंकको दैनिक प्रकाशनिक काम संचालन गर्नको लागि पनि समस्या भएपछि बैंक संचालक समितिले यसको जिम्मेवारी आफैले लिएको छ । उपमहाप्रबन्धकहरुले गर्न सक्ने र पाउनेसम्मको निर्णय उनीहरुलाई गर्न दिने र सोभन्दा माथिल्लो तहको निर्णय वोर्डले नै गर्ने गरेको बैंक संचालक समितिका अध्यक्ष कार्कीले बताए ।

अधिकांश बैंकको कर्जा थोक तथा खुद्रा ब्यापारमै केन्द्रीत, (कुन बैंकको कति ? सुचीसहित)

विकासन्युज/काठमाडौं २ माघ । अधिकांश वाणिज्य बैंकहरुको कर्जा तथा लगानी थोक तथा खुद्रा ब्यापारमै केन्द्रित भएको पाइएको छ । बैंकहरुको असोज मसान्तसम्मको कर्जा लगानीको तथ्यांकले यस्तो देखाएको हो । नेपाल बैंकले असोज मसान्तसम्ममा ४२ अर्ब १३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यसमध्ये सो बैंकले थोक र खुद्रा ब्यापारमा १० अर्ब ३५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । नेपाल बैंकले थोक तथा खुद्रा ब्यापारमा गरेको लगानी कुल कर्जाको २४ दशमलब ५७ प्रतिशत हो । राष्ट्रिय बाणिज्य बैंकले पनि आफ्नो लगानीको प्रमुख हिस्सा थोक तथा खुद्रा ब्यापारमै केन्द्रीत गरेको छ । असोज मसान्तसम्मको तथ्यांक अनुसार सो बैंकले १८ अर्ब ६७ करोड रुपैयाँ यस्तो कर्जा प्रवाह गरेको छ । असोज मसान्तसम्ममा राष्ट्रिय बाणिज्य बैंकले ६० अर्ब ८६ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो । सो बैंकले थोक तथा खुद्रा ब्यापारमा गरेको लगानी कुल कर्जाको ३० दशमलब ६८ प्रतिशत हो । नविल बैंकले थोक तथा खुद्रा ब्यापारमा १५ अर्ब ६६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । उसले कुल कर्जा तथा लगानी भने ६१ अर्ब ७९ करोड रुपैयाँ गरेको छ । नविलले थोक तथा खुद्रा ब्यापारमा गरेको लगानी कुल कर्जाको २५ दशमलब ३४ प्रतिशत हुन आउछ । नेपाल इन्भेष्टमेन्ट बैंकले १३ अर्ब ५१ करोड रुपैयाँ थोक तथा खुद्रा ब्यापारमा कर्जा प्रवाह गरेको छ । इन्भेष्टमेन्ट बैंक ५९ अर्ब ८१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । इन्भेष्टमेन्ट बैंकले थोक तथा खुद्रा ब्यापारमा गरेको कर्जा लगानी कुल कर्जाको २२ दशमलब ५९ प्रतिशत हुन आउछ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले पनि आफ्नो लगानीको ठूलो हिस्सा थोक तथा खुद्रा ब्यापारमै लगानी गर्ने गरेको छ । बैंकले असोज मसान्तसम्ममा ५ अर्ब ९२ करोड रुपैयाँ यस्तो कर्जा लगानी गरेको छ । सो बैंकको कुल कर्जा २९ अर्ब ५५ करोड रुपैयाँ कर्जा तथा लगानी गरेको छ । सो अनुसार बैंकले थोक तथा खुद्रा ब्यापारमा गरेको कर्जा प्रवाह कुल कर्जा तथा लगानीको २० प्रतिशत हो । हिमालयन बैंकले असोज मसान्तसम्ममा ११ अर्ब ६१ करोड रुपैयाँ थोक तथा खुद्रा ब्यापारमा कर्जा प्रवाह गरेको छ । सो अवधिसम्ममा हिमालयनको कर्जा ५० अर्ब ५४ करोड रुपैयाँ थियो । यो अनुसार थोक तथा खुद्रा ब्यापारमा हिमालनले गरेको कर्जा प्रवाह कुल कर्जाको २२ दशमलब ९७ प्रतिशत हो । नेपाल एसबिआइ बैंकले ११ अर्ब ६५ करोड रुपैयाँ थोक तथा खुद्रा ब्यापारमा कर्जा प्रवाह गरेको छ । उसको कुल कर्जा ३७ अर्ब ६६ करोड रुपैयाँ छ । एसबिआइले थोक तथा खुद्रा ब्यापारमा गरेको कर्जा लगानी कुल कर्जाको ३० दशमलब ९३ प्रतिशत हो । एभरेष्ट बैंकले १३ अर्ब ९२ करोड रुपैयाँ थोक तथा खुद्रा ब्यापारमा कर्जा लगानी गरेको छ । सो बैंकको कुल कर्जा ५३ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । यो तथ्यांक अनुसार बैंकले असोज मसान्तसम्ममा कुल कर्जाको २६ प्रतिशत कर्जा थोक तथा खुद्रा ब्यापारमा लगानी गरेको छ । कृषि विकास बैंकले थोक तथा खुद्रा ब्यापारमा १२ अर्ब ३५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । उसको कुल कर्जा ६३ अर्ब ३५ करोड रुपैयाँ छ । कृषि विकास बैंकले कुल कर्जाको १९ दशमलब ४९ प्रतिशत थोक तथा खुद्रा ब्यापारमा प्रवाह गरेको छ । यस्तै ग्लोबल आइएमइ बैंकले १४ अर्ब ११ करोड रुपैयाँ थोक तथा खुद्रा ब्यापारमा कर्जा लगानी गरेको छ । सो बैंकको कुल कर्जा भने ४५ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । ग्लोबल आइएमइ बैंकले कुल कर्जाको ३० दशमलब ९९ प्रतिशत थोक तथा खुद्रा ब्यापारमा लगानी गरेको छ ।

बक्यौता बुझाउनेलाई राष्ट्रिय वाणिज्य बैंकले ९० प्रतिशतसम्म ब्याज छुट दिने

१५ पुस । राष्ट्रिय वाणिज्य बैंकले ऋणीहरूलाई बक्यौता रकम चैत मसान्तसम्म बुझाउन समयसीमा दिएको छ । बैंकले मंगलबार सूचना जारी गरी बैंकबाट २०६३ चैत मसान्तसम्म चुक्ता गराई फर फारक गर्न १० देखि ९० प्रतिशतसम्म ब्याज छुटको व्यवस्था गरेको छ । बैंकले लगानी नवीकरण भई भाखा नाघेका, पुराना कर्जा, सुविधाहरू, किताबी अपलेखित गरिएका कर्जा सुविधाहरू र ऋण असुली न्यायाधीकरणमा मुद्दा चलिरहेका वा फैसला भइसकेका कर्जा र सुविधा सकभर छिटो चुक्ता गरे ब्याज छुटको व्यवस्था गरेको हो । वाणिज्य बैंकले विशेष कार्यक्रमअन्तर्गत प्रदान गर्न लागिएको ब्याज मिनाहको सुविधा दिँदा पनि ऋण चुक्ता नगर्ने ऋणीहरूउपर प्रचलित कानुन र बैंक नियमानुसारको असल कारबाही (धितो लिलामी तथा सकार गर्ने कार्य) तुरुन्त अगाडि बढाइनेसमेत जानकारी दिएको छ । बैंकले बक्यौता बुझाउने ऋणीहरूका लागि कर्जा सीमा र कर्जा सुविधा चुक्ता गर्दा बुझाउनुपर्ने रकम पनि खुलाएको छ । जसमा ५० हजार रुपैयाँसम्मको साँवा कर्जा भएमा बाँकी साँवा पूरै र बीमा तथा अन्य दस्तुर भएमा सो रकम मात्र बुझाउनुपर्ने छ । यस्तै, ५० हजारदेखि माथि १ लाख रुपैयाँसम्मको साँवा कर्जा भएमा बाँकी साँवा पूरै र ब्याजबापत सो साँवाको कम्तीमा १० प्रतिशतले हुन आउने रकम, १ लाखदेखि माथि ५ लाख रुपैयाँसम्मको साँवा कर्जा भएमा बाँकी साँवा पूरै र ब्याजबापत सो साँवाको कम्तीमा ३० प्रतिशतले हुन आउने रकम तथा बीमा र अन्य दस्तुर भए सोसमेत बुझाउनुपर्ने छ । यसैगरी, ५ लाखदेखि माथि १० लाख रुपैयाँसम्मको साँवा कर्जा भएमा बाँकी साँवा पूरै र ब्याजबापत सो साँवाको कम्तीमा ५० प्रतिशतले हुन आउने रकम, १० लाखदेखि माथि २० लाख रुपैयाँसम्मको साँवा कर्जा भएमा बाँकी साँवा पूरै र ब्याजबापत सो साँवाको कम्तीमा ७० प्रतिशतले हुन आउने रकम तथा बीमा र अन्य दस्तुर भए सोसमेत बुझाउन सकिने बैंकले जनाएको छ । वाणिज्य बैंकले उल्लेखित कर्जा सुविधा सीमाभित्रका (भुक्तानी तालिकाअनुसार बुझाएको साँवा किस्तार रकमबाहेक) यसअघि आंशिक रूपमा प्राप्त रकमको ५० प्रतिशतभन्दा बढी रकम साँवामा जम्मा गरिएको भएमा सुरु साँवा लगानी रकमको आधारमा असुल गर्नुपर्ने ब्याज रकम निर्धारण गरिने जनाएको छ ।