तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैंकको आग्रह
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ । केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई पत्राचार गर्दै व्यापार सहजीकरण गर्न, आपूर्ति प्रणाली सञ्चालनमा राख्नका लागि बैंकिङ प्रणाली सञ्चालनमा राख्न आग्रह गरेको हो । त्यसैगरी राष्ट्र बैंकले शनिबारका लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने सूचनामा उल्लेख गरेको छ ।
सिद्धार्थ बैंकका ग्राहकहरूलाई जर्मन होम्समा १० प्रतिशत छुट
काठमाडौं । सिद्धार्थ बैंक र जर्मन होम्स प्रालिबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बालकोट, भक्तपुरस्थित जर्मन होम्स्मा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।
ब्याज आम्दानीको बाँकी रकम नियमनकारी कोषमा जम्मा गर्नुपर्ने, त्रैमासिक रिपोर्ट सार्वजनिक गर्ने समय थप
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले ब्याज आम्दानीबाट बचेको रकम नियमनकारी कोषमा जम्मा गर्नुपर्नेछ । बैंकहरुलाई कात्तिक १५ गतेभित्र प्राप्त भएको ब्याज रकम बाहेक अन्य प्राप्त हुन बाँकी ब्याज आम्दानीलाई नियमनकारी कोषमा जम्मा गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो । ‘लेखानीति बमोजिम आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा प्रोदभावी आधारमा लेखाङ्कन गरिएको ब्याज आम्दानीमध्ये २०८२ कात्तिक १५ गतेभित्र प्राप्त भएको ब्याज रकम बाहेक अन्य प्राप्त हुन बाँकी ब्याज आम्दानी बराबरको रकममा प्रचलित व्यवस्था अनुसारको आयकर तथा कर्मचारी बोनस तथा वैधानिक कोष (साधारण जगेडा कोष र संस्थागत सामाजिक उत्तरदायित्व कोष) मा जम्मा गरेको रकम कट्टा गरी बाँकी रकमलाई सञ्चित मुनाफा खर्च गरी नियमनकारी कोषमा जम्मा गर्नुपर्नेछ,’ राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ । साथै, बैंक तथा वित्तीय संस्था र पूर्वाधार विकास बैंक चालु आवको त्रैमासिक वित्तीय विवरण कात्तिक २१ गतेभित्र सार्वजनिक गर्ने गरी समय थप गरेको छ ।