एआईको प्रयोगद्वारा अन्तरिक्षमा जीवनको खोज
नासाले १४ अक्टोबर २०२४ मा जुपिटर (वृहस्पति) ग्रहको चन्द्रमा युरोपाको अध्ययन गर्न प्रक्षेपण गरेको युरोपा क्लिपर मिसन विज्ञान र प्रविधिको क्षेत्रमा माइलस्टोन बनेको छ । युरोपा क्लिपर जुपिटरको चन्द्रमा युरोपाको विस्तृत अध्ययन गर्न डिजाइन गरिएको पहिलो मिसन हो । वैज्ञानिक प्रमाणहरूका अनुसार अहिले पनि जीवनका लागि आवश्यक तत्वहरू युरोपामा हुन सक्छन् । यो अन्तरिक्ष यान छ वर्षपछि, अप्रिल २०३० मा १.८ अर्ब माइल (२.९ अर्ब किलोमिटर) यात्रा गरेर जुपिटरमा पुग्नेछ । त्यहाँ पुगेपछि, यो जुपिटरको परिक्रमा गर्दै युरोपाको ४९ पटक नजिकबाट उडान गरेर अध्ययन गर्नेछ । यस मिसनमा कृत्रिम बैद्धिकता (एआई) र अन्य अत्याधुनिक प्रविधिहरूको प्रयोग गरेर जीवनको सम्भावना खोज्ने लक्ष्य राखिएको छ । एआई भनेको कम्प्युटरले मानिसजस्तै सोच्न र काम गर्न सिकेको प्रविधि हो । यसले जटिल समस्या समाधान गर्न र दैनिक जीवनका कामहरू सजिलै गर्न मानिसलाई सहयोग पुर्याउँछ । वैज्ञानिकहरूले यो मिसन केवल पृथ्वीबाहेक जीवनको खोजीको लागि मात्र नभई, भविष्यमा अन्य ग्रह र चन्द्रमाहरूमा अन्वेषण गर्ने योजनाहरूको मार्गप्रशस्त गर्ने विश्वास गरेका छन् । नासाको युरोपा क्लिपर मिसनको कुल अनुमानित लागत लगभग ५.२ अर्ब डलर रहेको छ । यसमा मिसनको विकासदेखि २०३० मा जुपिटरमा पुगेर चार वर्षसम्म सञ्चालन गर्ने सम्पूर्ण खर्च समावेश छ । मिसन अत्यन्त जटिल भएकाले, डिजाइन र विकिरण जस्ता चुनौतीका कारण बजेट बढ्दै गएको हो । यो नासाका सबैभन्दा महँगो ग्रह विज्ञान परियोजनाहरू मध्ये एक मानिन्छ । युरोपा क्लिपर मिसनमा १,००० भन्दा बढी वैज्ञानिक र इन्जिनियरहरू संलग्न थिए, जसमा एआई र ग्रह अनुसन्धानका विशेषज्ञहरू पनि समावेश थिए । यो मिसनको तयारी २०१५ मा औपचारिक रूपमा सुरु गरिएको थियो र नौ वर्षको मेहनतपछि १४ अक्टोबर २०२४ मा सफलतापूर्वक प्रक्षेपण गरियो । यस अवधिमा वैज्ञानिक टोलीले जटिल उपकरणहरू निर्माण र परीक्षण गर्दै, जुपिटरतर्फको यात्रा योजना र मार्गको विस्तृत तयारी गरे । मिसनले एआई प्रविधि प्रयोग गरेर डेटा प्रशोधन र नेभिगेसनलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ, जसले जुपिटरको खतरनाक विकिरणबाट सुरक्षित उडान सुनिश्चित गर्छ । युरोपा क्लिपर अन्तरिक्षयानले हाइड्राजिन–आधारित इन्धन प्रयोग गर्छ । हाइड्राजिन अन्तरिक्षयात्राका लागि विश्वसनीय इन्धन हो, विशेषगरी गहिरो अन्तरिक्षमा यानको मार्ग परिवर्तन र नियन्त्रणका लागि । यो मिसनका लागि लगभग छ हजार पाउन्ड (दुई हजार ७५० किलोग्राम) इन्धन यानका ट्याङ्कहरूमा भण्डारण गरिएको छ, जसमा हिलियम प्रेसरन्ट पनि छ, जसले इन्धन प्रवाहलाई व्यवस्थापन गर्नेछ । यस इन्धनको मद्दतले युरोपा क्लिपरले मङ्गल र पृथ्वीबाट गुरुत्वीय सहायता लिंदै, जुपिटरको कक्षसम्मको यात्रा पूरा गर्नेछ । हाइड्राजिन थ्रस्टरहरूले मार्ग सुधार र मिसनका दौरान वैज्ञानिक उपकरणहरूको सही दिशामा नियन्त्रण गर्न मद्दत गर्नेछन् । युरोपा क्लिपर मिसनको एउटा प्रमुख लक्ष्य युरोपामा जीवनको सम्भावना खोज्नु हो । युरोपा, जुपिटरको मुख्य चन्द्रमाहरू मध्ये एक, सतहमुनि लुकेको नुनिलो महासागरले ढाकिएको छ । वैज्ञानिकहरूले यो महासागरमा पृथ्वीभन्दा बढी पानी रहेको अनुमान गरेका छन् । वैज्ञानिकहरूले जुपिटरको यस चन्द्रमामा बरफमुनि रहेको महासागरमा जीवनका लागि आवश्यक तत्वहरू—पानी, रासायनिक यौगिकहरू र ऊर्जा स्रोत—मौजूद हुनसक्ने अनुमान गरेका छन् । यो मिसनको उद्देश्य युरोपाको वातावरण अध्ययन गरी हाम्रो ब्रह्माण्डमा हामी एक्लै छौं कि छैनौं भन्ने प्रश्नको जवाफ खोज्नु पनि हो । यदि जीवनको लागि अनुकूल अवस्था फेला परेमा, यसले पृथ्वीबाहेक अन्य ग्रह र चन्द्रमाहरूमा जीवनको सम्भावना पुष्टि गर्न मार्ग प्रशस्त गर्नेछ । यो मिसनले मानव सभ्यताले ब्रह्माण्डमा आफ्नो स्थान र जीवनको अर्थबारेको बुझाइमा परिवर्तन ल्याउने आशा गरिएको छ । डा परशुराम दाहाल यस मिसनको मुख्य उपकरणहरूमा आइस–पेनेट्रेटिङ राडार, थर्मल इमेजिङ प्रणाली, र अल्ट्राभायोलेट स्पेक्ट्रोस्कोप समावेश छन् । यानले युरोपाको सतहमुनि लुकेको पानी र पानीका फोहोराहरूको खोजी गर्दै जीवनको संकेत अध्ययन गर्नेछ । एआई प्रणालीहरूले सतहका तस्वीरहरू र अन्य वैज्ञानिक डेटा विश्लेषण गरी महत्त्वपूर्ण सूचनाहरू छान्ने र स्वचालित रूपमा मिसनको मार्गदर्शन गर्नेछ । सौर्य ऊर्जा प्रयोग गर्ने यो यानमा १०० फिट लामो सोलार प्यानल जडान गरिएको छ, जसले जुपिटरको कमजोर घामबाट पनि पर्याप्त ऊर्जा सङ्कलन गर्न मद्दत गर्नेछ । रेडिएसन–प्रतिरोधी प्रविधिको प्रयोग गरेर, यानका उपकरणहरूलाई जुपिटरको विकिरणबाट सुरक्षित राखिनेछ । | एआई प्रणालीहरूले मिसनमा सङ्कलन गरिएको डेटा पृथ्वीमा पठाउनु अघि प्राथमिकता निर्धारण र संकुचन गर्नेछन्, जसले अनावश्यक जानकारी हटाएर वैज्ञानिकहरूले तुरुन्तै उपयोग गर्न मिल्ने महत्त्वपूर्ण तथ्यहरू फेला पार्न सकून् । यस प्रकारको कुशलता मानव अनुगमनबिना पनि अन्तरिक्षमा अनुसन्धान गर्न सक्षम हुनेछ । यो मिसनले भविष्यमा पृथ्वीबाहेकका ग्रह र चन्द्रमाहरूमा जीवनको सम्भावना खोज्न थप प्रेरणा दिनेछ । यदि युरोपामा जीवन पत्ता लाग्यो भने यो केवल विज्ञानको विजय नभई सम्पूर्ण मानव जातिका लागि ऐतिहासिक उपलब्धि हुनेछ । एआई र अन्तरिक्ष प्रविधिको यस्तो प्रयोगले अन्तरिक्ष अन्वेषणको क्षेत्रलाई नयाँ उचाइमा पुर्याउनेछ । नेपालजस्तो देशका लागि, यस्तो एआई प्रविधि केवल प्रेरणाको स्रोत मात्र नभई देशको प्राविधिक विकासका लागि दिशानिर्देशक पनि हो । यो प्रविधि दुर्गम क्षेत्रमा शिक्षा र स्वास्थ्य सेवा पुर्याउन, ग्रामीण क्षेत्रमा कृषिको उत्पादनशक्ति बढाउन र विपद् व्यवस्थापनका लागि भविष्यवाणी प्रणाली निर्माण गर्न प्रयोग गर्न सकिन्छ । एआई प्रविधि प्रयोग गरेर नेपालले आफ्नो वैज्ञानिक अनुसन्धानमा मात्र नभई, जीवनस्तर सुधार्नका लागि पनि महत्वपूर्ण योगदान गर्न सक्छ । भविष्यमा, एआई र मानिसको सहकार्यले शिक्षा, स्वास्थ्य र अनुसन्धानमा प्रगति ल्याउन महत्वपूर्ण योगदान पुर्याउनेछ । जिम्मेवार र सुरक्षित रूपमा मानव र एआईको सहकार्यले हाम्रो जीवनलाई थप सहज र प्रभावकारी बनाउन सघाउनेछ । युरोपामा जीवनको सम्भावना खोज्ने नासाको प्रयासले भविष्यमा पृथ्वीबाहेक अन्य ग्रहहरूमा मानव जीवनको सम्भावनालाई उजागर गर्न सक्छ । नेपालजस्ता देशहरूले पनि यस्ता प्रविधिबाट प्रेरित भई आफ्नो अनुसन्धान र विकासलाई सशक्त बनाउन सक्छन् । एआईले मानव सभ्यताको सम्भावनालाई मात्र होइन, सम्पूर्ण ब्रह्माण्डमा जीवनको परिकल्पनालाई नयाँ उचाइमा पुर्याउनेछ । यसले नेपाललाई विश्वस्तरको अनुसन्धान र अन्तरिक्ष प्रविधिमा सहभागी गराउन मद्दत पुर्याउनेछ । युरोपा क्लिपर मिसन नासाको मात्र नभई सम्पूर्ण मानवताको अन्तरिक्ष यात्रामा एक महत्वपूर्ण कोसेढुङ्गा बन्नेछ । यो मिसनले विज्ञान र प्रविधिमा नयाँ क्रान्ति ल्याउँदै भविष्यका अन्तरिक्ष अन्वेषणहरूलाई प्रेरित गर्नेछ, जसले हामीलाई ‘हामी एक्ला छौँ कि छैनौँ ?’ भन्ने प्रश्नको उत्तर खोज्न थप नजिक पुर्याउनेछ । रासस (लेखक अमेरिकामा एआई विज्ञका रूपमा कार्यरत छन्)
सातै प्रदेशमा नेपाल एयरलाइन्सको जहाज, निजी क्षेत्रको सहभागिता कति आवश्यक ?
नेपालको जुन भौगोलिक अवस्थिति छ, यसले नेपालको आकाश नगारिक उड्ययनको क्षेत्र र यसको दायरा कहिल्यै घट्ने छैन । यसको दायरा अनन्तकालसम्म रहनेछ । किनभने हामीले सडक यातायातलाई जतिसुकै राम्रो, मजबुत, सृदृढ र चुस्त बनाए पनि हाम्रो भौगोलिक अवस्थितिका कारणले उडाउने जहाज, हेलिकप्टरलगायतका हवाई सेवाहरूको औचित्य कहिल्यै कमजोर हुने छैन । त्यसको औचित्य निरन्तर बढ्दो क्रममै रहने छ । टीकापुरबाट कमलबजार जानको लागि गाडीको यात्रा तय गर्ने हो भने कम्तीमा १२ घण्टा लाग्छ । तर प्लेनको यात्रा तय गर्ने हो भने त्यहाँसम्मको यात्रा मुस्किलले १८ मिनेटमा पूरा गर्न सक्छौं । यसले जहाजको महत्त्व कति छ भन्ने दर्शाउँछ । हाम्रो देश भौगोलिक विविधताले भरिपूर्ण देश हो । यहाँ देखाउन र हेर्नलायक धेरै कुरा छन् । नेपालमा सांस्कृतिक दृष्टिकोणले होस् या कुनै पनि दृष्टिकोणले आउने मान्छे जहाँ पनि जान सक्छन् । पशुपतिनाथ, लुम्बिनी, मुक्तिनाथ, मालिकाअर्जुन बढीमालिका, पाथिभरा या चथाराधाम जान सक्छन् । त्यो पर्यटकले मसँग सात दिनमात्रै समय छ भनिरहँदा सडकको माध्यमबाट यात्रा तय गर्न सम्भव हुँदैन । त्यसको एउटा मात्रै विकल्प हवाई यातायात नै हो । नेपाल घुम्न आउने पर्यटकले ७० मिटर समुन्द्र सतहदेखि सगरमाथाको उचाइसम्म पुग्न चाहन्छ, सिंगो नेपाल घुम्न चाहन्छ भने त्यसको विकल्प पनि यही हवाई माध्यम नै हो । उसले छोटो समयमा घुम्न सक्ने माध्यम यसैलाई ठान्नेछ । यसले यसको दायरा कहिल्यै घट्ने छैन । हामीले हवाई क्षेत्रमा जुन नीति लिएर अघि बढेका छौं, त्यो नीतिका माध्यमबाट पनि नेपालको हवाई क्षेत्रलाई अगाडि बढाउने सन्दर्भमा केवल सरकार मात्रै नभएर अन्य निकायहरू पनि विशेषगरी निजी क्षेत्रलाई अगाडि सार्ने कुरा छ । यस कुराले नेपालको आकाश सुरक्षित छ र नेपालको आकाश चलायमान छ भन्ने कुरा हामीले आगामी दिनमा देखाउनुपर्ने छ । हाम्रो मन्त्रालयले विविधातापूर्ण संस्कृतिको प्रचार गर्नुपर्ने छ । विविधतापूर्ण संस्कृतितिर मानिसहरूको ध्यानाकर्षण गर्नुपर्नेछ । देशभित्र र देशबाहिरका मानिसहरूलाई विविधतापूर्ण प्रकृतिजन्य प्रकृतिप्रति ध्यानाकर्षण गर्नुपर्ने छ । त्यसलाई चलायमन बनाउन, सहज बनाउन, थोरै दिनमा धेरै ठाउँ पुग्ने वातावारण बनाउनको लागि नागरिक उड्यनको क्षेत्रलाई हामीले माथि पुर्याउनु छ । यसलाई विकसित र विस्तारित बनाउनुपर्ने छ । हामीसँग थुप्रै जटिलता छन् । हामीमाथि सुरक्षा सूचीदेखि लिएर निजी क्षेत्रले भोग्नुपरेका समस्या छन् । ती समस्यालाई कसरी सहज बनाउने, सरकारले कुन नीति र ऐन बनाउँदा हाम्रो आकाशलाई सुरक्षित र चलायमन बनाउन सक्छौं भन्ने दिशामा हामीले तत्परतासाथ अघि बढ्नुपर्ने छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिल सिंहको नेतृत्वमा नागरिक उड्ययनको क्षेत्रमा अध्ययन गर्नको लागि उच्चस्तरीय समिति बनेको छ । उच्चस्तरीय अध्ययन समितिले तपाईंहरूसँग पनि सरोकार र छलफल गर्छ । यो क्षेत्रको अनुभव बोकेका उच्चपदस्थ कर्मचारी र अन्य साथीहरू जो निरन्तर अप्रेसनका काममा लागिरहनुभएको छ, उहाँहरूसँग पनि सल्लाह गर्नुहुन्छ । त्यो समितिले दिने अध्ययनका आधारमा हामीले आवश्यक नीति र ऐन ल्याउने विषयमा अगाडि बढ्नेछौं । त्यसैगरी, नागरिक उड्ययन प्राधिकरणलाई नियमन निकाय र सेवाप्रदायक निकाय बनाउने भन्ने दुइटा ऐन आएको छ । त्यो भर्खरै मन्त्रिपरिषदले पास गरेको छ । त्यो ऐनको सन्दर्भमा यहाँहरू जानकार हुनुहुन्छ । यो लामो छलफलपछि राष्ट्रिय सभाबाट पारित भयो । पारित भएपनि लामो समय प्रतिनिधिसभामा रोकिएको अवस्था थियो । त्यो रोकिएको ऐनलाई हामीले मन्त्रिपरिषदमा पुर्याएका छाैं । हाल यस ऐनलाई मन्त्रिपरिषदले पास गरेको छ । मन्त्रिपरिषदले पास गर्दैमा यो ऐन टुङ्गिएको छैन । यो ऐन निर्माण प्रक्रियाको एउटा औपचारिक प्रारम्भ मात्रै भएको छ । यो ऐन संसदमा प्रस्तुत हुन्छ । संसदमा प्रस्तुत भएपछि यसबाट सैद्धान्तिक छलफल हुन्छ । सैद्धान्तकि छलफल भएको ७२ घण्टासम्म शंसोधनका प्रस्तावहरू दर्ता हुन्छ । संशोधनका दर्ताहरू गर्ने सन्दर्भमा प्रतिनिधि सभाका सांसद्हरूले संशोधनका प्रस्तावहरू राख्नुहुन्छ । त्यसपछि मात्रै दफावार छलफलका लागि समितिमा जान्छ । समितिले सरोकारवालासँग थप छलफल गर्छ । तपाईंहरूसँग पनि केही कुरा चित्त बुझिरहेको छैन भने संशोधनका माध्यमबाट सांसदहरूलाई प्रस्तुत गर्न सक्नुहुन्छ । यी सबै प्रक्रिया पूरा भएपछि मात्रै ऐन निर्माण अघि बढ्छ । त्यसैले तपाईहरूले कुनै असुरक्षित र शंका मान्नुपर्ने अवस्था छैन । तपाईंहरूको सरोकारलाई वेवास्ता गरेर ऐन बन्ने छैन भन्ने कुरा म प्रतिबद्धता दिलाउन चाहन्छु । कर्मचारीको कुनै पनि सेवासुविधा घट्नेगरी ऐन बन्ने छैन । यो संस्थाको गरिमालाई उच्च गराउने र संस्थाको विश्वसनीय बनाउने ढंगले नै ऐनलाई अन्तिम रूप दिनेछौं । ऐन बनाउने भनेको सबै मिलेर बनाउने हो । ऐन कुनै व्यक्ति, पार्टी, मन्त्रीले या राष्ट्रिय, प्रतिनिधि सभाले मात्रै बनाउने होइन । प्रतिनिधि सभा र राष्टिय सभा भनेको हाम्रै प्रतिनिधि हुन् । हाम्रा भावनाअनुसार नै ऐन बन्छ । त्यो ऐनले प्राधिकरणको गरिमा कसरी माथि पुर्याउन सक्छ ? त्यो ऐनले नेपालको आकाशलाई सुरक्षित छ भनेर दुनियाँलाई कसरी देखाउन सकिन्छ ? तपाईंहरूको सेवासुविधालाई कसरी बढोत्तरी गर्न सकिन्छ ? आत्मनिर्भर भएर व्यावसायिक भएर यो क्षेत्रमा सबल बनाउन सकिन्छ भन्ने दिशामा रहेर नै ऐन निर्माण हुन्छ भन्ने वचनप्रतिबद्धता प्रकट गर्न चाहन्छौं । हामीले प्राधिकरणको २६ औं वार्षिकोत्सव मनाइरहेको अवस्था छ । यो मनाइरहँदा हामीले विभिन्न खालका चुनौती र प्रश्नहरूलाई चिरफार गर्नुपर्ने हुन्छ । कतिपय प्रश्नहरू पूर्वाग्रहपूर्ण ढंगले आएका हुन्छन् । कतिपय प्रश्नहरू मिथ्या आरोपको आधारमा आएका हुन्छन् । कतिपय जेनुन पनि हुन्छन् । जेनुन प्रश्नलाई हामीले एक/एक गरेर हल गर्न सक्नुपर्छ । जेनुन, तथ्य र तथ्यांकमा आधारित प्रश्नलाई हामीले वेवास्ता गरेर अगाडि बढ्न मिल्दैन । किनकि हामी भनेका जनताका प्रतिनिधि हौं । नागरिकप्रतिको जवाफदेहितालाई हामीले वेवास्ता गर्न मिल्दैन । देशको अवस्था, नागरिकको अवस्था के छ ? देशबासी नागिरकले प्रधानमन्त्री, मन्त्री, सांसदहरूलाई के भन्दैछन् ? ती प्रश्नमा तथ्य छ, तर्क छ भने हामी भागेर हुँदैन । ती प्रश्नहरूको अगाडि उभिएर आमनेसामने भएर नै जवाफ दिन सक्नुपर्छ । कर्मचारीले जवाफ दिन सक्नुपर्छ । प्रधानमन्त्री मन्त्रीदेखि प्राविधिक, अप्राविधिक सबैले जफाव दिन सक्नुपर्छ। किनभने देश जुन ढंगले अघि बढ्नुपर्ने हो त्यसरी अघि बढ्न सकेन भनेर धेरैजनाको गुनासो छ । ती गुनासोहरूलाई सम्बोधन गर्दै जाने त्यसलाई ठीक गर्ने काम पनि हाम्रै हो । किनकि सामान्य नागरिकभन्दा केही माथि उठेको कारणले हामी कर्मचारी भएका छौं । सामान्य नागरिकभन्दा हामी थप जिम्वेवार छौं । हामी जिम्बेवार भएका कारणले नै हामी राजनीतिकर्मी जनप्रतिनिधि भएका हौं । हामीले देशका विभिन्न राज्यका काम र निकायमा जिम्मेवारी निर्वाह गरिरहेको अवस्थामा छ । त्यो दिशामा हामीले गम्भीरतापूर्वक सोच्नुपर्छ भन्ने लाग्छ । प्राधिकरणका साथीहरूसँग पाँच/छ महिना संगतबाट यहाँहरू व्यावसायिक हुनुहुन्छ भन्ने अनुभव गरेको छु । यहाँहरूले विभिन्न तालिम, विज्ञता, व्यावसायिक क्षमता विकास गर्नुभएको छ । त्यसैले यो संस्था एक प्रकारले कमाण्डमा चलेको छ । यो संस्थाले निश्चित दिशा निर्देशका साथ कुनै अन्यौलता, अस्तव्यस्त नभइकन सही बाटो समाएर अघि बढेको छ । यो संस्थालाई थप सृदृढ बनाउनको लागि तपाईंहरूको दक्षता, योग्यता, आफ्ना कामप्रतिको पूर्ण समर्पणता र कर्तव्यनिष्ठता जरुरी छ । यो तपाईंहरूले विगतमा पनि देखाउनुभएको छ, आगामी दिनमा पनि त्यसलाई बढोत्तरी गर्नुहुनेछ । हाम्रो तर्फबाट पनि हामीले के गर्नुपर्ने हो त्यो हामी गर्नुपर्ने छ । हाम्रो आफ्नो नागरिक उड्यन प्राधिकरण क्षेत्रको कार्यक्षेत्र पनि बलियो छ । देशभर ५५ वटा एयरपोर्ट बनेका छन् । अहिले दुर्गम पहाडका ठाउँमा जहाँ पिच भएकाे छैन, पिच गर्दिनुस् भन्ने मागहरू त्यहाँको समुदायबाट निरन्तर आइरहेको छ । जहाँ टावर छैन टावर बनाइदिनुस्, जहाँ पिच पनि छ, टावर पनि छ, एटीसी पुर्याइदिनूस् भन्ने मागहरू आइरहेका छन् । किनकि आजको दिनमा हवाई सवैतिर आवश्यकता बनिसकेको छ । कालिकोट, दाचुर्ला, इलामलगायत क्षेत्रमा पनि जहाजको माग भइरहेको छ । अस्ति हामी गाईघाटमा गयौं, त्यहाँ प्रस्तावित सगरमाथा एयरपोर्टको निम्ति जग्गाको कुनै अभाव छैन । नेपालका समुदाय अरू कुराको निम्ति जग्गा दिन आनाकानी गर्छन् तर एयरपोर्टको निम्ति जग्गा दिन बडो तत्परता देखाइरहनुभएको छ । ओखलढुंगामाथि खिजी चण्डेश्वरीको एयरपोर्ट सञ्चालन गर्नुपर्ने माग छ । डोल्पाको जुफालमा एयरपयोर्ट छ तर नजिकैको मसिनो चउरमा एयरपोर्ट परीक्षण उडानको लागि माग आइरहेको छ । त्यसैले एयरपोर्टको बारेमा जनताको यत्ति ठूलो आकर्षण देख्छु । निजगढ एयरपोर्ट जुन ठूलो सपनाको रूपमा छ, त्यो अल्झिरहेको छ । यो सबै कुरालाई अगाडि बढाउने काम, निर्णय गर्ने काम प्राधिकरणको हो । प्राधिकरणको काँधमा ठूलो जिम्मेवारी छ । त्यसकारणले प्राधिकरणले आफूलाई त्यसका निम्ति सक्षम ठानेर अघि बढ्नुपर्छ । निजगढ एयरपोर्ट बनाउने कति खर्ब लाग्छ ? वास्तवमै त्यो सानोतिनो रकमले बन्नेवाला छैन । यी भएका एयरपोर्ट चलाउन कति प्लेन चाहिन्छ ? अहिले समिटको चारवटा प्लेन, तारा एयरलायन्सको तीनवटा मात्रै उडिरहेको अवस्था छ । हाल नेपालमा ८/९ वटा प्लेनबाहेक अरू नियमित छैनन् । तर हामीसँग एयरपोर्ट धेरै छन् । एयरपोर्टको अनुपातमा प्लेनको व्यवस्था हुनुपर्ने हो । त्यसतर्फ सोच्नुपर्छ । दुर्गममा चल्ने प्लेनको व्यवस्था गर्ने हो भने अहिले पनि प्यासेन्जरको समस्या छैन । अस्ति टीकापुर एयरपोर्टमा १५ वटा सिट सुनिश्चित गर्ने गरी टीकापुर नगरपालिकाले पैसा तिर्न तयार छु चलाइदिनुस् भन्ने कुरा आयो । त्यो चलाउन सुरु भएको दिनबाट हप्तामा तीनवटा फ्लाइट उड्न थालेको छ । तर अहिलेसम्म प्यासेन्जरको अभाव भएको छैन । हाम्रोजस्तो भूगोल भएको ठाउँमा प्यासेन्जरको अभाव नै छैन । देशबाहिरका मान्छेहरू नेपालमा किन आउन अप्ठ्यारो मानिरहेका छन् ? यसको एउटै कारण यहाँ यातायातको सुविधा सहज छैन । पर्यटन क्षेत्रको किन भनेजस्तो विकास हुन सकिरहेको छैन भने यहाँका यायातायत क्षेत्रको विकास सडकहरू अस्तव्यस्त छन् । गुणस्तरीय सडक बन्न सकेका छैनन् । प्लेनको सेवा सुलभ, सहज र सुनिश्चित हुने हो भने मेचीदेखि महाकाली र महाकालीदेखि मेचीको मात्र नभर विश्वभरका मान्छेहरू नेपाल आउनेछन् । त्यसका लागि हामीले वातावारण बनाउनुपर्ने छ । त्यो सबैका लागि निजी क्षेत्रले भोगिरहनुभएका नीतिगत, कानूनी र व्यावसायिक समस्याहरू आर्थिक समस्याको सम्बोधन गर्नुपर्ने आवश्यकता छ । उहाँहरूले भोगिरहेका समस्याको बारेमा हामी जानकार छौं । सरकारले के किसिमले निजी क्षेत्रलाई सहुलियत दिन सक्छ, सजिलो किसिमले निजी क्षेत्रलाई वातावारण बनाउन सक्छौं र राज्यलाई कर तिर्न सक्ने वातावरण बनाउन के गर्नुपर्छ त्यो हेर्छौं । हाम्रा आफ्नै ध्वजाबाहक भनेजस्तो प्रभावकारी भएको छैन । यसकाे पनि संख्या कम छ । अन्तर्राष्ट्रिय उडानका निम्ति वाइडबडी, न्यारोबडी दुई/दुई गरी चारवटा छ । कहिलेकाहीं प्राविधिक समस्या बेहोर्नुपर्छ । त्यसलाई राम्रो बनाउनका लागि के गर्न सकिन्छ ? निजी क्षेत्रलाई यसमा सहभागी गराउन सकिन्छ ? अहिले भइरहेका व्यवस्थापनलाई प्रभावकारी बनाउन कुनै विकल्प सोच्नुपर्छ कि ? अहिले भइरहेका कमीकमजोरी सच्याउन के गर्नुपर्छ भन्ने बारेमा हामी सोचिरहेका छौं । विशेषगरी हाम्रा मन्त्रालयको नेतृत्वमा हुने विषयगत समितिको पहिलो बैठक पोखरामा बस्यौं, दोस्रो बर्दियामा बस्यौं । सातवटा प्रदेशमा सातवटा कम्तीमा नेपा एयरलाइन्सका साना जहाजहरू दुर्गममा चल्ने जहाज व्यवस्था गर्न सकिन्छ कि ? त्यसका मोडालिटी के हुन सक्छ ? त्यसको स्रोत कसरी संकलन गर्ने ? सन्दर्भमा विवाद नहुनेगरी पारदर्शी ढंगले किन्ने प्रबन्ध कसरी मिलाउने ? पछि सञ्चालनको मोडालिटी पनि पारदर्शी र व्यवसायिक मोडल कसरी बनाउने भन्ने सन्दर्भमा गहन अध्ययन गरिरहेका छौं । त्यसो हुनासाथ देशभित्र र बाहिर हाम्रा ध्वजाबाहक बलियो हुनासाथ अरू निजी क्षेत्रलाई सहजता प्राप्त हुन्छ भन्ने हाम्रो विश्वास छ । अन्तर्राष्ट्रिय स्तरका एयरलाइन्सका प्रतिनिधिहरूसँग समन्वय गर्न, उहाँहरूलाई नियमन गर्न, उहाँहरूलाई पनि हाम्रो कानुनको क्षमताको दायराअनुसार चल्न र चलाउने वातावारण बनाउनका निम्ति प्रयास गरिरको छौं । यी सबैको केन्द्रबिन्दुमा प्राधिकरण छ । सरकार एक प्रकारले अप्राविधिक निकाय हो । नीतिगत निकाय हो । सरकारले गर्ने नीतिगत कामको निम्ति यो क्षेत्रमा प्राविधिक सहयोग प्राधिकरणबाट चाहिन्छ । यहाँहरूले दिनुभएको प्राविधिक सल्लाहकै आधारमा हामी अगाडि बढ्न सक्छौं । (संस्कृति पर्यटन तथा नागरिक उड्यन प्राधिकरणको २६औं वार्षिकोत्सवमा पर्यटनमन्त्री पाण्डेले राखेकाे विचार)
कस्तो हुनुपर्छ बैंकर्स संघको भूमिका ?
काठमाडौं । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले हालै नयाँ नेतृत्व पाएको छ । बैंकर्स संघको नयाँ अध्यक्षमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइराला चुनिएका छन् । कोइरालाको अध्यक्षतामा बनेको नयाँ बैंकर्स संघले कस्तो भूमिका खेल्ला ? अथवा खेल्नुपर्छ । बैंकर्स संघको आगामी कार्यभार के हो ? त्यसै विषय उपर यस लेख केन्द्रित छ । मूलतः बैंकहरू आफैमा नियमनकारी निकाय होइनन् । त्यसकारण बैंकर्स संघ नियमाकीय निकाय होइन । खासगरी बैंकहरूले आफ्ना आवाज, मुद्दा र हकहितका विषयमा संगठित रूपमा सरोकारवालासमक्ष राख्न बैंकर्स संघ जन्मिएको हो । देशको मूल पुँजीको बागडोर सम्हालेका कुल २० वाणिज्य बैंकहरूको यस छाता संगठन नियामक निकाय नभए पनि शक्तिशाली संस्था भने अवश्य हो । यस संस्थाले देशको मूल पुँजीको लागानीलाई कुन बाटोमा हिँडाउन प्रोत्साहित गर्ने, ग्राहक र बैंकहरूबीचको सम्बन्धलाई कस्तो बनाउने, अस्वस्थ प्रतिस्पर्धालाई कसरी न्युनीकरण गर्ने, अल्पकालीन तथा दीर्घकालीन खालका समस्याहरूमा छलफल गरी नियमाकीय निकाय नेपाल राष्ट्र बैंकसमक्ष पुर्याउने भूमिका हुन्छ । त्यसकारण बैंकर्स संघ नियमाकीय निकाय नभएर पनि महत्त्वपूर्ण संस्था हो । यस संस्थाको नेतृत्वकर्ताले आफ्नो क्षमता प्रर्दशन गर्न सक्दा बैंक र ग्राहकबीचको सम्बन्ध, बैंक र सरकारबीचको सम्बन्ध, बैंक र नियामकीय निकाय नेपाल राष्ट्र बैंकसँगको सम्बन्ध प्रगाढ हुनसक्छ । त्यतिमात्र होइन, देशको अर्थतन्त्रलाई टेवा दिने गरी बैंकहरूको लगानी प्राथमिकता सिर्जना गर्न बैंकर्स संघको अग्रणी भूमिका हुन सक्दछ। हाम्रोजस्तो कमजोर आर्थिक अवस्था भएको एउटा अल्पविकसित देशको पुँजीलाई क्रमशः उत्पादनमूलक क्षेत्रमा आर्कषित गर्दा देशलाई फाइदा हुन्छ । जसले गर्दा रोजगारीका अवसरहरू सँगसँगै सिर्जना हुन्छन् । वाणिज्य बैंकहरूको पुँजी कृषि, उत्पादन, उद्योग, पर्यटन, जलविद्युतजस्ता सम्भावना भएका क्षेत्रहरूमा धेरैजसो प्रवाह गर्न सकियो भने त्यसले आर्थिक बृद्धि र अर्थतन्त्रमा टेवा पुर्याउन सक्छ । त्यो भूमिका वा सेतुको काम बैंकर्स संघले गर्न सक्छ । बैंकर्स संघ आफूहरूलाई आइपरेका सानाठुला समस्याहरूमा मात्र केन्द्रित नभएर फराकिलो सोचसहित अघि बढ्न जरुरी छ । नयाँ संविधान बनेर संघीय संरचनामा देश गइसकेपछिका सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा लगाएका छन् । यस्तोमा देश सम्मृद्ध बनाउने भूमिका बैंकहरूको अहम हुने गर्छ । उनीहरूको लगानी सही ठाउँमा हुनसक्यो भने देश समृद्ध हुनसक्छ । त्यसकारण बैंकर्स संघको नयाँ कार्य समितिले फराकिलो अवधारणा राखेर काम गर्नुपर्छ । रिसब गौतम । बैंकहरू कुनै निश्चित व्यक्तिहरूको निजी संस्था नभएर हजारौं लगानीकर्ताहरूको लगानीको साझा संस्था हो । त्यसकारण पनि बैंकहरूको सोच र सरोकार फराकिलो हुनुपर्छ । यसै पनि बैंकहरू सबै क्षेत्र, तह, तप्काका मानिसहरूसँग विविधतापूर्ण तवरले जोडिएका हुन्छन् । उनीहरूले सबै किसिमका समुदाय र मानिससँग उठबस, सहकार्य गर्छन् । फलस्वरुप उनीहरू फराकिलो अवधारणाले अघि बढ्न जरुरी छ । सीमित साहुको स्वार्थ सिद्धिको एजेण्डामा केन्द्रित भएर होइन, असीमित ग्राहक, सरोकारवाला, सेयरधनीको पक्षमा बैंकहरूले आफ्ना गतिविधि केन्द्रित गनुपर्छ । नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रका लागि बनाउने ऐन, निर्देशिका प्रगतिशीलका साथै बैंकहरूको हितमा केन्द्रित गर्न भूमिका खेल्नुपर्छ । बैंकहरू राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिहरू, ऐन, नियम तथा निर्देशिकाहरू कार्यान्वयन गर्ने निकाय हो भने राष्ट्र बैंक नीतिहरू बनाएर कार्यान्वयन गराउने निकाय हो । त्यसकारण नेपाल बैंकर्स संघले राष्ट्र बैंकलाई सही र अत्यावश्यक नीतिहरू बनाउन गहन छलफलमार्फत सही सुझाव दिएर भूमिका खेल्नुपर्ने हुन्छ । र, नयाँ कार्यसमितिले त्यसतर्फ आफूलाई केन्द्रित गराउनु पर्छ । अर्को सरकारले ल्याउने हरेक बजेटहरू बैंकहरूसँग जोडिन्छन् । तर कतिपय सरकारले बैंकहरूमार्फत कार्यान्वयनमा ल्याउन चाहेका राम्रा कार्यक्रमहरू पनि बैंकहरूले अलिकति जोखिम र हिम्मत गर्न नसकेका कारण कार्यान्वयन भएका छैनन् । उदाहरणका लागि देशमा शैक्षिक बेरोजगारी बढिरहँदा बेलाबेला सरकारले बजेटमार्फत शैक्षिक प्रमाणपत्र धितोमा उद्यमी बन्नका लागि कर्जा दिइने भनेर कार्यक्रमहरू ल्याइरहेको हुन्छ । ती राम्रा र विदेशमा पनि प्राक्टिसमा आएका कार्यक्रमहरू हुन् । तर त्यस्ता कार्यक्रम कार्यान्वयन गर्न/गराउन बैंकहरूको प्रभावकारी भूमिका विगतमा देखिएन । बैंकहरू डराउने र राष्ट्र बैंकले पनि आवश्यक सहजीकरण नगरेका कारण बजेटमार्फत आएका राम्रा कार्यक्रमहरू पनि कार्यान्वयन भएका छैनन् । त्यस्ता कार्यक्रमहरू कार्यान्वयन गर्न नेपाल बैंकर्स संघको भूमिका हुनसक्छ । जसले देशमै रोजगारी, उत्पादन बढाएर आर्थिक क्रियाकलापलाई बढावा दिनसक्छ । फलस्वरूप आर्थिक गतिविधिहरू बढ्दा उद्यम तथा व्यावसायिक क्रियाकलापहरू बढ्दा अन्तत: बैंकहरूकै व्यवसाय विस्तार हुने हुन्छ । उनीहरूकै दायरा फराकिलो हुने हो । त्यसकारण नयाँ कार्यसमितिले नयाँ ढगंले काम अघि बढाउन जरुरी छ । बैंक टिक्ने र अर्थतन्त्र अघि बढ्ने आधार औद्योगिक क्षेत्रको विकास नै हो । रेमिट्यान्स स्थायी हुँदै होइन । अहिले ६० लाखभन्दा बढी युवायुवती विदेशिएका छन् भनिन्छ । समग्र अर्थतन्त्रमा घरेलु उद्योग-व्यवसायको योगदान ६/७ प्रतिशतभन्दा बढी छैन । मुलुक पूरै मजदुर उत्पादन गर्ने देशजस्तो भएको देखिन्छ । सीप, श्रम, साधन-स्रोत र पुँजीको परिचालनबाट औद्योगिक विकास हुन सकेको छैन । त्यस हिसाबले पनि बैंकहरूले औद्योगिक क्षेत्रमा, कृषि, उत्पादन र उद्योगहरूमा लगानी गर्न हिच्चकिचाइरहेका देखिन्छन् । उद्योगी वा व्यवसायी भनेका बैंकहरूका लागि पुँजी निर्माणका साधन हुन् । एउटा उद्योगीले कुनै बैंकमा आफ्नो मात्रै खाता खोलेको हुँदैन । उसका कर्मचारी तथा कामदारहरूको पनि खाता खोलिन्छ । उद्योगीले आयात तथा निर्यातका माध्यमबाट राज्यको आर्थिक गतिविधिलाई चलायमान बनाएका हुन्छन् । त्यसकारण बैंकको उद्योगी व्यवसायीसँगको सम्बन्ध बढी महत्त्वपूर्ण हुन्छ र हुनुपर्छ । विगतमा खालि साहु र आसामी मात्रैको सम्बन्ध बैंक र ग्राहकबीच हुन्थ्यो । त्यस्तो धारणामा बिस्तारै परिवर्तन भएर आएको छ । समाजप्रति, ग्राहकप्रति, सरकारप्रति, उद्योग कलकारखानाको विकासप्रति बैंकको उत्तिकै दायित्व हुन्छ, जो बढेर गएको छ । नेपालमा खासगरी उद्योग-व्यवसायको क्षेत्र कमजोर भएको, त्यो क्षेत्रको कारोबारको आकार बढ्न नसकेका कारण पनि बैंकहरूले त्यो क्षेत्रलाई विश्वास गर्न सकिरहेका छैनन् तर अब नेपालमा बैंकहरूले जसरी आफ्नो विकास र फैलावटलाई विस्तारित गर्दै लगेका छन्, त्यही हिसाबमा उत्पादनमूलक उद्योग र व्यवसायका क्षेत्रमा लगानी विस्तार हुनुपर्छ । केही वर्षयता बैंक र व्यवसायीबीचको सम्बन्ध त्यति हार्दिक छैन । तर पनि पछिल्ला केही महिनायता लगातार घटेको कर्जाको ब्याजदरसँगै बैंक र व्यवसायीबीच सम्बन्धमा केही सुधार हुन थालेका छन् । तर कोरोना महामारी र आर्थिक मन्दीको प्रभावले गलेका उद्यमी व्यवसायीको व्यावसायिक मनोबल बढ्न सकेको छैन । आजको मितिमा बैंकहरूसँग ६ खर्ब अधिक तरलता रहँदा पनि व्यवसायिकहरू ऋण माग्न बैंकसमक्ष गएका छैनन् । विगत केही वर्षमा मंसिर लागेसँगै बैंकहरू तरलता संकटको मारमा हुन्थे । त्यो क्रम निकै वर्ष चल्यो । तर अघिल्ला वर्षहरूमा देशका ठुला भनिएका धेरै सहकारीहरू धराशाही भए, सहकारी क्षेत्र ठगहरूको चंगुलमा फसेसँगै त्यो क्षेत्रमा गएका निक्षेप बैंकहरूमा फर्किएका छन् । त्यसकारण पनि बैंकहरूमा तरलता चुलिएका हुन् । अर्को राष्ट्र बैंक अलिक कडा हुँदा बैंकहरू ऋणीमार्फत ब्याज र किस्ता असुल्ने कुरामा त्यसरी नै प्रस्तुत हुँदा बैंक र ब्यवसायीबीच सम्बन्ध बिग्रिएको हो । त्यसलाई पुनर्ताजकी गर्ने र हार्दिकतातर्फ अग्रसर बनाउन बैर्कस संघले भूमिका खेल्नुपर्छ । २ वर्षअघिसम्म पनि बैंकहरूको ब्याजदरलाई लिएर बेलाबेला व्यवसायीले आन्दोलन गर्थे । व्यवसायीले बेलाबेला बैंकहरूको ब्याजदर चर्को भयो भन्दै घटाउन प्रधानमन्त्रीलाई नै हार-गुहारेर गरिरहेका हुन्थे । खासगरी बैंक र व्यवसायीबीच प्रगाढ सम्बन्ध नभएकै कारण त्यो आन्दोलन भएको थियो । यी दुई पक्षबीच अत्यन्त सौहार्दपूर्ण सम्बन्ध हुँदा मात्र उद्योग क्षेत्रले प्रगति हासिल गर्न सक्छ । उद्योग क्षेत्रको प्रगति हुँदा मात्रै उनीहरूको बैंकसँगको कारोबार बढ्ने र बैंकको पनि नाफा बढ्ने अवस्था सिर्जना हुन्छ; तर यहाँ लय मिलेको छैन । बैंकहरूले दीर्घकालीन सोच राख्न सकेका छैनन् । अल्पकालीन उपलब्धि र नाफामा रमाइरहेका छन् । उत्पादनमूलक उद्योगहरूमा सहुलियत ब्याजदरको कर्जा प्रवाह गरेर स्वदेशी अर्थतन्त्रलाई बलियो बनाउनेबारे सोचेकै छैनन् । त्यो सोच हुँदा मात्रै बैंकहरूको मुनाफा र गतिविधि दीर्घकालमा चलायमान हुन सक्छन् । त्यसकारण नमिलेका धेरै कुराहरू मिलाउने सेतुको भूमिकामा बैंकर्स संघ अगाडि आउनुपर्छ । सन्तोष कोइराला नेतृत्वको नयाँ कार्यसमिति जहाँ ग्लोबल आइएमई बैंकका सिईओ सुरेन्द्रराज रेग्मी उपाध्यक्ष, प्रभु बैंकका सिईओ अशोक शेरचन, सानिमा बैंकका सिईओ निश्चलराज पाण्डे, प्राइम बैंकको सिईओ सञ्जीव मानन्धर, सिद्धार्थ बैंकका सिईओ सुन्दरप्रसाद कँडेल, कुमारी बैंकका सिईओ रामचन्द्र खानाल, एभरेष्ट बैंकको सिईओ सुदेश खालिङ, नेपाल बैंकको सिईओ तीलकराज पाण्डे कार्यसमिति सदस्य रहेका छन् । त्यसैगरी, निवर्तमान अध्यक्ष एवं एनएमबि बैंकका सिईओ सुनिल केसी कार्यसमितिको पदेन सदस्य रहेका छन् भने पूर्वअध्यक्षहरू हिमालयन बैंकका सिईओ अशोकशमशेर राणा र नविल बैंकको सिईओ ज्ञानेन्द्रप्रसाद ढुंगाना नयाँ कार्यसमिति सल्लाहकार रहेका छन् । त्यसले आफनो कार्यभार प्रभावकारी रूपमा पुरा गरोस् । शुभकामना !